अमेरिका जानलाई डि.भि २ पटक भरेकै हो तर मलाई परेन, डिभि परेन भन्दैमा मैले आफूलाई अभागी ठानेको छैन, भाग्यमानी नै अनुभूती गरिरहेको छु। नुवाकोटको सरकारी स्कुलबाट २०६४ सालमा प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेतापनि मेरो अङ्ग्रेजी भाषाको दायरा स्नातक पढ्दा मात्र फराकिलो भयो, त्यसैले स्याट तथा टोफल गरेर अमेरिका जाने क्षमता ममा थिएन।
सेतोपाटिमा बेलाबखत छापिने अमेरिकामा नेपाली प्रगति पढ्दा खुसी लाग्छ। प्रगति पलायनवादिकै छ, सिदार्थ गौतम पनि घर छाडेर नहिडेको भए गौतम बुद्ध बन्ने थिएनन् होला, कन्डम फाल्ने र जुँठा भाँडा माझ्ने भनेर हियाउनुको तुक छैन।
सरकारी स्कुलबाट ७०५ को वाइवाइ गाउँभरी टिक्यो तर शहरमा हरायो। मलाई कक्षा ११ पढ्दाकै सहपाठीको अङ्ग्रेजी बोलिले अटेस पार्थियो तर नतिजा मेरै पक्षमा रह्यो, कक्षा ११ मा कलेजकै चौथो स्थनमा अटाउन सकेँ। फ्लेक्स बोर्डमा ठूलो फोटो छापियो र कलेजको भित्तामा टाँसियो, म दङ्ग।
एस.एल.सि को बेला बिहान बिहान गणित तथा अङ्ग्रेजीको सुपर्फस्ट क्लास हुन्थ्यो घरमा तरकारी पकाउन भ्याइन्न्थियो त्यसैले छडक्न लागेको भातको माड निकालेर गुन्द्रुकमा नुन-खुर्सानी हालेर खाएर स्कुल गएका दिनहरु ताजै छन्। जब प्रवेशिकाको नतिजाले गाउँ गड्गडायो तब मलाई काठमाडौं पढ्ने ढोका खुल्यो। दाइले काठमाडौं बस्ने र पढ्ने वातावरण मिलाइदिनुभो। काठमाडौमा हामी ४ जना दाजुभाइ बस्थ्यौ, चामल तथा तरकारी घरबाट लेराउथियौ। उच्च माध्यमिक शिक्षा परिषद्को छात्रवृत्तिले अझ सहज बनायो काठमाडौं बसाई।
चार्टड एकाउन्टेन कस्तो छ? के हो? भन्ने थाहा नै नपाई थालियो एसिसिए पढ्नलाई। सुरुसुरुमा जोश र जांगरले सफलता दिलायो, पछी कहिले सकाउने होला भन्ने मानसिकताले सफलता दिलायो। आफ्नो नामको पछाडि एसिसिए राख्ने मिति कुरिरहेको छु। विश्वमा १७० भन्दा बढी देशमा फैलिएको चार्टर्ड एकाउन्टेन्सी संथाको सदस्यता आफैंमा विश्व बजारमा बिक्री हुने डिभाइस हो जस्तो लाग्छ। त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि गरियो, यसलाई पनि उपलब्धि नै ठानेको छु। आफ्नो पेशाको सुरुवाती अवस्थामा नै बित्त तथा कर्पोरेट बजारका हस्तीहरुसँग घुलमिलको अवसर पाएको छु।
कम्पनीको अन्तिम बित्तीय विवरणमा हस्ताक्षर गर्न नपाएपनि आन्तरिक लेखापरीक्षणमा आफ्नो हस्ताक्षर विकाउन सफल छु। मेहनत गर्नुपर्छ यो नै मेरो सिद्धान्त हो। चारपाङ्ग्रे सवारी म जस्तो मध्यम वर्गीय परिवारको सपना भएपनि आज सोचाइ बनेको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा पनि अब सपना रहेन सोचाइमा परिवर्तन भैसकेको छ।
नुवाकोटको ढिकुरेमा फलेको आलु बेचेको रुपैयाँ, पाउन्ड स्टर्लिङको बिनिमय दरमा ढालेर फिस तिर्दा चिढिएको मनले आजभोलि भाग्यमानी अनुभुती गरिरहेको छ। अमेरिका होस् या नेपाल मेहनत गरे सफलता पाउन सकिन्छ भन्ने बुझेको छु। जुत्ता नलगाउँने ठाउँमा जुत्ता बेच्न सकिदैन भन्नू मुर्खता हो यदि जुत्ता लगाउदाको फाइदाको जानकारी दिन सकेमा सम्पुर्णलाई जुत्ता बेच्न सकिन्छ, त्यस्तै नेपालमा अवसरै छैन अमेरिकामा मात्रै छ भन्ठान्नु पनि एकै हो। अन्तर्राष्ट्रिय बजारका अब्बल आइफोन, सोनिको ल्यापटप, The economist, International Herald Tribune जस्ता पत्रिका पढ्दै एसिको मुनि घुम्ने कुर्सीमा बसेर व्यस्त हुने सौभाग्य सायद डिभिले दिदैन थियो कि!
ध्रुब गजुरेल
खानिगाउँ, ढिकुरे, नुवाकोट