हजारौं मानिसहरूको हुल पार्किङभित्र छिर्दै थियो । लामबद्ध मानिसहरूलाई पार्किङभित्र छिराउन सयौं प्रहरीहरू असिनपसिन भएर खटिएका थिए ।
करिब एक किलोमिटर टाढासम्म फैलिएको लाइन छिचोलेर म पनि पार्किङनजिकै पुगेँ ।
गाईजात्राको बिदाले सिंहदरबार बाहिरबाटै सुनसान देखिन्थ्यो । दक्षिणी गेटबाहिर भने हजारौं मानिस कुनै दुर्गम जिल्लामा दसैंताका खाद्य संस्थानले बाँड्ने पाँच किलो चामल थाप्न बसेजसरी लामबद्ध थिए ।
भदौरे घामले टाउको रापिएको थियो । डेढ घन्टाजति लाममा बस्दा खुट्टा काम्न थालेका थिए । पसिनाले नागरिकता प्रमाणपत्र र फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन सिंहदरबारबाहिर भुइँमा थ्याच्च बसेर भरेको लामो फारम गल्न थालेको थियो । मसँग आफ्नो अनुहार कस्तो भएको थियो भनेर थाहा पाउन ऐना थिएन, सँगै लाममा उभिएका मानिसहरूको अनुहार भने पसिनाले लथपथ थियो । घामले आँखा साना भएका थिए । अनुहार निन्याउरो थियो । ‘एक घुट्को पानी खान पाए पनि हुन्थ्यो’ भन्दै थिए कोही ।
मानिसहरू नेताहरूलाई अश्लील गाली गर्दै थिए । डाँका, गधा, चोर, भ्रष्टाचारी, लुटेरा जस्ता शब्द ती अश्लील गालीका तुलनामा स्तरीय लाग्थे ।
सिंहदरबारबाट सिडियो कार्यालय मोडिने चोकदेखि सुरु भएको लाइन काठमाडौं जिविसको नवनिर्मित आलिशान महलभित्र आइपुगेर पार्किङको ओरालो झर्दै थियो ।
निर्वाचन आयोगले करिब ४० लाख मानिस बसोबास गर्ने काठमाडौं महानगरपालिकाका लागि फोटोसहितको मतदाता नामावलीमा नाम टिपाउन यही पार्किङमा व्यवस्था गरेको थियो । ७५ जिल्लाबाटै आएर काठमाडौंमा बसोबास गरिरहेकाहरू र महानगरपालिकाका स्थानीयका लागि आयोगले जिविस र काठमाडौं निर्वाचन कार्यालयको संयुक्त भवनतल पार्किङको अँध्यारोमा फोटो खिच्ने व्यवस्था मिलाएको थियो ।
केही साताअघि आयोगले नै निकालेको तथ्यांकअनुसार काठमाडौं सबैभन्दा कम मतदाताले नाम दर्ता गराएको जिल्लामध्ये एक हो । नाम दर्ता गर्न छुटेका लाखौं काठमाडौंवासी र यो सहरका लाखौं डेरावालका लागि आयोगले व्यवस्था गरेको पार्किङस्थल नजिकै पुग्दा अब फोटो खिच्न पाइने भयो भनेर म हर्षित थिएँ ।
ठेलमठेल, धक्कमधुक्की र चर्को घाम सहेर उभिइरहेका मानिसहरू पनि ‘अब पालो आयो’ भन्दै दंग पर्दै थिए ।
करिब ४० मिटर लामो ओरालो सकिएर अँध्यारो पार्किङमा छिर्ने बेला भट्टीको रापजसरी ह्वाससस्स तातो वाफ आयो । पार्किङको मुखमा लाइन लागेका मानिसहरू ऐया र आत्थु गर्दै थिए । चिच्याउँदै थिए । लाइन मिच्न खोज्नेहरूलाई गाली गर्दै थिए ।
पार्किङको मुखमा पुगेपछि फारम दर्ता गर्न जाने र फोटो खिचाउन जानेका लागि बेग्लाबेग्लै लाइन थिए, करिब ८–१० वटा ।
अचानक पार्किङबाट ह्वाररर्र मानिसहरूको हुल चिच्याउँदै निस्कियो । भन्दै थिए, ‘नपस यहाँ । मरिन्छ । यो मतदाताको नाम लेखाउने ठाउँ होइन, कालकोठरी हो, कालकोठरी ।’
सुरक्षाकर्मीले झाँगलझुँगल पार्दै केही हट्टाकट्टा युवकलाई बाहिर निकाले । उनीहरू बेहोस थिए । मेरो मुटु थरर्र काँप्यो ।
सुरक्षाकर्मीले बेहोस भएका ती युवकलाई पार्किङ ओरालोको भुइँमै लडाइदिए । ‘ए पानी ल्याओ पानी, पंखा हम्किदेऊ,’ लाममा लागेका मानिस चिच्याउन थाले ।
निकैबेर पानी छम्कँदा पनि ती युवकको होस नखुलेपछि सुरक्षाकर्मीले उनलाई बाहिर दौडाए ।
मपछाडि लाममा लागेका आठ–दसजना युवकहरू ‘यस्तो कालकोठरीभित्र छिरेर नाम दर्ता गरिँदैन’ भन्दै फारम च्यातचुत पारेर भागे । मलाई पनि ‘आ छाड्दिउँ है, यस्तो दुःख गरेर पार्किङभित्र के नाम लेखाउनु’ भन्ने लाग्यो ।
मनमा कुरा खेल्न थाल्यो– मंसिरमा चुनाव हुने हो कि होइन ! चुनाव भए पनि भोट हाल्न झापा गइने हो कि होइन !
आफ्नो क्षेत्रबाट उठ्नसक्ने सम्भावित उम्मेदवारहरूको अनुहार आँखामा सरर्र आए । भोट दिउँजस्ता लाग्ने अनुहार एउटै थिएन ।
मंसिरमा चुनाव भएन भने त फेरि मतदाता नामावलीमा दर्ता हुने व्यवस्था भइहाल्ला नि भन्ने पनि लाग्यो ।
अर्को मन सोचेँ, ‘ठीकै छ, छिरौं न एकपल्ट यो तातो भट्टीमा । सकिएन भने छाड्दिउँला । भित्रको नजारा एकपल्ट हेर्नैपर्यो नि ।’
म पार्किङको अँध्यारो सुरुङभित्र छिरेँ ।
भगवान् ! पार्किङस्थल मैले सोचेभन्दा अँध्यारो रहेछ । मानिसैमानिसको समुद्र । तातो बाफले जीउ झनै राँकियो । पार्किङमा लडियो भने त बेहोस भएर मरिनै पनि बेर छैन भन्ने सम्झेर मुटुको ढुकढुकी बढ्यो ।
लड्न–लड्न खोज्नेबित्तिकै बाहिर कुदिहाल्छु भन्ने सम्झेर मन बाँधे ।
पार्किङभित्र आधा घन्टा टिक्न हम्मे पर्यो मलाई । अक्सिजन छिर्ने ठाउँ कतै थिएन । मानिसहरूको तातोले सारा पार्किङस्थल रापिएको थियो ।
बिदाको दिन यस्तो भट्टीमा बिहानदेखि बसेर मतदाताको नाम दर्ता गर्दै फोटो खिच्दै थिए विचरा कर्मचारीहरू । उनीहरूका लागि ल्याएको वाइवाइ चाउचाउ, सोल्टी बिस्कुट र फ्रुटी फारमले किचेर राखेका थिए । खानसम्म भ्याएका थिएनन् ।
पार्किङको अँध्यारोमा बिस्तारै आफूलाई सहज पार्दै लगेँ । मानिसहरूको हुलमुलमा किचिँदै गफ सुन्नुको मजा लिन थालेँ । पार्किङबाट माथि उक्लने सिँढीनजिकै परेको थिएँ । अलिअलि उज्यालो थियो । हो कि हो किजस्तो हावा पनि आउँदै थियो ।
आधा घन्टामा नाम दर्ता भयो । त्यसपछि फोटो खिच्ने लाइनमा लागेँ ।
फोटोको लाइन धेरै लामो थियो । एकजनाकै फोटो खिच्न पाँच मिनेट लाग्दो रहेछ । त्यही पनि कतिपय कर्मचारी कम्युटरमा विवरण भर्न नजान्ने थिए । म लाइन लागेकै फोटो खिच्ने ठाउँका कर्मचारीसँग ‘दाइ इन्ट्री नै भएन’ भन्दै सहयोग माग्न चारपाँच जना युवती कर्मचारी आए । अँध्यारो पार्किङमा कठिनसँग मतदाताको फोटो खिच्दै थिए कर्मचारीहरू ।
करिब दुई घन्टापछि मेरो फोटो खिच्ने पालो आयो । ठूलै युद्ध जितेको महसुस भयो । फोटो खिचाइसकेर हातमा नागरिकता र फारमको अर्धकट्टी हल्लाउँदै बाहिर निस्कँदा म अतुलनीय रूपले दंग थिएँ ।
चार घन्टा लाम लागेर मतदाता नामावलीमा दर्ता भएपछि मेरो मनमा एउटा प्रश्न आएको छ ।
प्रमुख निर्वाचन आयुक्तज्यू, काठमाडौंमा नाम दर्ता गराउन योभन्दा अँध्यारो पार्किङस्थल फेला पार्न सक्नुभएन ?
हुनसक्छ, यो निर्वाचन आयोगले जनताहरूको परीक्षा लिएको हो । यति कठीनसँग जसले नाम दर्ता गराएका छन्, उनीहरू चुनावका लागि वा चुनावपछि बन्ने जतिसुकै निकृष्ट कम्बिनेसनका लागि तयार हुनेछन् ।
पार्किङस्थलको सास्तीले एउटा कुरा भने स्पष्ट छ– जनता चुनावका लागि साह्रै उत्साही छन् । ९५ प्रतिशत नेताहरूले जनताको चित्त दुखाएका छन् । अबको चुनावमा अलिकतिमात्र असल व्यक्ति वा दलले जनताको मत सजिलै उछिट्ट्याउन सक्नेछन् ।
खैर, यति राम्रो व्यवस्थाका लागि प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती धन्यवादका पात्र छन् । अरू निर्वाचन आयुक्तहरूलाई पनि धन्यवाद !
मान्नैपर्छ, तपाईंहरूको दिमागमा दम छ ।