'माफ गर्नुस, मसँग कुखुराको वध गर्ने लाइसेन्स छैन। त्यसो हुँदा म वध गरेर काटकुट गरी दिन सक्दिन। जिउँदै लैजान्छौं भने समस्या छैन,' केही महिनाअघि कुखुरा किन्न गएको हाम्रो समूहलाई क्यालिफोर्नियाको आलमरकमा वधशाला सञ्चालकले यसो भनेर फर्काइदिए। ती सञ्चालकसँग खसी, गाईगोरु, सुँगुर वध गरेर बेच्ने लाइसेन्स रहेछ, तर कुखुरा मारेर बेच्ने अख्तियारी थिएन। उनीसँग भएका हाँसकुखुरा जिउँदै बेच्दा रहेछन्। गोरुको वध गरेर मासु बेच्न सक्ने उनले सानो कुखुराको वध गर्न नसक्ने होइनन्। तर उनीसँग त्यसको इजाजत छैन। कथंकदाचित उनले कुखुरा वध गरेर बेचेको खण्डमा ठूलै दण्ड तिर्नुपर्ने हुन्छ।
केही दिनअघि बर्डफ्लुको शंकामा राजधानीका भक्तपुर र ललितपुरमा जिउँदा कुखुरालाई लठ्ठीले हिर्काउँदै मारेको बडो वीभत्स तस्बिर र भिडियो दृश्य सञ्चारमाध्यममा आए। ती वीभत्स दृश्यले मलाई आलमरकको कुखुरा फार्म र त्यसका सञ्चालकको भनाइ सम्झायो। बर्डफ्लु नाममा कुखुरा र हाँसमाथि बर्षाइएको मुंग्रो र लाठीप्रति सामाजिक सञ्जालहरुमा पनि चर्को विरोध भयो। कृषि मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले वीभत्स तरिकाले हत्या गरिएकोमा सुधार गर्ने प्रतिवद्धता जनाउनुको बदला सञ्चारमाध्यमसँग त्यस्तो दृश्य प्रशारण, प्रकाशन नगर्न उपदेश दिएछन्।
पश्चिमा मुलुकमा कुनै व्यक्तिले त्यसरी दोपाया या चौपायाको हत्या गरेको भए वध गर्ने कार्यमा संलग्नले निकै ठूलो दण्डसजाय भोग्नुपर्थ्यो। पशु अधिकारवादीहरुले ठूलै बवण्डर मच्चाउँथे। हामीकहाँ भने सरकारी निकायले नै यति त्रु्कर र अमानवीय रुपमा कुखुरा, हाँस मारेको फुटेजहरु बाहिर आएकी त्यसको जति नै निन्दा गरे पनि कम हुन्छ। त्यसरी मार्ने अधिकारीहरुलाई कस्ले कारबाही गर्ने? या सरकारी निकायकै निर्देशन हो कि जसरी, जहाँ, जुन रुपमा जे ले भेट्यो त्यसैले हाँस, कुखुरा मार्नु भन्ने?
नागरिक दैनिकका फोटो पत्रकार विजय राइले खिचेको भक्तपुरको कुखुरा फार्मका लेयर्स (अण्डा दिने) कुखुरालाई बर्डफ्लु नियन्त्रणको नाममा खटिएको 'र्यापिड रेस्पोन्स टिम' का सदस्यले मुग्रो उचाल्दै, हिर्काएर मारेको तस्बिरले बोल्छ कि कति क्रुर छ सरकारी तरिका। दुनियामा कहिँ पनि रोग लागेको नाममा चाहे रोगी हुन् या निरोगी कुनै पनि पशुपन्छीलाई यसरी मार्न पाइदैन। मार्नै परेपनि सास्ती नहुनेगरी मार्नुपर्छ।
तस्बिरमा ज्यान जोगाउन खोरमा भएका कुखुराहरु भागाभाग गर्दैछन्। मुंग्रोको प्रहारमा परेको कुखुरा फट्फटाउँदै छ। यस्तो पनि रोग नियन्त्रण गर्ने कुनै तरिका हुन्छ? रोग लागेका कुखुरालाई पीडा नहुनेगरी मारेर गाड्नुपर्ने विश्व विश्व स्वास्थ संगठनको मापदण्डमा छ। नेपालमा भने चाहे बर्डफ्लुको नाममा होस् या भारतबाट आयात गरिएको चल्ला नै होस्, जनावर र पन्छीलाई निकै पीडा हुनेगरी वध गरिन्छ। भारतबाट आयात भएका चल्लालाई खाडल खनेर जिउँदै पुरिन्छ। पशुपन्छीप्रति यो भन्दा निर्दयता के हुन्छ?
पछिल्लो समयमा राजधानीमा देखा परेको बर्डफ्लु नियन्त्रणको नाममा पाँच लाखको हाराहारीमा कुखुरा, हाँस मारिएका छन्। वैज्ञानिक तरिकाले नभै यस्तै पहलमान शैलीमा मुंग्राले हिर्काएर, जिउँदै खाडलमा पुरेर पन्छीको हत्या गरिएको छ। सरकारी अधिकारीहरुलाई यस्तो वीभत्स हत्याको शैलीले अन्तर्राष्ट्रिय जगतमा देशको वदनाम होला भन्ने डर पनि थोरबहुत भएको पाइयो। डरभन्दा पनि बर्डफ्लुका नाममा भोलि विदेशमा घुमघामको अवसर कम होला, अनि त्यहाँ त्यस्ता वीभत्स दृश्यका बारेमा जवाफ दिनुपर्ला भन्ने चिन्ता मात्र हो सरकारी अधिकारीहरुको। सञ्चारमाध्यमलाई त्यस्ता दृश्य नदेखाइदिन आग्रह गर्ने अधिकारीहरुले रोग नियन्त्रणका लागि खटिने टोलीलाई पहिले नै किन उचित तालिम, ज्ञान दिएर कार्यथलोमा खटाउन सक्दैनन?
सञ्चारमाध्यमको त धर्मै हो जहाँ गलत काम हुन्छ, त्यसलाई बाहिर ल्याइदिने र सुधारको बाटोमा ल्याउन वाध्य बनाउने। त्यस्ता त्रु्कर दृश्य बाहिर नल्याउन आग्रह गर्नु भनेको हत्केलाले घामलाई छेकेर अँध्यारो बनाउने प्रयास सरहमात्र हो। सुरुमै उठाएको प्रसंग अनुसार, विकसित देशमा खसी, गोरु वध गरे मासु व्यवसाय गर्नेले कुखुरा वध गर्न पाउँदैन। हामीकहाँ रोग नियन्त्रणका नाममा मनलाग्दी तरिकाले मार्ने शैलीले यो व्यबसायमा लागेकालाई ठूलो पीडा दिएको छ।
कुखुरामा पटक पटक बर्डफ्लुको संक्रमण किन देखियो, त्यसबारेमा सरकार कहिल्यै सचेत भएको भेटिएको छैन। बरु पटकपटक यस्ता रोगलाई लुकाउने गर्दै आएको छ। त्यसैले अहिले जस्तो एकैपटक ठूलोमात्रामा कुखुरा र पन्छी नष्ट गर्नुपर्ने अवस्था आएको छ जसले राष्ट्रिय अर्थतन्त्रमा समेत निकै ठूलो हानी पुर्याएको छ।
मासुजन्य पदार्थमा नेपाल आत्मनिर्भर रहेको एउटैमात्र कुखुरामा हो। केएफसी र केही तारे होटल भन्दा बाहेक अधिकांश ठाउँमा कुखुराको मासुमा स्वदेशीकै अंश छ। नेपाल पोल्ट्री एसोसिएसनका अनुसार कुखुरा व्यबसायले देशको अर्थतन्त्रमा झण्डै चार प्रतिशत योगदान गरेको छ। अर्थात देशमा बार्षिक ५० अर्ब ६५ करोडको कारोवार हुने गरेको छ। यो अंक बर्षेनी बढ्दै गइरहेको छ।
कुखुरापालन व्यबसायले गाउँघरमै रोजगारी दिलाएको छ। स–साना होटल, रेष्टुराँदेखि लिएर दाना उद्योग, औषधी व्यबसायमा समेत यसले सकारात्मक प्रभाव पारेको छ। एक किलो कुखुराको मासुको लागि खर्च गरेको रकममध्य झण्डै ९५ प्रतिशत स्वदेशमै रहन्छ। खसीको मासु र राँगाको मासुका लागि खर्च हुने रकमको ९५ प्रतिशत देश बाहिर जान्छ। किनकी खसी र राँगाको लागि बार्षिक करोडौं रुपैया खर्च गरेर भारतबाट आयात गनुपर्ने अवस्था हटेको छैन।
देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने कुखुरा व्यबसाय यतिखेर निकै धराशायी हुँदै गएको छ। यस्तो अवस्था तत्कालै आएको भने होइन। जब यो व्यबसायले अलिकति देशभित्रै गति लिन थाल्यो त्यसपछि दाना, औषधीमा हुने गरेको मिसावट, कम गुणस्तर, गुणस्तरहिन चल्लाले गर्दा यो व्यबसायका दुर्दीनहरु सुरु भएका थिए। बेलाबखतमा फाट्टफुट्ट देखा पर्ने बर्डफ्लु रोगलाई लुकाउने प्रयासले पनि अहिले एकैपटक महामारीको रुप लिन पुगेको हो।
कुखुरा पाल्ने किसान (ब्यबसायी) ले भन्दा बीचमा बसेर दलाली गर्ने मालामाल हुने प्रवृत्तिपछि यो व्यबसाय पछि पर्न सुरु भैसकेको थियो। कुखुराको साइज अनुसार फरक मूल्य, जोख्दा खेरि हुने घोटाला, समयमा भुक्तानी नपाइने जस्ता समस्याले गर्दा किसानहरुले यो पेशा छाड्दै गएका छन्। अझै यस्तैगरि बेलाबखतमा आउने महामारीरुपी बर्डफ्लुले गर्दा धेरै व्यबसायीको घरबास उठेको छ।
कुखुरापालन क्षेत्र व्यबसाय भन्दा पनि जुवा जस्तो बनेको छ। कुन बेला रोग लागेर खारमै कुखुरा सोत्तर हुने हो ठेगान छैन। अर्कातिर बर्डफ्लु लागेर बेलाबखतमा सरकारी कर्मचारीले खोरमा पसेर निर्मतापूर्वक कुखुरा मार्दा त्यस वापत प्राप्त हुने न्यून क्षतीपूर्तिले गर्दा किसानहरु यो पेशाबाटै विस्थापित भइरहेका छन्।
गत दशैंमा नुवाकोट घर जाँदा अघिल्ला बर्षहरुमा टनाटन कुखुरा पालिएका खोरहरु रिरत्ता थिए। पहिले कुखुरा व्यबसायमा नाम कहलाएकाहरु कोही गाइपालन त कोही अरुनै व्यबसायमा लागेका भेटिए। दुई बर्ष अघिसम्म कुखुरा व्यबसायीको नेतृत्व गरेका गोकर्ण घिमिरे यो पेशाबाट पलायन भएर विदेश पुगेका छन्। यो क्षेत्रबाट पलायनता र बेलाखतमा देखिने यस्तै रोगले गर्दा भविष्यमा कुखुरापालन क्षेत्रनै धराशायी हुने अवस्थामा पुगेको छ।
यो क्षेत्र धराशायी हुँदा किसान, व्यबसायीमात्र होइन बैंकहरु समेत धराशायी हुने अवस्था आउँछ। सरकारी अधिकारीहरु बर्डफ्लु पीडित किसानलाई राहत दिनेभन्दा पनि टाउको देखेको औषधी नाइटोमा लगाउने शैलीमा उपचार खोजिरहेका छन्। यसले देश आत्मनिर्भर बनेको एउटा क्षेत्र धराशायी बनाएको छ।
bhattarc@gmail.com