भलिबल हाम्रो बाल्यकालको प्रिय खेल। कुचुक्क परेका पहाडका साँघुरा बस्तीमा भलिबल खेल्ने उपयुक्त मैदान विद्यालयबाहेक अन्यत्र भेटिँदैन्थ्यो। विद्यालय नजिकै घर भएकाले, दिनभर आफैंले कुल्चेको मैदान खाली हुने बित्तिक्कै भकुण्डो सहित हामीलाई त्यहाँ पुग्ने सुविधा थियो। मस्त हावा भरिएको भकुण्डोमाथि बल प्रयोग गर्दा गुल्टेर खोलामा पुग्नु स्वाभाविक थियो। खोलामा पुगेको भकुण्डो फिर्ता ल्याउँदा नल्याउँदै झमक्क साँझ परिसक्थ्यो। भलिबलसँगै रमाइरहने उत्कट चहानालाई थाँती राखेर घर फर्किनु हाम्रो दैनिकी हुन्थ्यो।
उच्च शिक्षा अध्ययनका लागि गाउँ छाडेपछि एउटा कथा पढेको थिएँ। कथामा मुख्य पात्र 'सिसिफस' लाई श्राप लागेको हुन्छ। प्रायश्चितका लागि खोलाको फेदीबाट ढुङ्गो बोकेर पहाडको टुप्पोसम्म पुर्याउनुपर्ने। फेदीबाट भएभरको शक्ति लगाएर बोकेको ढुङ्गो टुप्पोमा पुग्दा नपुग्दै गुल्टेर खोला मै आइपुग्थ्यो। यो अन्तहीन श्रृंखलाबाट सिसिफस आफ्नो जीवनकाल भरी मुक्त हुन सकेनन्।
०४६ को राजनीतिक परिवर्तनमा भकुण्डोसँगै झण्डा–डण्डा बोकेर मैदानमा उत्रिने भइसकेका थियौँ। त्यसको झन्डै एक दशकपछि हातमा परेको दन्त्यकथाले बाल्यकाललाई बेस्सरी गिजोल्यो। ०४६ को आन्दोलनबाट प्राप्त परिवर्तित राज्य व्यवस्था भोगेकै हौँ। संसार मै उत्कृष्ट भनिएको ०४७ को संबिधानले बाँधिएकै थियौं। तर, अस्थिर राजनीतिले डामेका छाप मेरो पुस्ताको सिंगो भविष्यमा जति देखिन्छन् सायदै अरु पुस्ताले व्यहोरेका होलान्। प्रवेशिका परिक्षा टेक्दा नटेक्दै माओवादी सशस्त्र यूद्ध शुरु भयो। भविष्यको चासोमा भन्दा जीवन रक्षाको मुद्दाले प्राथमिकता पायो। लुकीछिपी उच्च शिक्षा अध्ययन गरेका म जस्तै लाखौँ युवा दैनिक गुजाराका लागि प्रवासीएका छन्। अत्यन्तै आकर्षक नारा दिएर नागरिकलाई उफार्ने र जान्नेबुझ्ने पनि सँगसँगै बुर्कुसी मार्ने प्रत्युत्पादक काम यहीँबाट सुरु भयो।
विशेषतः ०४६ देखि आजसम्मको राजनीतिक गतिविधिको साक्षी बस्नु पर्दा 'सिसिफस' पात्रको भूमिकामा नागरिकको नियती दोहोरिरहेको छ। कुनै आस्थाको वकालत नगर्ने नागरिक पनि दैनिकीसँग प्रत्यक्ष सम्बन्ध राख्ने राजनीतिको प्रभावबाट अलग हुन नसक्ने रहेछ। …सिसिफस' ले भोगेको कष्टसाध्य आजीवन नैसियत भोग्नु पर्ने नेपाली नागरिकको दोष के हो? हरेक आन्दोलनमा राजनीतिलाई साथ दिएकै छन्। जँहानीया र पञ्चायती शासन ब्यवस्थालाई उल्टाइदिऊँ भने, उल्टाइदिए। राजनीतिलाई त्यसले पुगेन, औपचारीक केन्द्रिकृत सामन्ती संरचनाको समुल नष्ट गरौँ भने, गरिदिए। पुस्तौं पुस्ता देशका नागरिकलाई यसरी नै सास्तीमा होम्ने हो भने अलग कुरा हो नत्र औपचारिकतामा टुंगिएको केन्द्रिकृत सामान्ती संरचना झनपछि झन् पहुँचवाला व्यक्तिमा झाँगिनु भएन।
अहिले मुलुक झन्डै दशकदेखिको संवैधानिक प्रसव व्यथाले थलिएको छ। नागरिकलाई उफार्ने र उफ्रिने स्वार्थ केन्द्रित राजनीतिको अन्त्य भएको छैन। यो प्रसव व्यथाको रमिते हुनुमा थोरैलाई मज्जा होला तर, धेरै कुरुवा र स्वयं व्यथाले थलिएकी माताको मर्मस्पर्षी अन्तस्करण बुझ्न ढिला गरिनु भनेको प्रतिफलहीन निरन्तरतामा फर्किनु हो। जसको सोझो अर्थ नागरिकलाई 'सिसिफस' पात्रको भूमिकामा प्रस्तुत गर्नु हुनेछ जुन, आजसम्मको राजनीतिक उपलब्धिको बिसर्जनबाहेक अन्यथा हुनेछैन।
कतिपय कथाले जीवनको यथार्थलाई बोकेका हुन्छन्। 'सिसिफस' पात्रको मुर्धन्य भूमिकामा नागरिकले धैर्यतापूर्वक जीवन्त अभिनय सम्पादन गरिरहेका छन्। सिसिफस पात्रको श्रापको स्रोत कुनै अदृश्य शक्ति थियो। नागरिकले पाइरहेको कष्टसाध्य जीवनको कारक भनेको हामीले नै शक्तिशाली र सम्मानीत बनाउन खोजेको तर स्वार्थमा जकडिएको राजनीति हो। हामीले बु‰नु पर्छ, 'सिसिफस' कुनै कथाको पात्र हो। उसलाई कसैप्रति प्रतिशोध साँध्नु थिएन। तर देश न त कथा मञ्चन गर्ने थलो हो न त नागरिक कथाका पात्र हुन्।
पन्ध्र सय वर्षअघिका महाराज समुद्रगुप्तको समयमा नेपालको सीमाना पूर्वमा आसाम, पश्चिममा कुमाउँ, उत्तरमा हिमाल र दक्षिणमा गंगा नदीको ईलाकासम्म फैलिएको थियो भनेर लेखिएको छ। यी भन्दा पुराना अभिलेखको पनि प्रयाप्त चर्चा परिचर्चा हुन्छ। सन् १८१६ को सुगौली सन्धिले नेपाललाई पराधीन बनाउने ढोका खोलिदियो त्यो प्रतिको प्रर्याप्त आलोचना नेपालको भविष्यले प्रतिध्वनित गर्नुपर्छ। सम्झिनु पर्ने त्यो भन्दा १३ सय वर्षअघिको नेपालमा आँखा पुगेको खोई? नेताले राजनीति सदियौंदेखि मिलेर बसेको समुदायका मूल्य र मान्यतालाई भत्काउने धर्म, जात, भाषा र क्षेत्रियाताबाट शुरु गर्छन्। त्यसैले राजनीति विहंगम दृष्टिकोणले निर्देशित छैन। बचेखुचेको परेवाको छाती जत्रो नेपाललाई चिरेर कति जनाको चित्त बुझ्छ? यो निरर्थक बहसले कसैलाई चित्त बुझाउने हैसियत राख्दैन। त्यसैमा हल्का टिप्पणीमा आनन्द महशुस गर्ने पछिल्लो राजनीतिले धर्म, जात, भाषा र क्षेत्रीयतामा नागरिकलाई उफ्रिन र उफार्न प्रेरित गरिरहेको छ।
विश्वमा ठूल्ठूला राजनीतिक क्रान्तिले व्यवस्थापन गर्न सकेका कतिपय विषय छैन्। वर्ग उन्मुलनको लागि लडिएका कैयन लडार्इं वर्ग उत्थानको न्युनतम समझदारीमा टुङ्गिएका छन्। सफल राष्ट्र बनाउने सोच भएको राजनीतिज्ञले धर्म जस्तो जटिल विषयमा केही बोल्दै बोल्दैन। यहाँ वर्गीय उत्थानलाई अलपत्र पारेरे नबोल्नु पर्नेले बेस्सरी कुर्लिए। राजनीतिले आफ्नो हैसियत बिर्सिँदा अहिले नेपालले भोगेको नियती भोग्ने धेरै राष्ट्रको ईतिहास विखण्डनमा टुंगिएका छन्। राज्यशक्तिका साधन र श्रोतमाथिको पहुँच सबै जात, भाषा र क्षेत्रमा वितरण गर्दै धर्मलाई अ–आफनो आस्था अनुरुप दैनिक अनुशासनको रुपमा ब्याख्या गर्न राजनीति किन चुक्यो? सजिलो बाटो छाडेर घुमाउरो बाटोबाट आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेले अहिलेको व्यवस्थापनमा फलामका चिउरा चपाउनु परेको छ।
हावा भरेर भकुण्डोमा निसाना सोझ्याउन जति सजिलो छ त्यो भन्दा धेरै जटिल छ गुल्टेर खोलामा पुगेको भकुण्डोलाई मैदानमा फर्काउन्। भकुण्डोमा निर्बाध निसाना सोझ्याउनु अघि मैदानको क्षमता पनि मजबुत हुनुपर्छ। चौतर्फी छेक्ने मान्छे तैनाथ हुनुपर्छ। ढिकुरे छातीले राजनीति गरिने भए किन सबै नीतिको नीति राजनीति किन हुन्थ्यो र? हाम्रो स्वार्थ परस्त राजनीति उत्कर्षमा पुगेको छ। मुलुक सबैको हो। योभन्दा माथि पोखिनु हुन्छ। संयमता अपनाउँ उफ्रिने र उफार्ने काम छोडौं।