गएराती भाद्र १४ गते रातको लगभग ११:४० को आसपासमा नेपालको मध्यभाग भुईचालोको कारण हल्लिन पुग्यो, सामाजिक सञ्जालहरु एकै पटक भुकम्पमय बने, सबैजना यसप्रति चनाखो बनेको देखियो। युएनडिपीको बिपद् ब्यवस्थापन सम्बन्धि संस्थाले २००४ मा निकालेको रिपोर्टको आधारमा विश्वमा भुकम्पिय जोखिमको ११औं स्थानमा पर्ने देशमा हाम्रो तयारी कस्तो छ त ? हाम्रो समाजमा यस्ता भुकम्प आउँदा के गर्नुपर्छ, कसरि सुरक्षित रहनुपर्छ भन्ने जनचेतना राम्रो छ त ? हिजोकै केही प्रतिक्रियाहरु हेर्दा र बुझ्दा यसको कमि देखिन्छ। पछिल्ला वर्षहरुमा भुकम्प आउने क्रम बढ्न थालेको देखिन्छ र यसले केही वर्ष भित्रैमा ठूलै भूइचालो जान सक्छ भन्ने पनि बुझ्न सकिन्छ। भाग्यवस अहिले ठूलो भूईचालो आएको छैन, हामीले सानासाना भूइचालोहरु मात्र महसुस गरेका छौं, त्यसैले राजधानीमा ठूलो क्षति हुन पाएको छैन।
एक अनुसन्धानले हाम्रो देशको डिजाईन कोड (मापदण्ड) र प्रचलित निर्माण प्रबिधिले निर्मित संरचनाहरु अन्य मापदण्ड एटीसी-४० र फेमा-३५६बाट निर्मित संरचनाभन्दा बढी जोखिममा रहेको जनाएको छ। पछिल्लो समयमा बिभिन्न नगरपालिकाहरुले भुकम्पिय प्रतिरोधि भवनसंहिता लागू गरेकाले नक्सा बनाउँदा अनिबार्य पर्ने ठाउँमा मात्र आम मानिसले घर बनाउँदा नक्सा बनाउने गर्दछन तर, यीमध्ये करिब ८५% (अनुमान) घरहरु नक्सामा रहेको संरचनागत डिजाईन नअपनाई, सामान्य निर्माण ठेकेदारको भरमा बन्ने गरेका छन। निकै कम मानिसले मात्र ईन्जिनियरको रेखदेखमा आफ्नो घर बनाउने गरेका छन। यस किसिमले निर्माण गरिएका संरचना कति बलियो होलान त ? हामी सहजै अनुमान लगाउन सक्छौं ।
काठमाडौं किन धेरै हल्लिन्छ अन्य स्थानको तुलनामा ? संरचनामा कस्तो असर पर्छ ?
काठमाडौंको भु-बनोट बिशिष्ट प्रकृतिको छ, ताल पुरिएर बनेको भनिने काठमाडौं उपत्यकाको अधिकांश भागमा धेरै तलसम्म कालो माटो मात्र पाईन्छ, कडा चट्टान धेरै तल मात्र छ। भुकम्पिय तरङगको गति कडा बस्तुमा जति छिटो हुन्छ, नरम बस्तुमा त्यति नै ढिला हुन्छ त्यसैले जब भुकम्पिय तरंग तलको कडा चट्टानबाट माथि नरम माटोमा आउछ, यसको गति ढिला हुन्छ तर, यसको गति ढिला भए संगै यसको हल्लिने सिमा धेरै हुनजान्छ, छिटो हल्लिदा १० सेमि मात्रै यताउता हल्लिन्थ्यो भने ढिलो हल्लिदा ३० सेमि हल्लिन सक्छ (यसलाई एम्प्लिफिकेसन भनिन्छ)। त्यसैले भु-बनोट नरम भएका ठाउँहरुमा धेरै हल्लिएको महसुस हुन्छ। काठमाडौंको त्यस्तै नरम भु-बनोट भएको कारणले महसुस धेरै भएको हो। यही कारणले नै टाढा केन्द्रबिन्दु भएको भुकम्पको असर अन्य क्षेत्रमा भन्दा काठमाडौंमा बढि पर्ने गरेको छ।
संरचनाहरुमा पर्ने भुकम्पिय असर यसको उत्पन्न प्रकृति, केन्द्रबिन्दुको दुरी, तरंगको दिशा र संरचनाको अवस्थितिमा भरपर्छ । कुनै एक भुकम्पको लागि कुनै निश्चित क्षेत्रमा संरचनाको अवस्थितिबाहेक अन्य कुरा एकै हुन्छन् तर पनि हुने क्षति फरक हुन सक्छ, यदि संरचना वर्गाकार छ भने त्यसमा जुन कुनै दिशाबाट आएको तरंगको असर एकै हुन जान्छ तर, यदि आयाताकार छ भने त्यसमा तरंग कुन दिशाबाट आएको छ त्यसले पनि असर गर्छ। नरम भु-बनोट भएको र धेरै हल्लिने क्षेत्रमा अग्ला संरचना बढि जोखिममा हुन्छन भने कडा चट्टानमाथि बनेका अग्ला संरचनाहरु पनि बढि जोखिममा हुदैनन्।
जोखिम कम गर्न के गर्न सकिन्छ त?
भुकम्पिय जोखीम कम गर्न हामीले संरचना निर्माणमा मुख्य ध्यान दिनुपर्छ जसले भविष्यको नोक्सानी कम गर्न सहयोग पुर्याउँछ । नयाँ संरचना निर्माणको बेला यदि हामीले राम्रोसँग ध्यान दिन सक्यौं भने मात्र १० प्रतिशतको अतिरिक्त खर्चमा ५० प्रतिशत धेरै सुरक्षा प्राप्त गर्न सकिन्छ । भुकम्प आफैले कसैलाई मार्दैन, हामी आफैले खडा गरेका संरचनाहरु कमजोर हुँदा तिनैको कारण मृत्युसैय्यामा पुग्न सकिन्छ। त्यसैले संरचनाहरुको निर्माण गर्दा बिशेष ध्यान पुर्याउँ। बलिया संरचनाका साथसाथै भुकम्प आएको बेला तपाईको वरिपरि रहेका अन्य सामानहरु जस्तै दराज, र्याक, भित्तामा वा माथि राखिएका गर्हुंगा सामानहरु पनि क्षतिको कारण बन्न सक्छन् त्यसैले त्यस्ता सामानहरु बलियोसँग राख्नुहोला ताकि भूईचालो जाँदा यस्ता सामानहरु नझरुन् या न पल्टिउन्।
भुकम्प आएको महसुस हुनासाथ भाग्न थाल्नु मुर्खता हो, त्यसो गर्दा वरिपरि रहेका सिसाहरु फुटेर, सामानहरु झरेर, इट्टाहरु झरेर लाग्न सक्छ, त्यसैले भुकम्प महसुस हुनासाथ पहिले आफ्नो नजिकै रहेको सुरक्षित स्थान जस्तै टेबलमुनि या खाटमुनि या यस्तै अन्य कुनै सुरक्षित स्थानमा बसिहाल्नुपर्छ। जब भुकम्पको धक्का सकिन्छ त्यसपछि साबधानीपूर्वक नजिकै रहेको खुल्ला स्थानमा गएर बस्नुपर्दछ। कुनैपनि भुकम्पको धक्का एक पटक मात्रै आउँछ भन्ने छैन धेरैजसो समय दोहोर्याएर आउने गर्छ, मुख्यत कुनै ठुलो भुकम्प जादा यसको अघि र पछि साना भुकम्प जाने गर्दछन त्यसैले केहि समय साबधानीपुर्वक रहनुपर्दछ।
आफैं सचेत हुँदा मात्र पनि धेरै क्षति कम गर्न सकिने हुँदा सबैजनामा भूकम्प सम्बन्धि सचेतनाको जरुरी छ। भुकम्प आएको दिन र माघ २ गते (भूकम्प दिबस)को दिनमात्र होईन अन्य समयमा पनि यसबारे चर्चा हुनु र जनचेतना फैलाउनु जरुरी छ।
(लेखक भकम्पसम्बन्धि जापानमा अध्ययन गर्ने विद्यार्थी हुन्।)