नेपाल एक स्वतन्त्र, स्वाधिन र सार्वभौम देश हुँदा हुँदै पनि आजका दिनमा आएर किन हाम्रो देश राष्ट्रिय संकटमा फसेको छ? आज किन भारत सरकारको अघोषित तर व्यवहारमा लगाएको नाकाबन्दि भनेर जानिने परराष्ट्र नीतिको क्रुर पञ्जामा पारेर देश संकटको भूमरीमा परेको छ? नेपाल कसरी यो स्थितीमा आई पुग्यो भन्ने प्रश्नको उत्तर शायद ऐतिहासिक घटनाहरुको पृष्ठभूमिका विश्लेषणका आधारमा यसका कारक र कारणहरु बुझ्न सकिन्छ जस्तो लाग्छ।
राणा शासकहरुको घेराबन्दिबाट फुत्किन राजा त्रिभूवन भारतीय राजदूतावासमा शरण लिन पुगेको ईतिहास साक्षी छ। त्यसदेखि पछि घटेका प्रमुख राजनैतिक घटनाहरुमा भारत सरकारको प्रत्यक्ष र परोक्ष भूमिका रहेको छ। जस्तो कि विश्वेश्वरप्रसाद कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन भारतको भूमि र उनीहरुकै आडमा बसेर सञ्चालन गरे। त्यस्तै माओवादीको जनयुद्ध भारतकै निर्देशन र संरक्षणमा भएको थियो भन्दा अतियुक्ति नहोला। तत्पश्चात माओवादीसँग भएको शान्ती संझौता भारतीयको अग्रसरतामै भएको र गिरीजा प्रसाद कोइरालाले उपयुक्त प्रक्रिया नपुर्याई र पर्याप्त छानवीन नगरि चालिस लाख मधिसे जनसंख्यालाई नागरिकता प्रदान गर्नु घातक नीतिहरु बनेका छन्।
एकातिर उपरोक्त राजनीतिक घटनाहरुको पृष्ठभूमि रहेको छ भने अर्केतिर हाम्रा राजनैतिक नेताहरुले र कुटनीतिक नियोगका अधिकारीहरुले भारत प्रति गुलामी र चाकरी गरेर आफ्नो नैतिकता गुमाएर देशकै अस्तित्व र सार्वभौमतालाई दाउमा राखेका छन्। यसमा नेपाली जनताको पनि दोष छ। कारण हामीले आफ्नै आमालाई बेच्ने मानिसहरुलाई देश हाँक्न जिम्मेवार बनाउका छौं। भर्खरै मात्रैको उदाहरण दिने हो भने वर्तमान नेपाली राजदूत आफ्नो आँखाको अगाडी भरतले गरेको अघोषित नाकाबन्दिको दृष्य प्रत्यक्ष देख्दा देख्दै पनि आँखामा पट्टी लाएर भारतले नाकाबन्दि गरेको छैन तर नेपालकै समस्यका कारणले गर्दा नेपालमा नाकाबन्दि भएको भन्दै भारती राजदूतको अगाडी बोले।
यस्तै नोकर साही, गुलामी र आत्मा समर्पनवादी र चाकरीवादीहरुका कारण यो देशले आजको स्थितीको सामना गुर्न परेको छ। यसरी नै आर्थिक दृष्ट्रिकोणले हेर्दा पनि नेपाल भारतसँग निर्भर रहदै आएको छ। जस्तो कि बन्दव्यवपार, स्थाई र अस्थाई आप्रवासी, गोरखा भारती सेवामा भर्ती, जल तथा अन्य योजना र क्रियाकलापहरु, उपभोग्य बस्तुहरुका लागि परनिर्भता साथै नेपाली सैनीक र उनीहरुको भारतमै तालिम आदि कारणहरुले गर्दा अहिले नेपाललाई भारतले –“हगे हग मुते काड्छु ” भन्ने स्थितीमा पुर्याएको छ।
अर्कातिर भारत सरकारले त आफ्नो नीहित स्वार्थ पुरागर्न र आफ्नो फाइदाको लागि जे र जस्तो पनि गर्छ। फलस्वरुप नेपालमा अराजकतालाई अदृष्य रुपमा टेवादिदै नेपालमा अस्थिरताको स्थिती सृजना गरेर विखण्डनवादी अन्ततः विस्तारवादी नीति अपनाएको छ। केही तराईवासी जो आफूहरुलाई मधिसे भनेर चिनाउनेहरुलाई उकासेर सम्पूर्ण तराई, पहाड र हिमालमा आतंक फिजाउँदै छ। ऋषिमुनिको पाठ सिकाउने मोदिको अघोषित परराष्ट्र नीति लागु गरेर नेपालीलाई दैनिक उपभोग्य सामानमा नाकाबन्दि गराएर बन्दुकको सट्टा भोकभोकै मार्ने नीति अपनाएको छ।
ऋषिमन भएका भारतिय नेताहरुले नाकाबन्दि गरेकोमा चौतर्फीबाट हजारौंले प्रश्न गरे पनि आजसम्म मोदीले यसबारे मुख खोल्नु भएको छैन। के यस्तो अवस्थामा हाम्रा ऋषिहरु पनि मुख नखोल्न नै कल्याण ठान्थे? अवश्य पनि होइन होला तर वर्तमान भारतीय नेताजी ऋषिमनको आडमा छिपेर हाम्रो देशप्रति हिंसक, घातक र घृणित नीतिको अस्त्र चलाउँदा आफ्नो र आफ्ना विशेष दुतको घमण्डमा घात परेकोमा नेपालीको दुरदशा बनाएर बदला लिदै हुनुहुन्छ।
आज सम्म भारतले आफ्नै देशमा आसाम, सिक्किम, दार्जिलिङ्ग, गुजरात , कास्मिर तिर अप्ानाएका नीति साथै उसका छिमेकीहरु बङ्गलादेश, भुटान, पाकिस्तान, श्रीलंका प्रति लागु गरेका नीतिप्रति नेपालले न कहिलै चासो लियो न कुनै प्रश्न गर्यो। तर आजको दिनमा ती प्रश्नहरु नउठाउनु पनि मुर्खतानै सावित भयो।
लोकतन्त्र र प्रजातन्त्रका गुरु मोदीजीले नब्बे प्रतिशत भन्दा बढि जनताले स्वीकारेर ल्याएको दक्षिण एशियाकै उत्कृष्ट मानिने नेपालको संविधानलाई उहाँको विशेष दुतद्वारा संविधान नजन्मिदै यसलाई भ्रुणहत्या गर्न खोज्नु भयो। उहाँको विशेष दुत नेपाल आएर संविधान जारि नगर्नका लागि नेपालका प्रधानमन्त्री लगायत नेताहरुको अपमान गरे पनि उहाँ आफ्नो उद्देश्य पुरा गर्न असफल हुनुभयो। फलस्वरुप उहाँको घमण्डमा धक्का लाग्यो। उहाँ असफलताको क्रोधले चुर हुनुभयो। यस्तो अवस्थामा वर्तमान प्रधानमन्त्री शुशील कोइराला, नेता के.पी.ओली र पुष्पकमल दाहाललाई उहाँहरुले देखाएको राष्ट्रियता र दुरदर्शीतालाई सम्पूर्ण राष्ट्रवादी जनताले धन्यवाद दिनैपर्छ र आउने दिनमा हाम्रो राष्ट्रको सार्वभौमसत्ता र स्वाधिन्तालाई कुनै हालतमा पनि सौदा नगरुन र सधै रक्षा गरुन भनेर कामना गर्नुपर्छ। मोदीका विशेष दुतको धम्की र चेतावनीको बाबजुत नेपालमा संविधान जारी भई छाड्यो। संसारका अधिकांश राष्ट्रहरुले स्वागत गर्दै खुशी जनाए तर अभिन्न मित्रराष्ट्र गनिएको भारतले नाकाबन्द गरेर नेपाल र नेपालीलाई बन्दक बनायो।
भारतका केही गन्यमान्य बुद्धिजीवी ,पत्रकार र नेतनहरुले भारतले नेपाल प्रति देखाएको व्यवहार अराजनीतिक, अनैतिक र अदुरदर्शि भएको बताए पनि या नेपालले एटमबम बनाएको होइन तर लोकतान्त्रिक , समावेशी , समानुपातिक, संघिय , धर्मनिक्षेपमा आधारित बनाएको संविधान प्रति खुशी हुनुको सट्टा नेपालीलाई आर्थिक रुपमा अठ्याउदै नाकाबन्दीको सजाय दिएर ठिक ठाउँमा ल्याउने नीति लिएकोमा अस्वीकार जनाउँदा जनाउँदै पनि मोदी सरकारले ऋषिमन लिएर चुपचाप बस्दै नेपाललाई सिध्याउन खोजेको छ। सदियौंदेखि नेपाल र भारत विचको मैत्रिपूर्ण सम्बन्धलाई बर्षाको बाढिले भत्काएको ड्याम जस्तै मोदी सरकारले भत्काई दिएको छ। नेपाली जनमानसको भारत हाम्रो मित्र राष्ट्र हो भन्ने मनोविज्ञानलाई सदाका लागि भताभुङ्ग पार्न मोदीजी सफल हुनु भएको छ।
तर मोदीजीले नब्बे प्रतिशत भन्दा बढि नेपाली जनतामा राष्ट्रियताको भावना जगाई दिएकोमा उहाँ धन्यवादको पात्र पनि बन्नु भएको छ। केही न यता न उताका दुई मुखे नेता, मन्त्रि र राजदूत बाहेक अधिकांश नेपाली नेता र कर्मचारीहरुको दासी, चाकरीबाजी मानसिकतालाई परिवर्तन गरि दिएकोमा पनि मोदीजी र उहाँको सरकार धन्यवादको पात्र बनेका छन्। मोदी सरकारको नेपाल प्रतिको परराष्ट्र नीति र नेपालमा रहेका वर्तमान कुटनीतिज्ञहरुले देखाएको व्यवहार र चरित्रले नेपालीलाई भारतप्रति अविश्वासको बिऊ रोपी दिएर नेपालीलाई भारत बाहेक अन्य मुलुकसँग आर्थिक र राजनीतिक सम्बन्ध बढाउन बाध्य बनाउने बाटो खोली दिएकोमा मोदीजीलाई धन्यवाद दिनै पर्छ।
चिया व्यापारीको स्तरबाट उठेर भारतको प्रधानमन्त्री बनेका व्यक्तिले नेपाल भ्रमणमा रहदा देखाएको माया केवल नक्कली सावित भएको छ। उहाँ २/४ जना मधिशे अगुवाहरु जसले नेपालका नेता विशेष गरेर के.पी.ओलीलाई गोली हान्ने प्रण गरेका छन् , जसले दशैमा उपभोग्य सामान किन्न जाने नेपालीलाई जिउदै जलाउने बाचा गरेका छन् र प्रधानमन्त्री र प्रचण्डलाई भौतिक कारवाही गछौं भनेर दादा गिरी देखाएका छन् र जो संसारको आँखामा आंतककारीको भाषा बोल्दैछन् र सुरक्षाकर्मीलाई पेट्रोल हालेर जिउदै सल्काउने क्रियाकलापहरु गर्छन् भने तिनीहरु आंतककारी नै हुन। तर मोदीजीले उनीहरुको मोहमा परेर सम्पूर्ण नेपाली जनतालाई आर्थिक बन्दिको घेरामा राखेका छन्। मोदीजीले अन्तराष्ट्रिय मुल्य मान्यता, ऐन कानुन र पुर्व सम्झौतालाई लत्याउदै नेपालीलाई बन्दि बनाएको अवस्थामा पनि केही दुइमुखे नेताहरु भारत र मधिशे अगुवाहरुको गुलामी गरिरहेका छन्।
नेपाल भ्रमणमा रहदा मोदीजीले पशुपतिनाथमा चढाएका श्रीखण्ड उहाँको वर्तमान व्यवहारले गर्दा नेपालका लागि श्रीखण्डको सट्टा खुर्पाको विंड बराबर बनाई दिएको छ। मोदीजी तपाईले पवित्र पशुपतिनाथको मन्दिरमा पसेर पुजा गर्दा के नेपालमा नाकाबन्दि लाएर नेपालीलाई जिउदै मारौ भन्ने बरदान माग्नु भएको यियो? नत्र भने त्यो ऋषिमनले नेपालप्रति किन अराजनीतिक र अनैतिक व्यवहार देखाउनु भयो। यदि यहि हो भने मोदीजीले फेरि पनि पशुपति नाथको दर्शन नगरेनै नेपालको कल्याण हुनेछ।
आजको अवस्था र घटनाक्रमहरुलाई ध्यानमा राखेर नेपाल सरकारले यथाशिघ्र अरु देशहरुसँग आर्थिक र व्यापारीक सम्झौता केवल नेपालको फाइदाका आधारमा अघि बढाउनु पर्छ। भारतले हामीसँग नाकाबन्दी गरेर व्यापार गर्न चाहदैन भने नगरोस तर नेपालले नेपाली जनताको आर्थिक हितको लागि आफ्नो व्यापार अरु देशमा अनिवार्य फैल्याउनै पर्छ। भारतीय राजदूत ‘मुखमा राम राम बगलीमा छुरा” भने जस्तो व्यवहार गर्नुहुन्छ भने नेपालीलाई पनि उहाँको जरुरत छैन। हामी नेपाली नेपाली भएर नेपालमा शान्तिको श्वास फेरेर आफै समृद्धिको बाटो तर्फ लाग्छौं भनेर नेता देखि लिएर साधारण जनताले दृढ संकल्प गरेर देश बचाउदै अगाडी बढ्नु छ। हामी “बहादुर” नेपाली स्वतन्त्र र स्वाभीमान भएर बाँच्न चाहन्छौ तर कसैको गुलाम, दाशी र पुच्छर हुन इन्कार गछौं।
अब फेरि नाकाबन्दी खुलोस या नखुलोस वि.सं. २०४५–४६ सालमा यस्तै नाकाबन्दी झेली सकेका नेपालीका लागि वर्तमानको नाकाबन्दी ठूलो शिक्षा बनोस र नेपालले अनिवार्य रुपमा यथाशिघ्र अरु देशसँग आर्थिक कारोबार शुरु गरोस र नेपालले भविष्यका दिनमा कुनै पनि देशको अनौपचारिक, अघोषित वा भन्ने एउटा तर लागु गर्ने नक्कली मखुण्डे परराष्ट्र नीतिको शिकार बन्नु नपरोस। “आफ्नो थैलीको मुख आफै बाँधौं”। फेरि पनि नेपाली जनताले गतिलो नेताको अभावमा बाबु आमा मरेका टुहुरा बालबालिकाको अवस्थाको महसुस गर्नु नपरोस्।