सरकारले थप संख्यामा ट्याक्सी थप्ने गरेको निर्णय बिरुद्ध ट्याक्सी व्यवसायीले आन्दोलन थालेका छन्। देशका ठूला सञ्चार माध्यमहरूले फोटो कथा नै प्रकाशन गरेका थिए।
यसै सन्दर्भमा मैले हालै नेपालमा ट्याक्सीलाई आफ्नो भरपर्दो सवारी साधन भनेर गरिएको प्रयोग अनुभव यहि आन्दोलनको परिप्रेक्ष्यमा अभिव्यक्त गर्ने जमर्को गरेको छु।
मेरो अनुभवमा यो आन्दोलन उनीहरूको व्यवसायिकता प्रति गैरजिम्मेवार भएको ठहर हो। काठमाडौंमा बस्ने जो कोहिलाई आवत-जावतका लागि ४ वटा विकल्प छन्। पहिलो: आफ्नै सवारि साधन कार वा मोटर साईकल हुनुपर्यो। दोस्रो: सार्वजनिक सवारी साधन चढ्न पर्यो। तेस्रो: हिड्न पर्यो। यी भएनन भने चौथो विकल्प छ - ट्याक्सी जुन अलि खर्चिलो पनि छ।
काठमाडौंमा करिब ६-७ हजार ट्याक्सी छन् रे। यो संख्याले उपत्यकाको झण्डै ४० लाख जनसंख्याको मागलाई धानेको छ?! सेवा कस्तो छ, ट्याक्सीमा यात्रा गरेका जो कोहि जानकार छन्। एकाध बाहेक राम्रो अनुभव धेरै कमसँग होला। तापनि विकल्प छैन, ट्याक्सी नै निर्बिकल्प छ। अनि ट्याक्सी व्यवसायी सेवा जस्तो भएपनि काठमाडौंका सडकमा उनीहरु नै आफूलाई राजा जस्तो ठान्छन्।
प्रसंग मेरो ट्याक्सी चढ्दाको नितान्त व्यक्तिगत अनुभव हो। अरूसँग मेल खाएमा संयोग मात्र हुनेछ। तर, यो सबैको साझा समस्या हो भन्ने मेरो बुझाई छ। मैले अमुक ट्याक्सीवालालाई आक्षेप लगाउन खोजेको होईन । मेरो आसय ट्याक्सी सेवा प्रदायकहरूको व्यवसायिकता र सेवाग्राहि प्रति उनीहरूको कठोरता र अव्यवहारिकता हो।
मेरो काठमाडौंको १५ दिन लामो बसाईमा सबैभन्दा निर्विकल्प सवारी साधन ट्याक्सी भयो र सबैभन्दा अप्रिय पनि!
पहिलो अनुभव: म बिहान १० बजे बाँनियाटारबाट न्युरोड जान बाँनियाटार पुल छेउमा निस्किएँ। म सँग मेरो बुबा पनि हुनुहुन्थ्यो। त्यही रूट भएर माईक्रो पनि चल्दो रै’छ। तर पन्ध्र मिनेटको कुराईमा आएका २ वटा माईक्रोबस खाली थिएनन्। पुलको दाहिने तिर ट्याक्सीको लामो लाईन थियो। कुनै ट्याक्सीमा ड्राईभर थिए, कुनैमा थिएनन्। लाइनको पहिलो ट्याक्सिलाई सोधे ऊ न्युरोड जान्छ कि जाँदैन। नजाने जवाफ पाए पछि क्रमश पछिका ट्याक्सीलाई सोधेँ, सबैले नजाने जवाफ दिएँ। म आश्चर्य चकित भएँ।
के सेवा हो यो, यिनीहरुको नियमन गर्ने, यिनीहरुलाई सञ्चालन गर्ने नीति कोसँग छ, कसले गर्छ? कहाँ गएर गुनासो गर्नुपर्छ? सेवा दिन बाटोमा बसेर पनि सेवा दिन नमान्ने कस्तो व्यवसायिकता हो? ममा नैराश्यता देखेपछि बुबाले केहि बेर हिड्ने प्रस्ताव गर्नुभयो। हिड्दै हामी गोंगबु चोक पुग्यौं। त्यहाँबाट ट्याक्सी लिएर बल्ल न्युरोड गयौं।
त्यही दिन। दोस्रो अनुभव। न्युरोडबाट पुतलीसडक जाँदाको कुरा। न्युरोडमा काम सकिएपछि जानुपर्ने पुतलीसडक थियो। चर्को घाम लागेको र धुलो उडेकोले ट्याक्सीमा नै जाने निर्णय भयो। बाटोमा लाईनमा बसेका पाँचभन्दा बढी ट्याक्सिलाई पुतलीसडक जाउँ भनेर सोध्दा कुनै ट्याक्सी जान मानेनन्। अन्तिममा केहि अगाडि रोकिराखेको एउटाले जान मान्यो त्यो पनि मिटरमा नभएर फिक्स्ड मुल्यमा। १०० रूपैयाँ तिरेर पुतलीसडक पुग्यौं।
फेरि फर्कन पर्ने भोटाहिटी थियो। फेरि ट्याक्सी चढ्नुको पीडाले हामी बागबजार हुँदै भोटाहिटी तिर लाग्यौं। बागबजारको सडक पुरै भत्काईएको रहेछ। साँगुरो बाटो र धुलो छिचोल्दै पुगियो भोटाहिटी। त्यहाँको काम सकेर फेरि फर्कनु पर्ने त्यहि बाँनियाटार थियो।
तेस्रो अनुभव। सोहि दिन। समय तीन बजेको थियो दिउँसोको। आकाशमा गड्याङगुडुङ गर्दै थियो। भोटाहिटीमा ट्याक्सी स्ट्यान्डमा थिएँ। हातमा थुप्रै सामान थियो दुबैजनाको। माईक्रोबस चढ्न गारो देखेर फेरि ट्याक्सीनै पहिलो विकल्पमा आयो। त्यहाँ यात्रु पर्खेर बसेका ट्याक्सीलाई सोध्दा कुनै ट्याक्सि जान मानेनन्।हिँड्दै जमल पुगियो, एउटै ट्याक्सी मानेन। तर, बाटोमा दर्जनौ ट्याक्सी यात्रु पर्खेर बसेका थिए।
कान्तिपथ हिड्दै केशरमहल हुँदै ठमेल पुगियो, बाटोमा खाली देखेको प्रत्येक ट्याक्सिलाई अनुरोध गर्दै, कुनै ट्याक्सीले जान मानेनन्। ठमेलमा भएका ट्याक्सी त झन किन जान्थे चक्रपथ पारि किनमेल गरेका झोला बोकेर। राम्रै पर्यो भने डलरमा आउने भाडा छोडेर मिटरमा बानियाटार! एउटा सवारिले दिनभरको कमाई हुने अवसर छोडेर रूपैमा भाडा लिन बानियाटार! दर्जन जति ट्याक्सीलाई सोध्यौं। मेरो आफन्तको व्यवसाय पनि त्यही भएकोले उनलाई लिएर ट्याक्सि खोज्न निस्केको आधा घण्टा पछि बल्ल एउटा ट्याक्सी मान्यो। सयौंमा एउटा असल हुन्छ भन्ने चरितार्थ भयो। एकैदिनमा यति धेरै हण्डर खानु परेको घटना थियो यो।
यो कुरा घर फर्केर श्रीमती र अरुलाई पनि सुनाए। श्रीमती भन्दै थिईन, ‘तपाई त लेख्ने मान्छे, एउटा लेख लेख्नुस न।’ मैले त्यति बेला लेख्ने प्रयास गरिनँ। यस पछिका चौध दिनहरुमा पनि ट्याक्सी चढ्दा पहिलो अनुरोधमा ट्याक्सी चढ्न मिलेन। भनेको बेलामा ट्याक्सी मात्र पाउनु पनि त्यति ठूलो कुरा होईन काठमाडौंमा।
ट्याक्सीमा हुनुपर्ने न्युनतम आधारभूत सेवा र सुविधा हुँदैनन्। हुन त मापदण्ड के के हुन्? कसले निर्धारण गर्छ? सेवा प्रदायकलाई सायदै थाहा होला। मैले जानेका केही कुराहरू भनेको पहिलो कुरा त सफा हुनु पर्ने हो। तर ट्याक्सी भित्र छिर्दा कति दिनदेखि सफा नगरेको फोहोर देखिन्छ। दोस्रो कुरा त्यो ट्याक्सी चलाउने मान्छेको परिचय खुल्ने परिचय पत्र हुनुपर्छ ट्याक्सी भित्र, त्यो पनि हुँदैन।
अर्को कुरा भाडा दर उल्लेख भएको बिबरण हुनुपर्छ, त्यो पनि हुँदैन। यात्रुलाई चाहिने सुरक्षाका आवश्यक साधन र जानकारी हुने त कुरै भएन। सवारी साधन कति क्षमताको र कुन अवस्थाको हुनुपर्छ, ट्याक्सीवालाले विचार पुर्याएको हुँदैन। बाटोमा गुड्दा गुड्दै रोकियो भने यात्रु निकालेर धकेल्न लगाउँछ, त्यसको यान्त्रिक जाँच कहिले गर्दैन।
कुनै ट्याक्सीमा बस्दा चुरोटको गन्ध आउँछ त कुनैमा मदिराको। तोकिएको भाडा तिरेर पनि सबैभन्दा असुरक्षित र कमसल सेवा प्रदायक बनेको छ ट्याक्सी व्यवसाय काठमाडौंको। हुनत नेपालमा पाईने सेवालाई विदेशमा पाईने सेवा र सुविधासँग तुलना गर्न बाञ्छनीय हुँदैन। तर, पनि यस्ता कुराबाट सिक्न पक्कै सकिन्छ।
यसै बिचमा ट्याक्सी व्यबसायीहरुले बाटोमा ट्याक्सी लाईन लगाएर आन्दोलन गर्दै छन् सरकारी निर्णय बिरुद्ध। सरकारले हालै गरेको निर्णय उनीहरूको व्यवसायिक अधिकार बिरोधी भयो भन्ने उनीहरुको दलिल छ। सरकारले ५ हजार आधुनिक ८ सय सिसिभन्दा माथिका ट्याक्सी थप्ने निर्णय गरेको छ।
सार्वजनिक सवारि साधन माईक्रोबस तथा बसहरूमा हुने पकेटमार, महिलामाथि हुने दुर्व्यवहारको कारण पनि काठमाडौंबासी महिलाहरू सुरक्षाको लागि ट्याक्सी चढ्छन्। काम तथा व्यवसायमा जान हतार हुनेको पनि रोजाई यहि नै हो। काठमाडौं भ्रमणमा आउनेहरुका लागि त अर्को सजिलो सवारी ट्याक्सीबाहेक छैन।
एकातिर यति धेरै वर्गको निर्विकल्प सवारी रोजाई हो तर अर्को तिर ट्याक्सीवालाहरू यति धेरै अराजक, अमर्यादित र असहिष्णु छन्, उनीहरूले प्रदान गर्ने सेवा पूरै गुणस्तरहिन छ। म जस्ता ट्याक्सीको सहज सवारी खोज्ने सयौं दैनिक उनीहरूको एकाधिकारको मारमा परेका छौ। यही एकाधिकारमाथि रजाई गर्न सरकारले गरेको निर्णय बिरुद्ध आन्दोलनको घोषणा गरेका छन्।
नेपाल यस्तो मुलक भएको छ जहाँ जसले जति बेला जे माग राख्न पनि पाउँछ तर उसले आफूले व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने न्युनतम आचरण पनि ख्याल राख्दैन। तसर्थ यो उनीहरूको हारेको मानसिकता बाहेक केहि होईन। ट्याक्सीको संख्या थपेर व्यवसायमा असर पर्ने होईन, गुणस्तरीय सेवा दिने हो भने व्यापार झन बढ्दै जान्छ। बजारमा प्रतिस्पर्धा हुने हुनाले सेवाग्राहीहरूले सहज सुविधा पाउँछन्।
हाल: क्यानडा