शाकाहारी तथा मांसाहारी दुवै प्रकारको भोजनमा प्याजले स्वाद थपेको हुन्छ । प्याज भान्सामा नभई नहुने एउटा मसला–तरकारी हो । यतिबेला भने भारतीय राजनीतिमा प्याजले विशेष तरंग ल्याएको छ ।
सन १९९८ मा भारतको केन्द्रीय सत्ताबाट भारतीय जनता पार्टीले हात धुनुमा प्याज एउटा महत्वपूर्ण कारण थियो । अहिले फेरि दिल्लीमा प्याज राजनीतिले पिटेको छ । भारतीय मिडियाले अब सत्तासीन अखिल भारतीय कांग्रेस पार्टी प्याज राजनीतिबाटै सत्तामुक्त हुनसक्ने सम्भावना प्रस्तुत गर्न थालेका छन् ।
प्याज काट्दा अखाँबाट आँसु आउँछ, विभिन्न फिल्महरूमा विभिन्न पात्रको भूमिका गर्ने कलाकारले आँखामा आँसु ल्याउन प्याज प्रयोग गर्छन् । यो प्याजले यतिबेला शीला दीक्षित नेतृत्वको दिल्ली सरकारलाई रुवाइदिएको छ । दिल्लीसरकार मात्र होइन, सिंगै भारतीय कांग्रेससमक्ष नै प्याजले आँसु प्रस्तुत गरेको छ । यो प्याज आँसुकै कारण कांग्रेसले सत्ताबाट हट्नुपर्ने सम्मका अड्कलबाजी गरिएका छन् भने प्रतिपक्षी भाजपालगायत दिल्लीको सत्तामा आँखा गाडेका शक्तिहरू कांग्रेस नेतृत्वको बिदाइको संकेत प्याज राजनीति भएको धारणा ल्याइरहेका छन् ।
प्याज राजनीति यस्तो समयमा प्रस्तुत भएको छ, जतिखेर दिल्लीबासी नयाँ सरकार चुन्न चुनावको तयारीमा छन् ।
कुनै समय भाजपाको सत्ता हुँदा पनि चुनावकै मुखमा प्याज राजनीति प्रकट भएको थियो । भाजपाले अहिलेसम्म त्यही प्याजबाट आएको आँसु मेट्न सकेको छैन । भान्साघरमा काम गर्ने अधिकांशको आफूले कमसेकम प्याज काट्नु नपरोस् भन्ने हुन्छ रे । धेरै भान्साघरमा दिदिबहिनी, सासु–बुहारी, बुहारी–बुहारी तथा भान्से–भान्सेबीच प्याजकै कारण झगडा पनि हुन्छ रे । तर, सत्ताको खेल हुने राजनीतिमा यो प्याजले यति ठूलो महत्व ल्याउला भन्ने ठूला–ठूला विश्लेषक तथा लेखकले कल्पनासम्म गरेका थिएनन् होला । यतिबेला प्याजमाथि विश्लेषण गर्ने बाध्यता सबैमाझ ल्याएको छ । यतिबेला भारतका ठूलाठूला मिडियामा प्याज राजनीतिले स्थान पाइरहेको छ ।
सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा मात्र होइन, अन्य माध्यमहरूमा समेत प्याज राजनीतिबारे थुप्रै ठट्टा, कविता, मुक्तक र गीत लेखिन थालिएका छन् । सामान्य प्याज किन्न बैंकले नै ऋण दिनुपर्नेदेखि संसदमा नयाँ विधेयक ल्याएर भए पनि किलोभन्दा बढी प्याज घरमा राख्नुलाई आपराधिक गतिविधि घोषित गर्नुपर्ने नियम बनाउनसम्म आवाज उठिरहेका छन् । प्याज राजनीतिले यतिसम्म लोकप्रियता कमाएको छ, निकै महत्व रहेको भाइबहिनीबीच मनाइने रक्षाबन्धनमा समेत भाइले बहिनीलाई प्याज नै उपहार दिनुपर्छ भनी ठट्टा हुन थालेका छन् । भाजपाको विरोध प्रर्दशनमा त झन सुनचाँदीको गहना लगाउने गालामा प्याजकै माला देखियो । सत्तासीन कांग्रेसले सरकारी तवरबाटै विशेष स्टल बनाई सस्तो प्याजपसल सञ्चालन गर्नु परेको छ ।
इतिहासमै पहिलोपटक प्याजको मूल्य आकासिएपछि मूलतः प्याज राजनीति सुरु भएको हो । प्याजको मूल्य बढेपछि यसको उब्जाउ तथा यसमा गुजारा गर्ने किसान भने निकै खुसी भएका छन् तर सहरिया जीवन बिताउने तथा प्याज किनेरै भान्सामा प्रयोग गर्नेका लागि यो निकै महँगो सावित भएको छ । अधिकांश भान्साघरमा यतिबेला बिनाप्याजकै परिकार बनिरहेको छ । भारतीय सहरहरूमा एक किलो प्याजको मूल्य यतिबेला सय रुपैयाँ भारू पुगेको छ जसले सर्वसाधारणको आक्रोश बढाइदिएको छ । एक साताअघिसम्म १५ देखि २० रुपैयाँ भारूमा पाइने प्याजको मूल्य एक्कासी सय रुपैयाँ पुगेपछि सर्वसाधारण आक्राशित हुनु स्वभाविकै भयो तर यसले सत्ता राजनीतिसम्म तरंगित पारेको छ । उच्च मूल्यवृद्धिले भान्साघर प्रभावित भए पनि सर्वसाधारणको भान्साघर प्रभावित हुनुले नै यो दोस्रोपटक सिंगो सत्ता प्रभावित बनाएको हो ।
विकासोन्मुख मुलुकमा खाद्यान्नको मूल्य सिधै राजनीतिसँग जोड्न पुगिन्छ र राजनीतिक परिवर्तनबीच निकट सम्बन्ध समेत खाद्यान्नले नै बनाएको हुन्छ । सन् २०११ को अरब विद्रोहका प्रमुख कारणमध्ये एक कारण खाद्यान्न बन्न पुगेको थियो र त्यसपश्चात अहिलेसम्म अधिकांश अरब राष्ट्रले ५० प्रतिशतभन्दा बढी खाद्यान्न आयातलाई प्रमुख सरकारी लक्ष्यका रुपमा राखेका छन् ।
नेपालमै खाद्यान्नकै कारण राजनीतिक तरंग आएको खास उदाहरण छैन तर विश्वमा धेरै यस्ता देश छन् जहाँ खाद्यान्नकै कारण राजनीतिक मार्ग कोरिन्छ र उक्त देशका सरकारले खाद्यान्नको मुद्दालाई उच्च महत्व दिएको हुन्छ ।
भारतमा यतिबेला प्याजक्रान्ति भइरहँदा यसको असर नेपालमा पर्दैन भन्न सकिन्न तर प्याजकै कारण यहाँ राजनीतिक क्रान्ति नै हुन्छ भन्ने कुनै सम्भावना छैन । बजारमा यसको प्रभाव भने देखिएको छ । काठमाडौंमा प्याजको मूल्य एक सातामै दोब्बर बढेर १ सय १० देखि २५ रुपैयाँसम्म पुगेको छ । व्यापारीले अझै प्याजको मूल्य बढ्नसक्ने अनुमान गरेका छन् । किनकि नेपालमा मागको ९५ प्रतिशत प्याज भारत र चीनबाटै आयात हुन्छ । नेपालसमक्ष अर्को विकल्प चिन छ । चीनमा प्याज सस्तो छ । चिनियाँ नाकाबाट आउने प्याजको मूल्य किलोको ५० देखि ७० रुपैयाँ छ भने भारतीय नाकाबाट आउने प्याजको खुद्रामूल्य किलोको ९० देखि १ सय २५ रुपैयाँसम्म पुगेको छ ।
भारतमा भने सत्ता उलटपुलट गर्न ग्यास,पेट्रोलियम पदार्थ र खाद्यान्नको भाउले निकै असर गर्छ । इतिहास नियाल्ने हो भने सन् १९८० को आमचुनावलगत्तै नवनिर्वाचित प्रधानमन्त्री इन्दिरा गान्धीले प्याजको मूल्य घटाउने औपचारिक रुपमै प्रतिबद्धता गर्नु परेको थियो । १९९८ को निर्वाचनमा भारतीय जनता पार्टीले दिल्ली र राजस्थान विधानसभा निर्वाचनमा प्याजकै कारण हार ब्यहोर्नुपर्यो । तरकारी वा अन्य परिकार बनाउँदा लसुन, अदुवा र प्याजको सम्मिश्रण नभई हुँदैन । तसर्थ होला, यो प्याज राजनीतिले जनस्तरसम्म प्रभावित पारेको छ र सत्ताको चाबी घुमाउनेसम्म हैसियत बोकेको छ ।
९ वर्षदेखि सत्तामा रहँदै आएका यूपिए अर्थात संयुक्त प्रगतिशील गठबन्धनको जनाधार दिनानुदिन घट्दै गएको छ । पश्चिम बंगालकी ममता बेनर्जी र तमिलनाडुका करुणानिधिले समेत यूपिएको साथ छाडिसकेका छन् भने अब सत्ताको दाउ आफ्नो हातमा आउला कि भनेर एनडिएलगायत शक्तिहरु बक्कुल्ला ध्यानमा छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो प्याज राजनीतिले भारतीय जनताको मुडमा परिवर्तन ल्याएको छ । उनीहरु अब अर्को राजनीतिक शक्ति रोज्न चाहन्छन् । त्यसो त यसपालि भारतमा प्याज उत्पादन घटेको छ । प्याज संकटको विषयलाई लिएर मन्त्रिपरिषद्सम्मको बैठक बस्नुपरेको छ भने दिल्ली सरकारले सरकारी स्तरबाटै सस्तो प्याज पसल थापेको छ ।
भाजपालगायत शक्तिले प्याज राजनीतिको आडमा आन्दोलन गरिरहँदा त्यहाँका सञ्चारमाध्यमसमेत उत्तिकै तातेका छन् । क्रिकेट, सेलिब्रटी र क्राइममा मात्र बढी केन्द्रित हुने भारतीय टेलिभिजन च्यानलहरूसहित छापामाध्यमले समेत उत्तिकै मात्रामा प्याज राजनीति प्रस्तुत गरिरहेका छन् । हरेक ठूला बहस, संवाद, विश्लेषण र सम्पादकीयसमेत यतिबेला प्याज राजनीतिमा केन्द्रित पाइन्छन् । नवपार्टीका रूपमा उदाएको आमआदमी पार्टी र भाजपा समर्थित व्यापारीले त झन् सरकारले थापेको सस्तो पशलको विरोधमा समानान्तर अर्को पशल थाप्दै त्योभन्दा सस्तो मुूल्यमा प्याज बिक्री सुरु गरेका छन् ।
(लेखक भारतीय समाचार संस्था एबिपी न्यूजका नेपाल प्रतिनिधि हुन्)
kmsvipid@gmail.com