आज फाष्ट फुड बनाएझैँ फाष्ट ट्रयाकको संविधान जंक फुड झै मात्र हुने हो कि भन्ने जनतामा आशंका बढेको छ। हलो अड्काएर गोरु चुट्न पल्केका शीर्ष नेताका ह्याकुलाले पेलेर बनाएको संविधान आज जन्मदाजन्मदै शल्यक्रियाको लागि अपरेसन थिएटर लाने बेलामा पुगेको छ।
नेताहरु शासन र सत्ताको पछि दगुरिरहेका छन्। राजनीतिक पार्टीका कार्यकर्तालाई आफ्ना नेताका भाषण र वक्तव्यमा स्रोता बनेर समारोहस्थलको हल भर्नलाई फुर्सद छैन। नागरिक समाजका अगुवा र बुद्धिजीवीलाई औंशी र पुर्णे लाग्छ।
प्रधानमन्त्री सुशील कोइराला आज हराएजस्ता भएका छन्। कमरेड प्रचण्ड त प्रचण्ड नै भए। उनी कहिल्यै गल्ने भएनन्। उनलाई संविधान भँड्खालोमा पर्ला भन्ने कुने सुर्ता छैन। मात्र उनलाई त बाबुराम भट्टराईले पार्टी छोडेकोमा छटपटी छ। आज केपी ओलीको जोशमा केही शिथिलता देखिन थालेको छ।
यस्तैमा मिले पनि नमिले पनि उपराष्ट्रपतिले राजनीतिक एउटा झट्का दिइहाले। उपराष्ट्रपतिको सपथ लिँदादेखि आज पनि बेलाबेलामा झट्का दिने उनको पुरानो बानी छँदै नै छ।
२०७२ को नयाँ संविधान निर्माण र धर्म निरपेक्षताका महारथी कृष्णप्रसाद सिटौला र सुवास नेम्बाङहरु अदृश्य तर प्रभावशाली गोप्य सल्लाहकार र शुभेच्छुकहरुसँग अहिले कतै बसेर थ्याङ्क यु र धन्यवाद बाँड्दै होलान्। आज नेपाल र नेपालीले भोग्नुपरेका समस्या यिनै नेताका सुझबुझको कमीले हो वा के कारणले हो भन्ने कुरामा आज न त नागरिक समाजका अगुवा, न त शीर्ष नेतृत्व, न त हिजो पाखा लगाइएका थारु र मधेसीका नेताले जनतालाई स्पष्टरुपले बुझाउन सकेका छन्। तर, जनतालाई भँड्खालोमा पार्ने जिम्मेवार व्यक्तिहरु भने अब फेरि भारत र भारतीय नेतालाई फकाउन क्षमापूजामा दिनरातको तैयारीमा लाग्न थालेका छन्।
हुन त नेपालको परम्परा पनि यस्तै छ। पञ्चायत कालमा हामी सबै नेपालीलाई पञ्च देख्थ्यौँ। सबै पञ्चहरुलाई मात्र नेपाली देख्थ्यौँ।
इन्दीरा गान्धीले वीपी कोइरालालाई शक्ति र पैसाले किन्न खोजिन्। कोइरालाले भने उनको दबाबमा पर्नुभन्दा भारत नै छोडेर नेपाल फर्के। राजा र मेरो गर्धन जोडिएको छ भने। जब इन्दीरा गान्धीका छोरा राजीव प्रधानमन्त्री बने, उनले पनि राजा वीरेन्द्रलाई फकाउन खोजे। तर्साउन खोजे। तर, राजा वीरेन्› डगेनन्। भारत रिसायो। नेपाललाई एक बर्ष भन्दा लामो समय भारतले नाकाबन्दी गर्यो। राजा वीरेन्›ले धेरै चलाख र छट्टु रोज्नुको सट्टा सोझा तर इमान्दार नेपालीको साथ लिए।
त्यसबेलाका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ मर्दा राष्ट्रिय सम्मान दिनसमेत कञ्जुस्याइँ गरियो। सिद्धान्तबाट च्युत हुनु भन्दा बिना राजनीतिक जीवनमै सन्तोष लिए। बिकृत राजनीतिक चालबाजीबाट आफूलाई अलग्गै राखी पूर्वप्रधानमन्त्री श्रेष्ठ संसारबाट विदा भए।
जब जन नेता वीपी कोइराला मरे तब उनकै सहकर्मीहरुले भारतीय नेता चन्द्रशेखरलाई नेपाल निम्त्याए। भारतको नाकाबन्दीले थिलोथिलो भएको बेला दबाब र हस्तक्षेपको लागि रातो कार्पेट बिछ्याएर चाक्सीवारीको सवारी चलाए। त्यसै बेला देखि भारतले नेपालको मामिलामा भुँडेभाग खोज्न थालेको हुन सक्छ।
हिजो हिन्दु र राजालाई घृणा गर्ने सोनिया गान्धी भ्याटिकनकी छोरी हुन्। तर, नरेन्द्र मोदी भने बाल गँगाधर तिलक र सरदार बल्लभभाइ पटेलका विचारधारा बोक्ने व्यक्ति हुन्। त्यसैले नेपाल र नेपालीले भारत र भारतका प्रधानमन्त्री मोदीको विरोधी नारा, जुलुस र पुत्ला दहन गरेर भारत तर्सिन्छ भन्नु अव्यावहारिक मात्र हुँदैन, प्रत्युत्पादक पनि हुन सक्छ।
आज तीन दलका शीर्ष नेतासहित नेपालमा संघीय संविधानका निर्माताहरुले अपनाएका पाइला विपरीत दिशामा बहेको नदीमा डुंगा खियाएजस्तो त भइरहेको छैन भनेर हेक्का राख्न जरुरी छ।
शीर्ष नेताले हिजो जस्तो आज नेपाली जनतालाई भाषण र सम्बोधन मात्र गरेको भरमा भारतले नाकाबन्दी हटाउला भन्ने देखिँदैन। किनकि यो त नेपालका केही नेताले विदेशी प्रभुलाई खुसी पार्न गरेका वचनबद्धता र बाध्यताका प्रतिफल हो।
नेपालीले बनाउने संविधानले त नेपालीको माग र चाहनालाई सम्बोधन गर्नुपर्छ। नेपाली जनताले त जनमत संग्रह चाहेका थिए। नेताहरुले मानेको भए यो संकट आउने थिएन होला।
आज नेपालले भारतसँग वार्ता र कुराकानी थाल्नु पर्छ। युरोपतिर फर्केर नेपाल र भारतबीचको समझदारी बन्ला भनी आशा गर्न सकिन्न।
नेपाल धर्म निरपेक्ष संघीय नेपाल बन्दा नबन्दै सुरक्षाकर्मीसहित ४५ जना नेपालीले ज्यान गुमाइसकेका छन्। संविधान बनाउन जनताले पठाएका भनेर बहुमतको अहंकार राख्नेहरु आज जनतासामु जाने अवश्थामा छैनन्। अब हिजो देशको भविष्य भन्दा पनि आफ्नै राजनीतिक स्वार्थ र भविष्यको जोखनामै व्यस्त रहेका मुखमै मन्त्री र प्रधानमन्त्रीको सपना देखिरहेका शीर्ष नेताहरु पनि अब क्षमापूजा र शान्ति स्वस्तीमा व्यस्त हुन थालेजस्ता देखिन्छन्।