जतिबेला घोडालाई मान्छेले आफ्नो सुबिधाका लागि प्रयोगमा ल्याइसकेको थिएन, यो त्यतिबेलाको कुरा हो।
घोडा र भैसीबीच मेल थिएन। दुबै एकअर्काप्रति सकारात्मक थिएनन्। त्यसैबेला भैसीलाई ठेगान लगाउन घोडाले मान्छेलाई गुहार्यो। भैसी चर्ने ठाउँमा एक्लै चर्न पाए कस्तो हुन्थ्यो भन्ने घोडाको मनमा लाग्यो। भैसी एक्लै चरेको देखेर असह्य भएको थियो, घोडालाई।
घोडाले मान्छेलाई भन्यो– तपाईंको लागि एउटा गजबको काम लाग्ने जनावर छ। दुध दिन्छ। त्यसको गोबर पनि खेतीपातीमा काम लाग्छ।
मान्छेले घोडालाई सोध्यो– कहाँ छ, त्यस्तो जनावर?
घोडाले भन्यो– मेरो पिठ्युमा चढ्नुस्। म पुर्याउँछु।
घोडामाथि चढेर भैसी चरिरहेको ठाउँसम्म नपुग्दै मान्छेलाई लाग्यो –यो घोडा भन्ने जनावर त गज्जबकै रहेछ। यसमाथि सधैं यसरी नै चढ्न पाए, कति सजिलो हुन्थ्यो। मज्जा पनि आउने, यात्रा तय गर्न हिँड्न पनि नपर्ने। यस्तो जनावरलाई त हातबाट उम्कन दिने कुरै भएन।
भैसीलाई टाढाबाट देखाउँदै घोडाले भन्यो– उः त्यही हो, भैसी। त्यसलाई लिएर घर जानुहोस्।
मान्छेले घोडालाई भन्यो– त्यसलाई त लिएर जान्छु नै तिमी पनि कम्ति काम लाग्ने जनावर रहेनछौ। तिमीलाई पनि म कहाँ छोड्छु।
त्यस दिनदेखि मान्छेले आफ्नो सुबिधाका लागि घोडालाई तबेलामा र भैसीलाई गोठमा बाँधेर राख्न थाल्यो।
आज पनि घोडा र भैसी मान्छेको नियन्त्रणमा छन्।
भैसीलाई त मान्छेले दाम्लोमा बाँधेर राख्यो नै, अर्काको रिस गर्दा घोडाले पनि स्वतन्त्रता गुमायो। ऊ पनि तबेलामा बाँधिन पुग्यो।
घोडा र भैसीको यो कथा नेपाली नेतासँग मिल्दोजुल्दो छ।
यतिबेला मधेसवादी नेता र तीन दलका शीर्ष नेताबीचमा घोडा र भैसी बन्ने प्रतिस्पर्धा चलेको छ। को घोडा बन्ने? को भैसी?
मधेसी र थारुहरुको गुनासो छ– राज्यबाट सधैं हेपियौं। ठगियौँ।
हो, कहीँ कतै जातका आधारमा, वर्गका आधारमा, वर्णका आधारमा विभेद भयो होला। भेदभाव भयो होला। त्यसैलाई आधार बनाएर सबैलाई हेर्ने दृष्टिकोण समान बनाउन हुँदैन्। मधेस मात्र उपेक्षित छैन। थारु बहुल क्षेत्रमात्र पछाडि परेको छैन। कर्णालीको दुर्दशा हेरी नसक्नु छ। बाजुरा र बझाङ गरीबी, अभाव र बिकटताको पर्याय बनेको छ।
समस्या जातमा होइन, सोंचमा छ। समस्या समुदायमा होइन, दृष्टिकोणमा छ। पहाडीबाट थारु वा पहाडीबाट मधेसी समुदाय हेपिएको होइन, आफूलाई शासक र कथित उपल्लो वर्गको ठान्नेबाट पहाडी पनि हेपिएको छ। मधेसी पनि हेपिएको छ। थारु पनि हेपिएको छ। हरेक वर्ग र जातिभित्र आफूलाई शासक ठान्ने तप्का छ। हो, त्यही तप्काविरुद्ध संघर्ष गर्नुपर्छ। कुनै सिंगो जाति र समुदायविरुद्ध होइन।
पहूँच र पैसा नभएको बाहुन पहूँच र पैसा भएको बाहुनबाटै हेपिएको छ। मधेसी, थारुको हकमा पनि त्यही भएको छ। कुनै अमुक जातिलाई गाली गरेर कुनै जातिको अधिकार प्राप्त हुँदैन। त्यसका लागि त आर्थिक सबलीकरण र चेतनास्तर माथि उठाउनुपर्छ। तब मात्र विभेदरहित समाजको परिकल्पना गर्न सकिन्छ।
अब त्यही कुरालाई कोट्याएर भूगोल र भावनामा टुक्रिएर खुशी खोज्ने प्रयत्न र सोंच बनाउनु कसैका लागि प्रियकर हुँदैन। समस्या समाधान टुक्रिएर हुँदैन। ५८ वर्ष लामो गृहयुद्धमा २० लाख भन्दा बढीको नरसंहार भएपछि सुडानबाट अलग भएको दक्षिण सुडान त्यसको पछिल्लो उदाहरण हो। विद्रोह गर्न र युद्धको सुरुवात गर्न धेरै कुरा आवश्यक पर्दैन। सनक, लहड र इगो काफी हुन्छ। तर त्यसको अवतरण भने धेरै महंगो हुन्छ। श्रीलंकामा तामिलहरुको मसिहा बन्न प्रभाकरणले गरेको विद्रोह उनको अवसानसँगै सकियो। अरुलाई मास्न खोज्दा आफू पनि मासिने कुरा कसैले पनि बिर्सिन हुँदैन।
सम्बन्ध आफैमा निर्जीव कुरा हो। जब यसमा भावना थपिन्छ, आत्मियता मिसिन्छ, विश्वास घुलिन्छ तब यसमा जीवन मिल्छ। थारु र पहाडीबीचको सम्बन्धमा त्यही जीवन थियो हिजो। मधेशी र पहाडी बीचको सम्बन्धमा त्यही जीवन थियो। आज त्यही सम्बन्धलाई निर्जीव बनाउने कोशिस हुँदैछ, विभिन्न नाम र बहानामा।
आन्दोलनमा मिलेको समर्थनले भारतसँग रोटीबेटीको सम्बन्ध अहिलेलाई महत्व राख्ला। यो भावना हो। यथार्थ अर्कै छ। दिल्ली न मधेसीको पक्षमा छ न सरकारको विपक्षमा। दिल्ली त हिजो झैं आज पनि आफ्नै स्वार्थको पक्षमा छ। मधेसीमाथिको प्रयोग जुन दिन सकिन्छ, मधेसीसँगको उसको व्यवहार त्यतिबेलादेखि फरक हुने निश्चित छ। त्यसैले दिल्लीको व्यवहारबाट कोही खुशी र कोही दुःखी हुनुपर्ने कारण छैन।
विभाजनको पीडाले कति दुःखाउँछ। दक्षिण कोरिया र उत्तर कोरियाको इतिहास हेरे काफी हुन्छ। एउटै परिवारका सदस्य कोही उत्तर कोरियामा छन् त कोही दक्षिण कोरियामा। तर आफ्नै परिवारका सदस्य भेट्न छटपटाउन परेको छ।
देश र त्यसको भूगोल एउटा स्वाधिन नागरिकका लागि सबैभन्दा प्रिय हुन्छ। देश रहे न अधिकार मिल्छ। देश सानो वा ठूलो हुन सक्छ तर ठूलो देश र सानो देशको स्वाभिमान त्यो देशको भूगोल र जनसंख्याको आयतनले निर्धारण गर्दैन। त्यो बराबर हुन्छ।
यो समय संविधान आयो भनेर उन्मुक्त भएर खुशी हुने बेला पनि होइन र भारतले हेप्यो भनेर संयमता गुमाउने बेला पनि होइन। आन्दोलनकारीले पनि सरकारलाई भारतले नाकाबन्दी लगाएर ठेगान लगायो भनेर हाँस्ने बेला पनि होइन।
यो देशलाई परेको समस्या हो। प्रचण्ड, केपी ओली र सुशील कोइरालालाई परेको समस्या होइन। देशभित्रका समस्या देशभित्रै सुल्झाऔं। भारतलाई नगुहारौँ। संयमता र धैर्यता नगुमाऔँ। कसैलाई गाली नगरौँ। विवेक र बुद्धिले काम गरौँ।
हामीलाई भारत पनि चाहिन्छ। चीनको साथ पनि हाम्रा लागि उत्ति नै आवश्यक छ। कसैलाई चिढ्याउने र कसैलाई रिझाउने यो समय होइन। यसो गर्नु बुद्धिमतापूर्ण हँुदैन पनि। समस्या परेका बेला जागेको राष्ट्रवादका भूत मरिचमानसँगै मर्न हुँदैनथ्यो जो आज जीवित भएको छ। अब सुशील कोइरालालाई मरिचमानको नयाँ अवतार बनाउने ध्येयमा जुट्नु भन्दा पनि फेरि कोही मरिचमान बन्न नपरोस् भनेर सजग र सचेत हुन जरुरी छ। भारतसँगको समस्या कुटनीतिक तवरबाट हल गर्दै जाँदा नेपालभित्रको आन्तरिक समस्यालाई संवाद र सहमतिबाट हल गर्न ढिला गर्नु हुँदैन। यसको आन्दोलनकारी र सरकारसँग यसको विकल्प छैन। यसैमा सबैको भलो छ।
देशको आन्तरिक समस्यामा विदेशीलाई गुहारेर कसैले मालिक बन्ने सोंच पालेको छ भने त्यो भ्रम टुट्न धेरै समय लाग्नेवाला छैन। दार्जिलिङमा सुभाष घिसिङको गुमनाम मृत्यु, सिक्किममा लेण्डुप दोर्जेको हविगत हामीले देखेका छौँ। भैसीलाई तह लगाउन मान्छेलाई गुहार्दा घोडाको के हविगत भयो?
सोचौँ।
ठण्डा दिमागले सोचौँ।
घोडा बन्ने कुचेष्टा गर्नु कसैका लागि हितकर हुँदैन।