तीजको रौनक चल्दैथ्यो, अस्पतालमा पनि सबै मिलेर खानपिनको कार्यक्रम चल्दै थियो। आजै बिहान प्रकाशित पत्रिकामा ‘अहेवको भरमा प्यूठान अस्पताल’ भनेर छापिएको समाचारले मन अलि खिन्न थियो। अस्पतालमा एक्लैले अनकल ड्युटी गर्न लागेको एक साता भईसकेको थियो।
‘भएका राम्रा कामको चैं खोजिनीति गर्नु छैन, प्रोत्साहन गर्ने कोही हुन्न, कता के बिग्रेको छ, भत्केको छ, कसले के गल्ती गर्यो भन्ने चैं खोज्दैहिड्छन् जो पनि’, भन्ने मनमा लाग्दैथ्यो। यत्तिकैमा वार्डबाट कल आयो, ‘एउटा डेलिभरी केसको प्रेसर बढी छ, डाक्साब एकपल्ट हेर्दिन आउनुपर्यो,’ म उठेर हिडिहालेँ।
१८ वर्षे गर्भवती, पहिलो गर्भ, सुत्केरी हुने मिति आउन लगभग ३ साता बाँकी रहेछ, भिंग्री प्राथमिक स्वास्थ्य चौकीबाट रिफर गरिएको केस रहेछ। प्रेसर १८०/१२० थियो, व्यथा सुरू भई पाठेघरको मुख ८ सेमी खुलिसकेको थियो। बच्चाको धड्कन ठिकै थियो। तर, आकाशिएको रक्तचापले मलाई चिन्तित तुल्यायो।
गर्भवती समयमा रक्तचाप बढ्नु एउटा समस्या हो, यसका पनि चार प्रकार हुन्छन् तर गर्भवतीको रक्तचाप बढ्नुका साथै पिसाबमा प्रोटिन देखिने समस्या, जसलाई 'प्री-इक्लाम्प्सिया भनिन्छ र त्यसको अझ जटिल अवस्था, गर्भवतीलाई छारेरोगमा जस्तो कम्पन हुने, बेहोस हुने, जसलाई 'इक्लाप्सिया' भनिन्छ, यी दुई चाँही गर्भवती समयका बढी डरलाग्दा अवस्थाहरु हुन्।
त्यसैले हामीले प्रेसर घटाउन निफेडिपिन ट्याबलेट खान दियौं र बच्चाको डेलिभरी छिटो गराउनका लागि अक्सिटोसिन औषधी सलाइनबाट सुरू गर्यौं। अनि हामीले नर्मल डेलिभरी हुन्छ कि भनेर केही बेर कुर्ने निधो गर्यौं। तर जे नहोस् भनी त्यो बारे सोच्न नि डराइरहेका थियौं, त्यही भईदियो। उनलाई सिजर अर्थात छारे रोगमा जस्तो काम्ने, आँखा पल्टाउने, फिँज निकाल्ने हुन थाल्यो। यो गर्भवती अवस्थामा हुने रक्तचाप बढ्ने समस्याको अन्तिम र सबैभन्दा खतरनाक अवस्था ‘इक्लाप्सिया’ थियो। अब मलाई बच्चा आमा दुवैको डर लाग्न थाल्यो। यसरी कम्पन छुट्ने बेलामा आमालाई त गाह्रो हुन्छ नै बच्चालाई पनि अक्सिजनको कमी भई पाठेघरभित्र नै बच्चा मर्ने सम्भावना हुन्छ। हामीले यस्तो कम्पन छुट्ट्दा गर्नुपर्ने सामान्य उपचार जस्तै खाएका कुरा, थुक सर्किन्छ कि भनेर कोल्टे फर्काउने, सक्सन गर्ने, अक्सिजन लगाउने, चोट लाग्ला कि भनेर समाउने आदि गर्यौं। जुनसुकै विरामीमा छारे रोगको जस्तो काम्ने भयो भने प्राथमिक उपचारको रूपमा यही नै गर्नुपर्छ, न की जुत्ता मोजा सुँघाउने, पानी खुवाउने आदि। अनि ‘इक्लाम्प्सिया’को लागि विशेष औषधि ‘म्याग्नेसियम सल्फेट’ दियौं। यस्तो अवस्थामा यो औषधीले धेरैको कम्पन नियन्त्रणमा आउँछ, तर उनको कम्पन लगातार भईरहेको थियो। उनका एक्ला भिजिटर उनका श्रीमान उनलाई समाउँदै आत्तिदै थिए। औषधी फेरि थप्यौं तर पनि कम्पन नियन्त्रणमा आएन।
बच्चाको धड्कन सुन्न डप्लर विरामीको पेटमा राखें, ढक ढक ढक ढक…. गरेर आवाज आयो, त्यो बच्चाको धड्कन थियो, मेरो मन केही हल्का भयो।
अब नर्मल डेलिभरीको लागि धेरै कुर्न नसकिने हुन थाल्यो। सिजेरियन सेक्सन (अप्रेसन) गर्ने निधो गरियो। किताबमा यस्तो विरामीलाई टर्सियरी केयर सेन्टर, (जहाँ आइसीयु, एनआइसीयुको सुविधा हुन्छ) मा लैजानू भन्छ, स्त्री रोग विशेषज्ञ, एनेस्थेसियोलजिस्ट, बाल रोग विशेषज्ञ भएको ठाउँमा उपचार गर्नू भन्छ। त्यत्तिको ठूलो अस्पताल भनेको हामी रहेको ठाउँबाट करिब ४ घण्टाको बाटोमा बुटवल वा भैरहवामा पर्छ। अब भन्नुस् म यो हालतमा मेरो विरामीलाई एउटा अक्सिजन मात्र हुने एम्बुलेन्समा राखेर कसरी पठाइदिउँ? त्यसो गर्नु त सरासर आमा र बच्चा दुवैलाई मृत्युको मुखमा धकेल्नु हो, आफ्नो जिम्मेवारीबाट पन्छिनु हो। मैले त्यसो गर्न चाहिनँ।
उनको श्रीमानलाई सम्झाएँ, र उनी पनि यही प्यूठान जिल्ला अस्पतालमै जे गर्न सकिन्छ गर्नको लागि तयार भए। हामी सिजेरियनको लागि तयार भयौं। यसलाई कसैले हुनसक्ने नराम्रो परिणामलाई मात्र सोचेर ‘अनावश्यक रिस्क लेको’ भन्लान्, तर आफ्नो ज्ञान र अनुभवका आधारमा गर्न सकिने कुरामा हुनसक्ने राम्रो परिणामलाई सोचेर सबैको सल्लाहमा अलिकती पनि रिस्क नलिई त काम गर्नुको के मजा?
अब फेरि अर्को समस्या हुने भयो। पत्रिकाले लेख्या जस्तो ‘अहेवको भरमा अस्पताल’ नभए पनि अप्रेसनको लागि म एक्लो डक्टर थिएँ। बेहोस पार्न (स्पाइनल दिन)को लागि अरु तालिम प्राप्त स्टाफ थिएनन्। मैले सिस्टरहरुको मद्दतमा गर्ने निधो गरेँ। शहरका ठूला अस्पतालमा बेहोस पार्ने छुट्टै, अप्रेसन गर्ने छुट्टै अनि बच्चा हेर्ने छुट्टै डक्टर हुन्छन्, यहाँ सबैको लागि मेरो टिमको साथमा म एक्लो डक्टर थिएँ। यो साहस थियो वा दुस्साहस थियो म अझैं पनि भन्न सक्दिनँ। मैले स्पाइनल (ढाडबाट सूई दिएर शरीरको तल्लो भाग मात्र बेहोस बनाउने तरिका, जुन सिजेरियनमा प्रयोग हुन्छ) दिन खोजें तर निरन्तरको कम्पन र बेहोस विरामीले गर्दा दिन सकिएन। अब के गर्ने?
सूईबाट रक्तनलीमा औषधी दिएर (IV एनेस्थेसिया) र चिरा लगाउने ठाउँमै औषधी दिएर (लोकल एनेस्थेसिया) मा सिजेरियन गर्ने निधो गरेँ। केटामिन र डायजेपाम अनि लोकल जाइलोकेन इन्जेक्सन दिँदैं सिजेरियन शुरु गरियो। शुरु गरेको दुई मिनेट भित्रै बच्चा बाहिर निकालियो। नाल काट्ने बित्तिकै सिस्टरले बच्चा लिएर सफा गर्ने, पुछ्ने, सक्सन गर्ने गर्न थाल्नुभयो। म यता पाठेघर सिलाउदै थिएँ, एकैछिनमा बच्चा रोएको आवाज सुनेँ, मास्क भित्रैबाट म मुस्कुराएँ।
बच्चाको डर त कमसेकम हट्यो। अब आमाको पालो थियो। अप्रेसन केही बेरमा सकियो। श्वासप्रश्वास आँफैले गरे पनि उनी लगभग अचेत थिईन्। उनको अवस्था भोलिपल्टसम्म पनि त्यस्तै रह्यो। जिल्ला अस्पतालमा हुनसक्ने रगतका रिपोर्टहरू सबै सामान्य नै थिए। बिहान दिउँसो बेलुका उनलाई हेर्न गईरहेको हुन्थेँ। श्रीमान एक्ला बच्चा लिएर उनको छेउमा बसिरहेका हुन्थे। शायद धपेडी, चिन्ता, अनिद्राले उनलाई पनि ज्वरो आउन थालेको थियो, उनलाई पनि औषधी खाँदैं आफ्नो जहानको हेरचाह गर्न सल्लाह दिएँ।
पर्सीपल्ट बिहान राउण्डमा जाँदा अचम्मको दृष्य देखियो, उनी बसेर बच्चालाई आँफैंले काखमा लिई दुध चुसाइरहेकी थिईन्, उनका श्रीमान छेउमा बसिरहेका थिए। म टक्क अडिएँ, अस्तीदेखिका सबै कुराहरु एक पटक सरर आँखा अगाडि आए, मन खुसीले फुल्यो, बयान नै गर्न नसकिने अचम्मको आनन्द आयो। ‘सञ्चै हुनुहुन्छ?’ भनेर सोधेँ। धेरै कुरा उनी र उनका श्रीमानका आँखाले बोले।
केही दिनपछि स्वस्थ आमा, स्वस्थ बच्चालाई अस्पतालबाट बिदा गरियो, अर्को पल्ट आउँदा मलाई अवश्य भेट्नू भनेर।
यो एउटा नलेखिएको कथा हो, किनभने कथा लेख्ने भनिएका कथाकारहरुले, कथा छाप्ने भनिएका पत्रिकाहरुले यो कथा थाहा नै पाएनन्। त्यसैले यो कथा म आँफैंले लेखेँ।
विभिन्न सुविधा, अत्याधुनिक यन्त्रहरू भएको, छुट्टाछुट्टै रोग, समस्याका छुट्टाछुट्टै अनुभवी डक्टरहरू भएको अस्पतालहरु भन्दा पर दुर्गमका स-साना अस्पतालहरुमा काम गर्नु एउटा चुनौती हो। जहाँ किताबमा लेखिएको उपचार पद्दती ठ्याक्कै विरामीमा प्रयोग गर्न सम्भव छैन, जहाँबाट विरामीलाई ठूला अस्पतालमा पुर्याउन घण्टौं लाग्छ (जुन बाटोमा उसलाई हजारौं भाडा तिरेर पनि एम्बुलेन्समा अक्सिजन बाहेक केही दिन सकिदैन), जहाँबाट ‘ठूला अस्पतालमा जानुपर्छ’ भन्दा पनि पैसाको समस्याले लैजान नसक्ने र ‘जे सकिन्छ यही गर्नुहोस्’ भन्छन्, त्यस्ता ठाउँमा काम गर्नु एउटा चुनौती हो। यस्ता चुनौतीपूर्ण अस्पतालहरु नेपालमा धेरै छन्, जहाँ कतीमा त डक्टर पुगेकै छैनन्, भने कतीमा डक्टर पुगेर पनि उसलाई सपोर्ट गर्ने टिम, स्रोतसाधनको अभावमा विरामी हेर्नु र रिफर गर्नु बाहेक केही गर्न सकिदैन।
डा.गोविन्द केसीले यी र यस्तै दुर्गम ठाउँ र अस्पतालहरुको दु:ख देख्नुभएको र नजिकबाट बुझ्नु भएकोले नै मेडिकल कलेजहरुलाई काठमाडौं र शहरी क्षेत्रहरुमा मात्र केन्द्रीत नभै गाँउगाँउ जानुपर्छ भनी पटकपटक अनशन बस्नु भएको हो। हाम्रा धेरै अस्पतालहरु जहाँ आवश्यकता छ त्यहा भन्दा नि जहाँ पैसा छ त्यहा खुलेका छन्, हुन त प्राइभेट अस्पतालका उद्देश्य सेवा भन्दा नि पैसा त हुन्छन् नै। त्यसैले गाँउगाँउका दुर्गमका जनतालाई सेवा गर्ने काम सरकार, स्वास्थ्य मन्त्रालय र सरकारी अस्पतालकै हो, र यसमा सरकारले कानुन बनाएर प्राइभेट अस्पताल, मेडिकल कलेजहरुलाई पनि सहभागी गराउनुपर्छ।
व्यक्तिगत रूपमा भन्नुपर्दा पैसा भन्दा नि ठूलो आत्मसन्तुष्टी रहेछ जुन ती पहिलोपल्ट रोएको बच्चा र ठीक भएर आफ्नो बच्चालाई दुध खुवाउदैं गरेकी आमालाई देखेर प्राप्त भयो।
प्यूठान जिल्ला अस्पताल