नेपालस्थित भारतीय दूतावासले तेल सकियो भनेको खबर हिजैदेखि आएको थियो। बिहान त उसले तेल माग्यो भन्ने खबरै मिडियामा आए।
खबरसँगै टि्वटरमा ‘डोनेट आयल टु इन्डियन एम्बेसी' भन्ने ट्रेन्ड सुरु भैसकेको रहेछ। त्यो ह्यासट्यागमा मैले पनि टि्वट सुरु गरेँ। धेरै साथीहरुले रिप्लाई र रिटि्वट गर्न थाले। यो ह्यासट्याग प्रयोग गरेर टि्वट गर्नेहरु सामाजिक सञ्जालमा ह्वात्तै बढे। मध्याह्नसम्म ‘डोनेट आयल टु इन्डियन एम्बेसी' ह्यासट्याग वर्ल्डवाइड ट्रेन्डिङमा पहिलो नम्बरमा उक्लिसकेेको थियो।
यसैबीच साथी अजित बरालले आफूले इन्डियाका लागि एक लिटर तेल बचाएको भनेर फोटो टि्वट गरे।
‘एम्बेसीमै बुझाउन जाने हो?'
हामीले यसैमा बहस गर्यौं। धेरै साथीले डिएममा जाने हो भनेर कुरा गर्न थाले।
म टाइमलाइन र डिएममा एम्बेसी जानेबारे कुरा गरिरहेँ।
अजित र म दुई जना भए पनि जाने निधो गर्यौं। मैले टि्वट लेखेँ :
हुनेले तेल दिऊँ, नहुनेले साथ आज ३ बजे दूताबास जाऊँ र देखाइदिऊँ (हामी अभावमा पनि छिमेकी र पाहुनालाई भोकै राख्दैनौं
#DonateOliToIndianEmbassy
त्यसपछि केही साथीले हामी पनि जान्छौं भने। टाइमलाइनमै हामीले ठिक तीन बजे भारतीय दूतावाससामु भेला हुने सल्लाह गर्यौं। प्लेकार्ड र आफूले सक्नेजति पेट्रोलसहित मान्छे थपिँदै गए। जम्मा हुने भनेको समयमा त २ सयजति साथी आइसकेका थिए। दूतावासलाई दिने पेट्रोल पनि २० लिटर पुगेछ।
हामी प्लेकार्ड लिएर एकैछिन बस्यौं। सुरक्षाकर्मीसँग भित्र जाने कुरा गर्यौं। उनीहरुले पेट्रोल लैजान पाइँदैन भने।
उनीहरु पटकपटक एउटै कुरा भनिरहेका थिए, ‘पेट्रोल ल्याउन नदिनू भन्ने आदेश छ भित्रबाट।'
हामी भने बोतलमा लगेको तेल राजदूतलाई दिने भन्दै थियौं। सुरक्षाकर्मीले पहिले पाँच जनालाई मात्र भित्र जान दिने कुरा गरिरहेका थिए। हामी तयार थियौं। एकैछिनपछि आएर दुई जनालाई मात्र जान दिने भएछ।
हाम्रो जुलुस दूतावासभन्दा अलिक अगाडि थियो। म र साथी यशोदा भित्र जान अघि बढ्यौं। हामी दूतावासको गेटनजिकै पुगेका थियौँ, भित्रबाट खैरो कोटप्यान्टमा एक जना मानिस आए। सायद दूतावासकै कर्मचारी हुनुपर्छ।
उनले हामीलाई त्यहाँ भेला हुनुको कारण सोधे।
हामीले जबाफ दियौं, ‘हिजोदेखि भारतीय दूतावासमा तेल सकिएर आयल निगमसँग माग्यो भन्ने खबर आइरहेको छ। हामी पाहुनाहरुलाई दुःख नहोस् भनेर आफूसँग भएको तेल दिन आएका।'
उनले तेल लिन नसकिने बताए। बरु ‘कुनै राजनीतिक ज्ञापनपत्र भए दिनू' भने।
मैले भनेँ, ‘हामी राजनीतिक पार्टीका कार्यकता हैनौं, खाली तपाईलाई तेलको दुःख पर्यो भनेर सहयोग गर्न आएका।'
हामीले आफ्ना प्लेकार्ड देखायौं जसमा लेखिएको थियोः ‘ब्याकअफइन्डिया,' ‘डोनेट अयल टु इन्डियन एम्बेसी,' ‘तेल चाहिन्छ? लैजाऊ! स्वभिमान दिन्नौं!!'
*कुराकानीमा आधारित