हाम्रो समकालीन नेपाली समाजले भ्रष्टाचारलाई धार्मिक रुपमा पाप वा अपराध मानेको छैन। बरु भ्रष्टाचार गर्न पाउने अड्डामा सरुवा पाउँ भन्दै मन्दिरमा गएर भाकल गर्दै देवीदेवतालाई नै घुस खुवाउन जाने प्रचलन छ। भ्रष्टाचारमा गन्हाएका अड्डाहरुमा सरुवा हुँदा परिवारका सदस्यलगायत साथीसँगीबाट बधाईको ओइरो लाग्छ। किन?
आफूलाई आउने दक्षिणा बढी हुने हुँदा स्वघोषित धार्मिक बाबाहरु नै भ्रष्टाचारमा संलग्नहरुको टाउकोमा हात राखेर आशिष दिन्छन्।
एउटा पुरानो कथा प्रासंगिक हुन जान्छ। सानो छोरा बिद्यालय जाँदा कहिले के कहिले के चोरेर ल्याउँथ्यो। उसले ल्याएको सामान आमालाई देखाउँथ्यो। आमा खुशी हुन्थिन्। आमा खुशी देखेर छोराको मनोबल बढदै गयो। क्रमशः छोराको बानी बढ्दै गयो, ठूलाठूला सामान पनि ल्याउन थाल्यो। आमा झनै खुशी हुन थालिन्। कसरी ल्याएको भनेर कहिल्यै सोधिनन्। एकदिन छोरालाई प्रहरीले समात्यो, छोराले जेल जानुअघि प्रहरीसँग एउटा अनुरोध गर्यो। आमालाई एकपटक भेट्ने ईच्छा प्रकट गर्यो। उ घरमा हत्कडीसहित प्रहरीहरुसँग आएको देखेर आमा बेस्कन रोइन् । छोराले आमाको गालामा एक चड्कन हान्यो र भन्यो, 'मैले सानैदेखि अरुको सामान चोरेर ल्याउँदा तपाईँ सधैँ खुशी हुनुभयो, मलाई अरुको चोर्नु हुँदैन भनेर नसिकाउने अहिले रोएर हुन्छ?'
एकदुई वर्षमा कुनै कार्यालयमा काम गर्नेले जग्गा जोडेर घर बनाउँदा उसलाई हाम्रो समाजले सफलताका रुपमा चित्रित गर्छ कि गर्दैन ? साधारण तलबमानको कर्मचारीबाट यो कसरी सम्भव भयो भनेर हामीले सोध्छौं कि सोध्दैनौं? फेरि यही समाज भ्रष्टाचारको आरोप लागेर हिरासतमा बसेकालाई चाहिँ सत्तोसराप गर्छ । यो द्वैध चरित्र हो कि होईन? समाजले पनि ती आमाजसरी कर्मचारीहरुलाई छोटो समयमा भ्रष्टाचार गरेर कमाउन सफल भएकोमा पुरुषार्थी मानिदिएको हुँदा उनीहरुको मनोवल बढेर गएको हो कि होइन?
के हामीलाई हेक्का छ, विद्युत प्राधिकरणमा भएको भ्रष्टाचारको अंश हामीले प्रत्येक महिनाको महसुल बुझाउँदा भुक्तानी गरिरहेका हुन्छौं? यो एउटा उदाहरण मात्र हो।
सायद कर तिर्ने नगन्य संख्यामा भएको (लगभग ३% जनसंख्या मात्र) र तिर्नेले पनि व्यापक छली गरेको हुँदा करको पैसा अर्थात सरकारी बजेट दुरुपयोग हुँदा पनि हाम्रो समाजले कुनै सरोकार नराखेको होला। विकशित मुलुकमा ठूलो जनसंख्या करको दायरामा हुने र उनीहरुले तिर्ने कर पनि आम्दानीको एक तिहाइसम्म हुने हुँदा सरकारी क्षेत्रको बजेटबाट हुने खर्चहरुमा चासो व्यापक हुन्छ। सानोतिनो भ्रष्टाचारमा संलग्नहरुको पनि सार्वजनिक जीवन समाप्त प्रायः हुन्छ।
हाम्रो समाजका अधिकांश मानिसहरु आफूले खाईपाई आएको वैधअवैध स्रोत चाहिँ नहरियोस्, बाँकी सबै इमान्दार भैदिउन् र प्रणाली इमान्दारीतासाथ चलोस् भन्ने आकांक्षा राख्छौं। आफू भ्रष्टाचार गरिरहन पाउँ, बाँकी अरु सबैले इमान्दारीतासाथ काम गरिदिउन् भनेर कहिल्यै पुग्ला त ? अहिले विभिन्न पेशागत संगठनहरुले भ्रष्टाचारमा संलग्नहरुलाई कार्बाही हुन लाग्दा “हाम्रो मान्छे” लाई चाहिँ कार्बाही गर्नुहुँदैन भन्ने शैलीमा वक्तव्य निकाल्नु मैले माथि उल्लेख गरेकै मानसिकताको प्रतीक हो।
समाजको नैतिकतामा कतिसम्म ह्रास आइसकेको छ भन्ने निम्न उदाहरणले प्रष्ट पार्छ।
खसी बेच्ने किसानले बेच्नु एकदुई दिनदेखि मकै र नुन बेस्कन खुवाएर खसीको तौल बढाउने गर्दा रहेछन्। मकै खाएको केही दिनपछि खसी मर्न पनि सक्ने हुँदो रहेछ। आफूले बेचिसकेपछि जेसुकै होस् भन्ने मान्यता ठीक हो?
काठमाडौं पूर्वको अत्याधिक तरकारी उत्पादन हुने क्षेत्रमा बन्द भएको कारण तरकारी कुहिने अवस्था आएछ। किसानहरुले धमाधम त्यो तरकारी खाल्डोमा पुर्न लागेको देखेर केही मानिसले भनेछन्, बरु गाईवस्तुलाई खान दिएको भए हुन्थ्यो नि।
'यो तरकारी खान दिएर हाम्रो गाईबस्तु मार्नु छ र!' कारण तरकारीमा व्यापक रुपमा बिषादी हालिएको रहेछ। के यो बिषादीले चाहिँ उपभोक्ताहरुलाई असर पर्दैन त?
हामी भात पकाउँदा चामल केलाउँछौ। धान, किरा र ढुंगा छान्छौं। धानलाई सम्म छोडाएर फेरि चामलमा नै मिसाउन मिल्छ, तर ढुंगा र किरा त फ्याँक्नैपर्छ। किरा र ढुंगा मिसाएर मिठो र स्वस्थकर भात पाक्दैन । भ्रष्टाचारलाई र अपराधमा संलग्नलाई सँगै राखेर विकास हुँदैन। सुधार्न सकिनेहरुलाई धान छोडाएर पुनः चामलमा मिसाएजस्तै सम्म गर्न सकिन्छ। तर किरा र ढुंगा अलग्याउनै पर्छ। धमिराले खाएको काठले घरको झ्यालढोका बन्दैन, बनाउने कोशिश गरे पनि त्यो टिक्दैन। समाजलाई विकशित बनाउँदै अगाडि बढाउन सबै नैतिकवान र इमान्दार हुनैपर्छ, यो नै सभ्यतातिरको बाटो हो।