मेरो नाम सुन्तली। म कक्षा ८ मा पढ्छु। आज तपाईँहरूलाई मेरो कथा सुनाउँदै छु। मेरो कथा अर्थात् मेरी गुरूमाको कथा। मेरो मिसको कथा। मेरो दिदीको कथा। आज बिहानै आशा मिस मेरो घरमा आउनुभयो। घरमा म र मेरो भाइमात्रै थियौँ। मतिर हेर्दै मिस मुस्कुराउनुभयो। मेरो सानो भाइसँग कुरा गर्नुभयो। मसँग कपडाको टालो माग्दै भाइको सिँगान पुछिदिनु भयो। म छक्क परेँ। हेरिरहेँ।
भाइलाई सुम्सुम्याउँदै मिसले भन्नुभयो, सफा हुनुपर्छ है आले। नभए रोग लाग्छ। भाइले पुलुक्क मतिर हेर्यो। अनि मिसलाई हेर्दै मुस्कुरायो। मिसले भाइलाई जुरुक्क बोक्दै भन्नुभयो, कति ज्ञानी छ हाम्रो आले। मलाई आफैँप्रति लाज लाग्यो। मैले मेरो भाइको सिँगान किन नपुछिदिएको होला। मिस केही बोल्नु भएन तर मभित्र मिसको मनभित्रको उज्यालो धपक्क बल्यो। मैले मनमनै बाचा गरेँ, आजबाट म मेरो भाइलाई पनि मजस्तै सफा बनाउँछु।
मिस गोठमा जानुभयो। आमा गोबर सोहोर्दै हुनुहुन्थ्यो। कत्ति धेरै काम गर्नुहुन्छ है भाउजू, मिसले आमालाई भन्नुभयो। मिस भैँसीको छेउमा उभिनुभयो। यसले कति दुध दिन्छ भाउजू , मिसले आमालाई सोध्नुभयो।त्यसपछि गोठमै आमा र मिस कुरा गर्न थाल्नुभयो। आशा मिस चिया खानुहुन्न। मैले दुध तताएर दिएँ। उहाँले सहर्ष स्वीकार गर्नुभयो।खै के के कुरा भयो, आमा मतिर हेर्दै मुस्कुराउनु भयो। अनि मिसले मलाई आमाकै छेउमा बोलाएर कुरा गर्नुभयो।
थाहा छ भाउजू, तपाईँकी छोरीले कत्ति राम्रो चित्र बनाउँछिन्। मिसले यसो भनेपछि मख्ख परेर आमाले मतिर हेर्नुभयो। मेरो छाती खुसीले नाङ्लोजत्रो भयो, पहिलोपटक सगरमाथा चढेको तेन्जिङ शेर्पाजस्तो। कत्ति राम्रो मिस होला। मिसले मलाई सुम्सुम्याउनु भयो। थाहा छ, आजसम्म आमाले बाहेक कसैले मलाई यसरी सुम्सुम्याएको थिएन। वास्तवमा म अंग्रेजीमा फेल भएको थिएँ तर मिसले मेरो कमजोरी खोतल्नु भएन। मेरो शक्ति देखाइदिनु भयो। अब म अंग्रेजी सुधार्न धेरै मिहिनेत गर्नेछु।
बुबा खेतमा हलो जोत्दै हुनुहुन्थ्यो। मिस त्यतै जानुभयो र आलीको डिलमा बसेर बुबासँग कुरा गर्न थाल्नु भयो। बुबा बेला बेला मतिर हेर्दै मुस्कुराइरहनु भएको थियो। ८ बजिसकेको थियो। मिस पल्लो घरकी आमैलाई १(२ दिनमा भेट्न आउँछु है भन्दै जानुभयो।मलाई धेरै खुसी लाग्यो। मिस हरेक साथीको घर पुग्नुहुन्छ। मिठो मसिनो जे दिए पनि खुसी भएर खानुहुन्छ। पल्लो पहाडमा दोर्जेको मात्र घर छ। त्यहाँ जान एउटा खोला तर्नुपर्छ। २ घन्टा हिँड्नुपर्छ। मिस त्यहाँ पनि पुग्नुभयो।
९ बजेर ४० मिनेट जाँदा म स्कुल पुगेँ। मिस अगाडि नै पुगिसक्नु भएको थियो। मिस साना साना भाइबहिनीहरूसँग लुकामारी खेल्दै हुनुहुन्थ्यो। भाइबहिनीहरू घरि मिसको काखमा लुटपुटिन्थे, घरि मिसको हात समाउँथे। हामी कक्षा ८ मा साथीहरू त्यो रमाइलो मानेर हेरिरह्यौँ। मिसको यो व्यवहारबाट हामी पनि भाइबहिनीलाई माया गर्नुपर्छ भनेर सिक्छौँ। मिस केही बोल्नुहुन्न। गरेर देखाउनुहुन्छ। अचेल हामी पनि भाइबहिनीहरूलाई मिसले जस्तै खेलाउछौँ। मर्निङ एसेम्ब्लीको घन्टी लाग्यो। हामी लाइनमा उभियौँ। तातो घाम थियो। मिस पनि हामीसँगै घाममा उभिनु भयो। अनि हामीसँगै राष्ट्रगान गाउनुभयो।
***
कक्षा सुरु भयो। हँसिलो अनुहार लाउँदै मिस कक्षा भित्र पस्नुभयो। मिसले हामीलाई नमस्कार गर्नुभयो, हामीले मिसलाई नमस्कार गर्यौँ। मिसले हाम्रो हालखबर सोध्नुभयो। आज सुनितालाई रुघा लागेको रहेछ। मिसले सुनितालाई तातो पानी पिउन सल्लाह दिनुभयो। अनि गाउँमै पाउने बोझो ९सेदे० र तातो बेसार पानी खान सल्लाह दिनुभयो। सुरेशको घरमा आमा बिरामी हुनुहुँदो रहेछ। मिसले सुरेशलाई आवश्यक परेमा आमाको स्याहार गर्न घर जानसक्छौ भन्नुभयो।
मिसले हामीलाई आमाजस्तै माया गर्नुहुन्छ। हाम्रो पीडा बुझ्नुहुन्छ। हाम्रो खुसीमा मुस्कुराउनु हुन्छ। वास्तवमा मिस कक्षामा पस्नेबित्तिकै हामीभित्र अर्कै तरंग पैदा हुन्छ। मिसले तातो गर्मीमा चिसो बतास ल्याउनुहुन्छ। चिसो माघमा पारिलो घाम ल्याउनुहुन्छ। सबैभन्दा ठूलो कुरा हाम्रो कक्षामा लोकतन्त्र छ। हामी कक्षाको आचारसंहिता आफैँ बनाउँछौँ। स्कुल चलाउने संहिता हामी आफैँ बनाउँछौँ। हामी आफैँले चुनेको प्रतिनिधि भएको हाम्रो पनि संसद छ। आशा मिस हाम्रो शासक होइन, साथी हुनुभयो। सहजकर्ता हुनुभयो।
हाम्रो कक्षा हाम्रै परिश्रमले बनेको छ। कक्षाका भित्ताहरूमा हाम्रै कला कविता निबन्ध टाँसिएका छन्। त्यसैले कक्षाका भित्ताहरू आफ्नैजस्तो लाग्छ। आफ्नै घरजस्तो लाग्छ। हाम्रो कक्षाका भित्तामा मोहनदास करमचन्द गान्धी र कार्ल मार्क्स अँगालो हालेर बसेका छन्। बुद्ध, कृष्ण, क्राइस्ट, मुहम्मद र जैन हातमा हात समाएर बसेका छन्। हाम्रो कक्षा कोठामा तामाङ सेलोदेखि मिथिला चित्रकलासम्मको झल्को छ। वास्तवमा एउटा सानो देश हाम्रै कक्षा कोठामा छ।
मिस हामीसँगै ध्यान गर्नुहुन्छ। हामीसँगै पढ्नुहुन्छ। हामीसँगै लेख्नुहुन्छ। हामी डायरी लेख्छौँ, मिस पनि लेख्नुहुन्छ। कहिलेकाहिँ हामी आफ्नो डायरी कक्षामा सुनाउछौँ, मिस पनि सुनाउनुहुन्छ। मिस हाम्रै गाउँघरका उदाहरण ल्याउनुहुन्छ। कहिलेकाहिँ अरु देशका कथा सुनाउनुहुन्छ। हाम्रो गाउँमा राई जातिका २ साथीहरू छन्। आज हामी राई जातिबारे निबन्ध लेख्दैछौँ। त्यसबारे आजका स्रोतव्यक्ति अजय राई र बिमला राई हुन्। उनीहरूले आफ्नो जातिबारे हामीलाई सूचना दिन्छन्। हामी सबै जातजाति र धर्मबारे कुराकानी गर्छौं।
संविधान बन्दै छ। मिस हामीलाई संविधानबारे पनि छलफल गर्न लाउनुहुन्छ। २ दिन हामीले पनि हाम्रा सांसदहरूलाई सुझाव दियौँ। आशा मिस कहिले नाच्नुहुन्छ। मिस नाच्दा नाच्न मन पराउने साथीहरूलाई हौसला बढ्छ। मिस कहिले गीत गाउनुहुन्छ। मिसले गीत गाउँदा गीत गाउन मन पराउने साथीहरूको मनोबल बढ्छ। कक्षामा अरुसँग नखुलेको प्रशान्तले अस्ति मिसले गीत गाएपछि कस्तो मज्जासँग रामकृष्ण ढकालको गीत गायो। मिस कहिले कविता लेख्नुहुन्छ। कविता सुनाउँदा कविता मन पर्ने साथीहरूलाई हौसला मिल्छ। मिसले कक्षामा अभिनय गरेपछि समिताले कत्ति राम्रोसँग ‘फतौरी बुढी’ को नक्कल गरी।
टिफिनको बेला सुरज फुक्का चाउचाउ खाँदै थियो। मिस उसको छेउमा जानुभयो र भन्नुभयो, सधैँ यसरी चाउचाउ खानुहुन्न नि। यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ।मिसले मतिर देखाउँदै भन्नुभयो, सुन्तलीले जस्तै घरबाट मकै भुटेर ल्याउने र खाने है।
मिस कहिल्यै रिसाउनुहुन्न। कहिलेकाहिँ झुक्किएर रिसाए पनि पछाडि माफी माग्नुहुन्छ। मिसले कहिल्यै कुट्नुहुन्न। सधैँ माया गर्नुहुन्छ। वास्तवमा मिस मेरो आदर्श हो जोसँग म विश्वास गर्न सक्छु। मिस मेरो आमा हो, जोसँग रुँदै म काखमा लुटपुटिन सक्छु। मिस मेरो साथी हो, जोसँग म मनमा लागेका सबै कुरा पोख्न सक्छु। मिस मेरो दिदी हो, जोसँग म सहारा माग्न सक्छु। मिस मेरो लागि त्यो देउता हो जोसँग म झगडा पनि गर्न सक्छु। म कामना गर्छु, देशभरिका सबै साथीहरूले मजस्तै गुरुमा पाऊन्।