‘यो हेल्मेटको पसल हो?’ कवि बिक्रम सुब्बाको मोबाइलमा एउटाले सोधे। कवि सुब्बा धुलिखेलस्थित सामुदायिक रेडियो नमोबुद्धको स्ट्राटेजी प्लानिङ सम्बन्धी वर्कशपमा व्यस्त थिए। ‘हेलमेटको पसल?’ भन्दै उनी अचम्मित भएँ।
हामी वरिपरिका सबै जना हाँस्यौँ। यस्ता ताइ न तुइका फोन आइरहन्छन् नै नम्बर थिच्नेले गलत थिचेपछि। तर जब नम्बर दिनेले गलत नम्बर दिन्छ तब यो समस्याले टाउको नै दुख्दोरहेछ।
केही वर्ष म दाइको घरमा बस्ता। घरको फोन बज्थ्यो। उठाउँदा यो मेनपावरको अफिस हो भन्दै सोध्थे। यो क्रम धेरै दोहोरियो। पछि रोकियो पनि। तर कसरी रोकियो, त्यो थाहा भएन। सायद नम्बर गलत दिएको मेनपावर आफैंले बुझेहोलान्।
केही वर्षअघि मेरो मोबाइलमा राति जहिल्यै फोन आउँथ्यो। सधै ‘शुष्मा’ भन्दै बोलाउँथे। म हैन भन्थेँ। उनले फेरि ‘म साउदीबाट हो के...चिनिनौं र शुष्मा?’ भन्थे। मैल गाली गरीसकेपछि उनले सरी भन्थे र फोन राख्थे। उनको आवाज थकित सुनिन्थ्यो।
सोच्थेँ कामले थाकेर लखतरान परेका होलान्। पछि फोन आउन रोकियो। सायद उनकी शुष्मा भेटियो या शुष्माको माया मारे उनले। यस्ता अनुभवहरु धेरैसँग पाइन्छ। जुन कुनै हँसाउने हुन्छन् त कुनै दिक्क लाग्ने।
हतारमा गलत नम्बर पर्न सक्छ। तर वेबसाइट र ब्रोस्योरहरूमा पनि नम्बर गलत दिँदा रहेछन्। यसबाट धेरैले दु:ख त पाउँछन् नै झन धेरै वाक्क दिक्क त जसको नम्बर त्यहाँ पर्यो तिनलाई नै हुने रहेछ। आज यस्तै वाक्क दिक्क भएका पात्रसँग फोनमै भेट भो। म पनि उनलाई वाक्क बनाउँने एउटा फोन कर्ता भएर थपिएछु।
म एन्टेना फाउण्डेसन नेपालमा रेडियो नाटक ‘गाउँ गाउँमा सिंहदरबार’को नाटक लेखकको रूपमा काम गर्छु। नाटक सुशासन र नेतृत्व विकासमा आधारित छ। नाटकको आगामी अंकमा जनस्वास्थ्यका लागि सरकारले ल्याएका नीति नियम तथा कदमहरुका बारेमा चर्चा गर्नुपर्ने थियो।
योजना अनुरुप अनुसन्धानका लागि मैले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट हेर्दै गएँ। त्यसपछि सम्पर्क पेजमा गएर हेरेँ। त्यहाँ कार्यरत सबै कर्मचारीको नाम पद इमेल ठेगाना र सम्पर्क नम्बर राम्ररी दिइएको रहेछ। हाम्रो नाटकको विषयका लागि कोसँग कुरा गर्दा ठीक होला भन्दै मैले सबैको पद र कार्यक्षेत्र नियाल्न थालेँ।
मेरो आँखामा पर्यो वरिष्ठ जनस्वास्थ प्रशासक सागर दाहाल। मैले नम्बर डायल गरेँ। केही घण्टीमै फोन उठ्यो। फोन उठाउने व्यक्ति सागर दाहाल नभएर भैरहवाका सुमित बज्राचार्य थिए। उनले सिधै भने ‘तपाईँले जनस्वास्थ्य मन्त्रालयको वेबसाइट हेरेर फोन गर्नु भा’को हो?’, मैले हो भनेँ। उनी केही समयदेखि हैरान भएका रहेछन् म जस्तै फोन गर्नेहरूबाट।
म जस्तोभन्दा पनि बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाललाई खोज्नेहरूबाट। संयोगले उनी पनि फर्मासिस्ट रहेछन्। मैले सागर दाहाललाई खोज्नुको कारण बताएँ। मेडिकल क्षेत्रकै भएको नाताले उनले मैले जान्न खोजेका कुराहरु केही बताइदिए पनि। अन्तमा म मिडीयाकर्मी भन्ने थाहा भएरै हुनसक्छ भनिहाले,
‘तपाइँ उहाँसम्म पुग्नुभो भने प्लीज मेरो यो समस्या बताइदिनुहोला। म त हैरान भैसकेँ...’