मेरो ईमेल र फेसबुकमा समय, समयमा यतिवटा इमेल पठाऊ वा सेयर गर तिम्रो मनोकामना पुरा हुनेछ भनेर पोष्ट आउँछ। मसँग भइरहेको कुरा पनि गुम्ने हो कि भन्ने डरले भनौ या अझै केही पाउँछु कि भन्ने म भित्रको एक किसिमको लोभले यस्ता पोष्टहरु फेसबुकमा मैले पनि शेयर गरेकी छु। कहिलेकाहि कतिपय साथीहरूलाई ईमेल पनि गरेकी छु। मान्छेको विश्वास भनेको अचम्मको कुरा हुँदोरहेछ। जस्तोसुकै प्रमाण पेश गरेपनि चाहे त्यो सत्य होस् वा असत्य मान्छेलाई आफ्नो विश्वासबाट हलचल गराउनु गाह्रो हुँदो रहेछ।
मानव जीवनको विभिन्न पक्षमा नकरात्मक प्रभाव पार्ने रीति तथा सस्कारलाई कुसंस्कार भनिन्छ। सबैलाई सर्बविदितै छ यतिबेला हामीले हाम्रा मिडियाहरूमा प्राथमिकताका साथमा प्रकाशित भइरहेको घोर अन्धविश्वासबाट उब्जिएको चरम अत्याचारको घटना पढिरहेका छौ। जनावरका जीवन रक्षाका बारेमा वकालत भइरहेको बेलामा, जनावरको बाच्न पाउने अधिकारका बारेमा चर्चा भइरहँदा, हामीकहाँ, कस्तो विड्म्वना अर्धजङ्गली समाजमा रहेको अन्धविश्वासको नाच नरवलीलाई हाम्रै नाङ्गो आँखाले हेरीरहेका छौ।
यो घटनाले मलाई लाग्छ एउटा व्यक्ति मात्र होइन, कोदाइ हरीजनको परिवार मात्र होइन, त्यो नवलपरासीको एउटा समुदाय मात्र होइन सिङ्गो राष्ट्र नै त्रसित र भयवित हुन पुगेको छ। हामी चाहन्छौं यस्तो घटना अब कहिल्यै पनि नदोरियोस्। एकाइसौ शताब्दीमा विज्ञानको चरम उन्नती र प्रगति भइरहेको अवस्थामा धामी झाक्री र डाइनाको युग किन समाप्त हुन सकेको छैन?
मेरो मानसपटलमा यतिवेला गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा रोल नं. १३ खालि राखिने कुराको याद आइरहेको छ । किन रोल नं १३ खाली राख्ने गरेको होला? भनेर मेरो मनमा निकै पछिसम्म पनि जिज्ञासा रहिरहेको थियो। पछि मात्र थाहा पाए कि नाग रिसाएर उक्त रोल नं हुने विद्यार्थीको मृत्यु भएको हुनाले उत्त रोल नं मा कसैको नाम लेखाउने चलन रहेनछ। सायद मलाई लाग्छ यो चलन आजसम्ममा पनि यथावत नै छ होला।
अविकसीत देश अशिक्षित समाज अनि खास गरी गाउँले परीवेश अन्धविश्वासको रुग्न मानसिकताले पिसल्लिएको छ भने तापनि शिक्षित समाज र विकसित देशका जनता पनि कुनै न कुनै रूपमा अन्धविश्वासको जालोमा घेरीएका छन्। सवाल धेरै वा थोरै के कति भन्ने मात्र हुँदोरहेछ।
आधुनिक सभ्य र शिक्षित समाजले अन्धविश्वासलाई किन तोड्न सक्दैन। भित्र भित्र जरा गाडेर बसेको अन्धविश्वासमाथिको विश्वासलाई च्यालेन्ज गर्ने साहस बटुल्न किन यस्तो गाह्रो छ हामीलाई।
हामीकहाँ थुप्रै गैह्र सरकारी संस्थाहरू च्याउ उम्रिए जस्तै उम्रिएका छन्। उनीहरूका उद्देश्यलाई यसो मध्यनजर गर्ने हो भने संस्थाको उद्धेश्यमा प्राथमिकताका साथ सामाजिक कुरीति, अन्धविश्वासलाई हटाउँदै ,शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भन्ने कुरालाइ समावेश गरेका हुन्छन् नै । शब्द शब्दमा सजाएर राख्दैमा केहि हुदैन ।कुरीति र कुसंस्कार हटाउनका लागि सबै सरोकार पक्षले जिम्मेवार र उत्तरदायित्व वहन गर्नु आवश्यक छ । जागरुक जनता धामी, झाक्रि ,बोक्सी, डाइना र नवलपरासीमा घटेको नरवलीजस्तो अमानविय घृणित अपराधबाट पूर्ण रुपमा मुत्त दिलाउने अभियानमा काधमा काध र हातमा हात मिलाएर चेतनाको विगुल फुक्नै पर्छ ।अन्यथा जुन देशका जनता अन्धविशवासरुपि छालमा आधुनिकताको घुम्टो ओढेर रुढिवादी संस्कारलाइ प्रश्चय दिन तर्फ उन्मुख रहिरहन्छन् भने त्यस देशका जनातले रोग, भोक, अन्याय, अशिक्षा र गरिबीवाट कहिले मुत्ति पाउलान् ? यो प्रश्न सदैव खडा हुनेछ ।
हाम्रो समाजमा व्याप्त घोर अन्धविश्वास अनि कुरीति संस्कृतिबाट सृजित अपराध निराकरणको लागि छुट्टै कानूनी व्यवस्थाको आवश्यक छ, संविधान र ऐनको दायरामा यसलाई ल्याउनैपर्छ। अन्यथा विजय हरीजनजस्ता अवोध बालकलाई घाँटी रेटेर बली दिँदै गर्दा एउटी असहाय ,वृद्ध र एकल महिलालाई बोक्सीको आरोपमा मल मुत्र खुवाएर गाउँ निकाला गर्दै गर्दा धामी झाक्रीको पगरी गुथेर बसेका नवलपरासीका पुजारी गंगा हरीजन जस्ता कैयौ व्यत्तिले भने चिकित्सकको मान्यता सहित स्यावासी र बकस पाउने क्रम जारी रहने छ।