संविधानसभाको पहिलो निर्वाचन हुन केही दिन मात्र बाँकी थियो। देशमा आमुल परिवर्तनको संकेत देखिदै थियो, गणतन्त्रको सुगन्ध आउँदै थियो। सीमान्तकृत जाती, भाषा, धर्म, लिङ्ग र पिछडिएको क्षेत्रको उत्थान हुने दरिला संकेत देखिन थालेका थिए। जनतामा नयाँ आशाको सञ्चार भइरहेको थियो।
एक राजनैतिक पार्टीको विद्यार्थी संगठनको नेताको नाताले त्यो उत्साह ममा पनि थियो। परिवारको गास, बास र कपासको तत्काल गतिलो व्यवस्था त थिएन तर देशमा चाँडै गरिबका दिन आउँदै छन् भन्ने कुरामा म आशावादी थिएँ। त्यही आशा को आडमा भाषण गर्न थालिसकेको थिएँ। भाषणलाई तालीको जरुरत थियो । समावेशीता, संघीय गणतन्त्र र धनी गरिबबीचको पर्खाल भत्काउने पार्टीको दर्शनको बारे जोशिला भाषण गर्दा तालीको त मलाई खाँचो पर्थेन। तर मलाई नै थाहा थिएन कि गणतन्त्र आएपछि पिछडिएको वर्गले कसरी मुक्ति पाउँछ?
झापाका सीमान्त बस्तीहरु, जहाँ आर्थिक सामाजिक हिसाबले अत्यन्तै पिछडिएका सतार, मुसहर, किसान, मेचे जातिको बाहुल्यता छ ती टोलहरुमा हाम्रो घरदैलो कार्यक्रम चल्थ्यो। उनीहरुले मैले बोलेको भाषा राम्ररी बुझ्दैनथे। त्यसो त संघीयता, गणतन्त्र, सामाजिक न्याय र समावेशीकरणको बारेमा कति बुझेको थिएँ, आफंैलाई एकिन थिएन।
हामीले सपनामा बाँड्ने कल्पना गरेको राज्य कहिले र कस्तो बन्ने हो, त्यसको टुङ्गो थिएन। तर घरमा बुबा आमाको आङमा गतिलो लुगा नभएको, छाना चुहिने भएको र साँझ विहान दुई छाक खाना पु¥याउन धौधौ भएको कुरा वर्षांैदेखि मेरो नजरबाट छुप्न सकेको थिएन। गास, बास र कपासलाई प्राथमिकता दिँदादिँदै मेरो पढाई तपशिलमा परिसकेको थियो। पार्टी संगठनले पनि मेरो लागि तत्काल केही गर्न सक्ने अवस्था थिएन। बुबा आमाको बुढ्यौली उमेर, रोगी शरीर र मेरो उच्च शिक्षाको लागि तत्काल केही व्यवस्था गर्नु मेरो चुनौती थियो। बाहिर आदर्शका कुरा गरेपनि भित्रभित्रै व्यवहारमा म फसिसकेको थिएँ।
देशमा ती चुनौतीबाट उम्कने कुनै विकल्प नदेखेर म वैदेशिक रोजगारमा जाने निर्णयमा पुगिसकेको थिएँ। संयोग पनि त्यस्तै भयो देशको आमूल परिवर्तन गर्ने ठानिएको संविधानसभाको चुनाव (२०६४ चैत्र २८) मा मतदान सूरु हुनुभन्दा ३ घण्टा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल एयरलाइन्सको विमानबाट क्वालालम्पुर पुगिसकेको थिएँ।
देशमा ऐतिहासिक संविधानसभाको निर्वाचनमा मतदान भइरहँदा म क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कुनै बन्द कोठामा थुनिएर बस्न बाध्य भएको तितो यथार्थ हिजै जस्तो लाग्छ। अछामका एक जना साथी थिए। २०६४ चैत्र २८ गते दिनभर हामी एयरपोर्टमा नै बस्यौं। यहीँबाट हाम्रो दुःखका दिन सुरु भए, पिउने पानी थिएन, साथमा पैसा थिएन, बाहिर जाने अनुमति थिएन, हातमा केवल हरियो पासपोर्ट थियो। साँझ अबेर कम्पनी प्रतिनिधि आएर हामीलाई काम गर्ने कम्पनीसम्म पुर्यायो र कम्पनीको बोससँग चिनजान गरायो।
‘नमस्ते सर’ भनें, निहुरी परें, हात जोडें, न त त्यसले नमस्ते फर्कायो न मेरो शब्दको अर्थ नै बुझ्यो। म्यानपावर एजेन्टले बाँडेका सपना मनमा खेलाउँदै सुतियो तर रातभर निन्द्रा लागेन। एजेन्टले भने अनुसारको काम, तलब सुविधा होला कि नहोला भन्ने कुराले पिरोलिरह्यो। ‘अफिस एसिस्टेन्ट’ भनिएको थियो, त्यहि कामको कल्पना गरेँ, अफिस भित्रैको काम गरेर मासिक ४० हजार रुपैयाँ कमाउने सपना थियो मेरो। त्यो बेला रु. ७० हजार तिरेर मलेसिया उड्न सकिन्थ्यो तर कम्पनी धेरै राम्रो हो भनेर नजिकका एजेन्टको कुरा मान्दै मैले ८५ हजार रुपैयाँ ऋण गरेर सो रकम म्यानवापर कम्पनीलाई बुझाएर म त्यहाँ पुगेको थिएँ। प्लस टु पास गरेकै थिएँ, सामान्य अंग्रेजी बोल्न र कम्प्यूटर चलाउन मलाई समस्या थिएन। यसरी म ढुक्क थिएँ ‘अफिस एसिस्टेन्ट‘को काम गर्न सक्छु भनेर।
भोलिपल्ट बिहानै कम्पनीको मालिक र मेनेजर हाम्रो कोठामा आए। ठुलो हल भित्र १२ जना म्यानमारका ३ इन्डोनेसियाका र हामी २ नेपालीसहित १७ जना भूईंमा छरपस्ट सुतेका थियौं। मेनेजरले हाम्रो कार्यस्थल देखायो। त्यो कोकाकोलाको गोदामघर थियो। दैनिक पचासांै ट्रक सामान क्वालालम्पुरका हरेक होटल र पसलहरुमा सप्लाई गरिँदोरहेछ। पहिलो दिन मेनेजरले मेरो हातमा कुचो खरेटो थमायो। गोदाम परिसर सफा गर्न संकेत ग¥यो। भर्खर मात्र राष्ट्रियता र स्वाधिनताको आदर्श भाषण गर्न बानी परेको म अर्काको देशमा गएर कहिल्यै नगरेको काम गर्नु परेको थियो। जाँगर चलेको थिएन। त्यस माथि प्लस टु पास गरेको दम्भपनि थियो। साधारण लेखपढ मात्र गरेको जस्तो लाग्ने चाइनिज मुलको मेनेजर ‘मिस्टर हो लाई पेङ’ ले मलाई काम अह्राउदा मन खिन्न भो।
म मनमनै रोएँ, मन थाम्न नसकेर कराएँ। तर मेरोसामु कुचो समाएर बढार्नुको विकल्प थिएन। किनकि म बेचिइसकेको थिएँ। आफैंलाई चिथोर्दै काम गर्न बाध्य भएँ।
अर्को दिनबाट मेरो काम फेरियो। ट्रकमा सामान लोड गर्ने, त्यही ट्रकमा चढेर क्वालालम्पुरको हरेक पसल र होटलमा सामान अनलोड गर्न जानु मेरो दैनिकी बन्यो। म्यानपावरमा बारम्बार सम्पर्क गरेँ, ‘अफिस एसिस्टेन्ट‘ भनिएको काम साह्रै गाह्रो भएको गुनासो गरेँ। तर उसले कुनै चासो दिएन, उसले आफ्नो अभिष्ठ पुरा गरिसकेको थियो।
भर्खर १८ वर्ष पुगेको मेरो कलिलो शरीर दैनिक ४–५ ट्रक सामान एक्लै लोड अनलोड गर्ने सह–चालक भई काम गर्नु पर्ने हुनाले अत्यन्तै लत्रक्क गल्थ्यो। बुबाआमाको माया र देशको राजनैतिक परिवर्तन, आशा, अपेक्षा सबै सम्झनाले आँशुको बाढी ल्याउँथ्यो। तर म घर फर्किहाल्न सक्ने अवस्थामा थिएन किनकी मैले एक लाख रुपैयाँभन्दा बढी ऋण बोकिसकेको थिएँ। त्यो ऋण जसरी भए पनि मैले तिर्नु थियो।
बिहान ६ बजे उठेर खाना बनाउनु पर्ने, टिफिनमा खाना राखेर काम गर्न जानु पर्ने, चिसो खाना, ४० डिग्री सेल्सियसको गर्मीमा कति बेला कहाँ पुगेर खाने टुङ्गो हुदैनँथ्यो। पसिनाले शरीर निथु्रक्क भिजेको हुन्थ्यो, कति बेला पानी पर्छ टुङ्गो हँुदैनथ्यो। घामपानी केही नभनी काम गरिन्थ्यो। शरीरले धान्न सक्नेभन्दा धेरै श्रम गर्नु पर्थ्यो। ‘मर्नु भन्दा बहुलाउनु जाती’ भनेझंै ऋण बोकेर नेपाल फर्कनुभन्दा कम्पनीबाट भागेर अन्तै काम गर्न ठिक हो कि जस्तो पनि लाग्थ्यो। फेरि गैर कानुनी रुपमा काम गरेर भोलि प्रहरी फन्दामा पर्नु भन्दा जे छ त्यसैलाई स्विकार्नु अन्तिम विकल्प ठानेँ।
थुप्रै पसल तथा होटलमा नेपाली कामदार देखिन्थे– क्यासियर, सुपरभाइजर, मेनेजरसम्मका काम गरि राम्रै पैसा कमाउने थुप्रै नेपाली देख्दा मलाई इष्र्या लाग्थ्यो। अझ ‘कोताराया’ बजार क्षेत्रमा थुप्रै नेपालीका होटल तथा पसल छन्। म त्यहाँ चिसो पेय पदार्थ अनलोड गर्न पुग्थें। पसिनाले निथ्रुक्क भिजेर भारी बोकेर त्यहाँ पुग्दा नेपालीहरुसँग ‘म पनि नेपाली हुँ’ भन्ने आँट आउँदैनथ्यो। म उनीहरुसँग अंग्रेजीमा कुराकानी गर्थें, कतिले त मलाई देख्नेबित्तिकै नेपाली ठानेर नेपाली भाषामा नै बोलाउथे तर म नबुझेको नाटक गर्थें।
निन्याउरो अनुहार, पसिनाले निथु्रक्क भिजेर थरथर काम्दै भारी बोकेर आएको मान्छे नेपाली नै हो भनेर उनीहरुलाई किन थाहा दिने? जस्तो लाग्थ्यो। दिनहरु बित्दै गए तर दुःखका दिन बितेनन्, ज्यानै जोखिममा राखेर काम गर्नु पर्ने, कम्पनीमा भएको एक जना नेपाली साथीसँग पनि रातमा मात्र भेट हुने, सुख दुःख साटासाट गर्ने साथी समेत भएन। यति गरेर काम गर्दा समेत मासिक दश हजार रुपैयाँ कमाउन धौधौ हुन्थ्यो। घरमा बुबाआमालाई सुख दिने, घर बनाउने फर्केर पढाइलाई निरन्तरता दिने र सुखी जीवन जिउने सपना अन्यौलमा परेका थिए।
साँझ बिहान र बिदाको दिन हाट बजार र बाटोमा समेत असुरक्षित लाग्थ्यो। कैंयौ पटक विदेशी श्रमिकहरु, विशेष गरि नेपालीहरु लुटिएका, मारिएका घटनाहरु देखिन्थ्यो, भोगिन्थ्यो। सरदर हप्तामा ३–४ जना नेपाली श्रमिकको विभिन्न कारणले मृत्यु भइरहेको तितो यथार्थ हामी माझ छँदै थियो। अझ त्यहाँ बस्दा हामी कम्पनीबाटै शोसित थियौं, काम नगरी लुटेर खाने ‘ट्यापे मुन्द्रे’ हरु प्रशस्तै थिए, उनीहरुबाट जोगिनु पथ्र्यो। प्रहरीबाट समेत हामी पीडित थियौं। एक पटक घरमा पैसा पठाउनको लागि मनि ट्रान्सफरतर्फ जाँदा पैसा त हामीले जुत्ताभित्र लुकाएका थियौं तर गाडी भाडा तिर्नको लागि पर्समा राखिएको १० रिङगिट समेत आफूलाई प्रहरी बताउने अपरिचितले लुटे। पेनाङमा मध्यरातमा म लुटिन लाग्दा सिन्धुलीका मानबहादुर श्रेष्ठले बचाएको अहिले पनि सम्झन्छु।
विविध दर्दनाक भोगाइबाट पाठ सिक्दै साढे २ वर्षको मलेसिया बसाईपछि म स्वदेश फर्किएँ। अधुरो रहेको उच्च शिक्षाको सपना पुरा गरें। भाग्यले साथ दियो वा मेरो मिहनेत र भाग्यको संयोगले लोकसेवा आयोगको परीक्षा उत्तिर्ण गरें। सरकारी सेवामा प्रवेश गरेपछि हिजो देखेका समाज सेवाको सपनाको सानो हिस्सा पुरा भएझैं लाग्छ।
त्यो नारकिय वैदेशिक रोजगारीको दर्दनाक परिस्थितिबाट म त बचें तर म यकिनका साथ भन्न सक्छु हिजो म जुन अवस्थामा गुज्रिरहेको थिएँ ठ्याक्कै त्यस्तै अवस्थामा कैयौं नेपालीहरु त्यहाँ छन्। जसको देशमा हामी कठिन र जोखिमपुर्ण काम गरेर ज्यानकै बाजी राखेर २–४ पैसा कमाउन जान्छौं, उनीहरुबाटै हामी असुरक्षित छौं, लुटिन्छौं।
विश्वास गरिएकाहरुबाटै ठगिन्छौ। ठगीको सुरुवात मेनपावर व्यवसायीबाट सुरु हुन्छ। पछि कम्पनी र त्यहाँका खराब मानसिकताबाट ग्रसित अनेकन् मान्छेहरुले ठग्छन्। अचेल फ्री भिसा फ्री टिकट बारे सरकारको निर्णय र व्यवसायीहरुको आन्दोलनको समाचारले म पुराना दिनहरु सम्झन्छु।
देशमा दुई पटक संविधान सभाको निर्वाचन भयो। तर बेरोजगार र निमुखा युवाले भौतारिन रोकिएन। गणतन्त्र आयो, तर मैले भाषण गरेको जस्तो आर्थिक सामाजिक परिवर्तन भएन। म जस्ता कैंयौ युवा अहिले पनि त्यसैगरी क्वाललाम्पुरमा लोड र अनलोड गरेर आर्थिक सम्वृद्धिको सपना देखिरहेका छन्।