समाचार घटनाका विवरण मात्र हैनन् । पत्रकारिताका अध्येताहरूले यसलाई अझ राम्ररी वर्णन गर्न सक्लान् । मेरो सामान्य बुझाइमा समाचारभित्र राजनीति र कवितात्मता (अङ्ग्रेजीमा भनिने politics and poetics) लुकेका हुन्छन् । लेख्ने, पढ्ने र विश्लेषण गर्नेले हरेक समाचारलाई निश्चित र फरकफरक ढङ्गले बुझेका हुन्छन् । समाचार स्वयं र तिनले सृजना गर्ने तरङ्गले समाजको सोच वा मानिसकता कस्तो छ र कुन दिशातर्फ उन्मुख छ ? भन्ने बुझ्न निकै सघाउँछन् ।
बितेका एकदुई साता मूलधारे र सोसल भनिने दुबै मिडियामा सामान्यभन्दा पृथक केही समाचारहरू चर्चाको शिखरमा रहे । ठोस निर्णयबिनै सकिने राजनीतिक 'छलफल', बर्डफ्लुले उब्जाएको मन्द त्रासदी, इजिप्टको किचलो वा निर्वाचनको जात्राका समाचारहरूले सृजना गरेको 'मोनोटोनी'का बीचमा आएका ति समाचारहरू विभिन्न हिसाबले रोचक र भिन्न थिए र धेरैको चासोका विषय पनि बने । सामान्यभन्दा केही पृथक यस्ता समाचारहरूको अग्रपङ्क्तिमा थियो माओवादी नेता कृष्णबहादुर महराको चर्च प्रकरण । महराको उपस्थितिमा नेपालगञ्जको चर्चमा भएको कार्यक्रम र त्यसमाथिको टिकाटिप्पणीले नेपालको वर्तमान राजनीति र नेपाल राष्ट्रको चरित्रका विषयमा गहन वहसको आरम्भ भएको बुझ्नसकिन्छ ।
एकैछिन कृष्णबहादुर महराको चर्च भ्रमणलाई हेरौँ । धर्मलाई 'अफिम' मान्ने मार्क्सवादी चिन्तनबाट दिक्षित माओवादी नेता कृष्णबहादुर महरा नेपालगञ्जको कुनै 'गोस्पेल एसम्ब्ली' चर्चमा गएछन् -उनकै शब्दमा पार्टीको कार्यक्रम अनुसार । त्यहाँ उनको भव्य स्वागत भएछ -जसलाई उनले दुबै हात जोडेर ध्यानपूर्वक ग्रहण गरिरहेको तस्वीर छापामा आएका छन् । स्वागत गर्ने चर्चका पादरीहरूले उनका शीरमा पहेँलो रङ्गको कपडा राखेछन् र त्यसमाथि हात राखेर उनी र संभवत उनको पार्टी एमाओवादीको उन्नति-प्रगतिका लागि 'प्रभु येशु'सँग प्रार्थना पनि गरेछन् । पृष्ठभूमिमा येशुका भक्तहरू प्रार्थनाका विभिन्न मुद्रामा लिन भएको देख्न सकिन्छ । उक्त कार्यक्रम भएको दुई हप्तापछि महराकै पार्टीका एक कार्यकर्ताले चर्चमा महराको उपस्थितिमा खिचिएका तस्वीर प्रेसलाई दिएछन् जसलाई आधार बनाएर अनलाइन पत्रिका सेतोपाटीले विस्तृत समाचार छाप्यो ।
समाचार 'ब्रेक' गर्ने सेतोपाटीले स्रोतहरूलाई उधृत गर्दै महराको चर्चसँग साँठगाँठ रहेको र उनी क्रमश: क्रिश्चियन धर्मबाट प्रभावित हुँदैगएको दृष्टान्त पेश गर्यो । उक्त समाचारमा केही विज्ञहरूले माओवादी र क्रिश्चियन धार्मीक संगठनहरूले गोप्य रूपमा काम गर्नेगरेको र यसबाट हिन्दुहरूको बाहु्ल्य रहेको नेपाललाई सुरक्षा खतरा रहेको टिप्पणी पनि गरेका छन् । समाचारमा नेपालका हिन्दुवादी पार्टीहरूले माओवादी पार्टी क्रश्चियन धर्म तथा धार्मिक संगठनहरूसँग नजिक रहेका कारणले नै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको आरोप लगाउने गरेको उल्लेख छ । उक्त समाचारमा प्रस्तुत भएका विचार र त्यसमाथि देश विदेशका पाठकहरूले गरेका टिप्पणी सर्सर्ति पढ्दा आममानिसमा नेपाली राजनीतिमा सबैभन्दा सिद्धान्तनिष्ट र शक्तिशाली भनेर चिनिएको एकिकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको धर्मनिरपेक्षताको एजेण्डा विदेशी इसारामा षड्यन्त्रमूलक ढङ्गले नेपालमा लादिएको भन्ने सोच क्रमश: विकसित हुँदै गएको देखिन्छ ।
एक पक्षबाट हेर्दा चर्चको कार्यक्रमका तस्वीरलाई नै आधार मानेर महरा र उनको दल एमाओवादीमाथि क्रिश्चियन धर्म प्रबर्धन गर्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाउनु न्यायोचित नहोला । उनी आफ्नै दलले खटाएर चुनाव प्रचारकै लागि चर्च गएका पनि हुनसक्छन् । उनी क्रिश्चियन धर्मबाट प्रभावित भएको भन्ने बुझाइ सतही र गलत पनि हुनसक्छ । समाचार बाहिर आउनासाथ महराले चर्च र आफूबीचको सम्बन्धको गलत व्याख्या भएको कुरा प्रेस विज्ञप्तिबाट प्रस्ट पारिसकेका छन् । फेरि महरा चर्चमा गएर येशुको भक्तिमा प्रार्थना नै गरेका हुन् भने पनि नेपालको कानुनमा उनको यो अधिकार सुरक्षित छ -यसमा कसैले उनलाई यसमा दोषी ठहर्याउने ठाउँ छैन ।
तर, महरा गम्भीर विवादमा मुछिएको यो पहिलो घटना भने हैन । उनले र उनको पार्टीले जतिसुकै प्रतिवाद गरेपनि कोही अमूर्त चीनिया बिचौलियासँग 'सांसद किन्न' पैसा माग्दै केही वर्षअघि गरिएको कुराकानीको आवाज उनकै हो भन्ने उक्त टेलिफोन संवाद सुन्ने सबैलाई थाहा छ । माओवादी उक्त टेप प्रकरणलाई षड्यन्त्र भनेर पन्छियो भने अरू राजनीतिक दलहरू 'शान्ति प्रकृया' भाँडिने डरले मौन बसे । शायद महराको यही विवादास्पद पृष्ठभूमिका कारण हुनुपर्छ धरै मानिसहरूले महरा र क्रिश्चियन चर्चबीचको सम्बन्धलाई पत्याइदिए । बरु धर्मनिरपेक्षतामा एमाओवादीको अडान भने शंकाको घेरामा पर्न गयो ।
म मानवशास्त्रको विद्यार्थी भएकाले मान्छेको सोच र व्यवहारमा आउने आकस्मिक परिवर्तनबाट कहिलै आश्चार्यचकित हुन्न र यसलाई स्वभाविक मान्छु । नेपालका धेरै कम्युनिस्ट नेता धर्म र अध्यात्मवादबाट प्रभावित भएका दृष्टान्त छन् । केही नाम चलेका 'शीर्ष' कम्युनिस्ट नेताले राँगा, भैँसी बली चढाएर भूतप्रेत भगाउन पूजाआजा गरेको समाचार पनि बाहिर नआएको हैन । निधारमा बोलबम लेखिएका पहेँला टाला बाँधेर माधव नेपाल र पुष्पकमल दाहालले बोलबम कावरियाको सभामा गएर भाषण गरेको केही दिनअघि मात्र हामीले टेलीभिजनमा देखेकै हो । नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्ति र परिवर्तनका लागि १७ वर्षको जेल सजाय भोगेका मोहनचन्द्र अधिकारी पछि पूर्णकालिन सन्यासी बनेकै हुन् । अर्का कम्युनिस्ट नेता राधाकृष्ण मैनाली पनि हिन्दु राजतन्त्रका ठूलै हिमायती भएका थिए पछि ।
तसर्थ, महराको चर्च प्रकरणलाई ठूलो घटनाका रूपमा लिन्न म । तर, यस घटनाले धर्मनिरपेक्षताको वहसलाई एकपटक सतहमा भने ल्याइदिएको छ । मानिसहरू नेपाल धर्म निरपेक्ष हुनु सही हो या गलत ? भनेर वहस गर्न थालेका छन् ।
दोश्रो जनआन्दोलनपछि पुनर्स्थापित संसदले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको हो -जसलाई पछि नेपालको अन्तरिम संविधानमा लिपिबद्ध गरियो । सैद्धान्तिक रूपमा धर्मको विरोध नगर्ने नेपाली कांग्रेसले पनि माओवादीको धर्मनिरपेक्षताको एजेण्डालाई पूर्ण समर्थनमात्र नभएर यसका पक्षमा खूलेर वकालत गरेको पनि हो त्यसबेला । नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा परिभाषित गरिएपछि नागरिक तहबाट कुनै ठूलो असन्तुष्टि वा कुनै प्रकारको उल्लेख्य प्रतिरोध सतहमा देखिएको थिएन -पशुपती ओरिपरी केही दर्जन जोगीहरूको जुलुसबाहेक । राज्यपुनर्संरचना र लोकतन्त्रीकरणको प्रकृयाको एउटा कडीका रूपमा धर्मनिरपेक्षतालाई सबैले स्वीकारेको हुनसक्छ ।
तर, विगत ५-७ वर्षमा परिस्थिति फेरिएको छ । संविधानसभाको असफलता, मूल राजनीतिक प्रश्नहरूमा राजनीतिक दलहरूबीच कहिलै अन्त्य नहुने असहमति, चुलिँदै गएको महँगी, बेथिति र भ्रष्टाचार, शान्तिसुरक्षाको अभाव, राज्यका विभिन्न अङ्ग-निकायहरू (जस्तै, सर्वोच्च अदालत) द्रुत गतिमा प्रभावहिन बन्दै जानु, विदेशी राष्ट्र र संस्थाहरूको आन्तरिक राजनीतिमा बढ्दो प्रभाव -आदि विभिन्न कारणले आमनागरिकहरूमा राजनीतिक दलहरू मुलुकलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सक्षम छन् भन्ने कुरामा शंका उत्पन्न हुनथालेको छ । यसका कारण राजनीतिक दलहरूले अग्रगमन र लोकतन्त्रीकरणका नाममा उठाएका एजेण्डाहरू क्रमश: धरापमा पर्नथालेका छन् । धर्मनिरपेक्ष राष्ट्रका रूपमा नेपालको पहिचान पनि क्रमश: शंकटमा पर्न थालेको देखिन्छ ।
हरेक नागरिकलाई कुनै धर्म मान्ने वा नमान्ने स्वतन्त्रता हुन्छ । तर, राज्य कुनै धर्म विशेषबाट परिभाषित हुनु राम्रो हैन । राज्यको धर्म नागरिकको सुरक्षा र संरक्षण हो -इश्वर विशेषको भक्ति हैन । धर्मनिरपेक्षताका पक्ष र विपक्षमा हामी सयौँ पुस्तक र सयौँ मुलुकका संविधानका पाना पल्टाएर हप्तौँ वहस गर्न सकौँला -तर मेरो सहज बुद्धिले भन्छ बहुधार्मिक मुलुकमा कुनै एक धर्मबाट राज्य परिभाषित हुनु राम्रो हैन । हिन्दु राष्ट्रका रूपमा परिभाषित नेपालले हिन्दुबाहेक अन्य धर्म मान्ने र धर्म नमान्ने नागरिकलाई असम्मान गर्छ । फेरि कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी हिन्दुहरू भएको मुलुक धर्मनिरपेक्ष हुनु आफैंमा सुन्दर उदाहरण हो -जसबाट संसारका अन्य मुलुकले अल्पसङ्ख्यक समुदायलाई कसरि सम्मान गर्ने भनेर हामीबाट एउटा पाठ सिक्न सक्छन् । यसमा हिन्दुहरूले पनि गर्व गर्नुपर्छ ।
तर, राजनीतिक दलहरूको अकर्मण्यताका कारण धर्मनिरपेक्षतामा नेपालको यात्रा क्रमश: असहज हुँदै गएको लक्षण देखिन थालेको छ । विगतको केन्द्रीकृत र अलोकतान्त्रिक संस्कारमा बानी परेकाहरू नेपाललाई फेरि हिन्दु राज्य घोषणा गरिनुपर्छ भनेर माग गर्नथालेका छन् । लोकतन्त्र कै पक्षधरहरू पनि बुझेर या नबुझेर धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने विचार व्यक्त गरिरहेका छन् -८० प्रतिशतभन्दा बढी जनसङ्ख्या हिन्दु रहेको मुलुकमा धर्मनिरपेक्षतामा गरिने जनमतसंग्रहबाट के परिणाम आउला भन्ने त सबैलाई थाहै छ ।
विगत ७-८ वर्ष नेपाली राजनीतिक इतिहासका लागि अत्यन्त महत्त्पूर्ण अवधि हो । यस अवधिमा नेपालमा धेरै ठूला परिवर्तन भएका छन् । यसबीच हामीले धेरै मुद्दामा छलफल पनि गरेका छौँ -संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र, शासकीय स्वरूप आदि आदि । तर मेरो विचारमा राज्य पुनर्संरचना र लोकतन्त्रीकरणका सन्दर्भमा उठाइएका मुद्दाहरू निश्चित राजनीतिक दलका साँघुरा स्वार्थका सिकार भएका छन् । संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र आदि नराम्रा कुरा हैनन् -तर हाम्रा राजनीतिक दलहरूले यी एजेण्डाहरूबाट साँध्न खोजेको स्वार्थका कारण आज आममानिसहरू यी सबै एजेण्डाबाट सशंकित बन्नपुगेका छन् । हामी कतै पुरानै गन्तव्यमा फर्किनुपर्ने त हैन ? भन्ने संशय उत्पन्न भएको छ ।(सञ्जीवको ब्लगबाट साभार)