बिहान साढे नौ बजे फेरि भागदौड मच्चियो। दोलखा केन्द्रविन्दु भएर आएको ४.१ म्याग्निच्युडको भुईंचालोको पराकम्पनले सिन्धुपाल्चोकमा समेत सबैलाई त्रसित बनायो। जिल्लाका मुख्य बजारमा रहेका पक्की घर र टेण्टमा बसेका सिन्धुवासी मात्रै हैन गाउँका टहरो र त्रिपालमुनीका बासिन्दासमेत सुरक्षित स्थानमा भाग्ने कोशिस गरे। सबै आतंकित भए।
यो पराकम्प आउँदा सदरमुकाम चौतारा बजारमा ढल्केर बसेका घरबाट धुलो उड्यो। जस्तापाताले बनेका साना टहरो थर्कियो। केही घरबाट केही ढुंगामाटा झरे। बजारका बढुवाहरुमा हल्लाखल्ला मच्चियो। एकैचोटी सबैले सुरक्षित स्थान खोज्दै गर्दा बजार बाक्लियो। एकै झट्का आएको यो भुईंचालोको पराकम्पनले एकचोटी फेरि सोच्न बाध्य बनायो। ‘डराई डराई कतिञ्जेल बाँच्ने, अनि भुईंचालोसँग कति दिन भाग्ने?'
स–साना पराकम्पको महसुस हुदाँ भाग्ने बानी परिसकेका सिन्धुवासी अझैसम्म भुईंचालोको त्रासमा छन्। बैशाख १२ पछि दिनहुँ भुईंचालोको आतंक खेपिरहेका उनीहरु कुन दिन फेरि ठूलो धक्काले अर्काे विपत्ति ल्याउँछ भन्नेमा त्रसित छन्। त्रिपाल मुनी बसिरहेका गाउँवासीहरु भुईंचालोको पराकम्पनले जमिन हल्लाउँदा अझै पनि भाग्ने गर्दछन्। उनीहरु भुईंचालो आउँदा आफू घरमै बसिरहेको भान हुने हुदाँ भाग्ने गरेको बताउँछन्।
‘भुईंचालोले जमिन हल्लाउँदा सुरुदेखि नै भाग्ने प्रवृत्ति भएकाले जहाँ बसेपनि भागिदों रहेछ,' चौताराका कुमार श्रेष्ठ भन्छन्, ‘खुला चौरमा भएको बेला पनि पराकम्पन आउँदा यताउति भागेको धेरै देखिएको छ।' उनले जस्तापाताले छाइएको टहरो, टेण्ट, त्रिपालमा बसेकाहरु पनि भाग्ने गरेको सुनाए। भुईंचालो आउँदा शरिर अनियन्त्रित हुने हुँदा आफसेआफ भागिने गरेको उनको अनुभव छ।
जिल्लाका प्रमुख बजारमा मात्रै हैन भुईचालोको पराकम्पनले गाउँवासीलाई पनि उत्तिकै आतकिंत बनाएको छ। एक थान त्रिपालमा साँघुरिएर बसिरहेकाहरु पनि भुईंचालो आउँदा भाग्ने गरेका छन्। सम्भावित मृत्युलाई टार्न गाउँवासीहरु भाग्ने गरेका हुन्। भुईंचालोको पराकम्पन बारम्बार आइरहँदा र क्षति गराईरहेकाले गाउँमा सबैलाई भयले सताएको ठोकर्पाका बिज्ञान न्यौपाने बताउँछन्। ‘गाउँमा अस्थायी टहरो र पालमा आश्रितहरुसमेत भाग्ने गरेको पाइएको छ,' उनले भने, ‘ज्यानको माया सबैलाई हुने हुँदा थप सुरक्षित स्थानको खोजी गर्दै उनीहरु भाग्ने गरेका छन्।' उनको गाउँमा भागेकै कारण केहीको मृत्यु पनि भएको छ। पराकम्पन आउँदा भाग्ने प्रवृत्तिले कतिले ज्यान गुमाएका धेरै उदाहरण छ। आफू सुरक्षित स्थानमा रहँदा पनि भागेकै कारण बैशाख १२, १३ र २९ को शक्तिशाली भुईंचालोमा धेरैले ज्यान गुमाए।
भुईचालोले त्रसित बनाएको बेला स साना पराकम्पनले मानिसलाई अन्धो बनाएको छ। भुईंचालो आउँदा हतास मनस्थिति हुने हुँदा धेरैले के गर्ने भन्ने सोच्न भ्याउँदैनन्। यस्ताखाले गल्तीले पनि अकालमै ज्यान जानेहरुको संख्या धेरै छ। विशेष गरि हिमाली गाउँमा अहिले समस्या छ। भुईंचालोले थिलथिलो पारेका गाउँहरुमा अहिलेसम्म पनि पहिरो झरिरहेको छ। बर्खायाम सुरु भइसकेको र धाँजा फाटेका जमिनमा पानी पसेकाले गाउँहरुमा पहिरो दिनहुँ गएको हो।
हिमाली गाउँ पाङताङका लक्ष्मण तामाङ आफूहरु बसेको ठाउँबाट बाहिर निस्कन डरलाग्दो हुने गरेको बताउँछन्। ‘जताततै पहिरो गइरहेको छ,' उनले भने, ‘काम विशेषले कतै बाहिर जानुपर्यो भने माथिबाट आएको पहिरोले पुर्ला भन्ने लाग्छ।' उनले पालमै बसोबास गरिरहेकाले पानी आउँदा सुतेकै ठाउँमा पानी पस्ने र माथिबाट आउन सक्ने सम्भावित पहिरोले पुर्न सक्ने भएकाले डरै डरमा बाँच्नु परेको बताए। पाङताङवासीले अस्थायी आवास निर्माणका लागि १५ हजार रुपैयाँ पाएपनि नजिकैको बजारमा जस्तापाता नहुँदा पालमै जीवन गुजार्नु परेको छ। बसेको ठाउँ वरिपरी पहिरोको भय छ। त्यमाथि पनि लगातारको पराकम्पनले घरि घरि भाग्न बाध्य बनाउने लक्ष्मणले जानकारी दिए।
हिमाली गाउँहरुमा महिला, बालबालिका सबै भुईंचालोको पराकम्पनले त्रसित छन्। पराकम्पन आउँदा उनीहरु सबैमा भाग्ने प्रवृत्ति हुँदा पहिरोले पुर्नसक्ने सम्भावना छ। अर्काेतर्फ भुईंचालो भ्रमले पनि उनीहरुलाई आतंकित बनाएको छ। बस्तीका कुनै एक व्यक्तिले धक्काको महसुस गरे सबैमा भागदौड अझै चल्ने गरेको छ।