संविधान कागजमा लेखिएको केही अक्षर न हो। यो कसैको लागि मार्गदर्शक हुन सक्छ भने कसैको लागि मूल्यहीन। नेपालको सन्दर्भमा बहुसंख्यक मतले तयार पारेको संविधानलाई सजिलै नकार्न सकिँदैन तथापि यसमा पर्याप्त परिमार्जनको आवश्यकता परिरहने छ।
नयाँ संविधानको भविष्य पूर्णत हाम्रै विवेककै भरमा छ। संविधान अकाट्य होइन, यसलाई समयसापेक्ष सुधार गर्दै लान सकिन्छ। त्यसैले बनेको संविधानलाई अब कसरी कार्यान्वयन गर्नेबारे सोचौँ र सुधारमुखी बनाउने बाटो तिर लम्कौँ।
मैले र सायद धेरै नेपालीले बुझेको संविधानको मूल मर्म भने हरेक नेपालीलाई समृद्ध र सम्मानित बनाउनु हो। समद्ध नेपाली सम्पन्न मात्र होइन, आत्मसन्तुष्ट पनि हुन्छ। यो संविधान हरेक नेपाली परिवारको लागि सन्तुष्ट, सम्मानित, सार्थक अनि सम्पन्न बन्ने मार्ग बनोस मेरो व्यक्तिगत कामना छ।
हाम्रो नयां संविधानलाई कागजमा लिपिबद्द अधिकारबाट अब व्यवहारमा परिणत गर्नु हरेक आम नेपाली तथा राज्यको प्रमुख दायित्व हुनेछ। त्यसैले हामीले प्राप्त गरेको नयाँ संविधानको सही प्रयोग गर्दै नेपाललाई कसरी समृद्ध बनाउने त? अबको मूल प्रश्न यही हो।
१) स्थानीय नेतृत्व:
हामीले संविधान ल्याउने नेतृत्वलाई धन्यवाद दिनु पर्छ। साथै अब हामीलाई लोकतन्त्र बलियो बनाउने र आम सर्वसाधारणको आशा अनि आकांक्षा पुरा गर्न सक्ने नेतृत्वको आवश्कता छ। त्यसैले संविधान लागु भएपछिको पहिलो काम स्थानीय शासनलाई तुरुन्तै बलियो बनाउने प्रयास हो। त्यसको शुरुवात स्थानिय निर्वाचनबाट हुन्छ। यसले देशलाई चाहिने नेतृत्वको बिउ पनि रोप्छ। नेतृत्व विकास गर्ने जरो नै स्थानीय तहबाटै सुरु हुन्छ। यसले टोलमा, गाँउमा, शहरमा हामी सबैले खोजेको समृद्ध समाजको लागि चाहिने विधिको शासन स्थापित गर्छ, ढुक्क भएर काम कारबाही गर्न बलियो आधार दिन्छ।
२) विकासोन्मुख नेपाल बनाउने नेतृत्व :
संसारभर असंख्य नेपालीहरुले एक्लैएक्लै उदाहरणिय काम गरिरहेका छन्। उनीहरुको यो अपारसीपलाई कसरी समृद्ध देश बनाउन जोड्ने अब हाम्रो प्रमुख चुनौती हो। संसारभर छरिएको नेपाली दक्ष्यतालाई नेपालको समृद्धिमा संस्थागत गर्नु हाम्रो राष्ट्रिय प्राथमिकता हुनु पर्दछ।
३) अन्तराष्ट्रिय नेतृत्व :
संविधान बनेको छ। अब नेपाललाई विश्वसँग जोड्न सक्ने नेतृत्वको खाँचो छ। नेपाल भारत र चीनबीचमा विश्वास अनि विकासको पुल बन्नु पर्दछ। हामीसँग विश्वको केन्द्र बिन्दु बन्न सक्ने पर्याप्त आधारहरु छन्। हामी २०३० मा मध्यम आय भएको मुलुक अनि २०५० सम्म उच्च आय भएको मुलुक बन्ने लक्ष्यका साथ अगाडी बढ्नु पर्दछ। त्यसका लागि हामीलाई अब्लब कुटनितिक राजनेता नेतृत्वको खाँचो छ। युवा पुस्ताले त्यो नेतृव बन्ने महत्वकांक्षा राख्नु पर्दछ।
विविधतामा फस्टाउने योग्यतामुखी नेतृत्व
यो संविधानलाई सार्थक बनाउने हो भने हाम्रो विविधता बीच एकता मात्र होईन सहअस्तित्व, सहकार्य र सहअनुभुति हुनै पर्छ। यी समृद्धिका सुत्रहरुले समतामुलक समृद्ध समाज बनाउने छ जसले हरेक जात- भेषका नेपालीको परिवारलाई संमृद्धिको आभाश गराउँछ। जब हामी नेपाली समृद्धि तिर उन्मुख हुदैँ विगतमा भएका चरम विभेदलाई हटाउँन विवेकशील योग्यतामुखी समाज बनाउने बाटोमा लाग्छौँ तब मात्र हामीले नया संविधानको सुगन्ध सुघ्न पाँउछौँ। यसको लागि हामीलाई हाम्रो हकका साथ हाम्रो दायित्वको पनि उत्तिकै जरुरी छ। हाम्रो चालचलन जति नै फरक रहे पनि हाम्रो संस्कार एउटै हुनु पर्छ - अापसी - हित, भाईचारा र समृद्ध बनाउने वातावरणको सदैव रक्षा गर्ने। यस्तो नेतृत्व देशको माग हो र बिभिन्न दक्ष, विवेकशील नेतृत्व यो लक्ष्य प्राप्ति गर्न लागि परेका छन्।
अाउनुहोस् - संविधानलाई व्यवाहरमा उतारौँ। संविधान ल्याउने नेतृत्वलाई धन्यवाद दिऊँ। यसलाई संस्थागत गराउने, समृद्ध समाज बनाउन सक्ने, जान्ने नवनेतृत्व बनौं, बनाऔं। नत्र भावी पुस्ताले युवा देखिबृद्ध तपाईँ-हामीलाई धिक्कार्ने बाहेक केहि गर्ने छैन। अबको नव पुस्तालाई यो वा उ बाहना बनाउने दिन गए। विवेक जगाउने दिन आए। संविधान सुधार्दै लान त्यसलाई सुधार्ने नेतृत्व बनाउन थालौँ।
दुनिया समय सापेक्ष हिसाबले चल्छ। त्यसैले लोकतन्त्र ल्याउने नेतृत्वलाई अझ भार दिने काम नगरौं। समय अनुसार चलेर लोकतन्त्र संस्थागत गर्ने नेतृत्व बनौं र बनाउँ। आफ्नो दायित्वबाट नपन्छौंं।