वैसाख १२ गतेको भूकम्पपछि निर्वाह गरेको भूमिकाले गर्दा लाग्थ्यो, 'अब त सुरक्षाकर्मी जनताकै लागि रहेछन्।'
मानसिकता अझै पनि मेरो दिमागमा छ र सधैं रहिरहनेछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले त्यो बेला देखाएको साहस मेरो आँखाबाट ओझेल भएको छैन। हुने पनि छैन।
त्यो प्राकृतिक प्रकोप भन्दा अघि धेरै सर्वसाधारणले सुरक्षाकर्मीलाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन। मानौं उनीहरु अरु नै प्राणी हुन्। म पनि त्यही मानसिकताले ग्रसित थिएँ । तर, भूकम्पपछि उनीहरुले देखाएको साहस म जस्ता नेपाली जनताले भुल्ने छैनन् र भुल्नु पनि हुँदैन ।
भूकम्पको पीडा केही शान्त भएपछि म उपचार गर्न म दक्षिण भारतको भेल्लोर र बैंगलोर गएँ। नेपाल छोडनु अघि नै देशको पुनर्संरचनाका विषय निकै पेचिलो बन्दै गएको आभास भइरहेकै थियो। साउन २४ गते बिहान पूर्वीद्वार काँकरभिट्टा पुग्दा मनमनै सम्झेँ, 'मेरो देशमा केही नहोस्। कोही पनि हताहत भएको खबर सुन्न नपरोस्।'
न्यू जलपाईगुडीबाट ट्रेनमा दक्षिण लागेपछि पनि देशको राजनीतिमा के भइरहेको छ भन्ने विषय दिमागमा खेलिरहयो। सामाजिक सञ्जाल तथा अनलाइन मिडिया मार्फत् पलपलको खबर पाइरहेकै थिएँ । प्रदेश सीमाङ्कनको विषयलाई लिएर बन्द र आन्दोलन सुरु भइसकेका थिए।
मधेशमा आन्दोलन सुरु भयो। पूर्वमा लिम्वुवानले हड्ताल सुरु गर्यो। पश्चिममा अखण्डताको आन्दोलन सुरु भयो। अन्यत्र संघीयता पक्षधरहरु आ आफ्ना राज्यका पक्षमा आन्दोलनमा उत्रिए। देशै आन्दोलित भयो।
आन्दोलन विगतमा पनि भए । मैले जान्दाका आन्दोलन अर्कै किसिमका थिए । नयाँ संविधान बन्ने बेलामा आ-आफ्ना अधिकार स्थापित गराउन दबाब दिनु स्वभाविक नै मान्नुपर्छ । देशका धेरै ठाउँ आन्दोलित हुँदै जाँदा म भने दक्षिण भारतको भेल्लोरको उपचारमा थिएँ । शरिर त्यहाँ भएपनि मन देशमा के हुँदैछ भन्ने मै थियो।
गत सोमबार म मेरो टाउकाको समस्याको उपचारका लागि बैंग्लोरको एक अस्पतालमा डाक्टरको प्रतिक्षामा थिएँ। त्यसैबेला अपरान्हमा कैलालीको टिकापुरमा प्रहरीलाई आन्दोलनकारीले घरेलु हतियार प्रहार गरेर मारेको ट्वीटरबाट थाह पाएँ । हतास भएँ- कसरी यो घटना हुन पुग्यो ?
सम्झिएँ, भूकम्पपछि तिनै सुरक्षाकर्मी ज्यानको बाजी लगाएर सर्वसाधारणको रक्षा तथा उद्दारका लागि खटिएका थिए । सम्झिएँ, तिनै सुरक्षाकर्मीले नाबालक तथा धेरै सर्वसाधारणलाई भग्नावशेषबाट बाहिर निकालेका थिए । पत्यारै लागेन । तर केही क्षणमै सबै मिडियाका अनलाइन संस्करणहरुले उक्त समाचारलाई विश्वभर छ्पाप्छ्याप्ती बनाइसकेका थिए ।
डाक्टरसँगको भेटपछि मेरो समस्या सामान्य हो भनेर थाह पाए पनि देशमा भएको त्यो घटनाले मेरो मन त्यहाँ अडिन सकेन। हत्तपत्त रेलवे स्टेशन गएर न्यू जलपाईगुडीको टिकट काटेँ र मध्यरातको ट्रेनको प्रतिक्षामा आँसु बगाउँदै बसेँ।
एक मनले सम्झिएँ, यो घटना झुटो भइदेओस्। तर त्यसो हुन सकेन । बेलुकासम्ममा थाहा पाएँ नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौउपाने लगायत पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एकजना बालकको ज्यान गएको। जुन सपनामा पनि सोच्न सकेको थिइनँ।
ट्रेनमा यात्रा गरिरहँदा यही विषयमा नलेखिरहन सकिनँ। मोबाइल फोन निकालेँ। यति लेखिसक्दा बैंगलोरबाट पश्चिम बंगाल टेकिसकेको छु। सायद यो छापिइसक्दा म मेरो मातृभूमी टेकिसकेको हुन्छु ।
'नेपालमा यत्ति धेरै प्रहरीलाई मारियो ?' यात्रामा रहेका सयौं मान्छेले मलाई सोध्न थाले। एउटा भारतीय अखबारले 'नेपाल में ७३ पुलिसकर्मी जिन्दा जलाए' शीर्षक राखेर समाचार छापेको रहेछ । स्पस्टिकरण दिँदादिँदा हैरान भएकी छु। अहिले पनि ट्रेनमा सामाजिक सञ्जालमा मात्र ध्यान गइरहेको छ, कहीँ कतै केही भयो कि भनेर। मलाई अन्तमा यति भन्नु छ, 'म नेपाल आइपुग्दासम्म टिकापुरको घाउ निको होस्।'
जलिरहेको देशलाई जोगाउन राजनीतिक दलले वार्ता मार्फत् समाधान निकालुन् । सामाजिक सञ्जालमा आँखा लगाइरहँदा सदभाव भाइचारा भड्किने किसिमको अभिव्यक्ति धेरै मानिसहरुले दिइरहेका छन्। जुन हाम्रो लागि धेरै नै नराम्रो हो। संयम बनौँ। संयमित अभिव्यक्ति तथा प्रतिक्रिया नै हाम्रा लागि हितकर हुनेछन्। हाम्रो सदियौंदेखिको सदभाव नखल्बलियोस् !