'बजरंगी भाइजान' हेर्न जाने कोही पनि नेता वा सांसद सिनेमा हलमा ढिलो गरेर पुग्दैनन्। उनीहरु ढसमस गदै आधा घण्टा अघि पुगेर नै सलमान खानको अभिनयको बारेमा आफ्ना आसेपासेसँग कुरा गर्छन् होला। तर तिनै मन्त्री र ठूला मान्छे जब कुनै कार्यक्रममा प्रमुख अतिथी भएर जान्छन्, तब आधा घण्टा ढिलो आउनु त अति सामान्य हुन्छ। कोहीकोही त खबरै नगरी आउँदैनन, मानौं उनीहरुलाई ‘सात खुन माफ’ छ। सिनेमा हेर्न समय निकाल्न सक्ने ठूला मान्छे, अनेक राजदुतावासमा बोलाएको समय भन्दा अघि नै पुगेर ढोकामा उभिरहने ठूला मान्छे (सांसद, मन्त्रीगण, व्यापारी) आदि त ढिलो आउने सवैधानिक अधिकार नै हो भन्ने विचार गर्छन्।
२ हप्ता अगाडी टि.भी. कार्यक्रम 'समकोण' कि निर्मला शर्माले बोलाएर हामी ७:३० बजे पुग्यौं, कार्यक्रम ८:३० बजे हुने भनेर। ३ जना भूतपूर्व प्रधानमन्त्रीसँगको छलफल थियो। झलनाथ खनाल ठीकै समयमा आउनु भयो। बाबुराम भट्टराई २० मिनेट ढिला आउनु भयो, घर टाढा भएकोले निँउ पारेर। शेरबहादुर देउवा त ढल्कँदैढल्कँदै ९:२५ मा आउनुभयो।
नेपालका नेतृ, साहित्यकार, सामाजसेवी र समाजमा नाम अनि सम्मान कमाएका ३० जना महिलाहरुको अगाडि ढिलो हुँदा शेर बहादुर देउवाले माफी पनि माग्नुभएन किनभने, 'शेर बहादुर देउवा ढिलो उठ्नु हुन्छ, ढिलो ढिलो गर्दै नास्ता खानुहुन्छ र जहाँ पनि ढिलै पुग्नुहुन्छ भन्ने सबैलाई थाहा छ, किन माफी माग्नुपर्यो र ?' भन्ने ठान्नुभयो होला। वा माफी भन्ने शब्द नेता, सांसद र मन्त्रीहरुले आफ्नो शब्दकोषबाट हटाई नै सकेका हुन्छन किन फेरि अरुको शब्दकोषबाट सापटी माग्नु भन्ने पनि पर्यो होला उहाँलाई। धन्य त्यो दिन हाम्रो दबावमा निर्मलाले देउवाजीलाई पर्खने जमर्को गरिनन्। ८:३० मा भनेको कार्यक्रम ८:४५ मा शुरु भयो।
बाबुराम भट्टराई त एकदम कुशल व्यवस्थापक हुन भन्ने लागेको थियो। व्यवस्थापनको एक पक्ष समयको ख्याल राख्नु पनि हो भन्ने मैले सिकेकी थिएँ। सायद सांसद र प्रधानमन्त्री भएपछि समयको याद नगरे पनि हुन्छ भन्ने लाग्यो होला उहाँहरु ढिला हुँदा। त्यहाँ उपस्थित भएका महिलाको समय नष्ट भयो भन्ने कुरा उहाँहरुलाई हेक्का रहने कुरा पनि भएन।
त्यस्तै गरी केहीदिन अघि बानेश्वरमा खाना र कानुनको बारेमा भएको कार्यक्रममा २:३० बजे बोलाइयो। स्वास्थ्य मन्त्री आउने भएपछि त खानाले जनस्वास्थ्यको बारेमा कति नराम्रो असर पर्छ भन्ने जानकारी दिएर नीति बनाउन मद्दत गर्न सकिने भएकाले जानु आवश्यक ठानेँ । म त्यहाँ पुग्दा त मन्त्रीज्यूको कुनै अत्तो पत्तो थिएन। उहाँ त ४ बजेमात्र आउने रे भन्ने त्यहाँ थाहा भयो। मलाई अत्यन्तै अपमानित भएको महसुस भयो। मन्त्रीज्यूको डेढ घण्टा चाहीँ समय, हाम्रो समयको चाहीँ केही महत्व नहुने भन्ने विचार गर्दै कार्यक्रम शुरु नहुँदै फर्किएँ।
यसरी बारम्बार भूतपूर्व मन्त्री र मन्त्रीहरुबाट अपमानित हुँदा पनि मैले आवाज उठाइनँ भने मैले पढेको, महिला र उपभोक्ता अधिकारको लागि आवाज उठाएको के काम लाग्यो र!
मुख्य अतिथी ठीक समयमा नआएर मान्छेलाई कुराउने र समय नष्ट हुने समस्याबाट सम्पूर्ण सर्वसाधरण नेपाली पिडित हुने भएकाले मैले सबैको दुःखलाई समेटेर लेखेको हूँ। समयमा नपुग्ने मन्त्री सांसदले आफू सारै व्यस्त भएको बाहना पार्छन् तर यसले उनीहरुको अति असंवेदनाशीलता र मूर्खता झल्किन्छ भन्ने कुरा थाहा पाउँदैनन्। यिनै मन्त्रीहरु विदेशमा जाँदा त फेरि ढिला गर्ने साहस गर्दैनन्। किनकी यसले गर्दा ती मन्त्रीहरुलाई सबैले हेयको दृष्ट्रिले हेर्छन् भन्ने त थाहा हुन्छ। नेपालबाट विदेश उड्ने क्रममा नेपालको एयरपोर्टमा ढिला गरि पुग्ने मन्त्री विदेशको एयरपोर्टमा त तीन घण्टा पहिला नै आइपुगेका हुन्छन्।
नेपालका मन्त्री र सांसदका अनुशासनहीन मस्तिष्कलाई ठीक पार्न र ढिला आउँदा पनि कान निमोठ्न नेपालीले नसक्न भएकाले यस्ता अबुझ भएका हुन्। जुनदिन सहभागीहरुले ढिला गरेर आउने मन्त्री र सांसदहरुलाई बहिष्कार गर्छन् त्यही दिनदेखि यस्ता मन्त्री तह लाग्छन्। मैले त शुरु गरिसकेकी छु बहिष्कार गर्न।
समकोणको कार्यक्रममा शेर बहादुर देउवाको कुरा सुन्न नचाहेर उहाँ बोल्नु अगाडी नै उठें।
ढिलो आएर उहाँले मेरो समय नष्ट गरेर अपमान गर्न हुने भए उहाँले बोलेको नसुनेर मैले के अपराध गरें? त्यसैगरी खगराज अधिकारी स्वास्थ्य मन्त्री भएर पनि ढिला गरेर आएपछि अरुको मानसिक र शारीरिक स्वास्थ्यमा के प्रभाव पर्छ भन्ने कुरा वास्ता गर्दैनन् म किन उनको वास्ता गरूँ?
जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ ,मन्त्रीहरु ढिला गरेर आएपछि ढिला यो लेख्ने मौका मिल्यो। पत्रिकामा यो छापिएपछि 'हो त बजरंगी भाइजान हेर्न जादा त हामी आधा घण्टा अघि पुगेका थियौं त्यसैले अब कार्यक्रममा पनि ढिला पुग्दैनौं’ भनी नेता/मन्त्रीहरुको विचार आउँछ कि?
समयमा कार्यक्रममा त पुग्न नसक्नले ले संबिधान समयमा ल्याउलान् त?