चरी नामक राजनीतिज्ञ–संरक्षित अपराधी मारिएको एक वर्ष एक महिना नहुँदै प्रहरीले अर्का उस्तै व्यक्तिलाई ‘दोहोरो भीडन्त’मा मारेको छ।
दण्डहीनताको चरम अवस्थाबाट आजित भएका आम मानिसले उनको मृत्यूलाई स्वागत गरेको आभास हुन्छ। कम्तीमा सामाजिक सञ्जालमा सरसर्ति हेर्दा त्यस्तै लाग्छ। अचानक नेपाल प्रहरी मानिसहरूको प्यारो बनेको छ र घैंटेजस्ता मानिसलाई संरक्षण दिने राजनीतिक नेताहरु आलोचना र निन्दाको पात्र बनेका छन्।
यदि साँच्चै समाचारहरुमा आएझैं घैंटेले पहिले गोली चलाएर पुलिसले प्रतिरक्षामा गोली चलाउँदा उनको मृत्यू भएको हो भने नेपाल प्रहरी बधाई र धन्यवादको पात्र हो।
त्यसो होइन र उनलाई पक्राउ गर्न सम्भव हुँदाहुँदै योजनाबद्ध रूपमा मारिएका हुन् भनेचाहिं त्यो सही हुन सक्दैन।
यही कुरा उनमा मात्र होइन, अघिल्लो साल यस्तै प्रकृतिले मारिएका चरीका हकमा पनि लागू हुन्छ। भविष्यमा यस्तै अवस्थामा मारिने अन्य ‘डन’हरूको हकमा पनि यही कुरा लागू हुनेछ।
निःसन्देह उनी र उनीजस्ता अपराधीहरुले धेरै हिंसा मच्चाए, लुटपाट गरे र मानिसहरुलाई मारे पनि। तर त्यसको जवाफ गैर–न्यायिक हत्या होइन।
समयको ‘मुड’ अनुसार यो कुरा गलत लाग्छ। कहाँ अपराधीलाई जति पटक पक्रे पनि तिनलाई छोड्न भनेर आउने राजनीतिक दबाबबाट आजित भएको प्रहरी, राजनीतिक हस्तक्षेपबाट थिल्थिलो भएको न्यायालय र ओरालो लाग्दै गरेको विधिको शासन अनि कहाँ आदर्शवादी जस्ता लाग्ने मानव अधिकारका कुरा।
तर समयअनुसार उही कुरा सही वा गलत त हुन सक्दैन। मानव जीवन बचाउनु जहिले पनि राज्यको प्राथमिकता हुनुपर्छ।
फेरि तर्क गर्न सकिन्छ- गलतै कदम भए पनि त्यसले सही नतिजा निकाल्छ भने त्यसको समर्थन किन नगर्ने? प्रहरीले दोहोरो भीडन्तकै भरमा डनहरूलाई किनारा लगाएर अमन चयन कायम गर्छ भने त्यसको किन स्वागत नगर्ने?
अहिले सामाजिक सञ्जालमा खुसियाली मनाउने धेरैको निश्कर्ष यस्तै देखिन्छ। यो देशका नेता भ्रष्ट र अपराध–मैत्री भए, न्यायालयले आफ्नो भूमिका निभाउन सकेन, प्रहरीलाई दलीय स्वार्थका लागि जानाजान कमजोर बनाइयो। यो अवस्थामा कहिले विधिको शासन आउने, कहिले प्रहरीले पक्रेका हत्याराहरुलाई अदालतले आजीवन कारावास पठाउने र कहिले शान्ति–सुरक्षा र न्यायको प्रत्याभूति हुने।
यो तर्कको खण्डन गर्न गाह्रो छ। चरी र घैंटेजस्ता केही डन मारिंदैमा त्यसले उब्जाउने मनोवैज्ञानिक त्रासले अरु डन पनि हच्किन्छन् भने यस्ता भीडन्तको यो दुरगामी महत्वको पाटोलाई किन नहेर्ने भन्ने धारणा अहिले बलियो छ।
तर त्यसो भन्दा हामी के बिर्सन्छौं भने चरी र घैंटे व्यक्ति कम र प्रवृत्ति ज्यादा थिए । ती आफूमा अपराधी त थिए नै, तिनले क्रमशः एमाले र काँग्रेस पार्टीको आपराधिक कित्तालाई प्रतिनिधित्व गर्थे । तिनले गर्ने अपराध धेरथोर तिनका मातृपार्टीको प्रत्यक्ष–परोक्ष राजनीतिक गतिविधिको पाटो थियो । अर्थतन्त्रको हिसाबबाट भन्दा दुवै जना रातारात चुलिंदै गरेको देशको कालो अर्थतन्त्रका शक्तिशाली खेलाडीहरु थिए । यता हाम्रो सेतो वा वैध अर्थतन्त्र खुम्चिंदै गर्दा उनीहरुले धानेको कालो अर्थतन्त्रले गरेको तरक्कीले हाम्रा सबैजसो प्रमुख पार्टीलाई तानेको हो।
त्यही कारणले गर्दा हो प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका घैंटेलाई प्रधानमन्त्रीले फूल माला पहिरेर भूकम्पको राहत बाँड्न पठाएको । त्यो दृश्य व्यक्तिका रुपमा सुशील कोइरालाले कुमार घैंटेलाई विश्वास गरेको भन्दा पनि आफू प्रमुख भएको देशको वैध अर्थतन्त्रमा उनलाई विश्वास नभएर अवैध अर्थतन्त्रसितको नाता जोडिराख्ने लालसाको द्योतक थियो । कांग्रेससित कुमार घैंटेहरु नहुँदा हुन् त कालो अर्थतन्त्रको हिसाबकिताबमा चरीहरुले गुँड लगाएको एमालेसित ऊ कसरी भिड्दो हो?
राजनीति र अपराध जति बढी एकअर्कासित घुल्दै जान्छन्, समाजमा त्यति धेरै चरी र घैंटेहरुका लागि स्थान उपलब्ध हुन्छ।
कुराको चुरो के हो भने, जति एमालेको संरक्षणमा चरीले गरेका अपराधहरु एमालेको राजनीतिका निकृष्ट हिस्सा थिए, उति नै घैंटेले गरेका अपराधहरु कांग्रेसको राजनीतिका निकृष्ट हिस्सा थिए । यी दुई मरे तर यिनको प्रवृत्ति ज्यूँदो छ । ठेक्कापिच्छे राज्यको करोडौं रुपैयाँ हडप्ने र नागरिकहरुलाई बिग्रेका सडकमा र भत्केका पुलमा यात्रा गर्न बाध्य पार्ने यी डनहरु हाम्रो राजनीतिबाट अलग पटक्कै छैनन्।
हत्या र हत्या प्रयासका लागि पटक पटक पक्राउ पर्दै छाडिंदै गरेका चरी र घैंटे त अब रहेनन् तर राज्यको स्रोत साधन आफूले बुत्याएर तथा जिम्मेवार निकायमा अकर्मण्य पार्टी कार्यकर्ताहरुलाई भर्ती गरेर लाखौं नेपालीको पेट भर्ने, शिक्षित हुने र स्वस्थ हुने अधिकार खोस्ने नेताहरु हामी सामू नै छन् । आफ्नो असली कर्तव्य निभाउन नसकेपछि जालझेलबाट चुनाव जित्न र जितिरहन त यी नेताहरुले चरी र घैंटेजस्ता मानिसलाई दाहिने हात बनाएर हिंड्छन् । इमान्दार भएर राजनीतिका नाममा लुटतन्त्र नमच्चाउने भए त यस्ता वैशाखीको कुनै जरुरत नै हुने थिएन । इमानको राजनीतिमा न चुनाव जित्न त्यस्ता वैशाखी चाहिन्छन्, न त ठेक्कापट्टामा घोटाला गरेर कार्यकर्ता पाल्न नै पर्छ । देशको विकास हुने र अर्थतन्त्र समृद्ध हुने हो भने, देशमा यसै पनि सबै पालिन्छन्, अर्काको भाग खोसेर आफ्ना कार्यकर्ता पाल्नै पर्दैन।
त्यस्ता नेताहरुमध्ये एक शिक्षा मन्त्री चित्रलेखा यादवको मञ्चमा घैंटेसँगै बसेर खादा पहिरिएको फोटो त अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । देशकै शिक्षा क्षेत्रलाई अस्तव्यस्त पारेर आफ्नो हितमा खटिरहेकी यी महिलाका लागि घैंटेजस्ता मानिसको टेको नहुने हो भने राजनीतिको छाक नै टर्दैन।
आफ्ना दुष्कर्मका लागि चरी र घैंटे जति जिम्मेवार थिए, त्योभन्दा बढी जिम्मेवार तिनलाई संरक्षण दिने पार्टीका प्रमुखका हिसाबले केपी ओली र सुशील कोइराला हुन्।
उनीहरु मात्र किन, लेनदेनका भरमा भोट हाल्ने, भनसुनका लागि नेताको पाउ परेर अर्कैको अधिकार आफूले खोस्ने, अर्को पार्टीले गरे गलत हुने काम आफ्नो पार्टीले गरे सही भनेर दाबी गर्ने, सानो बेइमानी र भ्रष्टाचार आफैंले गर्ने मौका पाए पछि नहट्ने, घर र टोलमा मौका पाए आफैं हिंसा गर्ने, हामी सबै यो समाजको अधोगतिका लागि जिम्मेवार छौं।
समाजका अपराधकर्मीहरुमध्ये चरी र घैंटे उत्कर्ष स्थानमा होलान् तर तिनलाई प्रहरीले ड्याङड्याङ मारिदेओस् भनेर कामना गर्नुअघि हाम्रा सामू जीवितै रहेका र हामीले बेवास्ता गरेका त्यस्ता प्रवृत्तिलाई आँखा खोलेर हेर्नु आवश्यक छ ।
चरी र घैंटे मारिएपछि अपराधवृत्तमा तिनको ठाउँ सहजै अरु कसैले नलेओस् र अपराधीहरुमा केही भए पनि मनोवैज्ञानिक त्रास फैलियोस् भनेर कामना गर्नु स्वभाविकै हो । तत्कालका लागि त्यसले समाजको अमन चयनलाई फाइदै गर्ला । तर त्यसो भन्दैमा विधिको शासन स्थापित गरेर सबै किसिमका अपराधीहरुलाई कानुनको कठघरामा उभ्याउने राज्यको दीर्घकालीन रणनीति ओझेलमा पर्नु हुँदैन।
प्रधानमन्त्रीले पनि अपराधीलाई संरक्षण दिन्छन् भने उनीमाथि कारवाही चलाउने थिति बसालिनुपर्छ । अहिले झैं देश कानुनमुनिका नागरिक र कानुन माथिका नेता र डन गरी दुई भागमा विभक्त हुनु हुँदैन।
तर जबसम्म नेताहरुले आफ्नो अपराधी–प्रेम र विधिको शासनप्रति द्वेष प्रदर्शन गर्दागर्दै, देशको वैध अर्थतन्त्रलाई सुकाएर कालो अर्थतन्त्रलाई मलजल गर्दागर्दै जनताबाट उत्तिकै विश्वास र भरोसासहित मत पाइरहन्छन्, तबसम्म केही चरी र घैंटेहरु मारिएलान् तर त्यो प्रवृत्ति जीवितै रहनेछ।
त्यसैले यसमा दोष अपराधी र नेताहरुको मात्र हैन, हाम्रो पनि छ । दीर्घकालमा हामीलाई हिंसा र अराजकताबाट मुक्ति दिने घैंटेको शरीरलाई क्षत विक्षत बनाएका गोलीहरुले हैन, कानुनमाथि कोही पनि नरहने विधिको शासनले हो । यो कुरा बेलैमाथि बुझेको राम्रो।