नेपाली राजनीतिलाई मसिनोसँग नियाल्ने एक मित्रलाई मैले भदौको पहिलो साता जिज्ञासु हुँदै भनेको थिएँ, 'पहाडतिर संघीयताले ज्यानै लिइ सक्यो, मधेसमा सब ठीकै देखिन्छ। मधेस सात प्रदेशको सिमांकनसँग खुशी हो?'
ती मित्रले भने, 'पत्याउनुस/नपत्याउनुस संबिधान मस्यौदा समितिले धर्म निरपेक्षता हटायो भने यो दृश्यमा खासै परिवर्तन हुँदैन। हटाएन भने मधेसमा आगो बल्छ।'
मलाई पत्यार लागेन किनकि मेरो सोझो बुझाइमा हिन्दु राज्य त राप्रपा-नेपालको मुद्दा हो, मधेसी दलको होइन।
तर भयो त्यही। भदौ ६ मा संविधान मस्यौदा समितिले धर्मनिरपेक्षता कायम राख्दै संविधानको अन्तिम मस्यौदा संविधानसभालाई बुझायो। त्यसको भोलिपल्ट टिकापुरमा नरसंहार भयो। थारु समुदायको शन्तिपूर्ण प्रदर्शनलाई जबर्जस्ती रक्तरन्जित बनाइयो।
यो संयोग नै होला।
जानकारका अनुसार घटनाको मूल उदेश्य सुरक्ष्याकर्मीहरुमा त्रास र प्रतिशोधको भावना रोप्नु थियो, ताकी उनीहरु संयम गुमाउन पुगुन् र सामान्य बल प्रयोग गर्दा पुग्ने घटनामा समेत गोली चलाउन्। यसका लाभबारे बताइरहनु परेन। जति रगत बग्छ त्यति नै आन्दोलनको तापमान।
उसबेला मलाई पत्याउन गाह्रो भएको कुरा अहिले घाम जस्तै छर्लंग भइसकेको छ। मधेसको आन्दोलनको समर्थनमा भारतले नेपालको वैधानिक निकयाबाट प्रचण्ड बहुमतले पारित र मधेसी मुलका राष्ट्रपतिद्वारा जारी संविधानको अपमान मात्र गरेको छैन, नेपालका प्रमुख नाकामा अनौपचारिक नाकाबन्दीसम्म गरिसकेको छ। यी कदम विरुद्ध नेपालमा उठेको विरोधप्रति उपेन्द्र यादवले बिहीबार भारतको बचाउ गर्दै भने, 'भारतविरुद्ध भइरहेको द्वेषपूर्ण टिकाटिप्पणी एवं वक्तव्यवाजीप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।'
यादवले थप भनेका छन्, 'भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ।'
भारतले नाकाबन्दीको चेतावनीयुक्त वक्तव्य जारी गरेको केही दिनमै मधेसको आन्दोलनले स्वरूप फेर्यो। आन्दोलन नाका र राजमार्ग केंद्रित भयो।
सीमापारी र सीमावारी दुवैका आँखा नेपालका लागि अत्यन्तै महत्वपुर्ण रहेका नाकामा एकै समयमा टक्क अडिनु पनि संयोगनै मान्नुपर्यो!
एक जना मित्रले भने, 'भारतले नाकाबन्दी लगाउने चेतावनी दियो तर सीमावारीबाट कि पारीबाट त्यो खुलाएको थिएन। अब कुरा खुल्यो।
भारतको असन्तुष्टीको कारण छर्लङ्ग भइसकेको छ।
भारतीय विद्वान भारत भुषणले बिहिबार प्रकाशित एक लेखमा भनेका छन्, सत्तारुढ भारतीय जनता पार्टी नेपाल हिन्दु राष्ट्र भएको देख्न चाहन्थ्यो।
मस्यौदा समितिले अन्तिम मस्यौदा पेश नगर्दासम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो हुनेमा ढुक्क रहेको बुझिन्छ। अन्तिम मस्यौदा पेश भएको दिन धर्म सम्बन्धी व्यवस्थामा पुनरावलोकन नहुने र संसोधनमा पनि प्रमुख दलहरुको मत नखस्ने निश्चित भयो। लगत्तै कैलाली हुँदै मधेशमा डडेलो लाग्यो जुन आजसम्म निभेको छैन।
राज्यले आफूलाई कुनै धर्मसँग जोड्नु वा निरपेक्ष्य रहनु मेरो चासोको बिषय कहिल्यै भएन किनकी म धर्ममा आस्था राख्दिनँ। तर अहिले बुझ्दा धर्मको सवालमा जे भयो त्यो राम्रै भएछ। हिन्दु राज्य पुनर्स्थापित भएको भए पनि भारतले संविधानको स्वागत गर्थ्यो नै भन्ने ग्यारेन्टी छैन, किनकि भारतीय जनता पार्टी को मुख्य चासो हिन्दु राज्य भएपनि भारतका सुरक्ष्या निकायहरुका अरु नै चासो छन्।
नेपालले धर्म सम्बन्धि प्रावधान परिवर्तन गरेको भए आजको ठीक विपरित परिस्थिति हुन पनि सक्थ्यो, भारतद्वारा स्वागत, बाँकी विश्वद्वारा कडा प्रतिक्रिया। त्यो स्थिति झन् जटिल हुन्थ्यो।
नेपाल आजको परिस्थितिमा आइपुग्नुमा धेरै कारण छन्।
थोरैले उठाउने गरेको एउटा कारण के हो भने हामीमा कालोलाई कालो र सेतोलाई सेतो भन्ने संस्कारको कमी भयो। हामीले 'पोलिटिकल्ली करेक्ट' हुने धुनमा जिब्रो चपाएर बोल्ने/लेख्ने संस्कार हुर्कायौं।
यो कुरा संघीयतामा हामीले गरेका अधुरा बहसमा प्रस्ट देखियो। ती बहसमा सत्यमा आधारित भन्दा पनि लोकप्रीयता प्रधान भए।
सत्य के हो भने संघीयता नेपालमा रहेको विभेद र गरिबीको समाधान हुँदै होइन। संघीयता काठमाडौंलाई आफूले चाहेका निर्णय गराउन भविष्यमा बाध्य पार्न सहज होस् भनि रोपिएको बिरुवा हो जसका फलहरु संघीय नेपालको अभ्यास सुरु हुनु अघि नै लटरम्म फल्न थालिसके।
संघीयता मधेसले स्थापित गरेको मुद्दा भएपनि यो मुद्दाको बाबुचाहिँ सशस्त्र युद्द हो, त्यसबेला स्थापित जातीय मोर्चाहरु हुन्। नेपालको सशस्त्र युद्द र मधेस आन्दोलनमा भारतीय सद्भाव रहेको अब कसैबाट लुकेको छैन।
जातीय मोर्चा माओवादीले आवश्यक ठान्यो, युद्दका लागि। विश्वका सबै सशस्त्र आन्दोलनका जग केही जायज माग र धेरै बतासे सपनाहरुले निर्मित रहेको पाइन्छ। नेपालमा पनि त्यही भयो। माओवादी काठमाडौं पसेर पूँजीपतिमा परिणत हुन थालेपछि जातीय सपनाहरु सुशुप्त बने। अहिले तिनै सपना नेपालको मैदानी भागमा पुनर्जीवित गरिएको छ।
सपनाहरु अत्यन्त शक्तिशाली हुन्छन, सरुवा हुन्छन् र प्रज्ज्वलन्शील हुन्छन्। कुन सपना बोकी हिडने, कुनलाई बिसाउने भन्ने ठम्याउन जान्नुपर्ने हुन्छ। यो कुरा माओवादीले बुझेको हालसालै मात्र हो।
माओवादी युद्दले रोपेको र पछि त्यागेको, अनि मधेसका नेताहरुले मलजल गरेर जोगाएको र अहिले आफ्नो प्रमुख हतियार बनाएको यो सपनाले कतिको बलि माग्ने हो भन्न गाह्रो छ।
भविष्यप्रति सकारात्मक सोच राख्नु राम्रो कुरा हो। त्यस्तो सोचले जीवन सहज हुन्छ, स्वास्थ्य पनि राम्रो हुन्छ। यथार्थवादी सोचले यी लाभहरु दिँदैन। हाम्रो आजको यथार्थ तीतो छ- जातियताको सहोदर भाइ संघीयताले नेपाललाई लामो समयसम्म अस्थिर बनाइराख्ने छ।
भारतको व्यवहारको जायज विरोधलाई कोरा राष्ट्रवाद भन्नेहरु पनि छन्। उनीहरुका अनुसार भारतले भनेको मानेर स्थिति सामान्य बनाउनुपर्छ, नाका सुचारु गरिनुपर्छ, चाडपर्व मज्जाले मनाउनुपर्छ।
बिर्सन नहुने कुरा के हो भने राष्ट्रको जीवन मानिसको जस्तो छोटो हुन्न। आज गरिने निर्णयले भोलिका दिनमा नेपालीहरु स्वाभिमानी जीवन जिउनेछन् वा सदा छिमेकीको त्रासमा बाँच्नेछन् भन्ने कुराको निधो गर्नेछ। @writerbikash