म कपिलवस्तुको प्रहरी महिला सेलमा पुग्दा, बुर्का लगाएकि एक मुस्लिम महिला प्रहरीको अगाडी रुँदै थिइन्।
‘मलाई जसरी भएपनि मेरो लोग्नेबाट नागरिकता दिलाइदिनु पर्यो। नागरिकता नभएकोले मैले तालिमै लिन पाउन्न ७ वर्षको छोरा पाल्न मुस्कील भयो मलाई।’
विवाह भएको ८ बर्ष भएछ। छोरा ७ बर्षको छ। मेरो लोग्ने ड्राइभर रे। उनले आफ्नो गुनासो पनि पोखिन,—हप्तामा २ दिन आज घरमा आउँछ। उसका बाहिर अर्काे श्रीमती पनि छ। छोरालाई चाँही एकदम माया गर्छ। तर मलाई घरबाट जा भन्छ। नागरिकता पनि दिन मान्दैन। म कहाँ जाउ? नागरिकता भए त छोरालाई लिएर बाहिर बसेर के काम गर्थेँ।
रुँदै भनिएका उनका यी शब्दहरुले मलाई बिझ्यो।
हामी काठमाडौँमा बसेर आमाको नाममा नागरिकताको लागि संघर्ष गरिरहेका छौं।
यहाँ त एउटी महिलाले न आमा, न बाऊ, न लोग्ने कसैको नामबाट पनि नागरिकता पाउन नसकेको उनकै जीवनको अस्तित्व नै नभएको भान भएको छ। उनी राज्य विहिन, आफ्नो पहिचान विहिन भएकिछिन्।
त्यही अफिसमा बस्दा बस्दै थाहा भयो कि यहाँ आमाबुबाले छोरीहरुलाई नागरिकता बनाइदिदैँनन्।
किन भने ‘नागरिकता बनाएपछि छोरीलाई पनि अंश माग्छे। विवाह गरेपछि लोग्नेले नै नागरिकता बनाइहाल्छे रे। विवाह गरेपछि लोग्नेले प्राय विवाह दर्ता गर्न र नागरिकता बनाउन मान्दैन, केही गरी ‘श्रीमतीलाई छोडेर गइभने सम्पत्ति दिनुपर्छ।’
‘काठमाण्डौमा त ११ कक्षा पढ्न नागरिकता चाहिन्छ, खाता खोल्न पनि नागरिकता चाहिन्छ, सम्पत्ति हो र मोबाइलको सिम कार्डकैलागि समेत नागरिकता चाहिन्छ।
मैल एक सामाजिक कार्यकर्ता संग जिज्ञासा राखेँ ‘यहाँ के हुन्छ?’
दशकक्षा सम्म छोरीहरुलाई पढाउनु नै ठुलो कुरा हो, यहाँ कसले ११ कक्षाको पढाइ गर्छ र ? फेरि यहाँ ११ कक्षा पढाउन नागरिकता चाहिन्न। महिलाले बैंक खाता खोल्ने भन्नु त कपिलवस्तुको शहर क्षेत्रमा हुन्छ, जहाँ महिलाहरुयो नागरिकता भै हाल्छ। जागिर खान भन्ने यहाँका प्राय छोरीहरुले सोच्दैनन्। त्यसैले काम गर्न थाल्यो भने स्कुलमा सरसफाई, घरको सरसफाई गर्ने वा जाँहा नागरिकताको जरुत पर्दैन। यहाँका महिलाहरु त्यस्तो काम नै गर्ने विचार गर्दैनन्। विवाह पछि लोग्नेले जे भन्यो त्यही गर्ने भएकोले जागिर खाने त कहाँ हुन्छ र?
जिन्दगीभर महिलाहरु राज्य विहिन भएर बाँचिरहन्छन लोग्नेको मृत्यु पछि पनि सम्पत्तिमा उनीहरुको अधिकार हुदैँन। त्यसैले गर्दा उनीहरु प्रत्येक क्षणहरुको भरमा बाँच्नुपर्छ। जीवन देखि मृत्य सम्म अपमान, पिडा, सहनु पर्छ। परिवार र राज्यले गएर उनको नामको कागजको टुक्रा नदिएकोले कपिलवस्तु मात्र होइन,
तराईका विभिन्न अन्य जिल्लामा नागरिकता विहिन महिलाहरु महिला कति होलान?
‘नागरिकता अभावमा सरकार बाट पाउने सुविधा जस्तो वृद्ध भत्ता नपाउने कति होलान?’ भनेर मैले एकजना कर्मचारीलाई सोधेँ।
सरकारी कर्मचारीले संख्या ठ्याक्कै त बताएनन्। उनले भनेको कुरा झन् अचम्म लाग्दो थियो, ‘एकल महिला वृद्ध भत्ता पाउने उमेर कि महिला छिन भने परिवारले उनको नागरिकता त बनाइदिन्छ। भत्ता दिलाउँछन र आफैले राख्दछन। तर त्यो बेला बाहेक महिलाले आफ्नो नागरिकता हेर्न सम्म दिन्नन्।
अहिले म नेपाली कांग्रेस एमाले, माओवादीको घोषणा पत्र हेर्दैछु र ती सबैमा महिलाको लागि ठूलाठूला वाचा गरिएका रहेछन्। ती वाचा मध्ये महिलाको लागि भनिएका २५ प्रतिशत वाचा मात्र पुरा हुँदा हुन् त शायद महिलाहरु अनागरिक भएर बाच्नु पर्ने गरी आउँदैनथियो होला।
लुम्बीनी जाँदा अलिउदिन र राधेश्यामको रिक्सामा र गाडीमा चढयौं।
अलाउदिनले भने ‘छोरी २० वर्षकी भइ। उनी स्कुलमा जाँदिनन्। हाम्रो घरमा त केटीहरुलाई बाहिर पढन पठाउँन मिल्दैन। कुरान पढ्न सिकेकी छिन । उनको नागरिकता बनाएको छैन। जागिर खाने होइन । किन चाहियो नागरिकता ?’
राधेश्यामले लुम्बिनी भित्र घुमाउदै भने ‘मेरा ३ छोरी छन। सबैको १५ वर्ष पुगेपछि विवाह गरिहाले उहिले त उनीहरु ३–४ सन्तान कि आमा छन। ३ महिनामा अघि छोराको पनि १६ वर्षमा विवाह गरिहाल्यो, बुहारीकोे उमेर १५ वर्षको छ। छोरास्कुल जान्छ । बुहारी त घरमा नै काम गर्छिन। अक्षर चिनेकी छन । अरुको पढन प¥यो र ?।”
‘बुहारीको नागरिकता बनाउँछौ ? मैले सोधेँ।
उनले भने,‘उनको आमाबुबाले त नागरिकता बनाउँदैन हामी कहाँबाट बनाउने फेरी बुहारीलाई किन चाहियो नागरिकता? उसले जागीर खाने हो र?
‘नागरिकता नभए त खाता पनि खोलन पाइदैन नि?’
राधेश्यामले भने ‘के बैंक खाता खोल्ने र बुहारी मान्छेले? हामी गरिबको लोग्ने मनिएको त खाता हुँदैन, बुहारीको कस्ले खाता खोल्छ? भिन्दाभिन्दै पृष्ठभुमि , धर्म र आर्थिक अवस्था भएका मानिसहरुले छोरीको शिक्षा र नागरिकतमा चाहिँ एउटै धारणा राखेको मैले भेटाएँ।
राधेश्यामकाएक छोरा काम गर्न दुवई गएका रहेछन। काम गरेको पैसा सबै आमाबाबुलाई नै पठाउँदा रहेछन्।
‘श्रीमतीलाई किन पैसा नपठाएको त?’ मैले जान्न चाहेँ।
उनको प्रतिप्रश्न, ‘श्रीमतीलाई पनि पैसा दिन्छ र ? बुहारीलाई चाहिने कुरा त हामीले पु¥याइ हाल्छु नि ? किन उनको हातमा पैसा दिनु प¥यो?’
महिलालाई मान्छे नै गन्दैन यहाँको समाजले।
नागरिकताको समस्या त यहाँ घरघरछ।
केही दिन अघि एक पुर्व कानुन मान्त्रीले नै विवाह गरेपछि ७ बर्षसम्म पनि विवाह दर्ता नगरेको श्रीमतिलाई नागरिकता नदिलाएको खबर आएको थियो। उनले आफ्नै छोरालाई मेरो होइन भनिदिएका थिए।
पत्रकार गोपाल भण्डारीले सुनाएका थिए मन्त्रिका कुरा। उनले सुनाएको खबरले म अचम्ममा परिन।
किनभने तराइमा छोरी, बुहारीलाई नागरिकता दिनु हूदैन भने संस्कार छ भर्न कानुनमन्त्री पनि अपवाद हुन्थे र? मति नेपाली महिलाहरु नेता,समाज र धर्मले गर्दा पहिले पनि अनागरिक अस्तित्व विहिन भएर बस्नु परेको थियो। अहिलेको संविधानअनुसार पनि आमाको नामबाट नागरिकता पाउन मुस्कील छ। बाबु र लोग्नेको सनकको भरमा नागरिकता पाउने र नपाउने नियति लिएर कति दिन बस्नु पर्ने हो थाहा छैन।