गत शुक्रबार चितवनको एउटा समाचार एउटा प्रमुख राष्ट्रिय दैनिकको प्रथम पृष्ठमा छापिएपछि यसले निकै चर्चा पायो। समाचार थियो,“अप्रेसन गर्दा पेटमै पाइप छाडियो“। उक्त समाचार सबै अनलाइनमा भाइरल नै भयो। अनलाइनका कमेन्ट बक्सदेखि विभिन्न माध्यममा चिकित्सकहरुलाई गर्नुसम्मको सत्तोसराप गरियो। कम्मेन्ट र प्रतिक्रियाहरु हेर्दा लाग्थ्यो कि ती प्रतिक्रिया दिनेहरु बिरामी भए भने उपचार गर्न पत्रकारिता पनि नपढेका तिनै पत्रकारसँग जानेछन्।
हुन त हामी नेपाली एकदमै भेडा छौं। त्यसैले त भूपी शेरचनले ‘आयो गोर्खाली’ लाई 'आयो गोरु खाली' भनेका छन्। कुरोको तथ्य नबुझी उफ्रिने अनि अरुलाई गाली गर्ने त हाम्रो सभ्यता र संस्कृति नै हो। नेपाल कसरी पछि पर्यो, कसरी देश कङ्गाल भयो भन्ने कुरा सोच्नै पर्दैन। हाम्रै सोच र कर्मले हो। हामी आफैंमा एउटा सिन्को नभाँच्ने अनि अरुले गरेको काममा खुट्टा तान्ने र गाली गर्ने गर्छौ। त्यो त भूकम्पकै बेला पनि देखियो। घरमा बसेर फेसबुक चलाउँदै यसले यस्तो गर्यो, त्यस्तो गर्यो, थोरै राहत ल्याएर नाम कमाउन खोज्यो, फेसबुकमा फोटो राख्यो भनेर तिखा कमेन्ट गर्ने पनि भेटिए। जे भए नि सङ्कटको बेलामा एक बोतल पनि पुर्याउँदा नि ठूलो राहत हुन्छ भन्ने चेतसम्म हामीमा खुलेन।
यतिकुरा गरिरहँदा मैले डाक्टरले गरेका लापरबाही र बिरामीप्रतिको खेलवाडलाई समर्थन गरेको होइन। चिकित्सा पेशा मानिसको जीवनसँग जोडिएको हुन्छ। हामीलाई संसारमा सबैभन्दा प्यारो आफ्नै ज्यान हुन्छ। त्यसैले यो संवेदनशील विषयमा सजग र सचेत भई बिरामीलाई उत्कृष्ट सेवा दिनु पर्छ भन्ने कुरामा हामी सबै चिकित्सक र स्वास्थ्यकर्मी सचेत छौं। तर मानव हो, कहिलेकाहीँ त्रुटी हुनसक्छ, सबै कोशिस गर्दागर्दै पनि उपचार पद्दतिले बिरामीलाई नछुन सक्छ। औषधीको क्रियाप्रतिक्रियाले बिरामीलाई असर गर्नसक्छ अनि बिरामीको ज्यान खतरामा पर्नसक्छ, जटिलता उत्पन्न हुनसक्छ। दुर्भाग्य कहिलेकाहीँ ज्यान पनि जानसक्छ। यस्तो सधैं हुँदैन, सयमा एक हुनसक्छ। यस्तो अवस्थामा हामीले हामीले सत्य के हो भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। उपचार पद्दति अपनाउँदा सही प्रोटोकलमा गरिएको छ कि छैन भन्ने कुरा बुझ्नु पर्छ। सम्बन्धित विज्ञसँग परामर्श गरेर घटनाको यथार्थ केलाउँदै निष्कर्षमा पुग्नुपर्छ।
नेपालको पत्रकारितामा नै समस्या छ। सयमा ७० प्रतिशतभन्दा बढी पत्रकारिता नपढेका पत्रकार छन्। मेडिकल क्षेत्रसँग सम्बन्धित संवेदनशील कुरालाई पनि बङ्ग्याएर मसलेदार समाचार बनाउँदा पत्रकार आफू त चर्चित बन्ला तर समाजमा नकारात्मक असर पर्छ। पत्रकारिता नजानेकालाई पनि ‘ब्याड न्युज इज गुड न्युज’ भन्ने थाहा छ, त्यसैले गुड न्युजलाई पनि ब्याड बनाएर समाचर बिकाउने प्रचलन हामीकहाँ बढ्दो छ। माथिकै शीर्षकको समाचारमा पनि पहिलो लाइनमै चिकित्सकको चरम लापरबाही लेखिएको छ, जुन समाचार आफैंमा गलत छ। चर्चित पत्रिकाले गलत समाचार लेख्दा गलत सूचना लाखौं मानिससम्म पुग्छ, जुन चरम भन्दा पनि चरम लापरबाही हो।
समाचारको शीर्षक “अप्रेसन गर्दा पेटमै पाइप छाडियो“ नै समाजमा अराजकता फैलाउने खालको छ। पेट भित्र राखिएको उक्त ‘डिजे स्टेन्ट’ (जसलाई पाइप छाडिएको भनियो) उपचार पद्दतिकै एउटा पाटो हो। मृगौलाको पथ्थरीको शल्यक्रिया गरेपछि अवस्था हेरेर केहि हप्ता पिसाब र बाँकी रहेका पथ्थरीको टुक्रालाई मृगौलाबाट मुत्रथैलीसम्म पास गराउनका लागि ‘डिजे स्टेन्ट’ राखिन्छ र पछि निकालिन्छ। यसैलाई पेट भित्र पाइप छाडेको भन्दै सनसनी पूर्ण समाचार छापियो। जुन कुरा नराख्दा उपचार पुरा र सफल हुँदैन, त्यही कुरामा यत्रो हंगामा। सर्वसाधारणले पनि यथार्थ बुझ्नु त कहाँ हो कहाँ, हो माथि हो थप्दै डाक्टरलाई मार्नु पर्छ भन्नेसम्मको प्रतिक्रिया दिएँ, जुन विडम्बनापूर्ण कुरा हो।
पछि कान्तिपुरमै ‘डिजे स्टेन्ट’ राख्नुपर्ने कुरा स्वीकार्दै ‘डिजे स्टेन्ट’ झिकियो भनेर आइतबार अर्को समाचार लेखियो। मानवीय त्रुटी, कमिकमजोरी र लापरबाहीमा आकास-पातालको फरक छ भन्ने कुरा त पत्रकार महोदयहरुले नि मनन गर्नु पर्यो नि। त्यही कुरा पहिले नै किन अनुसन्धान गरेर, सम्बन्धित विज्ञसँग परामर्श गरेर लेखिएन। सिङ्गो मेडिकल क्षेत्रको बदनाम र सम्बन्धित चिकित्सक र हस्पिटलको चरित्र हत्या गरिसकेपछि बल्ल गल्ती स्वीकारिएको पाइयो तर माफीसम्म मागिएको छैन। पछिल्लो लेखमा बिरामीलाई ‘स्टेन्ट’ राखिएकोबारे राम्ररी जानकारी नदिएको भन्ने कुरामा जोड दिएको पाइयो।
बिरामीलाई जानकारी नदिनु अथवा बिरामीलाई जानकारी नहुनु अर्कै कुरा हो। त्यसलाई चरम लापरबाही भन्न मिल्दैन। कतिपय कुरा जानकारी गराउँदा पनि बिरामीले ख्याल नगर्न सक्छन् र नबुझ्न सक्छन्। यसरी अलिकति पनि गहन अध्यन नगरी झुटा समाचार सम्प्रेषण गर्नेलाई मानहानीको मुद्दा लाग्ने कि नलाग्ने? प्रेस काउन्सिलले यस्ता पत्रकारलाई आचारसंहितामा राख्न सजग गराउने, कारबाही गर्ने प्रक्रिया अगाडी बढाउने कि नबढाउने ? कि पत्रकारले जे पनि लेखन पाउने हो ? हुन त हिजो दिलशोभा श्रेष्ठको बारेमा गलत समाचार लेख्नेहरु पनि माफी मागेर उम्किएका हुन्। ‘दिलशोभाको आमा घरमा चरम यौनदुराचार’ भनेर समाचार लेखियो, सामाजिक रुपमा त्यति महान् काम गरेकी मान्छेलाई त्यही एउटा समाचारले दिनुसम्मको पीडा दियो, कति दिन उनी रोएर बसिन्। आखिर अन्त्यमा समाचार गलत भएको पुष्टी भयो। समाचार लेख्नेलाई न त कुनै कारबाही भयो, न त पत्रकारितामा हचुवाको भरमा समाचार आउने क्रम नै घट्यो। केहीवर्ष पहिले नायिका नम्रताको व्यक्तिगत समाचार छापेर झन्डै उनलाई आत्महत्या सम्म पुर्याइयो, धन्न उनी साहसी थिइन् र बाँच्ने साहस गरिन्।
अहिले हाम्रो समाज अराजकतामा गुज्रिरहेको छ। हरेक कुरामा तोडफोड, चक्काजाम र हुलदंगा बाट मात्र समस्याको समाधान खोज्ने संस्कृति मौलाइरहेको छ। आफ्नो ज्यान जोगाउँदा हामीले भगवान ठानेका डाक्टरलाई सानो कुरामा केही नराम्रो हुनासाथ राक्षस ठानेर जाइलाग्नु गलत हो। उपचारका क्रममा आउने कतिपय जटिलताको निम्ति हामी बिरामी पनि जिम्मेवार हुन्छन्। बिरामीबाट हुने पहिलो गल्ती भनेको रोग पालेर अन्तिम समयमा अस्पताल पुग्नु हो। अन्तिम र जटिल अवस्थामा अस्पताल पुग्दा उपचार सफल हुने सम्भावना कम हुन्छ, अझ जसरी पनि डाक्टरले बिरामी ठीक पार्नुपर्ने र बचाउनुपर्ने हाम्रो अपेक्षाले पनि धेरै समस्या पैदा गरेको छ। अर्को कुरा चिकित्सकको सल्लाह, सुझाव र औषधीलाई नियमित र सहज रुपमा ग्रहण नगर्नु। त्यसैगरी रोगको र आफ्नो बारेमा चिकित्सकलाई सत्य र पूर्ण विवरण नदिने बिरामी पनि धेरै हुन्छन्, यसले रोगनिवारणमा जटिलता थप्छ।
जस्तो मैले दन्त चिकित्सक भएर काम गरिरहँदा बिरामीलाई शरीरमा मधुमेह, रक्तचाप आदि रोग छ भनेर सोध्दा कुनै-कुनै बिरामीले केही छैन भन्छन्, तर पछि दाँत निकालिसकेपछि घाउ पाकेन, रगत धेरै बग्यो भने बल्ल मलाई मधुमेह, रक्तचाप छ भनेर भन्छन्। यस्ता कुरादेखि हामी सर्वसाधारण आफैँ सजग बन्नुपर्छ|
अन्तमा पत्रकारिताले नराम्रो काम मात्र गरेको छैन। समाज परिवर्तन गर्नका निमित्त सञ्चारजस्तो बलियो हतियार अरु छैन। सञ्चार माध्यमका सकारात्मक समाचारबाट धेरैजना लाभान्वित भएको कुरा मैले पनि प्रशस्त मात्रामा पढेको छु। पत्रपत्रिकाकै समाचारका कारण दोलखाकी कविता थामीले आफ्नो अनुहारको रौँ हटाउने प्लास्टिक सर्जरी नि:शुल्क पाएको, ताप्लेजुङमा गोठालो गरिरहेका बालकले काठमाडौंमा पढ्ने अवसर पाएको, ओढारमा रात काटिरहेकी सुत्केरीले छानो पाएको आदि समाचार पढ्दा हर्षले छाती फुलेकै हो। परोपकारिता र समाजमा सकारात्मक सन्देस छर्ने पत्रकारिता पनि धेरै भएका छन् नेपालमा। मैले यति मात्र भन्न खोजेको कुनै एउटा पत्रकारले लेखेको एउटा गलत समाचारले कुनै व्यवसाय वा व्यक्तिको वर्षौदेखि समाजमा रहेको आस्था र विश्वास नटुटोस् र सिंगो सञ्चार जगतको साख पनि नगिरोस्। यसकालागि हरेक सञ्चारकर्मी व्यावसायीक हुनुपर्छ। गहन अध्ययन गरिएको ‘इन्भेस्टिगेटिभ जोर्नालिजम’ र मेडिकल क्षेत्रको लागि ‘मेडिकल जोर्नालिजम’ आजको आवश्यकता हो।