‘अरुण तरेर नाना तमोर तरेर आयौँ हामी वीरताको गाथाकोरेर,
खै हाम्रो लाल सेना, तिमी झन् आगो बन्नू...’
यी गीतमा एकजना बहिनी नाँचेको देखेपछि माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवको गहभरी आँशु छचल्कीयो र बग्यो। हलमा उपस्थितकार्यकर्ताहरूले पनि उकालो मुन्टो लगाउन सकेनन्।
एक अनौपचारीक संवादमा मैले विप्लवजीलाई सोधेँ,‘अघि किन आँशु खसाले जस्तै गर्नुभयो?'
‘यति ठूलो वीरताको गाथाकोरेर आयौँ हामी माओवादीहरू। तर, अहिले शासकहरूले हामीलाई अपराधि सावित गराउन खोज्दैछन्। यति ठूलो राजनीतिक परिवर्तनको ‘स्टेक-होल्डर’ हामी तर अहिले हामीलाई चोर जस्तो बनाईएको छ। कता-कता नमीठो अनुभूति हुन्छ,’ ओठ च्याप्प च्यापेर उहाँले आफूहरू अपहेलित हुनुपरेको तर्क राख्नुभयो।
‘उता नेपालमा प्रचण्डजीमाथि त ढुंगामुढा चलेको रहेछ, लौ तपाईँलाई चाहिँ फूलको थुङ्गासहित स्वागत गर्दछु,’ रूकुमका हेमन्त पुन मगरले हात मिलाएपछि उदास विप्लवको अनुहारमा चमक आयो। उहाँ फिस्स हाँस्नुभयो अनि झुकेका सबैको मुन्टोहरू उठ्यो।
केहिबेर कार्यक्रम हल रूदाँरूदै हाँस्यो, हाँस्दा हाँस्दै रोयो। मानौँ विप्लव माओवादीका लागि यतिबेला यो अरब रोल्पा रूकुमको कुनै गाँउ जस्तो देखिन्थ्यो। युवाहरू उस्तै दुःखित थिए, उस्तै थकित थिए।
हेमन्तले फेरि कुरा थपे,‘हाम्रो बडाउहरूले पनि के-के गर्नुभयो के-के सपना जस्तो। प्रचण्ड र बाबुरामजी त पुरै एमालेको एजेण्डा बोकेर दौडिरहनु भएको छ। तर,हामी माओवादी हौँ भन्न चाहिँ छाड्नु भएको छैन। यहाँ हामीलाई कस्तो लाज हुन्छ। तपाईँले अरबमा आएर हामी जस्ता इमान्दार कार्यकर्तासँग भेट गर्नुभयो र आफ्नो नाक जोगाउनुभयो।’
हेमन्तको आडैमा बसेर छलफल सुनिरहेकी म्याग्दीकी पूर्वलडाकु संगीता विश्वकर्माले पनि सकी नसकी मुख खोलीन्,‘विप्लव कमरेडलाई एकपल्ट भेट्छु नै भनेर ३ घण्टा लामो बस यात्रा गरेर यहाँ आएको हुँ। अहिले म मासिक २० हजार कमाउन पार्टी, राजनीति, परीवार र साथी भाइदेखि टाढा छु किनभने अस्थायी लडाकु शिविरमा रहेका लडाकुहरूको नाममा सरकारले छुट्याएको करिब ३० अर्ब रूपियाँ सीमित नेताहरूले बाँडेर खाए। मेरो उर्जाशील जीवनको ८ वर्षलाई त त्यसै पनि खाए। हाम्रो त्याग, तपस्या र बलिदान प्रचण्ड र बाबुरामलाई पालैपालो प्रधानमन्त्री बनाउने र आफू चाहिँ परदेशमा जुठो भाँडा माझ्नको लागि थिएन। यदि विप्लव कमरेडले पार्टीकै भ्रष्टहरूलाई कारबाही गर्न हो भने म त जे पनि मान्न तयार छु।’
यही ७ गते शुक्रबार। युएईको दुवईस्थित बुरजुमान मेट्रो स्टेशनको वरीपरी नेपाली युवा युवतीहरूको भीड थियो। यो भीडभाडहरू तत्कालीन समय सल्यानको कुनै गाउँमा हुने जनसभामा सहभागी हुन जान लागेका माओवादी कार्यकर्ताहरूको ताँतीभन्दा फरक देखिन्थेन।
यो भीडभाडमा घाइतेहरू थिए। शहीद परिवारहरू थिए। फौजदारी मुद्दा लागेर गाँउमा जान नसकी विदेश हिँडेका तत्कालीन माओवादीका ‘होल्ड टाइमर’हरू थिए। शिविरबाट निकालिएका लडाकुहरू थिए।
कमरेड, कार्यकर्ता र कामदार। नक्कली कम्युनिस्टहरूको नयाँ बाटो जस्तो भयो। ‘युज एण्ड थ्रो’को योभन्दा राम्रो उदाहरण अन्त कतै देख्न पाइँदैन जसरी युएईको बुरूजमान मेट्रो स्टेशनको वरीपरी देखियो। अरब पस्ने र माओवादी नेताहरूलाई धिक्कार्ने लाखौँ छन्। जनयुद्वको योभन्दा ठूलो प्राप्ति अरु केहि पनि हुन सकेन यद्यपि कतारको लामो बसाईपछि युएई आउनु भएका नेतासँग भेटघाट गर्ने चाहनाले युएईका बिभिन्न स्टेटबाट आएका नेपाली कामदारहरू उत्साहित देखिन्थे।
‘उ बेला प्रचण्डहरूको कामदार, अहिले मालिकहरूको कामदार। कामदार त सधैं कामदार नै हुदोँरहेछ। तर, हामीलाई विश्वास थिएन। हामीले विश्वास गरेको मालिकबाट हाम्रो श्रम लुट होला भनेर‘ खारा लडाईँमा घाइते भएकी संगीता लामाले पनि गहभरी आँशु देखाईन्।
हातमा र घुडाँमा चोट छ, त्यही पनि १२ घण्टा काम गर्नुपरेको छ। आज शुक्रबार, बिदा थियो। विप्लव कमरेडको कुरा के रहेछ सुनौ भनेर आएकी’, संगीताले पार्टीको माया गाढा रहेको कुरा सुनाईन्।
अब यो लेखेको मुख्य सन्दर्भको बारेमा चर्चा गर्छु।
‘अरुण तरेर नाना तमोर तरेर आयौ हामी वीरताको गाथा कोरेर…’ जस्ता गीतहरूले चरा खस्ने गर्मीको ताप झनै बढाएको थियो। युवाहरू हल भरी खचाखच थिए।यतिसम्मकी हल भित्र बस्ने ठाउँ नपुगेर कतिपयले झ्याल बाहिरको प्वालबाट हेरीरहेका थिए। सम्भवतः युएईमा भएका नेपालीहरूको कार्यक्रम मध्ये यो कार्यक्रम नै सबैभन्दा ठूलो कार्यक्रम होला। तर, बाहिर प्रचार चाहिँ गलत पनि भयो।
कार्यक्रम ठूलो यस अर्थमा कि यो कार्यक्रममा केवल माओवादी कार्यकर्ताहरू मात्रै उपस्थित भएका थिएनन्। अन्य राजनीतिक दलका संगठनहरूलाई पनि निम्ता रहेछ। उनीहरू पनि उपस्थित थिए।
लामो समयदेखि पार्टीसँग सम्पर्क टुटेकाहरू वा बाध्यताले टाढा भएकाहरूलाई पनि यो दिन रमाइलो बन्यो। र बरजुमान मेट्रो स्टेशन साँच्चै रोल्पा रूकुम जस्तै देखियो। तर नेत्र विक्रम चन्द विप्लव पछिल्लो केहि साता कतार र युएईमा बसेका कारण यो अरब रोल्पा रूकुम जस्तो देखिएको चाहिँ होइन। धेरैलाई जानकारी नभएको कुरा यो हो कि लामो समयदेखि विप्लव माओवादीको दोस्रो र तेस्रो तहका नेताहरू अरबका विभिन्न देशहरूमा युवाहरूसँग छलफल गर्न व्यस्त छन्।
खास गरी माओवादीको मुख्य युवा शक्ति नेपालमा नरहेको नेताहरूको ठहर छ। युवा शक्ति मात्र होइन खटेर काम गर्न सक्ने आफ्ना पुराना कार्यकर्ताहरू पनि नेपालमा छैनन्।
यो वा त्यो बाहनामा उनीहरूलाई नेपाल बस्ने वातावरण बन्न सकेन। नेपालमा बसेपनि उनीहरूलाई आत्मसम्मान हुन सकेन, आफैंले परिवर्तन गरेको सामाजले आफैंलाई अपराधिजस्तो देख्न थालेपछि बसिरहने कुरा पनि भएन।
नेताहरूले पार्टी फुटाउँदै जाने र बोली, व्यवहार फेर्दै जाने यो कुनैपनि इमान्दार क्रान्तिकारीहरूका लागि सहेर बसिरहने चरित्र होइन। कान्छा माओवादी विप्लव माओवादीले अघि सारेको एकीकृत क्रान्तिको बारेमा अहिले अरबका विभिन्न देशमा रहेका नेपाली कामदारहरू सँग छलफल चलिरहेको छ। र विप्लव माओवादीले पूजिँवाद होइन सामाजवादमा नपुगेसम्म गरिब तथा सर्वहारा वर्गको मुक्ति नहुने कुरा युवाहरूलाई बुझाउँदै हिँडेको देखिन्छ।
नेकपा माओवादीले चीन र भारतबीच भएको लिपुलेक सम्झौता फिर्ताको बारेमा नेपाल बन्द गर्यो। तर, नेता विप्लव चाहीँ सोही दिन युएईमा रहेका युवाहरूसँग गम्भीर छलफल गर्दै हुनुहुन्थ्यो। नेपाल बन्द बारेमा राजनीतिक सवाल त सम्बन्धित पार्टीसँग नै जोडिएको होला। तर, विप्लव माओवादीले अरब डौडाहा गर्नुका केहि महत्त्वपूर्ण कारण मध्य ६ कारणहरूलाई बुदाँगत रूपमा पेश गर्छु।
१- विकेन्द्रीकृत शक्तिको केन्द्रीकरण
जसले जे तर्क गरेपछि विप्लव माओवादीको अन्तिम गन्तवय भनेको जनक्रान्ति नै हो। उनको योजना सफल हुने वा नहुने कुरा अन्तर्राष्ट्रिय परीस्थिति र घरेलु वातावरणले मात्र ठोस गर्दैन। तयारी बिना एउटा दोकान त राम्रो सँग चल्दैन भने यो त क्रान्तिको कुरा भयो। त्यसैले ठोस गर्ने भनेको तयारी नै हो। त्यसैले यतीखेर विप्लव माओवादी यतिखेर आफ्नो विकेन्द्रीकृत शक्तिलाई केन्द्रीकरण गर्ने अभियानमा छ यद्यपि यस्तो काम चूनौतीपूर्ण देखिन्छ।
आफ्नो ठूलो शक्ति अरबका विभिन्न देशहरूमा कामदारको रुपमा रहेको तथा उनीहरूसँग गम्भीर छलफल चलाउनु अनिवार्यरहेको किटान विप्लव माओवादीको हो। शान्ति प्रकृया यता सबैभन्दा धेरै विदेश पलायन हुनेहरूमा माओवादी कार्यकर्ताहरू नै छन् र उनीहरू पार्टी र नेता प्रति खुसी छैनन्। तर यो बेखुसी शक्ति नै हिजो युद्वमा होमिएको शक्ति थियो जसलाई विप्लव र उनी निकटका नेताहरूले अरबमा घर दैलो कार्यक्रम चलाईरहेका छन्।
२-चेन अफ कमाण्डको प्रारूप र प्रयोग
शान्ति प्रकृयापछि माओवादी पार्टी छाडा भेडा बाख्रा जस्तै भयो जसले जे बोलेपनि, गरेपनि, भनेपनि कतै अनुशासनको नियम नलाग्ने जस्तो भयो। पार्टीको प्रवक्ता त नेताका छोराछोरीहरूले चलाउने फेसबुक भयो।
नेताहरूले बहुविवाह गर्ने कुरा फेशन जस्तै भयो त्यसैले अब ‘चेन अफ कमाण्ड’ को पुन विकास गर्ने र आफ्ना होनाहार कार्यकर्ताहरूलाई संगठीत गर्दै जाने कुरा मुख्य हो। प्रतिशतको हिसावले नेपालमा होनाहार कार्यकर्ताहरू धेर छैनन्। अधिकांश अरब मै छन्। त्यसैले विप्लव माओवादी लागि अरब पार्टी पुनःनिर्माणको मुख्य थलो बन्नु अस्वभाविक होइन।
पार्टीको वैचारिक लाईनलाई नेपालको पहाडहरूमा मात्र होइन मरूभूमीहरूमा पनि हर्ष उल्लाहसका साथ व्यापक रूपमा अगाडि बढाउँदै जाने र आफ्नो मुख्य शक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चुस्त राख्न विप्लव माओवादी अगाडि देखिन्छ। क्रान्तिको मनस्थितिमा ‘स्टाण्ड-बाई’ रहने काम सजिलो छैन। तर, माओवादीले वार्ता, संवाद र आन्दोलनलाई पनि सँग सँगै अगाडि बढाई रहने हुँदा यो मनस्थिति कहिल्यै ‘हाई-अलर्ट’ नहुने विप्लव माओवादीका नेताहरू बताउँछन्।
३-निर्माण प्रवासमा, प्रयोग नेपालमा
माओवादी भन्ने वित्तीकै मानिसहरूलाई रोल्पा रूकुम तीर मात्र ध्यान जानेगर्छ। उही फेरि मागेर खाने होलान्, गाँउमा भाषण गर्दै हीड्ने होलान् भन्ने कल्पना पनि हुन सक्छ। तर, विप्लव माओवादीको एकीकृत क्रान्तिको नयाँ मोडलले यो कुरालाई ठाडै अस्वीकार गरेको देखिन्छ।
गाँउदेखि शहर मात्र होइन शहरदेखि प्रवाससम्म यो एकीकृत क्रान्तिलाई विस्तार गर्दै अगाडि बढाउने कुरामा विप्लव माओवादी प्रस्ट देखिन्छ। हिजो शासकहरू गाँउका मानिसहरूलाई आतंकीत गराउँथे, अब त्यो चाहेर पनि सम्भव हुँदैन।
नेपालका हरेक आन्दोलनमा प्रवासी नेपालीहरूको महत्त्वपूर्ण भूमीका छ। चाहे त्यो बीपी कोइरालाको भारत प्रवास छँदाको अवस्था होस् वा बिभिन्न प्रजातान्त्रिक लडाईहरूमा। यो सामाजबादको लडाई वा जनवादको लडाईँ पनि प्रवासीहरूको सहयोगको बिना सम्भव देखिदैन। यस्तो जुझारू शक्तिको निर्माण नेपालले मात्र थेग्न सक्दैन। त्यसैले माओवादी आन्दोलनलाई सफल रूपमा अगाडि बढाउन विश्वभर रहेका नेपालीसँग र खास गरी सम्पर्क छुटेको आफ्ना पुराना कार्यकर्तासँग विप्लव माओवादी नजिक रहने अभियानमा रहेको देखिन्छ।
४- अयोग्यलाई योग्य बनाएर देखाई दिने
माओवादीहरूले आफू पूर्वमाओवादी भएकोमा कहिल्यै गर्व गर्न सक्ने वातावरण बनेन। अझ पूर्वलडाकुहरूले त आफ्नो परिचय नै लुकाउनु पर्ने अवस्था आयो। पार्टीले उपेक्षा गर्यो र शिविरबाट जबर्जस्ती निकालेर घर पठायो, सरकारले दिएको रकम पनि क्रान्ति गर्ने भनेर पार्टीको नेताहरूले बाँडेर खाए। त्यसैले यतीखेर अयोग्य भनीएका लडाकुहरू कडा डिप्रेशनमा फसेका छन्। यस्तो अवस्था अवश्य पनि सामान्य होइन। यो घाउको उपचार सामान्य राजनीतिक कदमबाट हुनै सक्दैन। तर, बदलाको भावनाबाट राजनीति चल्दैन। यो त फोहोरी हुन्छ। यद्यपि हजारौँ पूर्व लडाकुहरूमा बदलाको भावना उत्पन्न भएको पाइन्छ। खासगरी आफू राजनीतिक रूपमा योग्य हुँदाहुँदै पनि वा राजनीतिक सेनालाई पनि उनीहरूको योगदानलाई लज्जास्पद ढङ्गबाट जसरी बिसर्जन गरियो यसको ठूलो चोट उनीहरूमा छ।
अब एकपटक इतिहासलाई धक्का नै दिने हो भने हामी तयार छौ भन्ने आवाजहरू उनीहरूसँग छ र विप्लव उपस्थित कार्यक्रममा हजारौँ युवा युवतीहरू उपस्थित हुनु संयोग मात्र हुन सक्दैन।
५- युवासँग स्थलघट भेटघाट, छलफल तथा परिचालन
युएई आउनु भन्दा अगाडि बीप्लव केहि हप्ता कतार मा हुनुहुन्थ्यो। अन्य नेताहरू त महीनौ देखि कतार मा छन्। अहिले युएई मा पनि दर्जनौ नेताहरू बसेका छन् र अन्य देशहरूमा पनि सक्रिय नै छन्। मानिसहरू लाइ लाग्न सक्छ नेताहरू कुनै होटलमा बसेर भाषण गरी रहेका होलान्। तर स्थीती त्यस्तो देखीदैन।
नेताहरूले आफ्नाकार्यकर्ताहरूलेकाम गर्ने ठाउँ, बस्ने घर मै पुगेर सल्लाह सुझावहरू मागीरहेका छन्। नेताहरूले आफूलाई सम्झेर आईपुगेकोमा कार्यकर्ताहरू पनि मक्ख छन्। खास गरी विदेशमा काम गर्ने भनेको युवाहरू नै हुन्। नेपालको तरल राजनीतिक अवस्थाका कारण लाखौँ युवाहरू विदेशीन बाध्य भए। यसको सबैभन्दा धेरै मार माओवादीलाई पर्यो। आफूसँग युवा शक्ति नहुँदा नै सबैभन्दा ठूलो पार्टी अहिले अस्तित्व रक्षाको निम्ति अन्तिम चरणमा घीटीघीटी गर्दैछ। त्यसैले युवाहरूलाई संगठीत गर्ने र परीचालन गर्ने कुरामा विप्लव माओवादीको अरब डौडाह केन्द्रीत रहेको देखिन्छ।
६- अन्तिम अवस्था परे युवाहरूलाई नेपाल झिकाउने
मध्य पहाडी लोकमार्ग हाम्रै माओवादी लडाकुहरूलाई खन्न देऊ, हामी काम गर्छौ यसो गर्दा युवाहरूको पलायन रोक्न सकिन्छ भन्दा प्रचण्डले नमानेका विप्लव माओवादीका नेताहरू बताउँछन्। अहिले लाखौं युवाहरूलाई नेपालमा व्यस्त बनाउने र नयाँ निर्माणमा लगाउने त्यति ठूला योजनाहरू पनि छैनन्। भुइँचालो गएपछि पनि यस्तो योजनाहरू आउन सकेनन्। सरकारले युवाहरूलाई आधिकारीक रुपमा आव्हावान पनि गर्न सकेन।
त्यसैले अब नयाँ राजनीतिक व्यवस्था र क्रान्तिको खाँचो देखिएको विप्लव माओवादीका नेताहरू बताउँछन्। केहि शासकहरूको दिमागमा २०४७ सालकै संविधान फुरेको छ। देशको राजनीतिक अवस्थामा संतोषजनक छैन। त्यसैले अन्तिम अबस्था परे युवाहरूलाई नेपाल झिकाउने तयारीका साथ विप्लव माओवादी अरबमा घर दैलो गर्न मै ब्यस्त देखिन्छ।
अन्त्यमा, नेपालको शान्ति प्रकृयाको विकास विशेष ढङ्गबाट भएको हो। संसारका विभीन्न देशहरूमा काम गर्ने लाखौँ युवाहरूले पनि नेपाललाई माया गर्छन् र नयाँ संविधानको घोषणा पछि नयाँ नेपाल बनोस् भन्ने चाहन्छन्। विभीन्न समयमा भएका सम्झौता र सहमतिहरूबाट कोहि पनि पछाडि नहटौं, यसो गरेमा देश अगाडि बढ्नेछ।