नमस्ते म एक नर्स हुँ। नेपालमा लगभग ५५ हजार नर्सहरू छन्। हामीले तपाई लगायत करोडौँ नेपालीको ज्यान जोगाउने पेशामा लागिपरेका छौँ। कोहि न कोहिलाई त तपाईँले कुनै अस्पतालमा भेटिसक्नु भयोहोला। यत्तिका नेपालीको ज्यान जोगाउने हामी नर्सहरू आज आफ्नै पेशा जोगाउनुपर्ने स्थिति आएको छ। आज तपाईलाई हाम्रो पेशाको धरासायी भएको स्थतिबारे अवगत गर्न चाहन्छु। धैर्य गरिदिनुहोला।
बेरोजगारीले उच्च शिक्षा हासिल गरिसकेका युवा समेतको घाँटी समातिरहेको अवस्थामा प्राविधिक शिक्षाको महत्व भने घटेको छैन। जागिर खाने हो भने प्राविधिक शिक्षा नै लिनुपर्छ भन्ने मान्यता अझै पनि छ। त्यसमा पनि औपचारिक स्वस्थ्य शिक्षा हासिल गरेका डाक्टर वा नर्सहरुको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनका दिन बढी रहेको छ। हाम्रै देशको परिवेशमा हेर्ने हो भने पनि यस्ता जनशक्तिको उत्पादन भैरहँदा पनि सहि प्रयोग भने हुन सकेको छैन। यसै कारण धेरै जसो डाक्टर र नर्सहरु विदेश पलायन भईरहेको स्थिति छ।
हाम्रो समाजमा मर्यादित र लोभलाग्दो मानिने नर्सिङ पेशालाई नै नियालेर हेर्ने हो भने भित्र खोक्रो भएको भेटिन्छ। नर्सिङ कलेज, अस्पताल र नर्सिङहोमहरू देशमा च्याउ उम्रिएझै उम्रिएका छन् तर पनि धेरैजसो नर्सहरु भने अझै पनि बेरोजगार छन्। बेरोजगारीको चपेटामा अलमलिएका नर्सहरू धेरैजसो विदेसिएका छन्,कोहि भने स्वयंसेवक भएर र कोहि न्युनतम तलवमा देशभित्रकै स्वास्थ्य संस्थाहरुमा काम गरिरहेका छन्। ४-५ हजार महिनाको तलवमा दैनिक ६-८ घण्टासम्म काम गर्नुपर्ने बाध्यता छ।
नर्सहरुले अन्तर्राष्ट्रिय मापदण्ड विपरित जनरल वार्डहरूमा एक जना बराबर २०-२५ जना बिरामी हेर्नुपरेको अवस्था छ। त्यसमाथि आइसीयु जस्तो संवेदनशील क्षेत्रमा समेत एक नर्स बराबर एक बिरामी हुनुपर्ने मान्यता विपरित २-३ जनासम्म बिरामीको हेरचाह गर्नुपरेको छ। अन्ततः नर्समाथि कामको भार त छदैछ,सगँसगैँ बिरामीको उपचारमा पनि त नकारात्मक असर परेको हुन्छ।
यति मात्र होइन काम, कर्तव्य र अधिकार प्रष्ट नहुँदा पिसीएल र स्नातक गरेका नर्सहरूले समान पदमा काम गरेको देखिन्छ। योग्यता र क्षमता हुँदाहुँदै वर्षौसम्म पनि एउटै पदमा काम गर्नुपर्ने बाध्यता र तह वृद्धिका लागि योग्यताभन्दा बढी अनुभव मात्रलाई प्राथमिकता दिईनाले नर्सहरूलाई उच्च शिक्षा प्रति नै बितृष्णा जागेको छ।
नर्सिङ बिषयमा कुनै एक तहको शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाको लागि दुई वर्ष काम गरेकै हुनुपर्ने नियम आफैमा विवादास्पद छ। नर्सिङका कोर्षरुहरु सैद्धान्तिक र प्रयोगात्मक गरि दुई ढंगले डिजाईन गरिएका हुन्छन्।
सैद्धान्तिक र प्रयोगात्मक दुवैमा पास भएपछि मात्र नर्स बन्न पाइन्छ। फेरि उच्च शिक्षा लिनको लागि दुई वर्ष काम गरेकै हुनुपर्ने नियम किनरु अस्पतालका विभागहरुमा नर्सिङ स्टाफसँगै काम गरेका एमबिबिएस डाक्टरहरु कन्सल्टेन्ट र प्रोफेसर भैसक्दा पनि नर्सहरु भने स्टाफ नर्सनै मात्र भैरहने यथार्थले पोल्छ नै।
नर्सहरुको हक हितको लागि वकालत गर्ने नेपाल नर्सिङ संघ र नेपाल नर्सिङ्ग परिषद् जस्ता संस्था भने अझै पनि मौन जस्तै देखिन्छन्। देशको कुल नर्सहरुको संख्याको १५ प्रतिशतले मात्र नर्सिङ संघको सदस्यता लिनु स्वाभाविक जस्तो लाग्दैन। यस अवस्थाबाट यो प्रस्ट हुन्छ कि नर्सहरु नेतृत्व पक्षबाट असन्तुष्ट मात्र छैनन् कि उनीहरुले ति नेतृत्वलाई बहिष्कार पनि गरिरहेका छन्। जनशक्ति उत्पादन र त्यसको व्यवस्थापन गर्ने जस्तो अहम् जिम्मेवारी बोकेको एकमात्र संस्था नर्सिङ परिष़द्को भूमिका अपर्याप्त र शंकास्पद छ। देशभरी जताततै खोलिएका केहि नर्सिङ होम र नर्सिङ कलेजहरु काउन्सिलको मापदण्ड विपरित सञ्चालनमा छन्। नर्सहरुको उत्पादन ह्वात्तै बढेको भएतापनि गुणस्तरीयतामा भने ह्रास महसुस हुन्छ। समग्रमा नर्सिङ्ग संघ र पारिष़द्को भूमिकामा प्रश्न उठ्न थालेको छ।
के त्यसो भए नर्सिङ संघ र परिषद् पनि राजनीतिक कुसंस्कारको शिकार बनेकै हुन् त रुु
समस्याको पहिचान गर्नु भनेकै समाधानको पहिलो खुड्किलो उक्लनु हो। नर्सिङ पेशाको भविष्यलाई सुनिश्चित गरिराख्ने हो भने हो प्रथमत जनशक्तिको उत्पादन र व्यवस्थान बिचमा तालमेल मिलाउनु आवश्यक छ। नर्सिङ कलेज र नर्सिङ होम खोल्नलाई सम्बधन दिनु अघि सञ्चालनमा रहेका यस्ता संस्थाहरुको स्पष्ट छानविन गर्ने, प्रक्रिया नपुर्याई र मापदण्ड विपरित खोलिएका यी संस्थाहरुलाई कारबाही गर्ने र उत्पादन भैसकेका जनशक्तिलाई जतिसक्दो चाडो रोजगारको व्यवस्था मिलाउनुपर्छ। आवश्कता र मापदण्ड अनुसार अस्पताल र कलेजहरुमा दरबन्दी सिर्जना गर्ने हो भने पनि धेरै नर्सहरुलाई रोजगार दिन सकिन्छ। त्यसैगरी राजनैतिक भागबन्डाको आधारमा नभएर क्षमता, दक्षता ,योग्यता र कार्यकौश़लताको आधारमा नेतृत्व चयन गर्न पाउने व्यवस्था मिलाउनुपर्छ। पदीय भूमिका निभाईरहेका नर्सहरुको गुणस्तरीयता कायम गरि राख्नालाई समय समयमा ट्रेनिङ,सेमिनार, इन्सर्विस शिक्षाको व्यवस्था गरि निश्चित अवधिमा सैदान्तिक र प्रयोगात्मक परीक्षा गराई यसको मुल्यांकन पनि गर्नुपर्छ।
अन्ततः धरासायी बन्दै गइरहेको नर्सिङ पेशाको मर्यादालाई समयमा जोगाउन सकिएन भने नर्सहरुको योगदान र भूमिका किताबका पन्नाहरुमा मात्र सिमित रहनेछन्।कुनै न कुनै दिन हामी सबै केहि कारण बस अस्पताल पुग्दा त्यहाँ नर्सहरुकै सहयोगले हाम्रो पीडा कम गर्नेछ। त्यस बेला तपाईले पाउने नर्सको बारेमा सोचेर अहिल्यै भरपर्दो, सन्तोषी, जागरुप नर्स बनाउन तिर लाग्ने हो कि चुपै बस्ने हामी? कि फेरि अर्को डक्टर के.सि नै आई दिनु पर्ने हो कुर्ने नर्सिङ पेशा सुधार्न पनि? आजै विवेक प्रयोग गरौँ है।
सुस्मिता बस्नेत एक नर्स हुन्।