केहि समयअघि म नेपालको अन्तर्राष्ट्रिय अस्पतालमा काम गर्थेँ। संयोग कस्तो पर्यो भने एक दिन मैले भारतीय 'सरोगेट मदर' र इजरायली दम्पतीको भाषा अनुवाद गरिदिएँ।
उमेरले ४५ काटेका ति दम्पतिको 'ओभम् र स्पर्म' (डिम्ब र शुक्रकिट) लाई पहिले टेस्ट्युबमा 'फर्टिलाइज' (निषेचित) गराएर भारतीय महिलाको कोखमा बच्चा हुर्काइएको थियो।यसरी बच्चा पाउने महिलालाई सरोगेट मदर भनिन्छ।
ती दम्पतिहरुको भ्रुण जब सन्तान बनेर जन्म लियो, उनीहरु त्यही सन्तान जन्माइदिने आमासँग कुरा गर्न चाहन्थे। यसअघि उनीहरुको भेटसम्म भएको थिएन।
नेपाल आएका ती दम्पतिले भने, 'ईश्वरले जुन कुरा हामीलाई दिएनन् ,त्यो उपहार तपाईँले हामीलाई दिनु भयो। यस अर्थ तपाईँ हाम्रा लागि ईश्वरभन्दा पनि ठूलो हो।' यता भारतीय सरोगेट मदरले आत्म विश्वासका साथ आफू महिला भए कै कारण उनीहरुको खुसीको सहायक बन्न पाएकोमा गर्व गरिन्।
मेरो जिन्दगीका अनेकन संयोगहरु मध्ये यो विशेष संयोग, म त्यो अद्भुत क्षणको साक्षी बन्न पाएँ। यो घटनाबाट सरोगेसीबारेको मेरो अवधारणामा ९० डिग्रीको बद्लाव आयो। सरोगेट मदर बन्ने वा नबन्ने भन्ने कुरा महिलाको व्यक्तिगत अधिकारको कुरा हो भन्ने सवालमा म त्यसपछि प्रस्ट भएँ। अझ भनौँ, प्रकृतिले हामी महिलालाई सन्तान जन्माउने क्षमता दिएको देखेर हामी महिलाहरु विषेश हौँ भन्ने विश्वास लाग्यो।
यसैबीच, राजधानीका केही अत्याधुनिक अस्पतालहरुले सरोगेसी सेवा शुरु गरेको खबर आयो। आफूलाई खुबै महिला मैत्रि मिडिया बताउने मिडिया सरोगेसीका विरुद्ध यसरी खनिए कि यसका राम्रा पक्षहरुमाथि यीनले तेजाब छर्किए। मैले बुझेको सरोगेसी र नेपाली मिडियाले बुझेको सरोगेसीबारे केलाउन मलाई महिनौँ लाग्यो।
संसारभरि कै तथ्याङ्क हेर्ने हो भने आमा बन्न योग्य केही युवतीहरूले आफ्नो कोख भाडामा दिने प्रचलन छ। भाडाको कोख भन्ने शब्द सुन्दा नकारात्मक लाग्छ। व्यवसायिक खेती या ठगीझैँ पनि सुनिन सक्छ यो शब्द। भाडा भन्ने वित्तिकै हामी धेरैले व्यवसायिक रुपमा धमाधम एउटै कोखमा एउटै महिलाले दर्जनौँ बच्चाहरु हुर्काउने ठानेका हुन सक्छौँ तर त्यो साँचो होइन। सरोगेसीमा महिलाले मेशिनले जसरी बच्चा पाउने होइन। एक महिलाले एक पटक मात्र सरोगेसी गराउन पाउने नियम नै छ।
सरोगेसीका बारेमा रहेका केही भ्रमहरुबारे हामीले स्पष्ट हुनु जरुरी छ। सरोगेसीको नेपाली रुपान्तरण हो, नायव। यसको मतलव सरोगेट मदरको अर्थ हो, नायव आमा अर्थात् केही समयका लागि आमाको जिम्मेवारी बोक्ने व्यक्ति।
सरोगेसीमा एक वा दुई पटक आफ्नै बच्चा पाइसकेको महिलाले अरु कसैको बच्चा आफ्नो गर्भमा हुर्काउने प्रचलन छ। अरु कसैको पनि बच्चा पाइदिँदैमा उनले फेरी आफ्नो श्रीमानसँग मिलेर बच्चा पाउन नमिल्ने होइन।
अरु कसैको बच्चा पाउने भन्दैमा कोही पुरुषसँग सहवास गर्ने पनि होइन। यसलाई यौनधन्दा वा मृगौला बेचबिखन यो प्रकृयामा,सँग किमार्थ तुलना गर्न मिल्दैन।
टेस्टट्युबमा फर्टिलाइज गरिएको केही विकसित एम्ब्रियोलाई सामान्य सिजरिङ मार्फत महिलाको गर्भमा राख्ने गरिन्छ। यस प्रकृयाको खास विशेषता के हो भने यसरी जन्मिएको बच्चाको डि.एन.ए परीक्षण गर्दा जुन दम्पतिको ओभम् र स्पर्र्म हो उसैसंग मात्र मेल खान्छ, ९ महिना गर्भमा राखिदिने आमाको बच्चामा कुनै प्रकारको पनि प्रभाव रहँदैन। यस अर्थ यो बच्चाको आमाबाबु को भन्नेमा कुनै दुविधा रहँदैन।
अहिले चर्चामा रहेको विषयचाहीँ 'जेस्टेशनल क्यारियर' अर्थात 'भ्रुणावधिको आमा'को विषय हो।
केही समयका लागि वयस्क र सक्षम युवतीहरुको गर्भ लिएर बच्चा जन्माउने प्रचलन नेपालमा भित्रिएको र यसले हाम्रो सामाजिक संरचना, व्यवहार र संस्कारमै गम्भिर असर पार्ने भन्ने अहिलेको बहस विषय हो। हामी मध्ये धेरैले यसका बारेमा धेरै कुरा नबुझि आफ्नो मत बनाइरहेका छौँ। नबुझि नबुझि बनाइएको त्यही मतमा बहस गरिरहेका छौँ।
भावुकतामा बस हामी धेरैले महिलाले पेट बोक्दा भोग्नुपर्ने शारिरीक सास्ती सम्झेर सरोगेसीलाई ठाडै 'नो नो नो' भनिरहेका छौँ तर यसलाई अरु कोणबाट पनि हेर्नुपर्ने बेला आइसकेको छ। हुनत हाम्रो नेपाली समाज परम्परागत संस्कारले बाँधिएको छ। कति सम्म भने अष्ट्रेलियामा नाति जन्मन्छ अनि न्वारनचाहीँ नेपालबाटै स्काइप र भाइवरबाट हुन्छ। पण्डितले यता भाइवरमा मन्त्र पढ्छन, अनि अष्ट्रेलियामा सुत्केरो चोखिन्छ। संस्कृतीको नाउँमा हामीले पालना गरेका बकमफुसे नियमहरुको फेहरिस्त लामै हुन जान्छ।
खैर, नेपाली समाज जड छ। महिलाका सवालमा अझै कठोर छ। विर्य दान गर्दा समाज र संस्कृतीलाई कुनै हानी नोक्सानी भएको नेदेख्ने मिडिया र राज्य संचालकहरु महिलाको कोख उनको स्वविकेकले कसैको सहयोगको लागि दिन तयार हुँदा देशको सिमानै मिचिए जसरी चिच्याए। यति धेरै चिच्याए कि सरकारले आफ्नो होस गुमायो र हतासमा निर्णय गर्यो – नेपालमा सरोगेसी अवैधानिक। यो समाचारलाई यति महत्वले छापियो कि मानौ महिलालाई हराउँदा देशले जित्छ। यदि यो समाचार सहि हो भने हाम्रा लागि लज्जास्पद हार हो। जसरी आज आफैले पाएको सन्तानलाई आफ्नै नाम दिन लडाईँ लड्दैछौँ एकदिन यस्तो पनि आउने छ,आफ्नो कोखमाथि आफ्नै मात्र अधिकारका लागि लड्नु परोस। त्यो लडाईँ लड्न पनि हामी नेपाली महिला पछि हट्ने छैनन्।
अरे सरकार! आज मलाई चिच्याउन मन छ, 'मेरो पेट, यसमा पाउरोटी राखुँ, यसमा मःम राखु, यसमा चाउमिन राखु, वा पनिर डोसा राखु या कसैको सन्तान सुखको लागि उस्को बच्चा मेरो पेटमा हुर्कादिउँ, यो मेरो मर्जी हो।' मेरो पेटमा के राख्ने भनेर फैसला गर्न मलाई नै दिनुस्। मेरो आशय– गर्भाशय मेरो हो। जसरी विर्यदान, आँखादान, मरेपछि शरिरका अंगदान वा मृगौला दान गर्दा हामीले दातालाई फैसला गर्ने हक दियौँ त्यसैगरि महिलाको कोख माथि उसैले फैसला गर्न पाउनु पर्छ। कम्तीमा यस विषयमा आम नेपाली महिलाले आफ्नो स्वविवेकको उपयोग गर्नेछन् भन्ने मेरो विश्वास हो।
आमा बन्ने रहर स्त्रीजातिय स्वभाव हो। यद्यपि विभिन्न जैविक कारणहरुले कतिपय आमाहरु प्रजननका लागि सक्षम हुँदैनन्। वंश संचालनका लागि सन्तान प्राप्त गर्ने इच्छा उनीहरुमा भएपनि,प्रजननका लागि उपयुक्त 'ओभम्' र 'स्पर्म' उपलव्ध हुँदाहुदै पनि मात्र शारिरीक असमर्थताका कारण उनीहरुले आफ्नै गर्भभित्र बच्चा हुर्काउन असमर्थ हुने गर्छन्।
यस्ता दम्पतीको समास्या समाधान गर्ने उपाय विज्ञानले निकालेको छ। दम्पतीको ओभम र स्पर्म अरु कसैको गर्भमा प्रत्यारोपण गराएर निसन्तानहरुलाई सन्तान सुख पाउने बाटो खोलिदिएको छ। विज्ञानको चमत्कारै मान्नु पर्छ, विना कुनै शारिरिक सम्बन्ध आफुले चाहेमा महिलाहरु आफ्नो कोखमा बच्चा हुर्काउन सक्ने भएका छन्।
तर हेरौँ न हाम्रो सामाजिक संस्कार र देशको कानुन कस्तो छ? जब महिला सन्तान जन्माउन असक्षम हुन्छिन तब कानुनले उसको पतिलाई दोश्रो विहे गर्न रोक लाउँदैन।
एउटी सामान्य महिला जसले सन्तान जन्माउन नसकेकै कारण अनेकन लान्छनाहरु व्यहोर्नु पर्छ। मौका मिले ति महिलालाई 'बच्चा पाउन नसकेको अलच्छिना' पनि भनिहाल्छन्। सन्तान जन्माउन नसक्ने 'बाँझी'जस्ता शब्दवाण सहँदै, तिरस्कार र अपमान खेपेर कति निर्दोष महिलाले आफ्नो जुनी कटाए होलान् त्यसको के हिसाब? तर जब तिनी जस्तै अर्कि महिला आफ्नो कोख अरुलाई सहयोग गर्न दिन मन्जुर हुन्छिन्, त्यो बेला पनि हामीलाई आपत्ति हुन्छ। समाज र देशलाई आपत्ति हुन्छ।
मेरो जिज्ञासा– महिलाले आफ्नो गर्भाशयमाथि आफ्नो अधिकारको कुरा गर्दा आपत्ति केका लागि? यो विषयमा हाम्रो समाजलाई मन नपरेको चाँहि के हो? किन हो?
हामीले 'सुपरस्टार' मानेका भारतीय अभिनेता आमिर खानले ढिलो गरि दोश्रो बिहे गरे। उनकी श्रीमति किराण राय आफ्नो ढल्केको उमेर कै कारण आमा बन्न नसक्ने अवस्थामा थिइन्। उनीहरुले सरोगेट मदरको सहायता लिएर छोरा आजाद राय खान जन्माइएको बताएकी छिन्।मानविय समवेदनाप्रति निक्कै सजग मानिएका आमिरलाई सरोगेट मदरकै कारण सन्तान सुख मिल्यो। आमिर/ किरणले त्यसो गरे भनेर हामीमध्ये कसैलाई आपत्ति छैन। अर्का बलिउड स्टार नायक सारुख र गौरीले पनि आफ्नो तेश्रो सन्तानको जन्म सरोगेट मदरबाटै गराएका थिए।
अमेरिका पुगेको सपना देख्दा विउँझन मन नगर्ने हाम्रा समाजका अगुवाहरु, तपाँईको सपनाको देश अमेरिका र अष्ट्रेलियामा बकाईदा सरोगेसीले कानुनी मान्यता पनि पाएको छ। सन्तान जन्माइ दिएर धर्म मात्र होइन पैसा पनि कमाउँछन् त्यहाका महिलाले। के तपाँई त्यहाँ पुग्नु भयो भने सरोगेसीकै कारण संस्कार खतरामा पर्छ भनेर चिच्याउन सक्नु हुन्छ? होइन भने यो विषयमा बहस गरौँ।
यसका राम्रा र नराम्रा पक्षहरु केलाउँ। गरिब र सिधासाधा महिलाहरु नठगिने गरी कसिलो कानुन बनाउँ। सरकारले यसको नियमन गरोस्। तर संस्कारको दुहाई दिएर कोख र कोख हस्तान्तरणको अधिकारहरुलाई प्रतिबन्ध गराउनेतिर नलागौँ। कोखको अधिकार महिलाहरुको निजी अधिकारको विषय हो।