महाभारतको युद्व भगवान श्रीकृष्णले चाहेको भए नहुन सक्थ्यो। तर, उहाँले चाहनुभएन। किनभने समाजमा अधर्मि र पापीको संख्या यति बढ्योकी त्यो थेग्नै नसक्ने भयो। एउटा राज्यमा पाँच गाउँ माग्दासम्म पाण्डव पक्षलाई दिएन, कौरवले युद्व नगरि सुईको टुप्पो राख्न सक्ने ठाउँ पनि नदिने भनेपछि आखिरी युद्व भयो।
त्यस युद्वलाई महाभारतको युद्व भनिन्छ। त्यो युद्व हेर्न भगवान शिवका उपाशक बरवरिकको ठूलो ईच्छा थियो। शिवभक्त वरवरिक तीनवटा बाँणले संसारै ध्वस्त पार्ने क्षमता राख्थे, तर उनको विशेषता जुन कमजोर छ, त्यसको पक्षमा लड्ने थियो। यस्तो क्षमतावान पुरूषका बारेमा थाहा पाएर चलाख कृष्णले वरवरीकसँग केही मागे र उनलाई बाचा बन्धन गराई कृष्णले बरबरीकको टाउको मागे।
वरवरीकले यो कुरालाई स्वीकार गरि मलाई महाभारतको युद्व हेर्ने मन छ, मैले टाउको दिन्छु तर, युद्व हेर्नेगरि राखियोस्। सोही अनुसार बरबरीकको टााउको राखियो। र युद्व भयो, पाण्डवले जिते कौरवले हारे तर त्यहाँ धेरैले मेरा कारणले जीत भयो भनेर घमण्डता देखाउन थाले।
कृष्णलाई अलि राम्रो लागेन। तिमीहरू विजा द नगर यो युद्व हेर्ने एउटा व्यक्ति छ, उसैलाई सोधौँ। सवै योद्धाहरुलाई बरबरीकको टाउको राखेको स्थानमा ल्यााएर सोधियो। बरबरीक योयुद्वमा कसको कति योगदान छ? बरबरीकले मैले यो युद्वमा कृष्ण बाहेक कसैलाई देखिनँ। अर्जुनलाई एकदुई ठाउँ झिलिक्क देखेको थिएँ भनिदिएपछि सवै योद्धाहरु नतमस्तक भएर हिँडे।
मैले यो प्रसंग किन उठाएको हुँ भने अहिले देशमा एउटा हिंशाको राजनीति चलिरहेको छ, अर्को सत्याग्रहको राजनीति। एउटा पक्षले कुनै क्षेत्रको कुनै जातको अधिकारको लागि मागिरहेको छ। तर सन्त डा.गोविन्द केसी तीन करोड नेपालीको स्वास्थ्यको लागि टिचिङ अस्पतालको एउटा कोठामा सत्याग्रहमा बसेका छन्।
भोलि युद्व समाप्त भयो भने फेरिपनि वरवरीकलाई सोधिने छ डा.केसीको अनसनमा कस्को भूमिका कस्तो रह्यो? त्यसबेलामा तीन करोड रुपी नेपालीको आवाजले सवैकुरा भनिदिने छ। मैले गरेको हुँ भन्ने धेरै हरु किनारा लाग्ने छन्।
यसै साता सरकारले स्वास्थ्यको नाममा करिब २५ अर्व रुपैयाँ खर्च गर्यो वा नेताहरुलाई उपचार गर्न विदेश पठायो। यस्तै यस्तै कुराहरु आईरहेका छन्। तर कुनै नेताले डा. केसी यो विदेश जाने पैसा नेपालमा कसरी उपचार गर्यौँ भने बचाउन सकिन्छ भनेर सल्लाह मागदैनन्। खोट यहिँनेर हो।
डा.केसी एउटा पात्रमात्र हुन्। यो मुलुकमा अनसन बसेका नन्दप्रसाद अधिकारीको मृत्यु पश्चात कसैले दुःख मनाउ गरेनन्। भोलि केसीको अवस्था त्यहि रह्यो भने कसैले दुःख मनाउ गर्ने छैनन्। तर आफ्नो सन्तती पैसाका कारणले वा अयोग्य डा.का कारणले मृत्यु भयो भने उनले भन्नेछन् डा. केसी आउ, तिमी कृष्णको रूप लिएर फेरि महाभारतको युद्व गर र सत्यको जीत गराऊ।
मैले श्रद्धा गर्ने केही पात्र मध्यमा श्रद्धेय शुसील कोईरालापनि हुनुहुन्छ। एक प्रकारको सन्त नेताको रुपमा उहाँलाई मैले लिने गरेको छु। प्रधानमन्त्रीको कुर्सी गएको भोलिपल्ट जीवनमा मैले कति जना सन्तहरु र कतिजना समाजका अगुवाहरुले दिएको सुझाव ग्रहण गरेर कार्यान्वयन गरे भन्दा डा. केसीको अभियानलाई सम्झना हुने छ। तसर्थ कुनै पार्टीका क्याडरहरुले चलाएको अस्पतालको संरक्षण गर्ने नाममा मुलुकको ठूलो क्षती हुने काम गर्नुहुने छैन।
किन ग्रामिण क्षेत्रमा बस्ने बासिन्दादेखि बालुवाटारसम्म बस्नेले डा.केसीको अनसनलाई समर्थन गर्नुपर्छ भन्दा दिन प्रतिदिन खस्कदो डाक्टरी शिक्षाप्रति ग्रामिण बासिन्दाहरु जानकारी राख्दैनन्।
आफूलाई औषधि गर्ने डाक्टर हो भन्ने थाहाँ पाउदैमा दंग पर्छन तर उक्त डाक्टर कति क्षमतावान छन्? भन्ने कुरा हेक्का नपाउँदै पतिपयका बिरामीहरुको मृत्यु भैसकेको हुन्छ। यही कुरालाई मध्यनजर गरी डा.केसीले नेपालमा वा विदेशमा पढ्न जानेले नेपालमा प्रवेश परिक्षा पास गरेको हुनुपर्दछ र नेपालमा पढ्ने बिदेसीहरूले पनि यो परीक्षा पास गर्नुपर्छ भन्नु स्तरीय डाक्टर निमार्ण गर्नुको उद्देश्य हो।
डाक्टर केसीले हाल खुलेका १६ मेडिकल कलेजले ७५ देखी १ सय ५० जनालाई एउटै हल कोठामा राखेर पढाउने गरिएकोमा त्यस्ता डाक्टरले बेड साइड लर्निङबाट केही सिक्न पाउदेनन् जुन डाक्टरको निमित्त महत्वपूर्ण कुरा हो। हाल नेपालमा बोर्डिङ वा दश जोड दुईले एउटा कक्षा कोठामा ४० देखी ५० जना बिद्यार्थी भन्दा बढि राख्दैनन्। तर मानिसको जीवनसँग खेल्ने डाक्टरहरु १ सय ५० जना राख्दा कुन खालका डाक्टरहरु तयार होलान?
यस्तै कारणले चीनमा एमबिबिएस पढ्न जानका लागि रोक लगाइसकेको छ। माथेमा आयोगको प्रतिवेदनले नेपालका मेडिकल कलेजहरुलाई वार्षिक बढीमा एक सय जना भन्दा विद्यार्थी भर्ना गर्न नदिने सुझाब दिएको छ। यसमा नै धेरै मेडिकल कलेजहरुले बिरोध गरेका छन्। जुन चिज सामान्य मानिसले बुझ्दैनन् तर एक सय पचास जनाको कक्षा कोठाबाट आएका १५ जना डाक्टर पढ्नेले एक बिरामीको हिस्ट्री लिन लाग्दा उक्त बिरामीलाई हुने मानसिक ट्रचर र त्यो भीडबाट आएको डाक्टरको स्तरीयता कस्तो होला?
अर्को कुरा माथेमा आयोगले एउटा डाक्टर पढ्दा रू ३५ लाखभन्दा बढि लिन नपाइने त्यो पनि ५ वर्षे किस्तामा लिन सुझाएको छ। तर हालसम्म एमबिबिएसलाई ५० लाख सम्म र बिशेषज्ञलाई एक करोडसम्म लिइएका मेडिकल कलेजहरुलाई माथेमा प्रतिवेदन बज्रपात हुनसक्छ। समग्र नेपाल र नेपालीका निमित्त माथेमा आयोगले दिएको सुझाबलाई अक्षरस पालना गर्ने हो भने आगामी दुई बर्षभित्र नै स्वास्थ्य र शिक्षामा सुधारको संकेत देखिने छ।
केही मेडिकल सञ्चालकहरूले आफ्नो पूर्वाधार १ सय ५० बेडका लागि भएको भन्दै कुरालाई अन्यत्रै मोडिरहेका छन्। महाराजगञ्जको शिक्षण अस्पतालले ७० जनालाई मात्रै पढाउन सक्छ भने कुन चाँही त्यस्तो मेडिकल कलेज छ महाराजगन्जभन्दा राम्रो? त्यसले १ सय ५० जना डाक्टर पढाउन पाउने?
त्यसकारण यो मेडिकल कलेजवालाहरुको ज्यादती हो। मेडिकल कलेजले हाल मौजुदा ऐनकानुन बमोजिम फ्याकल्टी, सिट सख्या, भौतिक पुर्वाधार, बिशेषज्ञ प्रोफेसरहरु (खडेबाबाहरूबाहेक)को उपलब्धतालाई नेपाल मेडिकल काउन्सील र बिश्वविद्यालयले एकाएक अनुगमन गर्ने हो भने सबै मेडिकल कलेजहरुको हैसिएत थाहा हुनेछ।
अहिले बजारमा मेडिकल कलेज सञ्चालाकलाई पनि माफियाहरुको जस्तो आँखाले हेर्न लागिएको छ। जुन चिज गलत हो। हिजो पञ्यायतकालमा नेपालका रसियन कम्युनिष्टहरुलाई मद्दत गर्नका लागि उनका छोराछोरीलाई रुसमा छात्रबृत्तिमा पढाउने,त्यहाँ नीजीस्तरमा पढाउने, केही अन्य राष्ट्रले पनि सरकारी छात्रबृत्ति उपलब्ध गराएमामात्र पढ्न सक्ने ढाक्टरी पेशालाई नेपालका मेडिकल कलेजवालाहरुले नेपालमै सजिलरी पढ्न सक्ने मेडिकल शिक्षा प्रदान गरेका छन्।
यसलाई सकारात्मकरुपले हेर्नुपर्दछ। मेडिकल कलेजहरुले अब सिट संख्या र केही रकम कम हुँदैमा हामी बर्वादै हुन्छौँ भन्ने मानसिकतालाई त्यागी माथेमा आयोगको प्रतिबेदनलाई स्वागत गर्दै राष्ट्रवादी र गैरनाफावादी सेवा गरेको गर्व गर्नुपर्छ। अब उनीहरूले त्यसको केहीहदसम्म पूर्तिका लागि नेत्र सहाएक, अप्रेसन थ्रेटर टेक्निसिएन, इसीजि इको प्राबिधिक र अर्थोपेडिक सहायक जस्ता जुनिएर कक्षाहरुपनि सञ्चालन गर्नुपर्छ।
बर्षेनी मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय र कतीपय नेताहरुलाई पैसा खुवाउनुभन्दा माथेमाको प्रतिबेदन स्वीकार्छौ हामीलाई निश्चित बर्ष कर छुट गरीदिनु पर्छ भन्ने सकारात्मक माग उठाउनु आवस्यक छ।
यदि डाक्टर केसीले यसपटक हारे भने नेपालमा स्वास्थ्य र शिक्षालाई कन्सल्टेन्सीका नाममा, छात्रबृत्तिका नाममा र मेडिकल कलेजका नाममा हिँड्ने गोमन सर्पहरूले डसेभने नेपालका सबै बिरामीहरुले छिमेकि देशहरुमा गएर गुणस्तरीय स्वास्थ्य उपचार लिनुबाहेक बाँकी केही रहने छैन।
हिजो पृथ्बीनारायण शाह र बिपि कोइरालालाई मन नपराउनेहरुले उनीहरुलाई आज झल्झल्ती सम्झने गर्दछन त्यस्तै भोलि आफ्नो नजिकको स्वास्थ्यकेन्द्रको वा अस्पतालको डाक्टरले गुणस्तरीय उपचार दिन नसक्दा आफ्नो र आफ्नो सन्ततीको मृत्यु भयो भने केसीको फोटोमा हेरेर रूनु बाहेक केही रहनेछैन। त्यसर्थ डा.केसीको अनसनलाई नैतिक र भौतिक दुबै तरीकाले समर्थन गर्नुपर्छ।