नेपालमा २०७२ वैशाख १२ गते आएको महाभूकम्प तथा वैशाख २९ गते आएको परकम्पले ८ हजार ८ सय ९७ को ज्यान लिएको छ। तीन महिना बित्दा पनि परकम्पले अझै हल्लाइरहेको छ। साउन ६ गते राती सवा १० बजे काठमाडौं केन्द्रीत परकम्पले एकपटक फेरि राजधानीबासीको निद्रा बिथोल्यो।
काठमाडौं उपत्यका भूकम्पीय जोखिमका दृष्टिले अति उच्चस्थानमा रहेको तथ्य सर्वविदितै छ। ४० लाखभन्दा बढी जनसंख्या बसोवास गर्ने उपत्यकामा भूर्इँचालोले जुनसुकै बेला विपद् निम्त्याउन सक्ने देखिन्छ। एक अध्ययनले जनाए अनुसार काठमाडौं उपत्यकाले ९ रिक्टर स्केलसम्मको हल्लाई महसुस गरेमा १ लाखभन्दा बढीको मृत्यु, ३ लाखभन्दा बढी घाइते, ६० प्रतिशत भवनहरू भत्कन सक्ने र ८ लाखभन्दा बढी व्यक्ति घरबार बिहिन हुन सक्ने देखाउँछ। त्यसैगरी ९५ प्रतिशत खानेपानीका पाइपहरू फुट्न सक्ने, ६० प्रतिशत टेलिफोनका तारहरू क्षति हुने र ४० प्रतिशत विद्युत प्रसारण प्रभावित हुन सक्ने देखाउँछ। त्यसैले भविष्यमा हुनसक्ने यस्ता विपद्को क्षतिलाई न्यूनीकरण गर्न व्यक्तिगत स्तरदेखि लिएर समुदाय स्तर हुँदै राष्ट्रिय स्तरसम्म पूर्वतयारीका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। आफ्नो वरिपरि सुरक्षित खुलास्थलको पहिचान गर्नुपर्ने हुन्छ।
साँगुरो गल्ली तथा कमजोर भौतिक पूर्वाधार काठमाडौं उपत्यकाको मूख्य समस्याको रूपमा रहेको छ। एकातिर अनियन्त्रित एवं अव्यवस्थित रूपमा शहरीकरण भैरहेको छ भने अर्कोतिर अस्वस्थ विकास निर्माण कार्यको विस्तारले गर्दा खुलास्थलको संख्या र क्षेत्रफल दिनप्रतिदिन घट्दै गैरहेको छ। संरक्षणको अभावमा अझै घट्दै जान सक्ने देखिन्छ। शहरबासीहरू निस्सासिदो वातावरणबाट उन्मुक्ति पाउन खुला स्थलको खोजीमा देखिन्छन्। धुलो र धुँवाले आहत बटुवा शितल छहारीको आशामा व्याकुल भएका हुन्छन्।
त्यसैगरी बढ्दो जनसंख्याको दैनिक जीवनका लागि खेल मैदान, मनोरञ्जन क्षेत्र, हरियाली उद्यानको आवश्यकता पूरा गर्न र वातावरणीय सन्तुलन कायम गर्न यस्ता खुलास्थल जरुरी भइसकेको छ। त्यतिमात्र नभई विपद्को समयमा पनि खुला स्थलले आपत्कालीन आश्रयस्थल, स्वास्थ्योपचार स्थललगायतका अन्य अत्यवाश्यकीय प्रयोजनमा ठूलो मद्धत पुर्याउँछन्। यस्तो अवस्थालाई नियन्त्रण र नियमन गरी सार्वजनिक खुलास्थलको संरक्षण, सम्वर्द्धन र विकास गर्नु काठमाडौं उपत्यका लगायतका शहरको लागि अति आवश्यक छ।
काठमाडौंमा खुलास्थल
नेपाल सरकार गृह मन्त्रालयले आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने भनेर काठमाडौं उपत्यकामा ८३ वटा खुलास्थलको पहिचान गरेको छ। यसको साथै भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले उपत्यकाको सबै गाविस र नगरपालिकामा प्रत्यक्ष अवलोकन र समुदाय तथा सरकारी निकायहरूसँग छलफल गरी ८ सय ८७ वटा साना तथा ठूला स्थल पहिचान गरेको छ। खासगरी खुलास्थलको रूपमा साना तथा ठूला चोक, बहील, खेल मैदान, संस्थागत क्षेत्र, सरकारी कार्यालय, शैक्षिक संस्थान आदिको स्वामित्वमा रहेको क्षेत्रलाई लिन सकिन्छ। त्यसैगरी मन्दिर, स्तुपा वरपरका क्षेत्र मूलतः नेवार समुदायमा रहेका चोकहरू जसलाई बहाः पनि भनिन्छ, त्यसलाई पनि खुलास्थलको रूपमा छुट्टयाउन सकिन्छ। यी खुलास्थलहरूको व्यवस्थापन मुख्य रूपमा छरछिमेक स्तरबाटै गरिएको पाइन्छ भने उपयोग पनि स्थानीय रूपमा समुदाय स्तरमै भएको पाइन्छ। शहरी क्षेत्रमा रहेका यस्ता बहाः, बहीलहरूमा साँघुरो गल्लीको कारण सहज पहुँचको समस्या रहेको देखिन्छ। ग्रामीण इलाकामा यस्ता बहालहरू कृषि बाली स्याहार्ने कार्यका लागि बढी उपयोग गरिएको पाइन्छ। शहरको मुख्य क्षेत्रमा र पुरानो बसोबास रहेका बस्तीहरूमा देखिने यस्ता विशिष्ट नेवारी बस्तीमा रहेका बहीललगायत सार्वजनिक खुलास्थल धेरै प्रकारका छन्। जसमा धार्मिक उद्धेश्यले प्रयोग गरिने खुलास्थल अर्थात् मठमन्दिर, गुठी, चर्च, विहार आदिका वरिपरि रहेका छन्। अन्यमा रेडक्रस, सार्वजनिक विद्यालय, वडा कार्यालय तथा अन्य सार्वजनिक संस्थानहरूको प्रयोगमा रहेका जग्गाहरू मुख्य छन्। सरकारी कार्यालयबाट प्रयोग भैरहेको भूमि पनि उपत्यकाभित्र खुलास्थलका लागि महत्वपूर्ण छन्। ठूला खुलास्थलमा ललितपुर धोबीघाटमा रहेको फोहर सफा गर्ने अक्सिडेसन पोखरी, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटार आदि उपत्यकामा रहेका केही ठूला खुलास्थल हुन्।
खुलास्थलको आवश्यकता
विपदको अवस्थामा आवश्यक पर्ने अत्यावश्यकीय मानवीय सेवाका साथै आकस्मिक आश्रयस्थलको लागि यी खुलास्थलको उपयोग अपरिहार्य रहन्छ। अस्थायी भेलास्थल, औषधी उपचार अन्य सेवा वितरण लगायत विभिन्न सहयोगी मुलुकबाट प्राप्त हुने सहयोग व्यवस्थापनका लागि पनि यी खुलास्थलको आवश्यकता पर्छ।
गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्यूडको भूईंचालो र वैशाख २९ गते सिन्धुपाल्चोकको चिलांखेलाई केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्निच्यूडको भूर्इंचालो तथा त्यसपश्चात् गएको विभिन्न सानाठूला भूईंचालोको बेला खुलास्थलको आवश्यकता र यसको महत्व सर्वसाधारणले राम्रैसँग अनुभव गर्न पाए। सरकारी तथ्याङ्क अनुसार ८ हजार ८ सय ९७ जनाको मृत्यू, २२ हजार ३ सय ९ जना घाइते भएका छन्। त्यस्तै, २ हजार ६ सय ७३ वटा सरकारी कार्यालयका भवन पूर्ण रूपमा क्षति भएको र ३५ हजार ७ सय ५७ वटा सरकारी कार्यालय आंशिक रूपमा क्षति भएका छन्। ६ लाख २ हजार २सय ५७ वटा निजी भवनहरू पूर्ण रूपमा र २ लाख ८५ हजार ९९ वटा निजी घरहरू आंशिक रूपमा क्षति भएको देखिन्छ। यस आधारमा विस्थापितलगायत प्रभावित परिवार आफ्नो नजिकको खुलास्थलमा महिनौ दिनसम्म बस्न बाध्य भए। टुँडिखेल, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर लगायत विभिन्न चोकहरूमा, सडक किनारमा अझै पनि टेन्ट बनाएर पीडितहरु बसिरहेका देखिन्छन्।
भूईंचालोको बारेमा लामो समयसम्म अन्यौल रह्यो। सर्वसाधारण धेरै दिनसम्म मनोवैज्ञानिक डर त्रासमा रहेर बस्न बाध्य भए। हल्लाको भरमा अर्को ठूलो भूईंचालो आउन सक्छ भनेर प्रचारबाजी भयो। यस्तो बेलामा बारम्बारका परकम्पनले त्रसित भई सर्वसाधारण घरभित्र बस्न सकेनन्। रातको समयमा त्रिपाल, प्लाष्टिक र ओछयान बोकेर सुरक्षित बासस्थानको खोजीमा निस्केका देखिन्थे। सडक किनार, मठ मन्दिर, चौतारी, फुटसल, ग्यारेज, घर नजिकैको खाली जग्गा, खेल मैदान, तरकारी पसलका लागि बनाइएका झुपडीलाई आश्रयस्थलको रूपमा अत्याधिक मात्रामा प्रयोग गरिएको थियो। त्यतिमात्र नभई टमाटर खेती, च्याउ खेती र कुखुरा पालन गर्नको लागि बनाइएको घर तथा सुरुङ, ढल निर्माणको लागि बाटामा राखिएका सिमेन्टका होम पाइप पनि बास बस्नको लागि प्रयोग भएको देखियो। सर्वसाधारणहरू आफूलाई पायक पर्ने तथा भूईंचालोको हल्लाई महसुस हुने बित्तिकै भाग्न सजिलो हुने ठाउँमा बसेका भेटिन्थे। सामानको सुरक्षा गर्नलाई सकभर घर नजिकैको आँगन वा बाटोमा बस्थे। तर पूर्ण रूपमा क्षति भएको घर परिवार लामो समयसम्म बस्न मिल्ने खुलास्थलको खोजीमा रहेको भेटिन्थे। कतिपय घरपरिवार आफ्नो बसाईं वरपर खुलास्थल नहँुदा धेरै पर–पर गएर पनि बास बस्न बाध्य भए।
खुलास्थलको व्यवस्थापन
उपत्यकामा रहेका खुला ठाँउ र हरियालीमुक्त परिवेशले मनोरञ्जन प्रदान गरिरहेका छन्। रुख बिरुवाको सघन उपस्थितिले स्थानीय वातावरणलाई मनोरम त बनाउँछ नै। साथै त्यसले नगरको दुषित वातावरणलाई अक्सिजनको उत्सर्जनद्वारा प्रदुषण न्यूनीकरण गरी जीवन दान दिने, जलवायु अनुकुलनमा सघाउने, भूमिगत जल भण्डारको सतहलाई कायम राख्ने, पशुपंछीलाई आश्रयस्थल प्रदान गर्ने र जैविक विविधता कायम राख्न मद्धत पुर्याइरहेको छ। अतः स्वच्छ हावा र सन्तुलित वातावरणीय प्रणालीबाट बढीभन्दा बढी लाभ लिन काठमाडौं उपत्यकाभित्रका खुलास्थललाई हरियालीमा परिणत गरी पर्यटकीय उपयोगमा ल्याउन उत्तिकै जरुरी भैसकेको छ।
शहर भित्रका खुलास्थल तथा ढुङ्गेधारा, पोखरी र सिमसार क्षेत्र संरक्षणको अभावमा प्राकृतिक एवं प्राचीन सांस्कृतिक सम्पदाको रूपमा आफ्नो परम्परागत महत्व गुमाउँदै छन्। रुख वृक्षमा देखिने चराचुरुङ्गीको संख्यामा निकै कमी आएको छ। चराहरूको चिरबिर ध्वनि क्रमशः घट्दै गैरहेको छ। यसैले नगरक्षेत्र भित्र पनि यस्ता स–साना विषयवस्तुलाई सुक्ष्म रूपले नियाल्दै लैजाने खुलास्थलको संरक्षण गर्नुपर्ने अन्तरचेतनाको विकास गर्न पनि अति आवश्यक छ। साथै शितलताको लागि चौतारा बनाउने र अन्य रुखविरुवा रोप्ने संस्कृति हराउँदै जान लागेकोले यसलाई जानमानसमा पुनः स्थापित गरी प्राचीन सभ्यतालाई ब्युझाउनु जरुरी छ।
काठमाडौं उपत्यकाभित्र परापूर्वकालदेखि सार्वजनिक खुलास्थलको रूपमा रहेका चौर, प्राकृतिक उद्यानहरूमाथि अतिक्रमण बढ्दै गएबाट निस्सासिदो वातावरण सिर्जना भएको छ। बढ्दो शहरीकरणसँगै खुलास्थलमा अतिक्रमण भैरहेका छन्। त्यसैले शहरीकरण सँगै भएको वातावरणीय ह्रासलाई नियन्त्रण गर्न र सहरको सौन्दर्य एवं हरियाली जोगाई राख्न खुलास्थलको संरक्षण गर्नु जरुरी भैसकेको छ। संरक्षण गर्नको लागि उचित नीतिनियम, खुलास्थलको पहिचान तथा प्रचारप्रसारको अभावमा आपत्कालीन अवस्थामा सर्वसाधारणहरू आ–आफनै तरीकाले खुलास्थलको प्रयोग गरिरहेका छन्। सरकारी स्तरबाट उचित तवरको योजना तर्जुमा गरी विकास गर्दै लैजानु आजको आवश्यकता हो।
उपलब्ध क्षेत्रफल, भौतिक पूर्वाधार र वरिपरिको वातावरणको आधारमा खुलास्थललाई विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ। सामान्य अवस्थामा सवारी साधन पार्किङ, स–साना खेलमैदान, साना उद्यान, खाद्यान्न, फलफुल र तरकारी बिक्रेताहरूद्वारा प्रयोग गर्न, कृषि बाली सुकाउने आदि कार्यमा प्रयोग गर्न सकिन्छ। त्यसैगरी विभिन्न सामाजिक तथा सांस्कृतिक क्रियाकलापको लागि पनि यी स्थलहरू प्रयोग भइरहेका हुन्छन्। तर आपत्कालीन अवस्थामा सुरक्षा निकाय, उपचार केन्द्र, सञ्चार क्षेत्र, राहत तथा उद्धार सामग्री व्यवस्थापन क्षेत्र र आपतकालीन बस्ती व्यवस्थापन गर्नको लागि यी खुलास्थलले महत्वपूर्ण भूमिका खेल्छ। त्यसैगरी खुलास्थलको संरक्षण गरी ती स्थलमा केटाकेटी, युवा, वृद्धजस्ता विभिन्न उमेर समुहका नागरिकका अपेक्षा पुरा हुने गरी मनोरञ्जनस्थल निर्माण गर्न सकिन्छ।
अन्त्यमा पहिचान गरिएका खुलास्थलको संरक्षण गर्न सके मात्र हालसालैको महाभूकम्प जस्तो आकस्मिक प्रकोपको बेलामा आपतकालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिन्छ र भविष्यमा हुनसक्ने मानवीय जनधनको क्षतिलाई कम गर्न सकिन्छ।
(लेखक भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) मा आबद्ध छन्।)