अघिल्लो वर्ष म श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित एउटा सरकारी सम्मेलनमा भाग लिन गएको थिएँ। त्यस कार्यक्रममा थुप्रै देशबाट म जस्तै सहभागीहरू आएका थिए। तर, व्हिलचियर प्रयोग गर्ने सहभागी म मात्रै थिएँ। त्यसकारण आयोजकले मेरो सहयोगीको रुप त्यहिँको एउटा अस्पतालमा कार्यरत एकजना व्यक्तिलाई राखिदिएका थिए।
उनको नाम समिर थियो। समिरलाई अंग्रेजीका बढीमा १० वटा शब्द आउँथ्यो। मलाई उनको भाषाको १ शब्द पनि आउँदैनथ्यो। त्यसकारण हामीलाई कुरा गर्न अलि अफ्टेरो हुन्थ्यो। तर साझा भाषाको यो अभावले हामीलाई कुरा गर्न रोकेन। कहिले म बसेका होटलका स्टाफलाई अनुवादक बनाएर त कहिले हात, मुख र शरीरका हाउभाउले हामी दुई मजाले कुरा गर्थ्यौँ। खुब हाँस्थ्यौँ।
उनको लागि सबैभन्दा ठूलो कुरा- म नेपालबाट आएको थिएँ। उनको भगवान जन्मेको देशबाट- बुद्धको देशबाट। मैले उनको फोटो खिचेर- फोटोसपका माध्यमबाट उनलाई लुम्बिनीको एउटा विशाल बिहार अघिल्तिर उभ्याईदिए। त्यसपछि त उनी म भनेपछि हुरुक्क भए। हामी थोरै शब्द कुरा गर्थ्यौँ। मैले उसको परिवार, छोरा छोरी र कामको बारेमा पनि निकै कुरा थाहा पाएँ। उनको तलब पनि धेरै रहेनछ।
मैले श्रीलङ्का जाँदा खर्च गर्न भनेर केहि पैसा लगेको थिएँ। तर त्यहाँ मेरो पैसा नै खर्च भएन। सम्मेलनको अन्तिम दिन मैले समिरलाई के.एफ्.सीमा लगेर ख्वाएँ। ऊ यो कुराले एकदमै हर्षित भयो र भन्यो- ‘मैले यहाँ कहिले खाएको थिइनँ। मेरो छोरा छोरीलाई पनि एकदिन यहाँ ल्याउँछु।’ मलाई उसको कुराले मन छोयो।
हामी त्यहाँबाट होटल फर्कियौँ। भोलिपल्ट बिहानै मेरो फ्लाईट थियो। समिरले मेरो झोला प्याक गरिदियो। अब हामी छुट्ने बेला भयो। ऊ दुःखी थियो। म पनि दुःखी थिए। हामीले धेरै कुरा गर्न सकिनौँ। मैले उसलाई श्रीलङ्काली पाँच हजार रुपैया दिएँ र भने- छोरा छोरीलाई के.एफ्.सीमा खुवाउनु है। उसले लिन मानेन, मैले जबरजस्ती दिए। जाने बेलामा ऊ मधुर हाँस्यौ र बाई बाई भनेर हात हल्लायो। मैले मोबाईललाई कानमा लगेर ईशाराले भने- म तिमीलाई फोन गर्नेछु।
तर नेपाल फर्किएपछि मैले उसलाई कहिले फोन गरिनँ। फोन गरेर कसरी कुरा गर्ने, उसलाई मेरो भाषा आउँदैन, मलाई उसको। फेरि फोनमा त ईशारा नि गर्न सकिदैन। यस्तै सोचेर मैले उसलाई फोन गरिनँ। मोबाईलको कन्ट्याकमा एस्. अक्षरबाट कसैको नाम खोज्दा- कोहि बेला उसको नाम टुप्पुल्क आईपुग्थ्यो- समिर श्रीलङ्का। र मलाई डायल गरौँ कि जस्तो पनि लाग्थ्यो तर गर्थिन।
आज बिहान पनि मोबाईल यसै चलाउँदै गर्दा उसको नाम देखा पर्यो र सँगै मनमा उब्जियो- उसको अनुहार, उसको हाँसो र शब्द बिनाका उसका कुराहरू। मैले आफुलाई रोक्न सकिन र श्रीलङ्का फोन गरेँ।
दुई घण्टीमा उसले उठायो। मैले भने- समिर।
उसले आफ्नै भाषामा के भन्यो। सायद हजुर भन्यो होला।
मैले भने- सागर।
उ एकछिन बोलेन। सायद मेरो आवाज बुझेन। मैले फेरि भने- समिर- सागर।
उसले ठूलो स्वरमा भन्यो- सागर। नेपाल।
मलाई कस्तो मन भरिएर आयो। र भने- सागर नेपाल।
ऊ हाँस्यो। अब के भन्ने, हाम्रा शब्द सकिन लागेका थिए।
मैले भने- हस्पिटल?
उसले भन्यो- नो।
मैले फेरि भने-होम?
उसले भन्यो- यस्।
आज घरमै रहेछ। छोरा छोरीसँग खेल्दै होला।
मैले फेरि सोधेँ- फाईन।
उसले भन्यो- फाईन। अनि मलाई सोध्यो- सागर फाईन्?
मैले पनि त्यही भने।
अब भने हाम्रा शब्द साँच्चिकै सक्किए। मैले १ मिनेट २ सेकेन्ड पछि भने- ओके समिर।
उसले पनि भन्यो- ओके सागर। बाई।
मैले बिदा लिएर फोन राखेँ।
यसरी १ वर्षपछि म मेरो एउटा साथीसँग जम्मा ८ वटा शब्द बोले। तर ती शब्दले मलाई उसका बारे पुग्ने जति कुरा बुझाए। उसँग श्रीलङ्कामा घुमेका दृष्य ब्युझाए। र सबैभन्दा ठूला कुरा ती शब्दले मेरा मनबाट मेरो आँखासम्म आईपुग्ने एउटा वायरलेस पाईप जोडे र आँखाबाट मेरो मित्रतालाई तरल बनाएर झारे। सजिलो गरी भन्दा- मलाई रुवाए।
भाषाले साथी बनाउन कहिले पनि रोक्दैन रहेछ। किनभने, सँसारका जुनसुकै कुनाका जोसुकै हामी, हाँस्न त एउटै भाषामा त हाँस्छौँ नि।