असोज ३ गते नेपालको नयाँ संविधान जारी भएपश्चात् लोकतान्त्रिक समावेशी संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्र पनि संस्थागत भएको छ। करिव ७ दशकको संघर्षपछि प्राप्त नयाँ संविधानको विषयलाई लिएर देशभित्र राँको बलिरहेको बेला छिमेकीबाट राँको निभाउनुको साटो मट्टितेल छर्कने काम भएको छ। नयाँ संविधानमा असन्तुष्ट रहेको भारतले नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छ। देशले संकटको घडीमा अग्निपरिक्षा दिइरहेको मौका छोपी भारतले अघोषित नाकाबन्दी गरेर दुई देशको सदियांै पुरानो मित्रतामा नै छुरा प्रहार गरेको छ।
छिमेकी राष्ट्र भारतमाथि यतिबेला नेपालीको प्रश्न छ– दुखेको घाउमा नुन छर्किदै अध्याँरोको मौका छोपी छुरी प्रहार गर्ने कस्तो छिमेकी हौ तिमी?
भारतले अन्तर्राष्ट्रिय मान्यता र कानून विपरित नेपालमा निकासी बन्द गर्दा पर्न गएको संकटप्रति विश्वकै ध्यान केन्द्रित भइसकेको छ। देश परनिभर्रतामा बाँचेको रहेछ भन्ने जानकारी पाएसँगै सर्वसाधारणहरू समेत भारत विरोधी नारा लगाइरहेका छन्।
सामाजिक संजालमा भारतविरोधी नारासहित स्वाभिमानी नेपालीको शिर नझुक्ने अभिव्यक्ति छरपष्ट देखिएका छन्। यसबाट प्रष्ट हुन्छ कि नेपालीहरू राष्ट्र र राष्ट्रियताप्रति कति संवेदनशील छन् भनेर?
भारतले नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेप गरेर नेपाल र नेपालीको स्वाभिमानमा चोट पुर्याउन खोजे तापनि देशप्रेमी नेपालीहरू डटेर सामना गर्नतिर अग्रसर देखिन्छन्।
घरभित्रको झगडामा छिमेकीले नेपालमाथी किन यस्तो रूप देखायो भन्ने तथ्य अहिलेसम्म खुल्न सकेको छैन। चौतर्फी विरोधका स्वरहरू उर्लिइरहँदा समेत भारतीय प्रधानमन्त्री मौन बसेका छन्। आखिर भारत के चाहन्छ छिमेकी राष्ट्र नेपालसँग? नेपालको सार्वभौमसत्तामा आँच आउने गरी आन्तरिक मामिलामा किन ठाडो हस्तक्षेप गरिरहेको छ? भारत समयमा नै सचेत भएन र नेपालमाथिको हस्तक्षेपमा लागिरह्यो भने विश्व समुदायले नै भारतमाथि प्रश्न उठाउने निश्चित छ।
तराई मधेसको आन्दोलनलाई भारतले उक्साएको हो भन्ने अनुमान लगाउन सकिन्छ। नत्र भारतको भूमिबाट नेपालमा ढुंगामुढा हुँदा भारत प्रहरी के हेरिरहेको छ। नाकाबन्दी नै लगाउने हो भने भारतीय सीमामा खुलेआम आवातजावातमा समेत किन कडाई गरिएको छैन? नेपालको आन्तरिक मामिला नेपालले नै सुल्झाउनुपर्छ न कि विदेशी हस्तक्षेपबाट। यदि भारतले नेपाललाई साँच्चै नै मित्रवत् व्यवहार गर्छ भने नेपालमा हाहाकार मच्चिदा के हेरेर बसिरहेको छ ? सीमाकै असुरक्षाको कारण हो भने किन हवाई मार्गबाट अत्यावश्यक सामान ढुवानी गराउन तयार हुन सकेन?
भारतले नेपालकै समस्याको कारण सामान भित्रिन नसकेको बताए पनि सीमामा रहेका नेपालीहरू, व्यापार, व्यवसायीले भारतकै कारण नाकाबन्दी भएको प्रष्ट्याएका छन्। अन्तर्राष्ट्रिय स्तरमा नै नेपाल र भारतको सम्बन्धमा चिसोपना छाएको समाचार सम्प्रेषण भएको कारण विभिन्न देशमा रहेका नेपालीहरूद्वारा सार्वभौम राष्ट्रमाथि भारतले गरेको नाङ्गो हस्तक्षेपको बिरोध सहित दूतावासमा ज्ञापनपत्र बुझाउने काम समेत भइरहेको छ।
भारतको हस्तक्षेपले यतिबेला नेपाल र नेपालीका लागि चुनौती र अवसर दुबै एकै लाइनमा उभिएका छन्। एकातिर राष्ट्रलाई स्वनिर्भर बन्ने चुनौती छ भने अर्कोतिर त्यसको अवसर र विकास नेपाल र नेपालीले पाउनेछन्। चुनौतीहरू चिर्दै अवसरसम्म पुग्न विभिन्न आरोह—अवरोह पार गर्नुपरे पनि एकदिन सार्वभौम राष्ट्र नेपाल स्वनिर्भरतामा बाँच्नेछ जसको लागि देशमा स्थायी दिगो शान्तिको आवश्यकता छ। नेपाल र नेपाली एक भई थुङ्गा थुङ्गा फुल गासिएर एकै माला बनेझंै आपसी मेलमिलाप सहमति तथा समझदारीमा एउटै छत्रछाँयामा गासिनु जरूरी छ।