एक बर्ष अगाडि साउन महिनाकै कुरा हो, आधा फूलेको कपालमाथि बुटटे टोपी लगाएका, उमेरले साठी नाधेका पूर्वबेलायती गोर्खा सैनिकले ओठ लेब्य्राउँदै हाँक दिए, ‘कस्ता कस्ता आए, के के गरे,मिलाउन सकेनन्, तिमेरले मिलाउने? असम्भव। मिलाउँछौ भनेर त दश मनमा एक मन पनि छैन। लु म चुनौती दिन्छु कुनै हातलमा मिलाउन सक्दैनौ।’ प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका व्यक्तिहरुलाई स्थानीय गँगा हाङ लिम्बूले च्यालेन्ज गरे।
चुनौती दिएको बर्ष दिन पछि उनले भने, ‘हा हा हा मेरो च्यालेन्जले फेल खायो। दश वर्षमा माओवादी द्वन्द मिल्दा पनि मिल्न नसकेको झगडा मिल्यो। म त दँग परेको छु। हिजोसम्म बाटोमा भेट्दा पनि फनक्क अर्को तिर फर्केर हिडनेहरु अहिले त मज्जाले मिलेर पो हिडेका छन्। हिजो वनले बिरुवा रोप्ने सँधियारले काटेर फालिदिने गर्थे। अहिले त हामी सबैको वन हो मिलेर जोगाउनु पर्छ भन्छन्। गज्जबको काम गर्यो है माकुराले।’
धनकुटाको हात्तीखर्क गाविसको राम्चे सामुदायिक वन र सधियारहरु बिचको १६ वर्षदेखिको मिल्न नसकेको सिमा विवाद माकुरा समूहले मिलाएपछि स्थानीयवासी गाँउको विकासमा हातमा हात समाएर अघि बढेका छन।
राम्चे सामदायिक वन उपभोक्ता समूह र सँधियारहरुको १६ बर्ष देखिको बिवादले वल्लो घर र पल्लो घरका बासिन्दाबीच शत्रुतापूर्ण सम्बन्ध थियो। सानो विवाद बढेर झगडा, झगडा बढेर कहिलेकाहीँ त कुटाकुट नै हुने गर्दथ्यो। आफ्नै गाँउका बासिन्दासँग डर बोकेर हिड्नु पर्ने भयो। जति मिलाउन खोज्यो उति बल्झने विवाद। विवाद कहिल्यै नमिल्ने रहेछ भनेर उनीहरुले हार मानिसकेका थिए।
वन उपभोक्ता समितिका अध्यक्ष भरतमान कार्की भन्छन्, ‘हिजो सुरक्षा चाहियो भनेर प्रशासन सम्म गुहार्नु परेको थियो तर अहिले शान्ति महशुष भएको छ। अब वनको काम गर्न अप्ठयारो छैन। ढुक्क भएको छ।’
संधियार सरस्वती लिम्बू भन्छिन्, ‘पितापूर्खाको समयदेखि किपटका रुपमा भोग चलन गर्दै आएको जग्गा ज्यान गएपनि नछाडने अडानमा थियौं। वनले पनि जुनसुकै हातलमा लिएरै छाड्नै भएको थियो। कसरी लिन्छौ, हेरौला भन्थेँ म। तर, नियम कानुन त मान्नै प¥यो नि होइन? नापी कार्यालयबाट अमिनी ल्याएर नापजाँच गरेपछि, नापनक्सा सबै बुझेपछि हाम्रो पनि चित्त वुझयो। हामीले लामो समयदेखि कमाइआएको केही जग्गा वन तर्फ गाभिने भयो। तर अहिले हाम्रो कुनै चित्त दुखाई छैन। सामुदायिक वन पनि त हाम्रै हो। हामी मिल्यौ भने त वनको उन्नति हुन्छ।’
वन र संधियार बीचको १६ बर्ष लामो विवाद मिलेको केहि समय मात्र भएको छ। राम्चे सामुदायिक वन जिल्लाकै उत्कृष्ठ वनका रुपमा पुरस्कृत समेत भइसक्यो।
इलाका वन कार्यालय चुलिवनका वनरक्षक गोविन्द खत्रीले लामो समयदेखि राम्चे सामुदायिक वनको द्वन्दलाई नजिकवाट नियालेका छन्। उनको भनाई छ, ‘यदि यो द्वन्द नमिलेको भए सामुदायिक वन पुरस्कृत हुने कुनै सम्भावना नै थिएन। अनुहारमा हल्का मुस्कान सहित खत्री भन्छन्, ‘सयांैपटक मिलाउन खोजियो तर सकिएको थिएन। अहिले माकुरा समूहले मिलाउन सफल भयो। लामो समयदेखि हाम्रो पनि टाउको दुखाइको बिषय समाधान भएको छ। हामीलाई पनि ढुक्क भएको छ अब। उनी त ठोकुवाका साथ भन्छन्, ‘प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले माकुरा समूह बनाएर काम नगरेको भए यो द्वन्द मिल्ने थिएन।’
जल जमिन र जंगलमा हुने द्वन्द रुपान्तरणमा काम गर्दै आएको संस्था प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले एक बर्षअघि जेठ महिनामा सो द्वन्दमा हात हाल्यो। थुप्रै चुनौति थिए, काम गर्न कठीन थियो, राष्ट्रिय स्रोत व्यक्ति भोज बहादुर विश्वकर्मा भन्छन्, ‘तर हामीलाई प्रकृयामा विश्वास थियो। मिलाउन सक्छौ भन्ने दृढ संकल्प थियो। त्यही भएर सफल भयौं। सुरुमा हामीले द्वन्द के हो ? कसरी उब्जियो? कसरी झांगियो र द्वन्दले के प्रभाव पारेको छ विस्तृतमा बुझ्यौं। द्वन्दको निर्णयले असर पर्ने र निर्णयलाई असर पार्ने पक्षहरु पनि पहिचान गर्यौं। त्यसपछि सबै पक्षहरुलाई राखेर २०७१ साउनमा पहिलो पटक छलफल गरेका हौं।’
द्वन्दका सबै पक्षलाई द्वन्द कसरी मिलाउने निर्णय तपाईंहरुले नै गर्ने हो बाहिरबाट कसैले आएर हस्तक्षेप गर्ने छैन भनेर विश्वास दिलाएपछि दुवै पक्ष प्रकृयामा अघि बढ्न सहमत भए। निष्पक्ष र पारदर्शी हुन्छ र जे हुन्छ तपाईंहरु कै सामन्ने हुन्छ भनेपछि दुवै पक्षले आफैं छानेका र उनीहरुले विश्वास गर्ने १३ जना व्यक्तिहरुलाई राखेर माकुरा समूह बनाए। माकुरा समूहलाई द्वन्द कसरी रुपान्तरण गर्ने भन्नेबारेमा दुई दिनसम्म क्षमता अभिबृद्धि कार्यक्रम भयो। माकुरा समूहले निष्पक्ष,पारदर्शी र सवैले स्वीकार्ने प्रकृयाको तयारी गर्यो। यसले विश्वासको वातावरण झन बढ्दै गयो। दुवै पक्षले प्रकृयामा अपनत्व महसुश गर्न थाले। हरेक पक्षसँग छलफल गरियो। त्यसलाई आमभेला पास गर्न थालियो। हामीलाई नसोधी कुनै काम नहुने रहेछ भन्ने विश्वासले ठूलो काम गर्दो रहेछ।’ माकुरा समुहका एक सदस्य मन कुमार लिम्बू भन्छन्, ‘एकै ठाँउ भेला भएर पटक पटक छलफल हुन थालेपछि संवादहिनता टुटेर सु सम्वन्ध वढन थाल्दो रहेछ।’
समूहले दुवैपक्षलाई छुट्टाछुट्टै भेटेर र सँगै राखेर उनीहरुको अडान बुझने काम ग¥यो। अडान भित्रको वास्ताविक चाहना संकलन गरी दुवै पक्षको साझा प्रश्नहरु तयार भयो। स्थानीयमा झनै यो प्रकृयामा विश्वास बढ्दै गयो। द्वन्दरत पक्षहरुले नै तयार पारेको प्रश्नहरुमा आधारित भएर उनीहरुले नै प्रस्तुत गरेका विकल्पमा छलफल ग¥यो। उनीहरुका विकल्प समस्या समाधान उन्मुख देखिन्थे।
दुवै पक्षले सामुदायिक वन र व्यक्तिको जग्गाको सिमाना नापजाँच गरेर अमिनबाट एकिन गर्नुपर्ने साझा विकल्प प्रस्तुत गरे। सामुदायिक वनले किपटवाला पक्षहरुले हाल उपभोग गदै आईरहेको जग्गाहरु २५६, ३२३, ३२५, ४९१ नम्बरको कित्ताहरु पहिले नै सामुदायिकमा हस्तान्तरण भइसकेको हुँदा ती जग्गाहरु छोडिदिनु पर्ने विकल्पमा पुग्यो।
किपटवाला पक्ष पनि हाल उपभोग गदै आईरहेको जग्गाहरु २५६, ३२३, ३२५, ४९१ न.ं कित्ताहरु सामुदायिक वनलाई छोडिदिनेमा मञ्जुर भए।र, हाल उपभोग गर्दैआइरहेको जग्गाहरु २५२ ,२५३, र २५४ नम्बरका कित्ताहरु सामुदायिक वनको क्षेत्र भित्र नरहेको भनी समुहको आमसभामा निर्णय गरिनु पर्ने विकल्प प्रस्ताव भयो।
सामुदायिक वन र व्यक्तिको जग्गाको जिल्ला नापी कार्यालयबाट अमिन ल्याएर नाप जाँच गरियो। जिल्ला वनका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघ जिल्लाका प्रतिनिधि, गाविस सचिव, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र द्वन्दरत दुवै पक्षहरुको उपस्थितिमा ठूलै भेला गरेर विकल्प पास गरियो। उनीहरुको बर्षौदेखि भाँचिएको मन मिल्यो। आफंै प्रकृयामा सामेल भएर आफैंले निर्णय गरेपछि अब कुनै शंका, आशंका बाँकी रहेन। रहयो त केवल प्रतिवद्धता ‘अब सवै मिलेर सामुदायिक वनको संरक्षणमा लाग्ने।’
सामुदायिक वन उपभोक्ता समिति, जिल्ला महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खडका भन्छन्, ‘जिल्ला वनले कयौं पटक मिलाउन खोजे पनि नसके पनि स्थानीयबासी कै सक्रियतामा द्वन्द रुपान्तरण भएको छ। यो ठूलै सफलता हो।’
वन कार्यालय चुलिवनका वनरक्षक गोविन्द खत्री भन्छन्, ’हार्दिकतापूर्वक शल्यूट छ यो प्रकृयालाई जसले बर्षौ देखि टुटेका मनहरुलाई जोडेको छ।’