आदरणीय धर्मगुरूहरू
तपाईँहरूलाई हामी पहाड, हिमाल र मधेसका जनताहरू मुरीमुरी धन्यवाद दिन्छौं। यहाँहरुको वचन, कर्मले नेपालमा जनताको जीवनमा अभूतपूर्व परिवर्तन ल्याइदिएको छ। यहाँहरुले धर्ममा सफाइको ठूलो महत्व दर्शाइएको छ भनेर मठ, मन्दिर, प्राकृतिक पानीका स्रोतहरुलाई आफ्नै हातले सफा गरेर नेपालको त अनुहार नै चमचम पारिदिनु भएको छ।
बागमती, विष्णुमती त यहाँहरुको अथक प्रयासले यती कञ्चन भएको छ कि हामीहरू पानी पनि त्यहीबाट पिउँछौं। पशुपतिको क्षेत्रलाई त धर्मगुरूहरूले दिन रात नभनी सफा गरेकाले त्यहाँ कागजको एक टुक्रा छैन। जताततै जाइ र चमेलीको सुवास छरिदिएको छ मानौं यहाँहरुले त्यहाँ अत्तरनै खन्यायदिनु भएको छ।
साथै यहाँहरुको अभूतपूर्व सफाइ अभियानले देवघाट, चाँगुनारायण, पाथीभरा, बज्रयोगीनी, बज्रवाराही सबै सुन्दर भएका छन्। धर्मगुरुले कुनै पनि हरियो ‘रूख काट्न’ पाप हो भनेर पढाउनु भएको हुनाले कसैले पनि जथाभावी रुख काटन साहस गर्दैनन्।
यहाँहरूले वन संरक्षण नीतिलाई यती अगिंकार गर्नुभएको छ कि आफ्ना आसेपासे र उत्तराधिकारीहरुले पनि रूख काटेर घर बनाएको थाहा पाउनुभयो भन कठोर सजाय दिनुहुन्छ।
‘धर्मगुरूले सबै मानिस बराबर जन्मिन्छन्’ भन्ने गीताको तथ्यलाई मनन गरेर नेपाल भरी ‘सबै मानिस समानै’ भन्ने भावना भरिदिनुभएको छ। त्यसैले नेपालमा छुवाछुत त स्वात्तै विलाएको छ। तपाईँले मुसहर, पासवान आदिलाई पनिे घरघरमा पुगेरे सम्झाएको गर्दा अब कसैले पनि म दलित हूँ भन्दैन। दलितहरुको अवस्था सुर्धान र उनीहरुको साक्षरता बढाउँन आफै धर्मगुरूहरू गाउँघरमा पुगेर स्कूलको स्थापना गरिदिनुभएको छ। धर्मगुरुले हरेक ठाउँमा यज्ञ गरेर कमाएको पैसा दलितहरुको जीवन सुधार्नमा लगाएपछि त उनीहरूमा यती परिवर्तन देखिएको छ कि अब दलित, गरिबी, त मानौं इतिहासको शब्द भएका छन्।
महिला विरुद्ध हुने प्रत्येक हिंसालाई धर्मगुरूहरूले भगवती र कुमारीप्रति गरिएको हिंशा मान्न सिकाउनु भएको छ। बालिका किशोर जीवनलाई हिंशारहित बनाउन धर्मगुरुले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गरेर जनतामा फैलाएको जागरूकता स्वर्ण अक्षरले इतिहासमा लेखिनेछ।
धर्मगुरुहरुले यसपालीको भूकम्पमा यती धेरै मानिसहरुको उद्धार गर्नुभयो भोजन गराउनुभयो, कम्बल, चामल, पाल त प्रत्येक परिवारमा पुर्याउनु भयो, भूकम्प पीडितले त यहाँहरूलाई ‘देउता’ नै मान्न थालेका छन्। धर्मगुरूले अब भूकम्पपछि भत्किएका स्कूलहरू बनाइदिने भनेर अनेक कार्यक्रम गर्न थाल्नुभएको छ रे। यस्तो अदभूत कार्य गर्ने धर्मगुरुलाई जती दण्डवत गरे पनि पुग्दैन।
जब जब अन्धविश्वासले गर्दा मानिसहरुको जीवनमा संकट पर्छ, त्यो मोचन गर्न धर्मगुरु टुप्लुक्क पुगेर समुदायका मानिसहरुलाई उपदेश दिनुहुन्छ र उहाँको उपदेशले त सबै मानिसहरु अचम्मित हुन्छन् र शोकमग्न मन आनन्दित हुन्छ। यहाँहरुको अथक प्रयासले नै नेपालबाट ‘बोक्सी’ प्रथा हराएको छ। धर्मगुरुहरू ‘बोक्सी’ भन्ने शब्द कुनै पनि महिलाको लागि प्रयोग गर्न महिलाको अपमान हो। र यसो गर्दा ऊ भगवानको आँखामा त गिर्छ भनेपछि नै राज्यले पनि उसलाई कडा ‘दण्ड दिनेछौ’ भनेपछि नेपालको संसदबाट बोक्सी प्रथा हटाउने एउटा विधेयक नै ल्याइएको छ।
धर्मगुरूले दिन रात यो विषयमा नखोलेको भए कसरी यस्तो विधेयक आउथ्यो र?
तराईको घर घरमा गएर धर्मगुरुले बोक्सी महिला सुनाएर सबै तराईवासीलाई महिलाको सम्मान गर्न सिकाउनु भएको छ। त्यसैले अब कसैले पनि छोरीको जन्ममा दुःख मनाउ गर्दैनन्।
बालिका र किशोरीहरु प्रति हुने हिंशा, यौन दुर्व्यवहारलाई त धर्मगुरूहरूले कुनै पनि हालतमा सहनै नसकिने र प्रत्येक यौन हिंसामा परेकि छोरी हाम्रै छोरी हो। भनेर देशव्यापी अभियान चलाउनुभएको छ। यहाँहरुको यत्रो ठूलो अभियान पछि त प्रहरीहरुले बालबिवाह, यौन हिंसा आदि रोक्न तराईमा चलाएको ठूला कदमले यहाँहरुको प्रेरणाले नै काम गरेको छ।
धर्म भनेको देउताको पूजा गर्नु होइन कि मानव सेवा गर्नु हो, महिला र बालिकाको सम्मान गर्नु हो, मन्दिर र नदीलाई सफा राख्नु हो भनेर यहाँहरुले नेपाल दशौं चोटी गरेको यात्रा र हामीहरु अभिभूत भएका छौं। धर्मगुरूहरूको यती धेरै काम नहुँदो हो त हामी नेपालीहरू अहिले पनि १६ औं शताब्दिमा नै बसिरहन्थौं होला। बेसहारा सहारा भएर यहाँहरुले हामीलाई आवाज दिनुभयो। अन्धविश्वासले ग्रसित तराईको समाजमा बच्चाको नरवली चढाएको कुराले सबै धर्मगुरुको आँखामा यती धेरै आँसु आयो कि यस्तो लाग्यो मानौं सम्पूर्ण प्रकृती नै रोएकिछिन्।
नरवली भएको ठाउँमा हजारौं व्यक्तिहरुको साथमा गएर यहाँले नरवलीको विरुद्ध यस्तो जोर गर्जना गर्न भयो कि सबै दोषिहरुको मुटु त काप्यो। अब कसैले पनि तराइमा यस्तो अपराध गर्ने छैन।
‘बोक्सी’ भनेर महिलालाई पिट्ने र लछार्ने छैनौ। हे धर्मगुरुहरू तिमीहरु हाम्रो घर आँगनमा आएर एकचोटी हाम्रो मनमा आनन्द ल्याइदेऊ। हामी पनि भोलिदेखि धर्महरुले लगाएको बाटोमा नै हिड्ने छौं। हामी बाल बिवाह गराउने छैनौं, बोक्सीको आरोप कसैलाई लगाइने छैनौं, मन्दिर फोहोर गर्ने छैनौ, जताततै नित्य कर्म गर्ने छैनौ, अथ यहाँहरुको कामलाई अन्तर्राष्ट्रिय स्तरको पुरस्कार दिलाउने बारे छलफल गर्नेछौं। धर्मगुरूले सिकाएको प्रत्येक कुरो जीवनमा उतार्ने छौं।‘हामी’ अर्थात धर्म गुरुजीको एक चेला जो यहाँहरुको काम प्रशंसक नेपाली जनता।