सम्पादकीय नोट:
केदारभक्त माथेमा समितिले दिएको प्रतिवेदन सरकारले पूर्व प्रतिवद्धता बिपरित अहिलेसम्म कार्यान्वयन गरेको छैन। मेडिकल शिक्षाको सुधारकालागि निरन्तर लडिरहेका डा.गोविन्द केसीले प्रतिवेदन कार्यान्वयनका लागि दिएको पछिल्लो म्याद आज सकिदैछ। निजी मेडिकल कलेजहरू सो प्रतिवेदन जसरी पनि लागू हुन नदिने पक्षमा छन्। निजी मेडिकल कलेजहरूमा डाक्टरी पढ्दै गरेका विद्यार्थीहरू के भन्छन्? विभिन्न मेडिकल कलेजमा पढिरहेका केहि विद्यार्थीहरूको अनुभव र भनाईलाई हामीले श्रृंखलाबद्द रूपमा प्रकाशित गर्न सुरू गरेका छौ। विद्यार्थीको अनुरोधमा कतिपय लेखहरुमा लेखक र मेडिकल कलेजको नाम उल्लेख गरिएको छैन।
आदरणीय वुवा, शाष्टांग दण्डवत्!
म यहाँ आरामै छु र घरमा पनि सवैलाई आरामै होला भन्ने आशा र कामना गरेको छु । मेरो जीवनको पछिल्ला ५ वर्षमा घटेका र मेरो मनमा अटसमटस भरिएर बसेका केहि कुरा तपाईलाई म आज लेख्दैछु। हजुरको अत्यन्त व्यस्तता र समय अभावका कारणले राम्रोसँग फोनमा वोल्न नपाएको समेत धेरै भइसक्यो ।
आजसम्म मैले कहिल्यै यी कुरा गरिनँ, तर खै किन हो आज यो सब नभनिरहन सक्दिनँ।
हिजो जस्तो लाग्छ एमविविएस पढ्नका लागि सुटकेश बोकेर विमानस्थलमा पुगेको। फ्लाइट ढिलो भएर पर्खिरहँदाको क्षण अझै सम्झिन्छु-घर र ममिलाई पहिलो पटक छोडेर जाँदा मलाई कता कता अत्यास लागिरहेको थियो।
बुबा, यहाँले जीवनमा धेरै संघर्ष गर्नुभयो । हामीलाई राम्रो स्कुल, कलेजमा पढाउन र राम्रो जिन्दगी दिन यहाँले अहोरात्र मेहनत गर्नुभयो। यहाँको सपना थियो, छोरालाई भविश्यमा राम्रो डाक्टर बनाउने।
मेरो भने डाक्टर बन्ने रूची थिएन। स्कुल छोडेर पाएको फुक्का कलेज जीवनमा रमाईलो गर्न सिकेको थिएँ। पढाईमा खास ध्यान जान्न थियो। रातभरि नसुती फुटवल म्याच हेर्थे, मलाई खेलाडी बन्ने रहर थियो। घरको डरले साईन्स लिएर टेन-प्लस-टु जसो तसो पास गरेँ।
दुर्भाग्य भनौं वा के, यहाँको सपना पुरा गर्न मैले जवरजस्ती एमविविएस पढ्नुपर्ने भयो । जसो तसो केयुको जाँच पास गरेँ।
एमबिबिएस पढ्न मेडिकल कलेज आईपुग्नु पहिलेनै मेरो एड्मिसन कुनै एकजना व्यक्तिले एउटा ‘इन्ट्रान्स’ प्रिपरेशन ईन्स्टिच्यूटवाट गरिदिएका थिए। हामीलाई उनी त्यतिखेर भगवान सरह लागेका थिए। पछि मात्र थाहा भयो, उनी त मैले पढ्ने कलेजका लागि विद्यार्थी जम्मा गरिदिने एउटा दलाल पो हुनु हुँदो रहेछ!
हजुर सधै व्यस्त हुनु हून्थ्यो पैसाको कमी हुन कहिले दिनु भएन। ममी खाली सन्चो विसन्चो, खाना खाए नखाएको, राम्रोसँग सुते नसुतेको कुरा गर्दा गर्दै रुन थाल्नु हुन्थ्यो। त्यसैले यी सबै कुरा गर्ने समय नै पाइन। हजुरलाई पनि थप सोध्ने र यहाँ आएर वुझ्ने फुर्सद नै भएन, मलाई पनि बिस्तारमा भन्ने मौकै मिलेन। आज भने मन खोलर भन्न मन लागेको छ-५ वर्ष यहाँ बस्दा मैले कती पढे, कस्तो रिजल्ट ल्याएँ, कती पल्ट फेल भएँ अनि हजुरले पठाउनु भएको त्यो मेहनतको पैसा के केका लागि खर्च गरेँ!
यो पनि हेर्नुहोस्
जीवनमा मैले केही पाठ सिकेको छु र आफ्ना सवै कुकर्म हजुर सामु स्वीकार गर्नुपर्छ भनेर यो लेख लेख्दैछु।
हजुरलाई पनि याद होला, पहिलो दिन हामी दुवै हाम्रो मेडिकल कलेजको एउटा सभाहलमा जम्मा भएका थियौं। त्यहाँ हजुर जस्तै आफ्ना छोरा छोरीलाई डाक्टर बनाउने सपना वोकर आउनु भएका अभिभावकहरुको भीड थियो। अगाडि मन्चमा प्रशासनका मान्छेहरू बसेका थिए। त्यहाँका ठूला मान्छेहरुले गरेका ठूलाठूला भाषण, नेपालकै सवभन्दा ठूलो कलेज र सुविधा जस्ता कुराले म साह्रै फुरुङ्ग थिएँ। तपाई पनि फुरूंग हुनुहुन्थ्यो होला।
हजुर त केहि बेरपछी कलेज छोडेर जानु भयो। त्यसपछिका सवै कुरा आज भन्न मन लागिरहेछ। सबै कुराका लागि त ठाउँ पुग्ने छैन, केहि भन्ने छु।
पहिलो दिन जब कक्षा कोठामा प्रवेश गरेँ, कोठा १५० जना विद्यार्थीले खचाखच थियो। खादिएर वेन्चमा बस्नुपर्ने अवस्था थियो । टेन-प्लस-टू पढ्दाकै बानी, मलाई लास्ट बेन्चमै बस्न मन लाग्यो। एकैछिनमा एकजना वृद्ध मानिस अन्दाजी असि-पचासी वर्षका लाठी टेकेर प्रवेश गर्नुभयो। सबैले उठेर ‘गुड मर्निङ सर’ भने। म पनि उठेँ।
उहाँ अगाडि कुर्सिमा बसेर पढाउन थाल्नुभयो। के वोलिरहनुभएको छ राम्रोसँग वुझिन्न थियो, कक्षा कोठाको माइक विग्रेको विग्रै गर्यो। उँहाले मुर्ति जस्तै नहल्ली पढाई रहनु भयो। साच्चै भन्ने हो भने मैले अन्तिम बेन्चबाट उहाँले ओठ मात्र चलाएको देखेँ।
फेरि अर्को पिरियड आयो, फेरि उँहा जस्तै वृद्ध गुरू आउनुभयो। प्रोजेक्टरबाट उहाँका हस्तलिखित पाण्डुलिपी देखाईरहनु भएको थियो। अगाडि बस्नेहरु धमाधम सार्दै थिए। खै के वुझेर सारे, पछाडि बस्ने म र म जस्तै साथीहरू भने कागजको टुक्रामा व्यांङ्गगात्मक कुरा लेख्दै आदान प्रदान गर्दै बस्यौं। भोलिपल्ट पनि उस्तै एकजना गुरू आउनुभयो विद्यार्थी तिर एकपल्ट फर्कनु भएन, ब्ल्याक बोर्डभरी खै के के चित्र कोरेर जानु भयो।
एक दुईजना गुरूहरू आएर राम्रै पढाउनुहुन्थ्यो। तर, होस्टलमा गएर किताव पल्टाईदैन्थ्यो।
प्राक्टिकल क्लासको रमाईलो छुट्टै थियो। एउटा लासको वरीपरी हामी ३०,४० जना विद्यार्थी घेरा लाउँथ्यौं । अगाडि बस्नेले देखे होलान्, पछाडिबाट हामी देख्दैन थियौ बरु आ-आपनै सेल्फी लिईन्थ्यो बसिन्थ्यो। यसै वित्यो मेरो पहिलो वर्ष। रिजल्ट आयो, फेल भइयो। हजुरलाई पास भएको बताए।
फेल भएकोमा, तपाईहरूलाई ढाँटेकोमा जीवनमा पहिलो पटक साह्रै दुखित भएँ। त्यसैबाट पाठ सिकेँ।
दोस्रो वर्षदेखी कक्षामा पछाडि बस्ने साथीहरुको साथ् छोडेँ। होस्टलमा चुरोट, रक्सी खाँदै तास खेल्ने साथीको छोडे। मेहनती र पढ्ने विद्यार्थीहरूको संगत गर्न थालेँ।
पढाईमा ध्यान दिन थालेँ। त्यही वर्षको पढाइले पहिलो र दोस्रो वर्ष पास गरि तेस्रो वर्ष क्लिनिकलमा छिरेँ।
क्लिनिकलमा पनि मेडिकल कलेजको हाल त्यहि थियो। बेडसाइडमा न कोही पढाउन आयो, न त सिकाउन नै। पढाउनका लागि शिक्षकलाई खोजी खोजी ल्याउनुपर्ने। २,४ दिनकाका लागि आएका भिजिटिङ भनिने ‘खडे वावा’ हरुले सिकाउने भन्दा पनि कोर्स सिद्धाएर जान्थे। विद्यार्थीले बुझेनबुझेको कसैलाई मतलव हुँदैनथ्यो।
जब कलेजमा नयाँ भर्नाको समय आउँथ्यो त्यतिवेला भने शिक्षकहरुको भेलानै लाग्थ्यो। कहिल्यै अनुहार पनि नदेखेका मान्छेहरूलाई ल्याइथ्यो र हामीलाई नाम रट्न लगाईन्थ्यो। फलानो सर फलानो विभागको रे, नरटी सुखै थिएन। शुरूमा त हामी रनभुल्लमा पर्यौ कि यो के भईरहेको छ, तर छिट्टै बानी पर्दै गयो। वास्तवमा त्यो त अनुगमनमा आएका मेडिकल काउन्सिल र केयूका पदाधिकारीलाई झुक्याउने नमुना पो रहेछ!
टाढा, टाढा गाउँबाट खाना, भत्ता दिएर बसभरी मानिस अस्पताल ल्याइन्थ्यो र ओपीडी अगाडि लाईन लगाइन्थ्यो।
अनुगमनमा आएका पदाधिकारी पनि तँ पिटे जस्तो गर, म रोए जस्तो गर्छु भने झै हामीलाई प्रश्न गर्नुहुन्थ्यो र हामी पनि राम्रो छ भनिदिन्थ्यों। कलेजको ज्यादती र धम्कीसँग सबै अभ्यस्त थियौं, कलेजसँग पंगा लिए फेल हुने डर सबैलाई हुन्थ्यो।
एमडी पढिरहेका सिनियरहरू, मेडिकल अफिसर र कन्सल्ट्यान्ट कोही पनि साँचो कुरा वोल्न सक्दैनथे र ‘इन्स्पेक्सन’ कलेजले चाहेजस्तै भव्य रुपमा सफल हुन्थ्यो। अनुगमनका बेला मात्र अस्पताल ल्याइएका ‘खडेवावा’ सवैको हातमा खाम थमाईसके पछी उनीहरू आफ्नो वाटो लाग्थे। अनि सवै कुरा पहिले जस्तै हुन्थ्यो।
(यी सबै कुरा भुतकालमा लेखिएकाले यी विगतका कुरा थिए र अहिले सबै ठीकठाक छ भन्ने भान नपरोस्, यी शब्द लेखिँदै गर्दा यस वर्षका लागि काउन्सिल र विश्वविद्यालयको अनुगमन चलिरहेको छ र माथिका सबै नाटकहरू पहिले भन्दा पनि लाजै नमानी मञ्चन गरिँदैछ।)
वुवा तपाईलाई के थाहा, मैले आफ्नो तेस्रो वर्षको परीक्षा दिएँ भनेर। इएनटीमा एउटा विरामी थियो, हामी ३० जनाले एउटै विरामीको हिस्ट्री लियौं र त्यसैको क्लिनिकल एक्जामिनेशन गर्यौ परीक्षा पास हुन। तपाइँ नै कल्पना गर्नुहोस्, नाक, कान र घाँटीमा देखिने पचासौं थरिका रोग र विरामीबारे हाम्रो ज्ञानको परीक्षण कसरी भए होला!
अझ आँखा विभागमा त एउटा पनि विरामी थिएन। हामीले काल्पनीक हिस्ट्री लेखेर परीक्षा दियौं, अनी म पास पनि भएँ। अब भोलि त्यो विषयका साँच्चै हाडमासुले बनेका बिरामी हामीले कसरी हेरेर रोग पत्ता लगाएर उपचार गर्ने हो।
साँचो कुरा भन्नु पर्दा, हाम्रो मेडिकल कलेजमा निस्पक्ष र धाँधलीरहित परीक्षा हुने हो भने २५ प्रतीशतभन्दा वढी विद्यार्थी कुनै पनि हालतमा पास हुन सक्दैनथे। किनकी हामीले पढ्ने, पढाउने माहोल कहिल्यै पाएकै छैनौं। हामीलाई कहिल्यै राम्ररी सीकाइएकै छैन।
बुबा, मेडिकल शिक्षाको नाममा हामी एउटा ‘घटिया व्यापारको’ शिकार बनाइएका छौं। हामी त्यस्तो जालमा फसेका छौं, जहाँबाट न अघि बढ्ने बाटो सहज छ, नपछि फर्कनु सम्भव छ। यहाँहरुले रगत, पसीना बगाएर जम्मा गरेको पैसा मात्र होइन, हाम्रा अमुल्य वर्ष त्यतिकै खेर गैरहेका छन्।
अति भएपछि पछिल्लो समयमा अब चुप लागेर हुँदैन भन्ने हामी सबै साथीहरूको निस्कर्ष छ। अघिल्लो महिना यो कलेजमा इन्टर्न दाइदिदीहरूले गर्नुभएको आन्दोलन त्यहि निस्कर्षको परिणाम थियो। दुःखको कुरा, त्यो आन्दोलनले डामेपछि उहाँहरू झन् बिक्षीप्त हुनुभएको छ। घुर्की र धाक–धम्की उहाँहरुका लागि सामान्य भइसकेका छन्।
आन्दोलनका बेला विद्यार्थी प्रतिको अमानवीय व्यवहारको विरोध गर्ने डाक्टर–शिक्षकहरुलाई कलेजले गलहत्याएर निकालिसकेको छ । यो कलेजलाई भय र आतंकको पर्याय बनाइएको छ।
यस्तो अवस्थामा हामी एक्लैले संघर्ष गरेर पार पाउन कठीन छ । तर केही नगरी बस्ने हो भनेचाहिं हाम्रो मात्र नभएर हामीपछि आउने सबै भाइबहिनीहरुको भविष्य अन्धकार हुने कुरा छर्लंगै छ। हामीले र यहाँहरुले जति धोका पाएर पछुताए पनि भावी पुस्ताले त्यसरी पछुताउनु नपरोस् भनेर यो क्षेत्रको विद्यमान् व्यवस्थालाई भत्काउनै पर्ने भएको छ। अब सानोतिनो सुधारले केही हुने वाला छैन।
बुबा, डाक्टर गोविन्द केसीको नाम त यहाँहरुले सुन्नुभएकै होला । नेपालको मेडिकल शिक्षालाई थप बर्बाद हुनुबाट बचाउन सक्ने कोही छ भने उहाँ नै हो। उहाँकै निरन्तर संघर्षका कारण सरकार बाध्य भएर माथेमा समिति गठन गरेको थियो। त्यो समितिले मेडिकल शिक्षामा सुधारका लागि महत्वपूर्ण सुझाव दिएको छ। तिनलाई अक्षरशः व्यवहारमा लागू गर्ने हो भने मात्र भविष्यको पुस्ताले हामीले झैं पछुताउनुपर्ने छैन । नत्र एकपछि अर्को पुस्ता हामी झैं धरापमा पर्दै जानेछन्।
राम्रो डाक्टर वन्ने सपना वोकेका विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदै आएको धेरै भइसक्यो। त्यसैमा फाइदा खोज्न पल्केकाहरू अहिलेकै भद्रगोल र मनपरी कायम राख्न प्रयास गर्दैछन्। हजुर जस्तै सम्पूर्ण आमा वुवाले एक पटक यो वुझ्न जरूरी छ की मेरो छोरा छोरी कुन अवस्थामा पढिरहेका छन्। तिनले खाए कि खाएनन् भनेर बुझ्नु जति जरुरी छ, तिनले गुणस्तरीय शिक्षा पाएका छन् कि छैनन् भनेर बुझ्नु पनि उत्तिकै जरूरी छ। हाम्रा छोरा-छोरी बिरामी जाच्न लायक डाक्टर बन्दै छन् कि छैनन् भन्ने बुझ्न जरुरि छ। सहि हो, अभिभावकले त्यस्तो खोजीनीति र खबरदारी गर्ने सम्भव छैन भनेरै काउन्सिल र विश्वविद्यालयलाई गुणस्तर कायम गर्ने जिम्मेवारी दिइएको हो। तर कलेज खोल्ने धनाढ्यहरुले ती निकायहरुलाई नै किनिदिएकाले हाम्रो भविष्य अन्धकार भएको छ।
बुबा, रातारात अर्वपति बन्ने सपना बोकेका घटिया ब्यापारीले भनेको पत्याएर उनीहरुका पोल्टामा पैसा, मेरो भविश्य सुम्पिँदा मेरो भविष्य त अन्योलग्रस्त छ नै, समग्र स्वास्थ्य क्षेत्र नै धरापमा पर्ने खतरा मैले देखेको छु। यो अवस्थालाई ढिलै भए पनि रोक्ने हो भने यहाँजस्तै अभिभावकहरुले माथेमा प्रतिवेदनको पक्षमा बोल्नै पर्ने अवस्था आएको छ।
आदरणीय गुरू गोविन्द केसीले निस्वार्थभावले उठाएका मागहरू पुरा गर्नुको सट्टा उहाँको बूढो शरीरलाई फेरि अनशनमा धकेल्ने षड्यन्त्र भइरहेको हामीले बुझेका छौं। विश्वास गर्नोस् बुबा, अब गोविन्द सर अनशन बस्नुभयो भने हामी चुप लागेर बस्नेवाला छैनौं। अरू धेरै निजी मेडिकल कलेजका विद्यार्थीहरुको मनस्थिति पनि त्यस्तै छ। हाम्रो भविष्य धरापमा पार्ने कलेजवालाहरुले अहिलेसम्म त हाम्रो मुख धाकधम्की र त्रासले थुने। तर अब ती दिन सकिए। सबैतिरबाट खुलेर गोविन्द सरको नेतृत्वको आन्दोलनमा उत्रेपछि कतिलाई फेल गर्दा रहेछन्, हामी पनि हेरौंला।
बुबा, तपाइँ र तपाइँजस्ता अभिभावकहरू जो अहिलेसम्म छोरा-छोरीको मेडिकल शिक्षाबारे जेजति भ्रममा बाँच्नुभयो, त्यसलाई तोडेर बाहिर आउनुपर्छ। हामी विद्यार्थी र तपाइँ अभिभावकहरु गोबिन्द सरको मागमा एक ठाउँ उभियौं भने, ति माग पुरा हुन कसैले रोक्न सक्ने छैन।
हो बुबा, हामी भोकै बस्दा यहाँहरुको मन जति रुन्छ, तपाईहरुले पचासौं लाख तिर्दा पनि हामीले गुणस्तरीय शिक्षा नपाउँदा पनि यहाँहरुको त्यति नै मन रूनुपर्छ। सक्षम डाक्टर बनेर हामीले बिरामीको ठीक उपचार गर्न सके मात्र हामीलाई डाक्टर बनाउने तपाईँहरूको सपना साँचो अर्थमा साकार हुनेछ। हामी एउटा सार्थक जीवन बाच्न लायक हुनेछौ।
मलाई बिस्वास छ, तपाईंले मेरो मनको बह र विषयको गम्भीरता बुझ्नुहुनेछ।
उही हजुरको माया गर्ने छोरा रमेश।