यो लेखको प्रारम्भ एउटा संक्षिप्त कथाबाट सुरु गर्न चाहान्छु।
एउटा घनघोर जंगलमा भयानक डढेलो लागेछ। दुई जना मानिसहरु डढेलोमा फसेछन्। दुई मध्ये एकजना दृष्टिबिहिन र अर्को चाहिँ दुवै खुट्टा नभएको रहेछ। खुट्टा नभएको मानिसले देख्न सक्ने भए पनि भाग्न नसक्ने र दृष्टिबिहिन भाग्न सक्ने भए पनि देख्न नसक्ने। बडो आपत परेपछि उनीहरुले एउटा युक्ति निकालेछन्। दृष्टिबिहिनले खुट्टा नभएको मानिसलाई काँधमा बोकेछ र उसले जता जता निर्देशन गर्छ उतै उतै दौडिएछ। यसरी दुवैले डढेलोबाट ज्यान बचाएछन्।
यो कथा मैले धेरै अघि कतै पढेको थिएँ। कथामा बर्णन गरीएको दृष्टिबिहिन मानिस शक्ति (बल) को प्रतिक हो र खुट्टा नभएको मानिस बिवेकको प्रतिक। बललाई बिवेकले निर्देशन गर्यो भने संकटबाट मुक्ति पाइन्छ भन्ने कथाको शन्देश हो।
अब मुल विषय तर्फ लागौं। जात जातका प्रदेश माग्नेहरुले शक्ति प्रदर्शन गरीरहेका छन्। कसैलाई अखण्ड प्रदेश चाहिएको छ, कसैलाई टुक्राउनु परेको छ। सबैले बल देखाएरै आफ्नो अभिष्ट पुरा गर्न खोजिरहेका छन्। संघीयताले उब्जाएको दंगा फसादमा राज्य पनि बल प्रयोगमै उत्रिएको छ। घनघोर जंगलमा अहिले भयानक डढेलो लागेको छ तर सबै जसो समुह वा नेताहरु दौडन मात्र सक्ने देखिदैछन्। बिवेकले शासन गरेको देख्न पाइएको छैन।
बिवेक हुँदो हो त थरुहटको आन्दोलनमा एउटा डेढ बर्षिय अबोध शिशु र सात जना प्रहरीहरुले ज्यान गुमाउनु पर्ने अवस्था आउथेन। बिवेक हुँदो हो त ‘कथित बुद्धिजिवी’ डाक्टर उपाधी धारी सहितका नेताहरुले ‘अनिष्ट’ हुन्छ भन्दै कुनै विशेष जातलाई हिंसात्मक आन्दोलन गर्न उक्साउथेनन्। बिवेक हुँदो हो त कुनै अमुक जात वा समुहलाई पेलेरै सिध्याउछु भनेर केही नेताहरु लाग्थेनन्। बिवेक हुँदो हो त सेना लगाएर ठिक पार्छु भनेर राज्थ तम्सिन्थेन।
जातीयताको विष बृक्ष रोपेपछि त्यसबाट अंगुर फल्छ भनेर सपना देखाउने र देख्नेहरु नै बिवेकहिन हुन्। उत्पिडितलाई प्रदेश बाँडेर मुक्ति मिल्छ भनेर सपना देखाउनेहरुले सोझा उत्पिडित जाति जनजातिहरुलाई उल्लु बनाए। पहिला अधिकार सबै खोसेर उल्लु बनाए। अहिले सबै अधिकार दिन्छौं भनेर उल्लु बनाए। उल्लु बनाइएकाहरु प्रति मेरो गहिरो सहानुभूति छ।
मेरो विचारमा तपाई सहमत हुन जरुरी छैन तर जातीय मुक्तिको नाममा प्रदेश वितरणको जुन खाका कोरीयो, यो नै कलहको बिज हो भन्नेमा म दृढ छु। साँच्चै अधिकारै दिने हो भने र उत्पिडितलाई माथि उठाउने हो भने आरक्षण वा विशेषाधिकार र राजनीतिक प्रतिनिधित्वको सुनिश्चितता हुने गरी संविधानको खाका कोर्न सकिदैन र ? हाम्रो जस्तो अल्पसंख्यकहरुको देश जहाँ झण्डै सवा सय जात र सयभन्दा बढी भाषाहरु बोलिन्छन् त्यहाँ कसको नाममा प्रदेशको बनाउने ? ऐतिहासिक थातथलोलाई आधार मान्ने हो भने कुन समयदेखिकोलाई ऐतिहासिक र कुन समयदेखिकोलाई गैर ऐतिहासिक मान्ने ? जनसंख्याको आधारमा मान्ने हो भने त्यस्तो कुन ठाउँ छ एउटै जातको बहुमत बहुमत भएको ? जातकै आधारमा प्रदेशको नाम राखियो भने अरु जनतालाई कसरी चुप लगाउने ? यस्ता प्रश्नहरुको उत्तर त धेरैलाई कण्ठाग्र होलान्। तर्क जति पनि गर्न सकिन्छ पक्ष र बिपक्षमा। तर याद राखियोस्, तर्क भनेको कमजोरलाई दबाउन ‘कथित बुद्धिजिवि’ ले प्रयोग गर्ने हतियार मात्र हो। तर्कले कोही कसैलाई चुप लगाउन त सकिएला तर मन बुझाउन कठिन छ। नबुझेको मन जति बेला पनि बिस्फोट हुन सक्छ।
मैले बिवेकको कुरा गर्दै थिएँ। बुद्धीको कुरा म गर्दै छुइन। बुद्धी त रावणसँग पनि थियो तर बिवेक नभई दिनाले उसको पतन भयो।
मुलुकमा जातीयताको आगो सल्कि सक्यो। अब बिवेकको जल छर्किएनौं भने हामी र हाम्रा सन्ततिले डढेलोपछिको खरानीमा उभिन बाध्य हुनु पर्ने छ। बिवेकशील हुन हामी राजनीतिज्ञहरुलाई मात्रै आग्रह गर्दैछौं। दोष हाम्रो पनि छ।
सामाजिक सञ्जालमा हाम्रा शब्दहरु सामाजिक सद्भाव भड्काउने गरी आउछन् अनि हामी त्यसैमा रमाउछौं। कुनै जात विशेषलाई गाली गरीएका लेख वा बक्तब्यहरु सञ्चार माध्यममा आउछन् अनि त्यो पढेर पनि खबरदारी गर्दैनौं। कुनै नेताले उत्तेजना फैलाउने गरी भाषण ठोक्छ अनि हामी पररर ताली ठोक्छौं। हामी यसै गरी बहकिदै जाने हो भने अहिले देशमा जे हुदैछ हामी साँच्चै त्यसैको हकदार हौं। हामी नै समस्याको जड हौं।
समस्या कहाँ हुदैन ? तर हाम्रो चेतनालाई बिवेकले शासन गर्ने हो भने समस्या बल्झिनुको साटो सुल्झिन सक्छ। अहिलेको अवस्थामा बिवेक भनेको सद्भाव कायम गर्नु हो। जातीय सद्भाव, धार्मिक सद्भाव, क्षेत्रीय सद्भाव आदि। तर सद्भाव भन्दै नारा वा जुलस लाएर मात्रै समस्याको हल हुन्छ त ? किमार्थ हुदैन। सद्भाव कायम गरौं भन्दैमा उत्पिडित माथिको उत्पिडन अन्त्य हुन्छ। किमार्थ हुदैन।
हो यहीँ नेर आवश्यकता छ बिवेकको। आज सम्म बुद्धिको प्रयोग गरेर अनेकौं जाति जनजातिहरुलाई पछि पारीयो। अब बिवेकको प्रयोग गरेर उनीहरुलाई अघि बढाउँ। बिवेक प्रयोग गर्न ठुलो छाती चाहिन्छ। उनीहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन जे जे गर्नु पर्छ त्यो सबै गरौं। यसो गर्दा आफ्नो भाग खोसिन्छ भनेर डराएर फिस्टोको जत्रो चित्त बनाउन थालियो भने फेरि पनि समस्या जिउका तिउ रहन्छ। बिवेकशील मान्छेले आफ्नो भाग खोसियो भनेर चित्त दुखाउदैन बरु अरु समुदायले पनि खोसिएको भाग पाए भनेर हर्षित हुन्छ।
जातीयता त परालको रुपमा लिच्छबी शासकहरुकै पाला देखि घाममा सुकाएर राखीएको थियो। अहिले त्यसमा उग्रवादीहरुले आगो झोसीदिएका मात्र हुन्। यसलाई डढेलोको रुपमा फैलिन नदिन तपाई हामीले अहिले नै बिवेक पुर्याएनौं भने भोली के हुन्छ भन्न सकिन्न।