थाहा छैन क्षतविक्षत मेडिकल क्षेत्र बदलिन्छ कि बदलिन्न। यकिन छैन देश सुधार हुन्छ कि हुन्न। आशा गरिहाल्ने ठाउँ छैन कि माफियाले पुरा जरा हाँगाबिंगा फैलाएको क्षेत्रमा ‘न्याय’ र ‘अभ्रस्ट मेडिकल शिक्षा’को लागि गरिएको यो यात्रा टुंगोमा पुग्ला कि नपुग्ला। तर भ्रष्टाचार, अन्याय अत्याचारले जर्जर बनेको बेहाल मेडिकल क्षेत्रको विकृति गोविन्द सरको सत्याग्रहले गर्दा सबै सर्वसाधारणले बुझ्न पाए। कमसेकम थाहा भो सबैलाई कि कतिसम्म निकृष्ट र भ्रष्ट काम भएका रहेछन् मेडिकल क्षेत्रमा। अन्धो र बहिरो सरकारले नबुझेपनि अब सच्चा मन भएका प्रत्येक नेपालीले बुझे।
यो उहाँको सत्याग्रहको सफलता हो चाहे सरकार जतिसुकै उल्टो बाटोमा हिँड्न खोजोस्। त्यसैले अब गोविन्द सरलाई मार्न सकिएला भन्ने नसोचे हुन्छ किनभने अब गोविन्द सर सधैलाई बाँची सक्नु भएको छ सबै सच्चा मनमा।
माफियाको कुरामात्र होइन लगभग हरेक चिकित्सा सरोकारका िवषय बिरह लाग्दो गरी चलेको छ अहिलेसम्म। अभिभावक, कलेज संचालक, अस्पताल, काउन्सिल, अनि सरकार जहाँतहीं भएका मनपरीतन्त्र उजागर हुँदैछन् दिनदिन। यस्तो बेला जमानादेखि आफ्नो ‘मनपरी’ आरामले चलाउन सफलहरु नअतालिने कुरै भएन। हरेक काममा दश लाख या करोड पोको लिएर या दिएर भ्रष्ट दुलाबाट यात्रा पार गरी सुकिलो अनुहार जनतालाई देखाउनेहरु नछटपटाउन् किन?
एक हाम्रा सहयात्री भन्थे- धन्न बाबाआमा जस्ता एक रहेछन् हाम्रा गोविन्द सर। नत्र कसले लड्थ्यो हाम्रो लागि? कसले लड्थ्यो यो मेडिकल ज्यादतीविरुद्ध? गोविन्द सरजस्तो स्वच्छ छवि अनि उच्च व्यक्तित्वको सत्याग्रहलाई त यसरी पेल्दो रहेछ सरकारले, भने हामी अरु कसको सत्याग्रह यहाँ सुनिन्थ्यो सरकारबाट? नन्द अधिकारीको सत्याग्रहमै देहान्त भएको नजीर सामु हामी सबै सत्मन गोविन्द सरको पवित्र यात्राका लागि कटिबद्ध छौं। किनभने सर हाम्रो मात्र होइन पुरै देशको निस्वार्थ अभिभावक हुनुभो अब।
अझ भनौं भने गोविन्द केसी अब हाम्रा अभिभावक या गुरुमात्र रहनुभएन उहाँ अब मुक्तिको शान्ति संघर्षको बेजोड उदाहरण हुनुभो। एक साहस, ढाडस अनि युगयुगसम्म जपिने अनुकरणीय नेतृत्वको सिम्बोल!
भर्खरै गोविन्द सरको माग र माथेमा प्रतिवेदनको भावनाका विपरित निर्णय आए माथिबाट। यसको सिधा अर्थ हुन्छ कि हाम्रो आवाज हाम्रो अभियान केही होइन यी निर्णय गर्नेहरुको लागि। यिनको लागि गोविन्द केसीको ज्यानपनि केही होइन। तर ए कायरहरु हो, तिमीहरुले यो युगयुग बाँच्न लायक सत्मन गुरुलाई मार्न सक्दैनौ। किनकि परिवर्तन अवश्यम्भावी छ। देश बदलिन्छ, युग बदलिन्छ भने हाम्रो मेडिकल क्षेत्र पनि एक दिन बदलिने छ। तिमीहरुले जति गोविन्द केसीलाई तड्पाउनेछौ त्यति अरु ‘गोविन्द हृदय’ जन्मिदैछन्। न्याय खोज्न निस्केको मुस्लो जति ढाक्न खोज्यो राप बढ्दै गएर तिमीहरु नै गल्नेछौ। गोविन्द सरले शैय्याबाटै भन्नुभएको छ- जनदबाबका अगाडि तानशाहहरू ध्वस्त भएका छन् भने नेपालीको स्वास्थ्य शिक्षा र सेवासम्बन्धी नैसर्गिक अधिकारको हितविपरीत काम गर्नेहरू कति दिन टिक्न सक्छन्। हो अब यो अभियान हो, झिल्को हो जसले थुप्रै दीयो जगाउँनेछ।
अहिले जहाँतहीँ हिंसात्मक दंगाले देश खाएको छ। तर उदाहरनीय रुपमा गोविन्द सरले वर्षौंदेखि अहिंसा अनि न्यायका लागि अगुवा भएर यो देशमा यो क्षेत्रमा परिवर्तनको लागि लड्नुभएको छ। पाए सिर्फ देशले र जनताले पाउने आफूले व्यक्तिगत केही नपाउने तर यसैमा ज्यान आहुति दिएर लाग्ने अहिंसाको यो अभियान लोकतन्त्रको सबभन्दा उम्दा पक्ष हो। तर आफूलाई लोकतन्त्रको ठेकेदार सम्झिने निर्लज्जहरुले यो अभियानलाई रद्दीको टोकरीमा फाल्दिए।
माथेमाज्यु आफैंले भन्नुभएको छ कि त्यो टोलीको प्रतिवेदनको मुख्य मुटु कलेजो नै झिकिसक्यो सरकारले। आशा थियो कमसेकम केही सम्बोधन होला। कमसेकम केही त गरिबका सपना अनि सुधारका आशाका पक्षमा हुनेछन् प्रयास। तर माफियाका सामु सधैं झैँ घुँडा टेक्ने सरकार यो पालि पनि फरक रहेन। परिवर्तन त कता हो कता, हाम्रो नियन्ता अभियन्ता आफैं बन्नुपर्ने सरकार उल्टो हाम्रो न्याय मागलाई लत्याएर सुतिदियो।
यसरी प्रतिवेदनको मर्म तोडमतोड गर्न पाइन्छ? अनि आखिर यसरी मोड्नु नै भए मूल्यांकन तर्जुमा टोलि बनाएर त्यत्रो नाटक गर्नु किन? यो सब हामीलाई अनि अनसन बस्नुभएका गुरुलाई झुक्याउन, अल्मल्याउन त हो! तर झुठको खेती बचाउन धेरै मिहेनत पर्छ। सच्चा मनहरुसामु भावना पुगेपछि दियो नै राँको बन्छ। र अब सामान्य जनताले समेत बुझिसकेको छ कि मेडिकल क्षेत्रमा कति मनपरी र भ्रष्टचार अनि अधिकार दुरुपयोग भएको छ भनेर।
भौतिक पूर्वाधार, शैक्षिक पूर्वाधार लगायत कुनैपनि पक्षबाट असक्षम कलेज प्रसंग, सम्बन्धन, विद्यार्थी छनौट आदि मामलामात्र होइन यहाँ मेडिकल माफियाको गहिराई धेरै बढिसकेको कुरा अब जगजाहेर भैसक्यो। कतिसम्म भने पैसा भएमात्र मेडिकल पढ्न पाउने बनाउन चाहने कि स्वनाम धन्यहरुले यो समेत खुलेयाम भने मिडियामै- आफू पनि बिना प्रवेश परीक्षा छिरेको, र प्रवेश परीक्षा जरुरी छैन। त्यसले विदेशी विद्यार्थीलाई विकर्षण गर्छ। यो कस्तो तर्क हो? अनियन्त्रित मेडिकल डाक्टर उत्पादन, अनियन्त्रित मेडिकल प्रवेश रोके मेडिकल क्षेत्र धराशायी हुन्छ भन्नेहरु आफ्नो दाबीबाट कस्ता डाक्टर निकाल्नेवाला छन् त्यो चाहिँ भन्दैनन् किनभने त्यो पानी झैँ छर्लंग छ र अर्को कुरा उनीहरुलाई सिर्फ पैसाको महत्व छ, रातारात कमाउनुछ, जनताको स्वास्थ्य र मेडिकल शिक्षा जे सुकै होस्! धिक्कार छ यस्तो चेतनालाई!
यस्तो चेतनाको प्रभावमा आएका उच्चा ओहोदाकाले गोविन्द केसीको ज्यानको मूल्य बुझ्ने कुरै भएन। हुनत यहाँ इमान्दार डाक्टरको मूल्य नै के छ र? डाक्टर त जति लडाए पनि हुने, अनि जसरी र जति लदाए पनि हुने ‘स्पेसिज’ भएका छन्। राज्यले सबभन्दा कम सुरक्षा र बढी बेवास्ता गरेको मध्येको एउटा क्षेत्र। यस्तोमा गोविन्द केसीको भावनाको र प्राणको के नै ख्याल राख्थ्यो र सरकारले? राज्यका संवेदनशील पक्षमा यसरी सरकार मुकदर्शक भएर हेर्नु र माफियागीरीकै पक्षमा साथ दिएर निर्णय गर्नुभन्दा दुखद कुरा मेडिकल फिल्डलाई अरु केही होइन।
वर्षौंदेखि कोही लडेन चिकित्सा सुधारका लागि। सरकार चिकित्सा सुधारका पक्षको लागि लगभग चुपचाप रह्यो। दशकौं बिते, जसले जे चाह्यो गर्यो या पैसामा किन्यो। यही चलेको थियो। त्यसको अन्त्यको लागि बिना कुनै स्वार्थ दिन दुःखीका लागि जहाँ पनि पुग्ने र आफ्नो सारा कमाई र ज्यान चढाउने गोविन्द सर ‘अभिभावक’ बनेर आउनुभयो हामी सबैको लागि। चिकित्सा सुधारको लागि माथेमा प्रतिवेदन बने। लामो अाग्रहपछि सार्वजनिक भयो। अनि अन्त्यमा, अनशनमा घिटिघिटी भएका गुरुको सामु नै प्रतिवेदनको उछितो गरियो। सत्याग्रहको हुनुसम्मको बेवास्ता र अपमान भयो।
शक्तिवाला र माफियाको क्षणिक जीत र चिकित्सा सुधार चाहने सम्पूर्णको हार! यो शिलशिला दीर्घकाल रहनेछैन। हरेक दमनको एक अवधि हुन्छ। गोविन्द सरले भने झैँ तानाशाह ढलेझैँ यो मफियागिरी अत्याचार र चिकित्सा भ्रष्टाचार अनि चिकित्सा माथिको ज्यादती हार्नेछ एकदिन। बस्, अब झन् बढी एकता जरुरी छ सत्मनहरुको। अझ बढी खाँचो छ, सर्वसाधारणसम्म यो अत्याचार बुझाउन। सरले बाल्नुभएको यो दियो निभ्न दिनुहुन्न। किनभने यो सत्यको दियो हो, स्वार्थरहित परिवर्तन शंखनादको दियो हो! त्यसैले धोका दिनेहरुको लागि हाम्रो ‘एकता’ले भनिदिउं – कि गोविन्द सर परिवर्तनका दियो हुन्, मार्न सक्दैनौ उहाँको प्राण, भावना र सत्याग्रहलाई। सलाम मुक्तिको अभियानलाई! जय गोविन्द हृदय!!!