एक दिन फेसबुकमा एउटा मेजेस आयो, ‘बिहे कहिले हो? बिहे गर्न ढिला भएन र?’ बिहे जस्तो विषय। ‘यस बारेमा सोच्दै छु’ भन्ने जवाफ फर्काएँ। कुरो यत्तिले टुङिगएन। फेरि अर्को सन्देश आयो, ‘अहिले त ठीकै छ पछि त गार्हो हुन्छ।’ बुढेसकालमा एक्लै पर्लाउ भन्ने चिन्ता व्यक्त गरियो। मैले हाँसेर जवाफ फर्काएँ, ‘बुढेसकालमा पछुताउन पर्ने गरि एक्लो बस्दिन। जीन्दगीको सबै स्वतन्त्रता र आनन्द ग्रहण गर्छु। अनि मन लागे पछि विहे गर्छु।’
अर्को दिन फेरि चिनेका एक जनाले चिन्ता व्यक्त गरे, ‘तिमीले जुन रफ्तारमा जेजस्ता विषयहरु वेपरवाह लेख्दैछौ, यसले तिमीलाई उल्टै हानि गर्छ। अब त झन तिम्रो बिहे हुन गार्हो हुनेछ। मैले सवाल जवाफ गरिनँ। बरु अर्को दिन ति मित्रको फोन नै उठाइनँ। मेरो उनलाई त्यही नै जवाफ थियो।
यथार्थमा ति दुबै चासो र प्रश्न मेरो भविष्यका बारेमा सोचेर नै गरिएका थिए होलान्। किनभने आजसम्म हामीले हाम्रो समाजबाट धेरै जानेको र सिकेको कुरा यहि हो कि अरूको बारेमा अतिशय चियोचर्चा र चिन्ता व्यक्त गर्ने। यो अभ्यासबाट मेरा मित्रहरु अछुतो रहने कुरै भएन। जस्तो समाज, उस्तै चित्र। दोष तिनको होइन। यो अनुभव यहाँ प्रस्तुत गर्न खोज्नुको आशय हामी समाजको कुन ढिस्कोमा उभिरहेका छौँ भन्ने देखाउनु हो।
झिनामसिना लाग्ने यस्ता कुरा बहसको विषय नबन्ला तर यसले मान्छेको व्यक्तित्व विकासमा भने अवश्य नै फरक पार्छ। सधैँजसो आफूले बाँचेको जिन्दगी सार्वजनिक गर्न कसैलाई पनि निको लाग्दैन। किनभने त्यसभित्र जीवनका केही निजी रंग हुन्छन् जसबाट स्वयं आफूले मात्र चित्र बनाउन सकिन्छ। केहि महत्वपूर्ण शब्दहरु हुन्छन् जसबाट आफूले मात्र आफ्नो कहानी लेख्न सकिन्छ। तर हामीले बाँचेको समाज सधै जसो हामीलाई प्रश्नको आँखाले हेर्छ। तिम्रो उमेर कति भयो? तिम्रो घर कता हो, परिवारमा को को छन्? बिहे किन नगरेको? पैसा कति कमाउँछौ?ऊ त्यो तिमीसँग बोल्ने को हो? आदि इत्यादि।
डिभीचिठ्ठा पर्दा लाखौँको भोज गर्ने प्रोफेसर र डाक्टरहरु भएको यो भुगोलका हामीले हाम्रा खुसी, यौवन, आधुनिकता,विकाश र स्वतन्त्रता जस्ता कुराहरुलाई जहिले पनि अमेरिका, क्यानडा, जापान र युरोप जस्ता देशहरुका जनतासँग तुलना गर्यो। र, उनी हरुकै जस्तो खुशी खोज्यो। तर त्यो उनीहरूको खुसीहरूको श्रोतको त्यही अभ्यास भने हामीले कहिल्यै गरेनौं।
हाम्रो देश गरिब छ। हामी गरिब छौ। अझै पनि कैयौँ स्वदेशी जन भोकसँगको लडाँईमा हार मान्दै छन्। तर मैले जाने अनुसार भोक दुःख होइन। भोक र गरिबीसँग लड्न सकिन्छ। तर, हामीले लड्न बाँकी छ ,कुसंस्कार र कुरितीहरुसँग। गलत परम्परा र गलत अभ्यासबाट पार पाउन ढिला नहोस्। इतिहासले हामीलाई केहि गर्व गर्ने ठाउँ दिएको छ। तर भावि पुस्ताले पनि गर्व गर्ने गरेर हामीले के सुम्पने योजना बनाएका छौ? के यही पछ्यौटे पन र अन्धविश्वास हामीले हाम्रा भावि पुस्तालाई साँचेर राखेका हौं?
मैले बाँचेको जस्तो जिन्दगी म मेरो सन्तानलाई दिन चाहन्न कमसेक स्वतन्त्रताको सवालमा उसले मैले भन्दा बढी उपभोग गर्न पाओस्। मेरो जिन्दगीमा जसरी उसले प्रत्येक पाइलामा समाजलाई उसले जवाफ दिन परोस्।
हामी सापेक्षित कुरामा बढि जोड दिन्छौ तर सार्वभौम कुरा हामीलाई कुनै विषय हुन् भन्ने लाग्दैन। देश गरिब हुनुको अर्थ व्यक्ति स्वतन्त्र हनु नपाउनु होइन। गरिबीकै बिचमा पनि हाँसी खुसी र स्वतन्त्रतापूवर्क आफ्नो रूचीको जीवन बाँच्न सकिन्छ। देश गरिब छ भनेर के हामीले सन्तान जन्माउन छा्डेउ त?
अमेरिकाले जस्तै आर्थिक क्षेत्रमा सफलता हाँसिल गर्न सम्भवतः हाम्रो देशलाई अझै धेरै समय लाग्ला। के त्यसको अर्थ, देशले काँचुली नफेरेसम्म मैले चाहीँ मेरो मर्जीको जीवन जीउन नहुने? मेरो आदर्शलाई मैले अँगाल्न नपाउने? विकासमा जापानजत्तिकै हुन हामी कहिले सकौला? के त्यो बेलासम्म उही धर्तिका मान्छे हामीले हाम्रा सार्वभौम कुरालाई पाखा लाएर सापेक्षित कुराहरुमा अल्झिरहने? या क्यानडामा जस्तो प्रतिव्यक्ति आय उच्च नभएसम्म हाम्रो देशलाई यस्तो सुहाउन्न भनेर आफ्नो रहरलाई सन्दुकमा थुनेर बसिरहने? वा मान्छेले मलाई के भन्लान भनेर आफ्ना उड्न खाजेका पेखेटाहरुलाई बाँधेर राख्ने? आखिर हामी मान्छे हौ, असिमित रहर र अनगिन्ती सपनाहरु हाम्रा आँखामा पनि सजिएका छन्। देश गरिब हुनु भनेको हाम्रा रहरहरुलाई तिलाञ्जली दिनु होइन।
विश्वमै नेपाललाई नमुना राष्ट्र बनाउन सकिन्छ। मानवअधिकार, मौलिक हक, प्राकृतिक कानुन जस्ता विषयमा हामीले नयाँ आयामहरु सिर्जना गर्न सक्छौँ। रंग, लिङग,जात वा जन्म जस्ता विषयमा हुने गरेको विभेदको अन्त्यले हामी संसारमै उत्तम भन्ने सन्देश दिन सकीन्छ। कहिलेसम्म एउटा संयोगले प्राप्त गौतम बुद्ध र सगरमाथालाई भजाइरहने? यी त सोपेक्षित कुरा हुन्। बुद्ध यो देशमा जन्मेर त बुद्ध हाम्रा हुन् भन्न पायौँ। बुद्ध भारतमा जन्मेका भए के कुरामा गर्व गर्थौ होला हामी? विश्वको नक्सामा सगरमाथा अलिकति चेपिएर नेपालमा पर्न गयो नत्र भने हामी के को देश भनेर हल्ला गर्थेउँ होला? यस्ता सापेक्षित कुरामा दम्भ प्रदर्शन गर्नु उपलब्धीहीन हो।
निचोडमा यत्ति भन्न चाहे, स्वतन्त्रता सिर्जनाको द्योतक हो। जति समाजलाई खुकुलो बनाउँदै लगिन्छ, उति समाज उन्नत, सक्षम र विकसित हुन्छ। थुनेर राखेको बघिनीले बाघैलाई खाइदिन्छे। बघिनीलाई थुने भनेर दंग पर्दा कतै बाघै समाप्त हुने दिन नआओस्। पश्चिमाहरुका खुला जीवनप्रति र्याल काढिरहेका हामीहरु किन उनीहरुले अँगालेको कतिपय सहज र सकारात्मक जीवनलाई चाहीँ स्वीकार गर्न सकिरहेका छैनौँ? आउनुहोस्, देश बनाऔँ, एउटा ढुंगा, इँट्टा, बालुवा र सिमेन्टले र, अर्को, शिक्षा, जागरण, विचार र चेतनाले।