स्कुलमा हुँदा हामीलाई एउटा पाठ सुँगालाई झैँ रटाइन्थ्यो - ‘नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी हो।’ हामी अलि ठूलो भएपछि एउटा नयाँ नारा घन्किन थाल्यो - ‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’। समय बित्दै जाँदा अर्को उद्घोष गुन्जियो - ‘एक मधेश एक प्रदेश’।
यी त केवल उदाहरण हुन्। यस्ता धेरै नाराहरुको आवाजले नेपाली राजनीतिको आकाश बेलामौकामा रङ्गिने गरेको छ।
नाराहरुको सुनामी हामी नेपालीका निम्ति नौलो होइन। नाराहरू खहरे खोला सरी आउँछन्। हामीलाई आफ्नो छालमा माछालाई जसरी लपेटेर लान्छन्। समयसँगै हामी किनारामा पछारिन्छौँ। अनि हाम्रो हात लाग्छ - शून्य ।
यसको मतलब नारामा कुनै सत्यता र शक्ति हुँदैन भन्न खोजेको होईन । वैचारिक र अहिंसात्मक क्रान्तिको उच्चतम मापदण्ड हो एउटा गतिलो नारा । संसारका ठूला-ठूला हस्तीहरुले नाराकै बलमा विश्वलाई हल्लाएका छन्। बुद्धको शान्तिको नारा, मन्डेलाको समानताको नारा, मदर टेरेसाको सेवाको नारा, मार्क्सको समाजवादको नारा, गान्धीको चर्खाको नारा ।
त्यस्तै अहिले नेपालमा बहुप्रचलित भएको छ, ‘साइकलवाद’ को नारा ।
हो, अहिलेको तातो-पीरो नारा हो ‘साइकलवाद’। एक जना चर्चित नेताले ‘छिमेकीले इन्धन आउने बाटो छेके भने हामी साइकल चढ्नेछौँ’ भनेर भाषण गरिदिए। उनले साँच्चै त्यसो गरे वा गरेनन् त्यो त थाहा छैन तर आम नेपालीहरुबीच भने साइकल किन्ने, बेच्ने र सिक्ने होडबाजी नै चल्न थाल्यो।
अस्ति भर्खरै मात्र मेरा एक जना मित्र नयाँ साइकल किन्न बजारतिर हान्निए। साइकल किन्ने हतारो उनलाई यस्तो थियो कि खाना खाने समयसम्म थिएन। त्यस्तै मेरी एक जना साथीलाई निक्कै पीर पर्यो। उनले भनिन्- ‘होइन, कति पर्छ एउटा राम्रो साइकललाई? मेरो अफिसमा त सबलाई साइकल किन्ने धुन छ आजकल। ५०,००० कमको त राम्रो हुन्न रे। के हो?’
म नजिकै बस्ने एक जना बहिनीको समस्या त झनै विकराल छ। अस्ति दुखेसो पोख्दै थिइन्- ‘लौ न, मलाई त साइकल नै चलाउन आउँदैन। अब के गर्ने? कोसँग सिक्ने?’
हिजोआज फेसबुकमा मान्छेका भन्दा साइकलका फोटा धेरै देखिन्छन्। साइकलमाथि बसेर सेल्फि खिच्नेहरुको पनि लामै लर्को छ। सरसर्ती हेर्दा यो नाराले एउटा लय पक्रिसकेको छ। #gohomeindianmedia र #backoffindia पछि ‘साइकलवाद’ को नाराले सामाजिक सन्जाल खुबै तताउन थालेको छ। र आज यही विषयमा मलाई पनि थोरै चर्चा गर्न मन लागेको छ।
त्यसो त काठमाडौँलाई साइकल सिटीको रूपमा विकास गर्ने मुद्दा पहिले पनि नउठेको होइन। आक्कल-झुक्कल साइक्लिङ लेन पनि नबनेका होइनन्। तर फेन्सी बाइक, चिटिक्क परेका स्कुटी, ठुल्ठूला बस र चिल्ला गाडीमा हुँइकिने बानी परेका सहरवासीलाई समयको अभावले हो वा आवश्यकता नपरेर हो, साइकलको मोहले थोरै मात्र तान्न सकेको थियो।
पछिल्लो समयमा आएर चाहिँ परिस्थिति पुरै बद्लिएको छ। केही दिन यता साइकल मानौँ सभ्यता, आत्मसम्मान र राष्ट्रभक्तिको एउटा यस्तो सर्टिफिकेट बन्न पुगेको छ जुन हासिल गर्नु आफैँमा एउटा उपलब्धि हो।
हुनेखानेका निम्ति साइकल कुनै ‘स्टेटस सिम्बल’ होला तर सर्वसाधारणका लागि यो दैनिकी हो, रोजीरोटी हो। देशमा अहिले नाकाबन्दी भएको छ जसकारण इन्धन भित्रिन सकेको छैन। यस्तो अवस्थामा घरबाट स्कुल, कलेज र कार्यस्थल पुग्नका लागि साइकल नै सर्वोत्तम उपायका रूपमा देखा परेको छ।
तर साथसाथै चलेको छ एउटा ‘ट्रेन्ड’- साइकल राष्ट्रवादको। यस्तो लाग्छ, जो साइकल चढ्छ, उही सच्चा देशभक्त हो। यो लहरको पछाडिको फिलोसोफी बडो साधारण छ, उही हाम्रा अघिका नेताको जस्तो- कसैले इन्धन नदिएर के भो त? हामी साइकल चढेर देखाइदिन्छौँ।
इतिहास साक्षी छ- संसारभर जबजब संघर्ष भएका छन्, बिरोधका अहिंसात्मक तर चोटिला प्रहारले "रेजिस्टेन्स"लाई अझै बल पुगेको छ। पश्चिमी समाजको ट्याटु, पिएर्सिङ, र्याप तथा हिपहपदेखि हाम्रै देशमा पनि सत्याग्रह, कालो पट्टी जुलुस आदिले राजनीतिको मन्चमा शन्तिपूर्ण विरोधको आयाम थपेका छन्। ‘साइकलवाद’ त्यही गाथाको एउटा अर्को सुन्दर अनुच्छेद बन्न सक्छ। यदि त्यसलाई सही रूपले व्याख्या र उपयोग गर्न सकिएको खण्डमा।
तर चुनौती यसैमा छ। किनकी साइकलवादलाई सङ्गठन र स्वावलम्बनको सूचकका रूपमा नभई सस्तो नाराको रूपमा मात्र सिमित गरिएको आभाष हुन थालेको छ।
विश्वका कैयौँ विकसित मुलुक र हाम्रै मधेशमा पनि साइकल कुनै नितान्त नौलो वस्तु होइन। हज्जारौँ मिलको दूरी तय गरेर केवल साइकल चलाउनैका निम्ति भनी लाखौँ विदेशी पर्यटक नेपालका पहाड-कन्दरा धाउँछन्। काठमाडौं लगायतका ठूला सहरमा त अहिलेको परिस्थितिले मात्र साइकलको परिभाषालाई अझै फराकिलो पारेको हो। समयले भनौँ या परिबन्धले हिजोसम्म साइकल भनी नाक खुम्च्याउनेहरु अहिले त्यही साइकलमा बसेर छाती फुलाउन थालेका छन्।
नाराको तागत नै शायद यही हो। तर म भने यहाँ एउटा सानो प्रश्न राख्न चाहन्छु- के अहिले हामीलाई चाहिएको राष्ट्रवाद बस् त्यत्ति नै हो?
हामीले सर्वप्रथम त यो बुझ्न आवश्यक छ कि मौसमी लहडले हाम्रा दिर्घकालीन समस्याका समाधान निस्किँदैनन्। देशमा नयाँ संविधान त आयो तर यस्तो अवस्थामा आयो जब आधा देश दीपावलीमा रमेको थियो भने पुरा मधेश विद्रोहको अग्निमा जलेको थियो। कतै न कतै अहिलेको यो साइकल राष्ट्रवाद पनि राजनितीको त्यो अंकबाट अछुतो छैन।
दिनप्रतिदिन जटिल बन्दै गएको यो परिस्थितिमा हरेक नेपाली भित्र राष्ट्रप्रेम जुर्मुराउनु र छताछुल्ल भई पोखिनु कुनै आश्चर्य होइन। तर यो बेला भनेको जोस्सिने भन्दा पनि आत्मविष्लेशण गर्ने हो। अहिले जे भइराखेको छ, त्यो किन र कसरी भयो? कसले गर्यो? हाम्रो अर्थतन्त्र, समाज र इतिहासले के भनिरहेका छन्? के यही नै अन्तिम युद्व हो वा यो भन्दा ठूला संघर्षको सामना हामीले अझै गर्न बाँकी छ? यी मनन् योग्य विषय हुन्।
हामीलाई नाराहरू अत्यन्त प्रिय लाग्छन्। नाराहरुले हामी भित्र एउटा तरङ्ग् प्रसारण गर्छन् जसले हाम्रो शरीर, आत्मा र मस्तिष्क रोमन्चित हुन पुग्छन्। तर भनिन्छ नि, उर्लिएको भेलबाट बिजुली निकाल्नु छ भने सबैभन्दा पहिले त त्यसलाई ड्याम बाँधेर शान्त र सन्तुलित बनाउनुपर्छ। समाजमा हौवा चल्छन्। दिनैपिच्छे नयाँ नारा जन्मिन्छन्। अनि समयसँगै बिस्तारै हराएर जान्छन्। जब अभाव, दबाब र तनाबको त्रिकोणमा मानिस पिसिन्छ, नाराको भावावेश भुकम्पको पराकम्पन जसरी शिथिल हुन थाल्छ।
अहिलेको समयले हामीलाई अत्यन्त ठूलो पाठ पढाएको छ। र शीर्षक छन्- दूरदर्शिता र स्वावलम्बन। चामल नभए ढिँडो खाउँला, बत्ती नभए टुकी बालुँला, मट्टितेल नभए दाउरा ल्याउँला किनभने यही हाम्रा पहिचान हुन् भन्ने जस्ता नारा लेख्दा-बोल्दा जति शक्तिशाली सुनिन्छन्, दैनिक व्यवहारमा उतार्न त्यति नै कठिन।
तर यो भन्नुको अर्थ हामीले कोही कसैको अगाडि झुक्नुपर्छ भन्ने अवश्य होइन। केवल विदेशमुखी परावलम्बी निति त्याग्नुपर्छ भन्ने हो। नेपालीहरु सबै कुन्ठा बिर्सिएर एकजुट हुनुपर्छ भन्ने हो। यो आफ्नो, त्यो अर्काको भन्ने स्वार्थी स्वभाव त्याग्नुपर्छ भन्ने हो।
आज हाम्रो घर भित्रै कलह छ। दम्भको महाभारत छ। जाति-जाति बीच, लिङ्ग-लिङ्ग बीच, धर्म-धर्म बीच, भुगोल-भुगोल बीच। सायद हामी स्वयम् पनि आफैंसँग कुनै गहिरो अन्तरद्वन्द्वमा अल्झिएका छौँ। फलस्वरूप हामी हल्ला धेरै गर्छौँ, नारा लगाउँछौँ, चिच्याउँछौँ, कराउँछौँ अनि थाकेर लखतरान भई पुर्लुक्क पल्टिन्छौँ। रित्तो हात, सुकेको घाँटी र भोको पेट लिएर। एक तोला सुन होस्, एक बोरा सिमेन्ट होस, एक गेडा चामल होस्, एक् सिलिन्डर ग्याँस होस् या एक ढिक्का नुन होस्, हामी जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि कालोबजारी छोड्दैनौँ। हामीलाई जसरी भए पनि आफ्नो स्वार्थ पुरा गर्नु परेको छ चाहे त्यसको मूल्य जेसुकै होस्। संविधानका धारा र उपधारा त परिवर्तन होलान् तर व्यक्तिगत आकांक्षाको सीमा नतोक्ने हाम्रो आचरणमा कहिले परिवर्तन आउला? के आज एउटा र भोली अर्को नारा लगाएर मात्र हाम्रो देश स्वाधीन र सम्रिद्ध होला?
सायद यस्ता प्रश्नका उत्तर तब भेटिन्छन् जब हामीले आफ्नो निम्ति साइकल किन्ने हुट्हुटीमा आफू सँगैको अर्को नेपालीको भोको पेटको बाँसुरीलाई बेवास्ता गर्न छोड्छौँ।
म कुनै राजनैतिक धार, विचार या नाराको विरोधी होइन। न त अन्धभक्त नै हुँ। तर मलाई लाग्छ, हामीले, विशेष गरी युवा पुस्ताले, अहिले तातो रगतले होइन, शान्त दिमागले काम गर्ने बेला छ। अहिले हाम्रा सडक लगभग खालि छन्। भकारी बिस्तारै रित्तिँदै छन्। विषम काल र परिस्थिति छ। तर यही हाम्रो निम्ति सबैभन्दा ठूलो परिक्षाको घडी पनि हो। यसको सदुपयोग गरौँ। र सुरुवात गरौँ ‘साइकलवाद’ बाट। यसलाई एउटा खोक्रो नारा मात्र नबनाऔँ। बरु स्वावलम्बन, सहिष्णुता र सद्भावको मार्गदर्शकको रूपमा स्थापित गरौँ। जय नेपाल!