देशले छिमेकीको अघोषित नाकाबन्दीको झेलिरहको छ। सरकारले सवारी साधनमा जोर-बिजोर प्रणाली लगायो। थोरै तेल भएको बाइक घरमै छोडेर म पैदल अफिस गएँ। फर्कदाँ बस पाइने झिनो आशामा माइतीघरमा बस कुरिरहेको थिएँ। बस कुर्नेको भिड ठूलो थियो।
हामीलाई ‘लिफ्ट’ दिन नेपाली सेनाको गाडी सामुन्नेमै आएर रोकियो। सेनाको गाडी ‘लिफ्ट’ दिन नै रोकेको भनेर पत्याउनेहरू फटाफट चढे। म पनि चढेँ। भूँइचालोपछि गाउँमा उद्धार गर्ने नेपाली सेनाको सहयोगी हातहरु मैले चिनेको थिएँ।
गाडीमा सिट पाउने मध्ये एक म थिएँ। तर आडैमा बच्चा बोकेर एक महिला उभिरहेकी थिइन्। मैले सिट छोडिदिएँ। ती महिलाले न सरकारलाई गाली गरिन् न भाग्यलाई। बरु सिटमा बसेपछि सेनाको प्रसंशापछि भनिन्- सरकार नझुके हुन्थ्यो, नाकाबन्दी गर्ने मिचाहासित।
गाडीमा उभिएर म र आडैका यात्रु गफिदै थियौं। मैले सेनाले भूकम्पको बेला गरेको काम प्रसंशा गरें। उनले जनवादी क्रान्ति र त्यसको उपलब्धिको कुरा कोट्याए। 'यो संविधान यो जागरुकता सबै त्यही घनघोर क्रान्तिको उपलब्धि हो' उनले भने। छेउमा उभिएको एक किशोरले मुस्कुराउँदै भन्यो-म चाहिं त्यही घनघोर क्रान्तिको बाइप्रोडक्ट। ती यात्रु प्रतिक्रिया नदिई चुप लागे, मानौ उनलाई ठूलै झट्का लाग्यो। मलाई भने त्यो किशोरप्रति उत्सुकता बढ्यो।
मोबाइल चलाउन थालें। उभिएरै फेसबुकमा स्ट्याटस लेखें -सलाम नेपाली सेना! छेउबाट त्यो केटाले मैले स्टाटस लेखेको नियालिरहेको थियो। 'किन बाबु के भो?' मैले उसलाई हेरेर भनें। उसले ‘केही भएको छैन'को संकेतमा टाउको हल्लायो। अघिदेिख उसका व्यवहार मलाई अनौठा लागेका थिए।
म पनि त्यो किशोर झरेकै ठाउँमा झरें र उस्लाई पछ्याएँ। सिधै कुरा गर्न अप्ठ्यारो लागेर अलि बेर उसको समदुरीमा लम्कें र उसित आँखा जुधाएर मुस्कुराएँ।
'भाइ कहाँसम्म जानुपर्ने?' मैले सोधें।
'किन दाइ, कहीँ होइन। यहीँ अगाडिसम्म मात्रै।' उस्ले सुस्तरी जवाफ फर्कायो।
'एउटा कुरा सोधुँ?' मैले भूमिका बाँधें। उसले हुन्छको संकेतमा टाउको हल्लायो।
'तिमी हेर्दा सानै छौ। त्यस्तो ‘बाइप्रोडक्ट’ जस्तो कुरा तिमीले कहाँ सिकेको भाइ?' प्रश्न सुनेर उसको हिँडाइको गति कम भयो।
'तपाईं कहाँ जानुपर्ने?' उत्तरको साटो प्रश्न सोध्यो उसले पनि।
'म पनि यतै नै हो। अलि अगाडि। अनि खै मेरो उत्तर त दिएनौ त?'
'दाइ,तपाईं जस्तो पढे लेखेको मान्छेलाइ थाहै होला नि ‘बाइ प्रोडक्ट’ भनेको। कुनै चिज बनाउँदा सँगै निस्केको नचाहिने अर्को चिज। हामीलाई त्यस्ता क्रान्तिले कहाँ चाहन्छन् र? म प्लास्टिक बनाउने ठाममा काम गर्दा मोटे दाइले खुब ‘बाइ प्रोडक्ट’ भन्नुहुन्थ्यो। त्यहींबाट सिकेको।'
उसको कुरा मलाई रोचक लाग्यो।
'मलाई तिम्रो अहिलेसम्मको कथा सुनाउन सक्छौ?' मैले उसको पुरै कथा सुन्ने इच्छा राखें।
'तपाईं पनि पत्रकार त होइन? धेरै पत्रकारले मेरो कथा सुनेका छन्। तर क्रान्तिले सुन्दैन बाइप्रोडक्टको कथा।" उसको जिज्ञासालाई मैले फेरि अनुरोधले टालें- पत्रकार त होइन। तर तिम्रो कथा सुन्न पक्कै चाहन्छु।
'तपाईंले अघि ‘सलाम’ लेखेको सेनामध्येकै कुनै एक जत्थाले धेरै साल अघि मेरो बुबालाई मारेको रे!' ऊ यति भनेर अलि मलिन भयो। 'ओहो सरी!' मेरो औपचारिकता नसुनेझैं मलिन अनुहारको उसको बयान धाराप्रवाह आयो।
'मेरो नाम बृजलाल हो। मेरो बुबा ‘क्रान्ति’ भन्ने त्यही दश वर्षे लडाइँमा हुनहुन्थ्यो रे। मेरा हजुरबा हजुरआमा हुनुहुन्थेन। पढ्दापढ्दै जानुभएको रे बुबा लडाइँमा। ममी भन्नुहुन्थ्यो थुप्रैचोटी बुबा मर्नबाट अलिकतिले बच्नुभएको रे। लडाईं चल्दै गर्दा बुबाको ममीसित बिहा भा’को रे। तर लडाइँभन्दा बाहिरको केटी बिहा गरेको भनेर बुबालाई अलि नराम्रो हुन थालेछ। कोहीकोही मधेशका मान्छे माओवादीबाट छुट्टिए रे। छुट्टिएकाले ‘जाउ’ भन्दा पनि नगई बस्नुभएछ माओवादी लडाइँमा। युद्ध लड्दालड्दै एकदिन सेनाको हमलामा बुबा मारिनुभो रे।' म उसको कथा ध्यान दिएर सुनिरहें।
'ममीले माओवादीसँग केके माग्न जानुभ’को रे। उनीहरुले त बुबालाई चिन्दैनम् भनेछन्। हाम्रो घर सप्तरीमा थियो। खेतबारी क्यै थिएन। हाम्रो घरतिर फेरि लडाइँ भयो। ममी कसैको काममा जानुहुन्थ्यो। बेलाबेलामा नेताहरु आउँथे। हाम्रो गाउँका कतिले त ती नेताको खुट्टा धुनपर्थ्यो घर आउँदा। हाम्रो घर आउँदा मलाई नि ती नेतासित झुक्न सिकाउनुहुन्थ्यो ममीले। ममीले खुट्टा धोएको चाहिं देखिन कहिल्यै। आन्दोलनमा लिएर गएको सुन्थें। ममीलाई भेट्न एकनेता चाहिं खुब आउँथे घरमा। ममीलाई मधेस मुक्तिको आन्दोलन भन्दै लान्थे। दुई वर्षअघि एकदिन बजारबाट घर फर्किदा ममी हुनुहुन्नथ्यो। पहिला त कुरें, ममी कतै जानुभयो होला भनेर। बेलुकीसम्म नआएपछि डर लायो मलाई। पल्लोघरमा गएँ।'
यति भन्दाभन्दै उसको गहभरी आँशु भयो। मेरो मनपनि एकतमासको भयो। एकछिन रोकिएपछि ऊ फेरि बोल्न थाल्यो।
'धेरै दिनसम्म ममी कहाँ गएको थाहा भएन। सधैं आउने नेता पनि त्यता देखिन छोडे। धेरैले ममीले उनै नेतासित बिहा गरिन् भन्थे। मसितबाट भगवानले त्यो दिनबाट ममी पनि खोसे। म पुरा एक्लो भएँ।' त्यसपछि ऊ भक्कानिएर घुँक्कघुँक्क रुन थाल्यो। म पनि द्रवित थिएँ। सम्हालिएर ऊ भावुक कुरा गर्न थाल्यो।
'दाइ, क्यै छैन मसित। म एकदिन काठमान्डूको गाडी चढें। सुरुमा बसपार्कमै बसें। एउटा खलासी दाइले मलाई प्लास्टिक झोला बनाउने ठाउँमा लगिदिए। खान बस्न त थियो अरु क्यै थिएन। त्यहाँ एउटा दाइ थिए। उनलाई इंग्लिस अलिअलि आउने। मलाई खुब मन थियो इंग्लिस पढ्ने। उनले धेरै सिकाए मलाई प्लास्टिक झोला बनाउने ठाउँमा। दाइले जहिले नि मलाई ‘बाइ प्रोडक्ट’ भन्दै बोलाउथे। एकदिन किन मलाई यस्तो भनेको भन्दा 'तँ माओवादी क्रान्तिको बाइ प्रोडक्ट होस्। अगुवा जति महलमा तँ चाहिँ ओखलमा' भन्थे दाइले। ठट्टा गरेर बोले पनि मलाई हेरचाह गर्थे। तिनै दाइले काम छोड्नुअघि ‘त्यहाँ काम गरिस् भने पढाइदिन्छन्’ भनेपछि मलाई भक्तपुर जाने बाटोको ठुलो महलमा पुर्याए। खुब खुशी थिएँ त्योदिन म। तर जब मोटेदाइ घर गए, सब खतम। पढाउने त परै जाओस् दाइ, दिनकै कुट्न थाले। उनको छोराले मलाई जति कुटे पनि सहनुपर्ने। अनि काम गरेको पैसा नदिने। एक दिन पैसा माग्दा मलाई घरबाट निकाल्दिए। त्यहाँदेखि म यहीँ कैले कहाँ कैले कहाँ सुत्छु। कैले पुलमुनि पनि सुत्छु। तर कहिल्यै मागेर खान्न, दाइ। मलाई मोटेदाइले धेरै कुरा सिकाउनुभा’छ।' उसले आफ्नो जीवन कहानी सक्यो।
उसको कुरा सुनेर म केहीबेर मौन बनें। उसले काम गरेको घरबाट न्याय दिलाउन सकिन्छ कि भन्ने लाग्यो। साँझ परेकाले बाइकको जोर बिजोर नम्बर बिर्सेर भएको अलिअलि पेट्रोल खर्चिन मन भयो। उसलाई लिएरै घरसम्म पुगें। बाइकमा पछाडि उसलाई राखेर जाँदै गर्दा बाटोमा उसले भन्यो- दाइ मेरो कथा सुन्ने थुप्रै छन्, तपाईंलाई मद्दत गर्न किन मन लाग्यो।
भक्तपुरमा उसले काम गरेको घरमा पुग्दा झमक्क साँझ पर्यो। घरको कुकुर उसलाई सुँघ्दै टाँसिन आएको देखेपछि मलाई लाग्यो यहाँ ऊ लामै समय बसेको रैछ। तर मालिक मालिक्नी जब भेट भए र मैले उसले काम गरेको पैसा दिलाइदिन बिन्ति बिसाएँ। उनीहरुले त केटो चिन्दैनचिनेको पो भन्न थाले। केटाले दुई वाक्यभन्दा प्रतिकार पनि गरेन। म पनि तर्कहीन भएर निस्कनेक्रममा मालिकलाई भनें- तपाईंको घरको कुकुरले बरु चिन्यो उसलाई, तर तपाईंहरूले चिन्नुभएन।
'अब कहाँ जाने?'
'कहीं बस्ने ठाउँ नभए मेरो घर बस आज' मैले भनें।
उसले भन्यो- म आज त्यहाँ नगई हुन्न। मैले कहाँ भनेपछि उसले पहिले एउटा खाना पाइने ठाउँमा रोक्न भन्यो। उसले त्यहीं बसेर खाना खाने होला भनेको त खाना पोको पार्न भन्यो। उसको दिनभर कमाएको पैसा त्यहाँ बुझायो। हामी त्यहाँबाट निस्कियौं। मैले उसलाई पुलमुनि पुर्याउदा देखें- बुढीआमा उसलाई देख्नासाथ मुस्कुराइन्। उसले खानाको पोको फुकाएर बुढीआमासामू राख्दियो।
'यी आमा को हुन् नि?' मैले सोधें।
'थाहा छैन दाइ। दुई दिनअघि यहाँ आइन्। क्यै सोधे पनि बुझ्दिनन्। हाँस्छिन् मात्रै। मोटेदाइले सिकाउनुभाको मलाई, बुढाबुढी केटाकेटीको मद्दत गर्नपर्छ भनेर। भोकै बसेको देखेर मैले खाना ल्याएर दिएको।'
उसको जवाफमा सुनेर मैले भनें-अनि तिमी भोकै?
उसले भन्यो-मैले अघिनै दालमोठ र दही खाको। मलाई दही खुब मन पर्छ। ममी खुशी हुँदा मलाई दही ल्याइदिनुहुन्थ्यो।
'म आजको छाक तिमीलाई खुवाउँछु” मैले भनें। नाकाबन्दीको कारण ग्यास अभावले धेरै भोजनालय बन्द थिए। अलि अगाडि एक होटेलमा उसलाई खाना र दही मगाएँ। खाना अगिल्तिर आएपछि उसले आँसु झार्दै भन्यो-आमाले छोडेदेखि आज फेरि मायाको दही दिनुभो। थ्यांक्यु दाइ।
मैले घर जाउँ भने तर ऊ जान मानेन। उसले तिनै बुढिआमा भएको ठाउँमा पुर्याइदिन भन्यो। हिँडनेबेला फेरि ‘धन्यवाद दाइ’ भन्यो।
मैले फर्किंदा उ र ऊजस्तै अरूलाई के के गर्न सकिन्छ सोचेको थिएँ। ड्युटीपछि भोलिपल्ट उसलाई भेट्न पुलमुनि पुगें। दुर्भाग्य! मैले न ती बुढीआमै भेटें न त्यो अपत्यारिलो किशोर। तर मलाई विश्वास छ उसैका शब्दमा 'बाइ प्रोडक्ट' त्यो किशोर यो शहरमा फेरि भेटिनेछ।