नेपालीमा एउटा उखान छ– १२ वर्षमा त खोलो पनि फर्कन्छ । उच्च भागबाट होचो र समथर सतहतर्फ बहेको खोलो त विपरीत दिशातपैर्m फर्कन्छ भन्नु सामान्य अवस्थामा या त प्रकृतिको नियमलाई नै नबुझी चुनौती दिन खोज्नु हो या त सड्केको दिमागको उपज ।
विगत दुई दशकयताको नेपाली सामाजिक र राजनीतिक परिवेश पुनरावलोकन गर्ने हो भने चाहिँ प्रतिकात्मक रूपमा यो कथनमा साँच्चीकै दम छ ।
यिनै जनता हुन् जसले प्रजातन्त्र प्राप्तिका लागि भएको २०४५÷०४६ सालको जनआन्दोलनअघि र त्यसको केही समयपछिसम्म तत्कालीन राजा वीरेन्द्रलाई ‘देश छोड’ र रानी ऐश्वर्यलाई ‘विदेशमा रहेको सम्पत्ति फिर्ता ले’ जस्ता तल्लोस्तरका गालीगलौजपूर्ण नारा लगाएका थिए । ठकी १२ वर्षमा खोलो फक्र्यो । जब विश्व इतिहासको रंगमञ्चलाई नै माथ गर्ने गरी २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो र वीरेन्द्रको वंश नै सखाप भयो, तब तिनै जनता फेरि स्वस्फूर्त टाउको मुण्डन गर्दै सडकमा उर्लियो । पहिले बन्द गरिएका ऐश्वर्यका सांगीतिक कृतिहरूका साथै ‘बोलिरहने पिंजडाको चरीलाई कुन्नी के भो, प्यारो राम्रो पिंजडा नै पंक्षिबिना रित्तो भो’ जस्ता ओजपूर्ण राष्ट्रिय गीतहरु गुञ्जायमान भए ।
आज बहुदलीय शासन व्यवस्था आएको झण्डै २४ वर्ष, वीरेन्द्रको वंशनाश भएको ठीक १२ वर्ष र राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएको झण्डै ६ वर्षपछि नेपालको इतिहासमा सर्वसाधरण जनताले अर्को एउटा नयाँ अध्याय थपिदिएका छन।
निर्दलीय पञ्चायती शासन व्यवस्था अन्त्यको माग गर्दै २०४६ सालमा चर्केको जनआन्दोलनको अन्तिम समयका प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ जसलाई त्यतिबेलाका आन्दोलनकारी शक्तिका अलावा सर्वसाधारणले ‘अनुदार मण्डले पञ्च’ भनेर आन्दोलनपछि सामाजिक बहिस्कार गर्नसमेत पछि परेन र लामो समयसम्म बदनाम र अपमानसँगै गुमनाम रह्यो, उनैको आत्मसम्मान र प्रतिष्ठाका खातिर सर्वसाधारण जनता काठमाडौंकै सडकमा उत्रने साहस गरेको छ । त्यो पनि गणतान्त्रिक शासन व्यवस्थामा त्यसैका सञ्चालनकर्ता बिरुद्ध ।
जिउँदो छँदा अपमानित गर्ने र मृत्युपछि गुणगान गर्ने नेपाली समाजको पुरानै स्वभावले गर्दा पनि होला, श्रेष्ठको मृत्युपछि उनैको मान, सम्मान र प्रतिष्ठाका लागि राज्यसँग सिँगौरी खेल्न तयारमात्र होइन, सिंगो राज्यसत्तालाई नै पराजित गरिदियो जनताको एउटा हिस्साले । मरिचमान एउटा सामान्य व्यक्तिभन्दा पनि पूर्वप्रधानमन्त्री थिए, जसले जीवित छँदा राज्यबाट पाउनसक्ने सरकारी सुविधा त लिएनन् लिएनन्, मरेपछि पनि त्यो लिएनन् ।
जब उनी मृत्युशय्यामा पुग्दा राज्यले आफ्ना नागरिकलाई गर्नुपर्ने सामान्य मानवीय व्यवहारसमेत गर्ने उदारता देखाउन नसकी अपमानित गर्ने कुचेष्टा गर्यो, तब उनका आफन्तजनलगायत समाजको एउटा ठूलै झुण्डले त्यसको दरो प्रतिवाद गर्याे । अनि गर्याे उनको राष्ट्रवादी सोचका अलावा आत्मस्वाभिमानको रक्षा । लाजकाज राख्न अन्तिम समयमा चारदलका नेताको छायारूपी सरकारले श्रेष्ठको उपचारका लागि उपलव्ध गराउने भनिएको ५ लाख रुपैयाँ आर्थिक सहयोग परिवारले अस्वीकार गर्यो भने माओवादी नेताको सिफारिसमा राज्यले दिने भनिएको सम्मान उनको शवयात्रामा सहभागी उनका शुभचिन्तक र सर्वसाधारणले फिर्ता गरिदिए ।
राज्यले दिने भनिएको सम्मान अपूर्ण र अपमानपूर्ण भएको भन्दै जनताले अन्तिम सलामी दिन तैनाथ गरिएको नेपाल प्रहरीको टुकडीलाई त्यहाँ उपस्थित भिडले आर्यघाटबाट धपाएर पुरानै राष्ट्र गान गाएर मरिचमानको अन्त्येष्टि गरे ।
ठूला दलका नेताले चाहेमा राज्यको कुनै पनि कालखण्डमा देश र समाजभन्दा पनि निहीत दल वा समूहगत स्वार्थका लागि लागिपरेका रामराजाप्रसाद सिंहदेखि माओवादी नेता नरबहादुर कर्माचार्यसम्मलाई स्थापित कानुन र ऐनविपरीत राजकीय र राष्ट्रिय सम्मान दिइन्छ । उनीहरूले नचाहँदा पूर्वप्रधानमन्त्री, जसको राष्ट्रवादी विचार, इमानदारी, स्वाभिमानी सोच र सदाचारी जीवनशैलीको प्रसंशा विभिन्न दलका नेताहरू स्वयम्समेतले गरेर पनि राज्यले ऐनकानुनको कदर गर्न नसक्नु विडम्वनापूर्ण छ ।
हुन त इतिहास नै तोडमोड गर्दै नेपालमा कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलाललगायत दर्जनौं नेताहरूको देनलाई माटोमा मिलाउँदै उनीहरूभन्दा अग्रपंक्तिमा राष्ट्रिय पञ्चायतमार्फत राजनीतिक पृष्ठभूमि तयार पारेका रामराजाप्रसाद सिंहलाई ‘प्रथम गणतन्त्रवादी नेता’को पगरी गुथाई राजकीय सम्मान दिइन्छ । जसले २०४२ सालमा चर्केको सत्याग्रहलाई दरबारियाको षड्यन्त्रमा निस्तेज पार्न सर्वसाधारणमाझ बम पड्कायो, उनैलाई लौहपुरुष गणेशमानसिंहको देनसरह ‘राष्ट्र गौरव’ पदविले विभूषित गरिन्छ र उनी मर्दा सरकारी विदाका साथै सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रियझण्डा आधा झुकाइन्छ । पुष्पलाल र गणेशमानको यो भन्दा अपमान के हुन सक्छ ?
भुरेटाकुरे राजारजौटालाई समेटी विशाल नेपाल निर्माण अभियानको एकीकरणकर्ता, जसका कारण नेपाल र नेपालीको स्वाभिमान कहिल्यै कहिँ झुक्न परेन, उनै पृथ्वीनारायण शाहजस्ता दूरदर्शी राजनेताले निर्माण गरेको कर्मथलोमा बसी उनैलाई उपनिवेशवादी र विस्तारवादीको संज्ञा दिइन्छ । इतिहासप्रति बेइमानीपूर्ण तवरले कृतघ्न बन्दै अनुदार राजनीतिको पराकाष्ठमा पुस २७ गते एकतादिवस मनाउन समेत बन्द गरिन्छ । इतिहासप्रति योभन्दा ठूलो अपमान के हुनसक्छ ?
राज्य र राज्यसञ्चालनको बागडोर लिन पुगेका दलका नेतारूपी नवसामन्दवादी छोटे राजारजौटाहरुको शासनमा एउटा सच्चा राष्ट्रवादी र इमान्दार ‘मण्डले पञ्चका’ नामले बदनामी कमाएको मरिचमानलाई मरेपछि पनि अपमान गर्नु ठूलो कुरा पक्कै होइन । किनकि उसले न त पञ्चायतकालमा कुनै काण्डहरु (छिन्ताङ, पिस्कर र नमितासुनिताकाण्डहरू) मच्चाएर बदनामीका बाबजुद दरवारको आडमा अकूत श्रीसम्पत्ति आर्जन गर्यो, न त समयको वेगसँगै कुनै शम्शेर, बहादुरहरू, र चन्द्रहरूले छेपाराले रंग बदलेजस्तै रंग बदल्दै पञ्चायतकालमा विरालाले दूधको तर काटेर खाने, पछि प्रजातन्त्रवादी वा खरो गणतन्त्रवादीसँग आलिंगन गर्न पुगी राज्यशक्ति र स्रोतको दुरुपयोग गर्न सक्यो । न त सक्यो उसले सार्वजनिक भाषणमा उग्रराष्टवादको नारा लगाउँदै साँझबिहान कुनै चौर वा व्लकका (लैनचौर वा साउथब्लक) प्रभुहरूलाई आफ्नो राजनीतिक र पदीय रक्षाका लागि भातेनिम्तो कुर्न र दगुर्न । उसले गर्नसक्यो त केवल केहि दरबारिया र अन्य पञ्चहरुकै विरोधका वावजुद तत्कालीन भारत सरकारको दम्भ र हेपाहापूर्ण व्यवहारको प्रतिकारपूर्ण टक्कर, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा, अनि पछिल्लोकाल खण्डमा घरगृहस्थी संचालनका लागि कृषिपेशामा कुखुरा पालन ।
मरिचमानका थुप्रै अवगुणहरु प्नि थिए होलान त्यो लेखाजोखा र विश्लेषणको अर्को पाटो हुनसक्छ, तर आजको राजनीतिक परिवेशमा उनको राष्टभक्ति, स्वाभिमान, निष्ठावान इमानदारीमात्र वर्तमानमा देखिएका दल र तिनका नेताले आत्मसात गर्न सके भने राज्यले निर्धारण गरेको विद्यमान ऐन कानुन विपरीत राजकीय सम्मान उनलाई नदिए पनि केही फरक पर्दैन । त्योभन्दा ठूलो र भव्य सम्मान मरिचमानका लागि उनका असल चरित्रको अनुसरणले हुनेछ ।
समयको चक्र अत्यन्त वलवान छ । हिजो खलनायक मानिएका व्यक्तिहरु आजका दिनमा सवल नायक कहलिए पनि सही आचरण र व्यवहार अपनाउन नसके वर्तमानमा नायकको भूमिकामा रहेकाहरू भोलि कुनै दिन इतिहासको कठघरामा उभिँदा कुख्यात खलनायक सावित हुन सक्नेछन् । त्यस्तो अवस्थामा भलै राज्यबाट राजकीय सम्मान पाएछन् भने पनि भावी पुस्ताले अहिले मरिचानलाई दिएजस्तो नागरिक सम्मान नभई दण्डित गर्न सक्नेछन् ।