देशको कुल जनसंख्याको करीब १७ प्रतिशत जनसंख्या विदेशिएको तथ्याऒ्ढ सार्वजानिक भइरहेको छ। म यही १७ प्रतिशतभित्र पर्ने एक नेपाली।
थोरै रहर र धेरै बाध्यताले विदेशिएकी मलाई मेरो देश प्यारो छ। ठूला छैनन् मेरा रहर र महत्वाकांक्षा। शान्तिसित परिवारले बिहानसाँझ मुख जोड्न सकोस्, जाडो र गर्मीमा आङ ढाक्न सकोस्। शीरमाथि एउटा छत होस् जहाँ दिनभरी काम गरेर साँझ परिवारका सबै सदस्य फर्की शान्तिसँग खुशीले निदाउन सकुन्। घरका सानाले पढ्न पाउन्, ठूलाले चाहे जसरी टहल्न पाउन्।
आफूले दुःख गरेर कमाएको पैसा रेमिट्यान्सको रूपमा नेपाल भित्र्याएर सरकारलाई कर तिरेको छु। भाइबाहनीको फिस तिरेको छु। बा–आमा र परिवार, आफन्तका आवश्यकता पूरा गरेको छु। सेवासुविधा प्रयोगगरेबापत शुल्क पनि त तिरेको छु। त्यसकारण म विदेशमा बसे पनि नेपाल सरकारको करदाता हुँ भन्दा गलत नहोला। कर तिरिरहेको देश र हामी सबै नेपालीहरुले तिरिरहेको करबाट तलब र सेवा सुविधा लिइरहेका सरकारमा भएका नेता तथा सभासदहरूबाट केही आशा राख्नु अन्यथा पनि नहोला।
भौगोलिक रूपमा टाढा रहे पनि सूचना र प्रविधि हामीलाई आफ्नो देशसँग जोडिरहन्छ।। छातीभरि देशको माया बोकेर परदेशमा श्रम बेच्न बाध्य मलगायत हामी देशको खुसीमा खुसी हुन्छौँ भने दुःखमा सँगै रुन्छौँ पनि। हामी देशको माया नभएर विदेशिएका होइनौँ, श्रम गर्न डराएर भागेका पनि होइनौँ। कोही अवसरको खोजीमा हिँडेका छौँ त कोही गाँस, बास र कपासको जोहो गर्न। तर आफ्नो देशमा श्रम गरेर बाँचिरहेकालाई देशको माया जति छ हामीलाई पनि त्यति नै छ। भलै हामी देशमा भइरहने बन्द, हड्ताल, जाम र नारा जुलुस, हत्याहिंसा भन्दा टाढा छौँ तर देशको कु–राजनीतिले निम्त्याएका यी कु–परिणामसँग दुःखी छौँ। परिवार र आफन्तका मुखमा गाँस र आङमा कपासको जोहो गर्ने होडमा हरदम देश दिमागमा रहला नरहला तर नेपाली धड्कन छातीभित्र धड्किरहेकै हुन्छ हरपल, हरक्षण।
अलिकति फुर्सदमा पढ्ने समाचार पनि चसक्क बिझाउँछन् छातीभित्र। हेर्यो जताततै व्यक्तिगत स्वार्थ मौलाइरहेको आभास हुन्छ। असन्तुष्टिका स्वरहरू गुञ्जिरहेका सुनिन्छन्।। मानिसको जीवनको मूल्य नै भेटिन्न, मृत्युको खबर कागजको पानाभन्दा धेरै सस्तो लाग्छ।। समाचारहरु यसरी आउँछन् कि आफूलाई कसैका अगाडि नेपाली हुँ भनेर चिनाउनै अप्ठ्यारो लाग्छ। तर परिचय बदल्दैमा म आफ्नो देश र माटो बदल्न सक्दिनँ। आफ्नो नेपाली मनलाई ढाँट्न सक्दिनँ।
म हरक्षण आफ्नो देशको त्यो माटो, ती बाटा, त्यो हावा, ती पहाड र खोला नदी, त्यहाँका भाका, भाषा र मानिसहरू सम्झिरहेकी हुन्छु। अनि कल्पनामै एउटा यस्तो देश सजाउँछु र मनमनै भन्छु मेरो देश यस्तो होस् जहाँ मान्छेको जीवन अमूल्य होस्। विभेदका सीमारेखा कहीँकतै कोरिएका नहुन्। सबै मानिसहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर परोपकारका लागि जुट्न सकुन्। ज्ञान सर्वोच्च र इमानदारी सबैका लागि सर्वस्व होउन्। कोही कसैको बर्बादीमा खुसी नहोउन्।
मेरो देश यस्तो होस्– शासकहरू आफूलाई भन्दा धेरै देशलाई माया गरून्। नेताहरूले जनताको मनमा ठाउँ बनाउन सकुन्। नेताहरू फुट र हठको राजनितीलाई छाडेर एकता, सद्भाव, शान्ति र सहअस्तित्वको मियो बन्न सकुन्। चाकरी, दमन र शोषण केही नहोस्। कसैको मुटुभित्र लिपुलेक नदुखोस्। कहीँकतै दशगजा नमेटियोस्।
पढ्छु भन्नेले पढ्न पाउन्, लेख्न खोज्नेले लेख्न सकुन्। बोल्न चाहनेहरूको मुख बन्द नगरियोस्। कोही पनि अवसर र रोजगारीका लागि विदेशिनु नपरोस्। हिमालको बुटी तराईका लागि संजिवनी बनोस्। तराईको चामल पहाड र हिमालले खान पाउन्। कालीको बाढी मेचीले रोकोस्, मेची लड्दा धवलागिरीले धानोस्। टीकापुरको आगो मकवानपुरले निभाओस्। काभे्र भत्किँदा काठमाडौँले बनाओस्। कर्णाली र काठमाडौँबीच दूरी नरहोस्। पूर्वका लिम्बु र पश्चिमका क्षेत्रीको नेपाली मन कहिल्यै नफाटोस्। हिमालका शेर्पाे र तराईका थारुबीचको आपसी सद्भाव कहिल्यै नसकियोस्।
मेरो देश यस्तो होस् जहाँ मानिसहरू चराहरू जस्तै स्वतन्त्र र स्वछन्द उड्न पाउन्, हिड्न पाउन्, गाउन पाउन्। कोही कसैको बहकाउमा नलागुन्। मानिसहरू पद्दतिमा बाँच्न सिकुन्, प्रविधिमा भर गर्न सकुन्। मन्दिरका घण्टी सबैले बजाउन सकुन्, मस्जिदका ढोका सबैका लागि खुलुन्। उपचार अभावमा कसैको ज्यान नजाओस्। जस्ताको तस्तै रहुन् हिमाल, त्यसरी नै बगिरहुन् नदी। पहाडमा गुराँस सुनाखरी त्यसरी नै फुलुन्, तराईमा धानका बाला त्यसरी नै झुलुन्। कुनै पनि नेपालीले म नेपाली हुँ भन्ने नभुलुन्। देशको सानो भूगोलमा म, तिमी र हामी, सबैसबै अटाऔँ।
नेपालको भविष्य लेख्न र बनाउन जनताबाट अभिमत लिएकाहरूलाई यति नै भन्नु छ– 'नेपाल नेपालै रहोस्! चन्द्र सूर्य सधैँ फर्फराओस्!'