करिब साढे ६ घण्टाको उकालो। जताततै भत्किएका घरका संरचना, धाँजा–धाँजा फाटेको पहाड! बर्खे भेलले बगाएका गोरेटा। दुःख झेल्दै अघि बढ्यौं हामी।
हिँड्ने बानी नभएर होला स्थानीयलाई ३ घन्टा लाग्ने बाटो हामीलाई ६ घन्टा लाग्यो। बाटोमा सबैको मुखबाट एउटै शब्द निस्किरहेको थियो– यहाँको स्थिति सोचेकोभन्दा कैयौ गुणा भयावह रहेछ। घर भएको ठाउँमा ढुङ्गै–ढुङ्गाको थुप्रो, अनि बाटो भएको ठाउँमा माथिबाट खसेको पहिरो र लडेका रूखहरू।
अलिक समथर जमिनमा देखिने पालै पालको बस्ती, पहिरोले मेटाइदिएका गोरेटाहरू, त्यसरी चर्किएका पहाड कल्पना गरेभन्दा फरक दृश्य त्यहाँ देखिन्थ्यो। भूकम्प गएको ५ महिनापछि गोरखाको बारपाक पुग्दा त यस्तो दृश्य देखियो भने वैशाख १२ लगत्तै अबस्था कस्तो थियो होला? धेरैपछि हिँडेकाले होला हिड्नै गाह्रो भइरहेको थियो। बिस्तारै उकालो काट्यौं। अमृत भादगाउँले, दामोदर न्यौपाने र प्रशन्न पोखरेल पछाडि थियौं। लगातार हिँडिरहने भिटोफ र नेपाल पर्यटन बोर्डका साथीहरू हामीभन्दा धेरै अगाडि थिए।
काठमाडौंमा भत्किएका संरचना देख्दा र गोरखा तथा सिन्धुपाल्चोकका समाचार हेर्दा च्वःच्वः गर्ने ओठ गोरखाको बालुवा भन्ने ठाउँ कटेपछि नै निःशब्दजस्तै भइदिएका थिए।
ठाउँ ठाउँमा थकाइ मार्दै अगाडि बढ्यौ। फेदीको झरनाले लोभ्यायो। फोटा खिच्यौं। उकालोमा चिया पसल सम्म भेटिएन, बल्ल बल्ल मान्द्रे पुगियो। त्यहाँ रोहन भाइले चिया पकाएर खुवाए।
रोहन भाइले हामीलाई बारपाक पुग्न २ घन्टा लाग्ने सुझाए। निष्पट्ट अध्यारो भयो। बाटोमा ढुंगा छापेकाले टल्किएका ढुंगा खोज्दै अगाडि बढ्यौ। हाम्रो समूह पछाडि थियो, त्यसमा पनि दामोदरजी सबैभन्दा पछाडि। जतिसुकै थकान भएपनि वैशाख १२ गते मुलुकै तहसनहस बनाउने विनासकारी भूकम्पको केन्द्रबिन्दु बारपाक जान हिँडेकाले थकानभन्दा बढी उत्सुकता थियो। कस्तो भएको छ होला भन्ने कौतुहलता थियो।
रातिको ९ बज्न लागिसकेको थियो। हाम्रो यात्रा रोकिएको थिएन। गाउँबाट केही तल चौतारोमा हामीलाई खोज्न भनेर स्थानीय भाइहरू आएका थिए। हाम्रो टोलीका साथीहरू २ घन्टा अगाडि नै बारपाक पुगिसकेको उनीहरूले बताए। हामी विस्तारै अगाडि बढिरहेका थियौ। उनीहरूले नै सोधे १४ जनाको टिमका मान्छे तपाईहरूनै हो? हामीले हो भनेपछि उनीहरू जाउँ सबै गइसके भने।
उहिल्यै गाउँका बुढाहरूले १२ वटा बाघ बाँधेर राखेको कथा सुनाए उनीहरूले। १२ वटा बाघ बाँधेको ठाउँ भन्दाभन्दै बारपाक भनिएको रे। तिनका कुरा सुन्दा रमाइलो लाग्यो।
जुनको उज्यालोमा टल्किएका ढुंगा छाम्दै बारपाक साढे ९ बजे राति पुगियो।
त्यहाँ वरी परि केही देखिँदैन थियो। टल्किएका जस्ता र साँघुरा बाटो हुँदै सबैभन्दा सिरानको घरमा पुग्यौं। त्यहाँ महिला र पुरुष जम्मा भैसकेका रहेछन्। उनीहरुले हामीलाई फूलमाला लगाइदिए।
भूकम्पले ठूलोक्षति भएको गाउँमा पनि आमा समूहले हाम्रो राम्रो स्वागत गरे जुन हामीले कल्पना गरेका थिएनौं। उनीहरुको आत्मियताले हाम्रो थकाइ मेटाइदियो।
गाउँ पर्यटनको चिनारी बनाइसकेको छ बारपाकले। बिशेषतः होमस्टे गाउँका रूपमा बारपाक चिनिएको थियो। भुकम्पले होमस्टे भएका घरहरु समेत भत्काइदिएछ।
बौद्ध हिमालको उज्यालोमा काखमा बसेका बारपाकीहरू मुस्कुराउन थालेका रहेछन्। बिहान खाजा खाने बेला सामुदायिक होमस्टेकि अध्यक्ष मनोस घले मज्जाले हाँसिन्। र, भनिन्, म हाँसेको फोटो छापिदिनुस् है।
भुकम्पअघि बारपाकका २२ घरमा होमस्टे गराइन्थ्यो। गाउँले पुनः होमस्टे सञ्चालन गराउने तयारीमा छन्।
गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ), पर्यटन बोर्डका साथीहरूसँग हामी त्यहाँ पुगेका थियौं। गाउँलेले हामीलाई ठूलो टेन्ट मुनि बसाए।
वैशाख १२ अगाडि सुन्दर र रमणीय गाउँको चिनारी बनाएको बारपाकको परिचय एक्कासी फेरियो। देश विदेश सबैले भुइँचालोको केन्द्रबिन्दु भएको ठाउँ भनेर चिन्न थाले। गाउँका सबै १४ सय घर भत्किए। ७२ जनाले ज्यान गुमाए।
‘कति रूनु अहिलेसम्म रूएका रूयै छौ। अब हामी हासेर हाम्रो गाउँ फेरि ब्युताउँछौ,’ उनीहरू अब निर्धक्क भन्न थालेका छन्।
भुकम्पपछि घुम्न होइन सहयोग गर्न धेरै जना बारपाक पुगेका छन्। बारपाकलाई सहयोगको आश्वासन दिन भने मन्त्रीदेखि सभासदसम्म र विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरूको ओइरै लागेको थियो। तर बारपाक आश्वासनका मान्छे होइन सुद्ध मन भएका पाहुनालाई स्वागत गर्न तयार छ।
धेरै गाउँलेले अस्थायी टहरा बनाएका छन् । कति बनाउँदै छन्।
कति रूने अब हास्नुपर्छ उनीहरू जो कोहीलाई भेटे भन्छन्।
भिटोफका अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा बारपाक पुगेको टोलीले होमस्टे पुनर्निर्माणमा सघाउने वचन दियो।
गुरुङका अनुसार दसैं लगैतै ६ वटा होमस्टे भवन बनाउन भिटोफले सघाउने छ। तीन कोठे भवन बनाइदिने उसको योजना छ । सामर्थ्य लगायतको संस्थाको सहयोग लिएर बाँकी १६ घर समेत बनाइदिने तयारी भैरहेको भिटोफका महासचिव राजकुमार थापा बताउँछन्।
बारपाकसम्म सडक खुलेको छ । हामी पुग्दा पहिरोले अबरुद्ध थियो। अचेल डोजर लगाएर पहिरो पन्छाउने काम भैरहेको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बारपाकमा दसैंसम्ममा बालुवाबाट सामान बोक्नु नपर्ने आश्वासन दिएर गएका छन्। उनले भनेजस्तै अहिले पहिरो पन्छाउने काम सुरू भइसकेको छ।
बारपाक मनमोहक छ । गाउँबाट बौद्ध, मनास्लु, गणेश र विभिन्न हिमशिखरको दर्शन पाइन्छ ।
बिहान टलक्क टल्केका हिमाल देख्दा लाग्छ तिनिहरु भन्दैछन्, ‘उठ अब राम्रा दिन आएका छन्।’
गाउँको सिरानमा हरियाली वनले सितलता दिइरहेको छ। ढुंगाको छानो, ढुंगाकै गारो भएका अधिकांश घर भत्किए। तर, ढुंगा छापेको सडक–गल्ली जस्ताका तस्तै भइसके।
मिलेर बसेका छन् बारपाकी। अनारदानाजस्ता दाँत खोलेर पोखिएको सुन्दर मुस्कानजस्तो बस्ती छँदैछ।
यस्तो अद्भुत गाउँको दृश्यांकन देख्दा विगतमा भएका सबै पीडा भुलेर नयाँ जीवनको सुरूआतमा लागेका गाउँलेलाई हृदयदेखि नमन।
‘जे हुनु भैहाल्यो, अब अल्छी गरेर काम छैन, स्थानीय पूर्व भारतीय सेनाका जागिरे मेघबहादुर घलेले भने, ‘हामीलाई सबैले भर दिएमा हाम्रो पुरानो बारपाक फर्काउँने धोको पुरा हुन्छ।’
ध्वस्त बारपाकमा हामीले बलियो सामुदायिक एकता देख्यौँ। आफ्नो गाउँको पुनर्निर्माण आफै गर्ने बलियो इच्छा शक्ति देख्यौ त्यो नै सबैभन्दा ठूलो महानता हो।
भूकम्पले थुपारेको काठ र अन्नहरू सम्हाल्दै थिए स्थानीयहरू। गाउँका पसल खुलीसकेका थिए। बालुवाबाट किलोको ५० रूपैयाँमा बोकाएर सामान ल्याउनुपर्छ। यद्यपी मुहारमा अझै पनि त्रासको छाँया सलबलाइरहेकै छ। आँखामा अझै पनि पीडा छचल्किरहेकै छ। तैपनि, ती सबैलाई बिर्संदै मुस्काउने प्रयासमा छन् उनीहरू।
भूकम्पका कारण बारपाकले मानवीय र भौतिक क्षति जति नै बेहोर्नु परेपनि यहाँको प्राकृतिक, सांस्कृतिक सुन्दरताले काँचुली फेरेको छ।
विगतमा मनास्लु पदयात्रामा पर्ने भएकाले यो क्षेत्रमा धेरै पर्यटक आउँथे, अहिले न बस्ने ठाउँ छ, न उनीहरूलाई स्वागत गर्ने परिस्थिति छ।
‘भूकम्पको केन्द्रबिन्दु बारपाकमा धेरैको चासो छ। हामीले त्यसलाई पर्यटकीय केन्द्रबिन्दु बनाउन खोजेका हौं,’ नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले भने, ‘आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनका लागि गतिलो स्थान भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक बन्न सक्छ।’
बारपाकबाट ४ घन्टा उकालो हिँडे लाप्राक गाउँ पुगिन्छ। लाप्राकलाई पनि भुइँचालोले बचाएन। हामी त्यहाँ जाने भनेपनि अरू ठाउँमा जानुपर्ने भएकाले जान सकिएन। बाटो हेरेर फर्कियौ।
एडभेन्चर ग्रामीण विकास कार्यक्रमको अग्रसरतामा ०६७ मा बारपाकमा होमस्टे सुरु गरिएको थियो। गुरुङ र घलेको बस्ती रहेको गाउँमा भिसी सामुदायिक संग्रहालय पनि खुलेको थियो। भुइँचालोले त्यो पनि भत्कियो। अहिले सूचना केन्द्र भवनमा तला थपेर संग्रहालयको रुप दिइँदै छ।
गाउँले आशावादी छन्। हामी त एकै रात बसेर हतारमा फर्कियौं। बारपाकलाई राम्रोसँग अवलोकन गर्ने हो भने दुई रात त्यहाँ विताउनु पर्छ।
मौका मिले फेरी बारपाक पुग्ने मन छ। अब जाँदा पर्याप्त समय लिएर जानेछु, एक रात लाप्राक पनि बस्नेछु।
हेर्नुहोस् केही तस्विरहरू