त्यसैले हामी विर त छौं
तर बुद्दु छौं
हामी बुद्दु छौ र त हामी विर छौं
हामी बुद्दु नभइकन विर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरिकन
विर कहिल्यै हुन सकेनौं।- भूपी शेरचन
एउटा कुनै बिवाहित चेलीलाईमाइती गाँउको कुकुर जुतीसुकै भुकेपनि प्यारो लाग्छ भन्छन्। त्यसैले गर्दा होला एउटा नेपाली नागरिकलाई आफ्नो देश जतिसुकै गरिब भएपनि झन प्यारो लाग्दोरहेछ।
मानौं भुक्ने कुरा भनेको कुकुर प्रजातिको जन्मजात अधिकार जस्तो हो र गरिबी भनेको नेपाली जातिको एउटा नमिठो पहिचान हो। जे होस्- भुक्ने कुकुरको कुरा अलग हो। देशकोमायाको कुरा अलग हो।
तरमाइती गाँउको कुकुरले नचिनेर एकदिन दोबाटोमा खुट्टा टोक्न आयो भने चेलीको माइती मोहमा अलिकति भएपनि पीडा थपिनेछ, किनकि, देशलाई जतिमाया गरेपनि कहिलेकाहीँ गरिबीले चिनेरै टोक्दो रहेछ यद्यपी गरिबीको टोकाईबाट उत्पन्न असैह्य पीडा शब्दमा व्याख्या गर्न सकिदैन। खैर, कवि भूपी शेरचनले भने जस्तै रातभरि उपियाँ र दीनभरी रूपियाँले त हामी नेपालीलाई टोकीरहेकै थियो। अब त देशको अस्मिता, स्वाभीमान र इतिहासले पनि टोक्न थालेछ।
‘आर यू फ्रम नेपाल?’, कुनै सार्वजनिक भेटघाटमा मैले परिचय नदीईकनै एउटा विदेशी नागरिकले मेरो मातृभूमीको नाम उच्चरण गरेकोमा खुसी लाग्यो। तर, यो खुसी लामो समयसम्म टिकेन।
ठीक त्यसै बखत नाक खुम्चाँउदै एउटा खैरेले सार्वजनिकस्थलमा गरेको अनेकौँ अपमान म मरेपछि पनि बिर्सीन सक्दिन होला। उसले मलाई तँ ट्वाइलेट नभएको देशको मानिस भन्यो। मोटर बाटोमा भैसी सुत्ने देशको मानिस भनेर ट्राफीक प्रहरीको खिसी गर्यो। भात खुब मीठो हुन्छ? भन्यो। कुरै नबुझेर हाँसिरहने देशको मानिस भन्यो।
उसले मलाई अरू धेरै कुरा भनेको थियो जुन कुरा मैले यहाँ उल्लेख गरेर मेरा देशका नागरिकलाई थप दुःखी तुल्याउन चाहन्नँ।
करीब दुई महिना अगाडि युएईको तिब्र विकाश गतिबारे सम्पन्न भएको एक सेमिनारमा म आफ्नो हाकीमको निजी सहयोगी बनेर पुगेको थिए। तर हदैसम्मको अपमानित बनेर फर्किन पर्यो। सामान्य नोकरीको शिलसिलामै संसारका नामी ब्यापारीहरू पुगेको सेमिनारमा म पुगेको थिएँ। सेमिनारमा ठूला-ठूला बहु-राष्ट्रिय कम्पनीका मालिकहरू उपस्थित थिए। रूलर अफ डुबै शेख मोहम्बदलगायत अरु स्टेटका प्रतिनिधिसमेत थिए।
त्यही महत्त्वपूर्ण सेमिनारमा समाचार संकलन गर्न उपस्थित एकजना बेलायती पत्रकारले मलाई नेपाली (गोर्खाली) भएकैकारण व्याक्तिगत रूपमा अपमान गरेका थिए अनि अरू उनका साथीहरूले हाँसेर साथ दिएका थिए।
अरुको अट्टाहस हाँसो मेरो अनौपचारिक अपमान त थियो नै तर मुख्य कुरा त्यो मेरो देशको गरिबीको टोकाई थियो। त्यो नेपाली हुनुको एउटा पीडा थियो। त्यो निमुखा र गरीब देशका नागरिक हुनुको नेताले भोग्नुपर्ने सजाय जस्तो थियो। अन्यथा तिम्रो देश बेलायतलाई मेरो पुर्खाहरूले जोगाई दिएका हुन् भनेर फूर्ति नगरे हुन्छ भनेर कडा जवाफ दिन म नसक्ने हुँ र? अवश्य सक्थेँ, तर, गरिबीले मेरो शीरमाथि टेकेको थियो।
यद्यपी इतिहासको कथा पढेर वर्तमानलाई सम्मान गर्ने यो युग होइनरहेछ। यो युग त वर्तमानमा केहि गरेर इतिहास बनाउने युग रहेछ। परदेशमा हाकीमको झोला बोकेर हिँड्ने म विर गोर्खाली, रेष्टुरेन्टको जुठेल्नामा अर्को विर गोर्खाली, पेट्रोल पम्पमा पाईप समातेका ऊ पनि विर गोर्खाली, ट्वाईले र बगैचाहरूमा उनीहरू विर गोर्खाली, बाटो सफाई तथा ढल निकाशमा उस्तै छन् विर गोर्खाली। विर गोर्खाली हुनुको यो रहर हो कि बाध्यता? मुख देखाएर हिँड्नै मुस्किल म कस्तो विर गोर्खाली?
प्रश्नहरू अनुत्तरित थिए। म उभिएको धर्तीले आफू आफैसँग मजाक गरिरहेको थियो। खैर, म उनीहरूको अगाडि लामो समय मुख देखाएर उभिरहन सकीनँ। यस्तो लाग्यो कि गणतान्त्रिक देशको नागरिक म उनीहरूको अगाडि मुख देखाउनै नसक्ने, उनीहरूसँग उभिएर बस्नै नसक्ने भइसकेछु। त्यसैले अलिक पर एकान्तमा गएर केहिबेर एक्लै बसे। खल्तीको रूमाल झिकेर पसिना पुछेँ, म उनीहरूदेखि टाढै भएकोले त्यतिखेर मुख चाहिँ छोपीन।
दिमाग खल्बलाउने तनावका बाबजुद हामी कस्तो कहालीलाग्दो बिरासतमा बाँचिरहेका रहेछौं?, मनमनै सोचेँ- हाम्रो विर पुर्खाहरूले उठाएको शीर त झुकीसकेको रहेछ। हाम्रो नेताहरूले हामीलाई मुख देखाएर हिड्न नसक्ने बनाईसकेका रहेछन्। यस्तो पीडा मलाईमात्र भएको होला कि संसारभरी छरिएका नेपालीलाई हुन्छ होला भनेर मलाई जोडसँग चिच्चाउन मन लाग्यो- आयो गोर्खाली?
तर आवेगमा चिच्चाएर के हुन्छ र? लोकबासीको नजरमा झन् आफ्नै बदनाम हुन्छ। हामी आफ्नो देश भित्र बाघ भयौ। तर, देश बाहिर बिरालो जस्तै हुनपुग्यौ।
त्यसैले यस्तो लाग्छ हामी विर त छौं तर बुद्धु छौं। हामी बुद्धु छौं र त हामी विर छौं। हामी बुद्धु नभइकन विर कहिल्यै हुन सकेनौं। छातीमा पहाडभन्दा ठूलो पीडाका भारी बोकेर म एक हरफ स्वाभीमानको शब्द मुखबाट निकाल्छु।
शरीरबाट खलखली बगेका पसिनाहरू पसिना होइनन्। यी त अट्टाहस लाग्ने दुःख सहन नसकेर शरीरबाट फुटेका मुल थिए। अनि मलाई लाजको मर्नु हुन्छ।
कार्यक्रम स्थलमा ती बेलायती पत्रकार मेरो लागि आँगनमा नाँचीरहेको कुनै नजिकैका छिमेकी दुश्मन जस्तो देखिन थाले।
गरिव त संसारका धेरै देशहरू छन्। तर, हामी नेपालीहरू यति सजिलै अपमानित हुन पर्छ कि मानौँ हामीमान्छे नै होइनौँ र हामीसँग कुनै संवेदना नै छैन। ऊ सँग म कसरी प्रतीवाद गरौं हामीहरूसँग ट्वाइलेट पनि छन् भनेर?
भातमात्र होइन हामी धेरै खानेकुरा खान्छौ भनेर? कहिलेकाहीँ झुक्किएर सडकमा भैसी आएका होलान् नत्र सडकमा सवारी नै गुड्छन् भनेर?
ट्वाइलेट, भात, भैसीँ त एउटा सहायक कुरा थियो, खास नेपालको गरिबी नै मुख्य बीम्मको रूपमा उभिएर आएको थियो।
देश गरीब भएपनि नागरिक र माटोको स्वाभीमान कसरी जोगाउन सकिन्छ भनेर नेताहरूले जानेनन्। नेताहरू नै मागेर खान थालेपछि नागरिकको के हाल हुन्छ?
खैर जे होस्, सेमिनार सकिएपछि देश बिदेशी पत्रकारहरूको घुँईचो अगाडि बढ्यो। पत्रकार अगाडि बढेको देखेर प पनि नजिक आए। पत्रकारहरू सबैजना एकैचोटी बोलेर सय वटा प्रश्न गर्छन्। तर सुन्छन् एउटै उत्तर। एउटा उत्तर सुन्नको लागि सय वटा प्रश्न एकैचोटि गर्न हुँदैन भन्ने कुराको ज्ञान विश्वका सबै पत्रकारहरूलाई हुँदैन रहेछ।
घर पालुवा मौरी भुन्भुनाए जसरी पत्रकारहरूले रूलर अफ डुबै शेख मोहम्बदलाई प्रश्न गर्न थाले।
युएई किन यति विकशित भएको? तपाईहरूको विकासको फर्मुला के हो? अब के हुन्छ फेरि यहाँ? कहिलेसम्म पुरा हुन्छ? अनि संसार कै अग्लो टावर किन बनाएको? मानव अधिकार कम भएन? तपाईँलाई भिजनरी शेख भन्छन् नी? संसारभरिका बहुराष्ट्रिय कम्पनीहरूलाई यहाँ कसरी भित्र्याउनु भएको? यहाँका नागरिकहरूलाई कति धेरै सरकारी सुविधा? बिदेशी कामदारबारे धारणा के छ? २०२० सम्म सीङ्गो युएई कस्तो हुनेछ?
रूलर अफ डुबै शेख मोहम्बदले पत्रकारहरूको जवाफ दिन थाले- ‘मैले एउटी श्रीमती युरोपबाट विहे गरेको हुँ (देशको नाम खुलाएनन्) र जब म पहिलो पटक ससुराली गए अग्ला घरहरूमा मनमोहक झिलिमिली बत्तीहरू बलेको देखेँ। सडकमा लाखौँ गाडीहरू गुडीरहेका थिए। तर, कुनै त्यस्तो दिक्कलाग्दो आवाज थिएन, कीनभने सडक फराकिलो थिए।’
उनले थप अनुभव बाँडे-‘मेरो घर भित्र भएका बगैचा, पोखरी र फुलबारीहरू त्यहाँका सार्वजनिक स्थानमा पो थिए। त्यही देखेर मैले मनमनै अठोट गरेँ- ह्वाए नट पोसीवल इन माई कन्ट्री?
फराकिलो सडक मेरो देशमा किन नहुने? यी सुन्दर बगैचाहरू मेरा देशका बाटो किनारहरूमा किन फुलाउन सकिँदैन? यी झिलिमिली बत्तीहरू मेरो देशमा किन बल्न सक्दैन? त्यही विश्वासको कारण अहिले त्यो सबै थोक मेरो देश भित्र छ, हामीले २०२०मा एक्सपो पनि गर्दैछौ।’
अन्तमा उनले थपे- ‘२०२० सम्म युएई संसारकै नम्बर वान हुनेछ। हाम्रा योजना र चाहनाहरू भनेकै नम्बर वान हुने हो, हामीलाई दुई नम्बर भन्ने मन पर्छ। हो हामी एक नम्बरी हुने काम गर्छौँ।’
हो वास्तवमामा आजभन्दा ५० बर्ष अगाडि युएईमा खजुर र उँटबाहेक अरू थिएन। यो दुनियाँमा यति छिटो प्रगति गरेको देश पनि यही नै हो। एउटा नेतृत्वको अठोटका कारण अहिले फराकिलो बाटो, फुलबारी अनि बिजुली बत्तिहरूको कुनै कमी छैन।
अरु धेरै चिज छन् जो विकाशको योजना, सम्पादन तथा कार्यन्वयनसँग सम्बन्धित छन्। यतिमात्र होइन अन्तर्राष्ट्रिय सम्बन्धमा पनि यिनीहरू चनाखो छन्। विकासको लागि यिनीहरूले अंङ्गालेको मोडल भनेको युरोपियन मोडल हो।
पहिलो पटक ससुराली जाँदा देखेको विकास आफ्नै देशमा पुरा गर्ने मानिस मैले आफ्नै आँखा अगाडि देखेपछि मलाई पानी पधेरो जस्तै गरी युरोप, अमेरिका जाने नेपाली नेताहरू सम्झेर हाँस उठ्यो। अझ बिदेशबाट अनुभव संगाल्ने भनेर सरकारी ढुकुटी सत्यनाश गरेर बीदेश घुम्छन् हाम्रा नेता र सभासदहरू अनि नेपाल फर्केपछि कुर्सी उचालेर फ्याँक्छन्।
कति लजाउनु? कति दुःखी हुनु? कति हाँस्नु?
हामीले नेता सम्झेका यीनीहरूले अमेरिका भ्रमणबाट के पाठ सीके? त्यहाँको विकाशको मोडल देखेर किन प्रभावित भएनन् यीनहरू? नेताहरूले बेलायत भ्रमणबाट के सिक्छन्? अनि त्यसको नेपालमा प्रयोग कसरी गरे? जापान घुमेर जापानको जस्तै प्रगति नेपालमा देखाउन किन सक्दैनन्? युरोप घुमेर नेपाल फर्केपछि यीनीहरुको मनमा कुनै संकल्प जन्मिदैन? कुनै प्रश्न उठ्दैन? कुनै आत्मग्लानी हुँदैन? कुनै चिन्ता लाग्दैन? आफूले गरेको राजनीतिप्रति घृणा उत्पन्न हुँदैन?
जस्तो कि हाम्रो नेताहरूले बिदेस शयर गर्दा देखेको फराकिलो सडक हाम्रो देशमा किन नहुने? अनि ती सुन्दर बगैचाहरू हाम्रो देशका बाटो किनारहरूमा फुलाउन किन सकिँदैन? ती झिलिमिली बत्तीहरू हाम्रो देशमा किन बल्न सक्दैनन्? यति सानो तर सुन्दर देशका नागरिकलाई चयनसँग निदाउन किन नदिने? कहिलेसम्म युवाहरू बिदेशमा बेचिने?
प्रधानमन्त्री सुशील कोइरालालाई विदेशको विकास देखेर डिप्रेशन हुन्छ रे भन्ने सुनिन्छ। प्रधानमन्त्रीलाई त डीप्रेशन भएछ तर अरु नेपालीलाई के हुन्छ? नागरिकको राष्ट्रप्रति आत्मसम्मान हुँदैन? कुनै गौरव हुँदैन? दुनियाँ सामु मुख देखाएर हिड्न पर्दैन? नेपाली हुँ भनेर परिचय दिनु पर्दैन? देशको माया लाग्दैन?
हो, अब हामी मुख देखाएर हिड्न नसक्ने भएका छौं। विश्व विकासको गति एकातिर छ, हाम्रो यात्रा अर्को तीर छ। मेरो देशमा २० वर्षसम्म संविधानको माग हुन्छ। संविधानले सुनको अण्डा दीने कुखुरा उत्पादन गर्छ? संविधान जुत्ता कारखाना हो? संबिधानले रेलमार्ग बनाउँछ? संविधान भनेको हरियो मकैको घोगा हो? त्यसैले संविधानको नाममा विकासको गति ठप्पै राख्नु अपराध हो।
नेताहरूका कम्युनिस्ट विचार, प्रजातान्त्रिक पद्धति अनि सामाजवाद। भोका पेटहरूसँग एक मुठी अन्न छैन। नागरिकलाई विचार होइन, विकास चाहिन्छ। विकशित देशमा एक घण्टामात्र समय पुगेन आफ्ना महत्त्वकांक्षी योजनाहरूमा भने खर्बौ रकम नोक्सान हुन्छ। तर, हाम्रो नेताहरूलाई २० वर्षको बर्बादी भनेको २० सेकेण्ड जस्तो पनि लागेको छैन। विकाश र योजनाको कुरा छाड्नुहोस्।
कुनैपनी मुलुक कम्युनिस्टको फरिया वा प्रजातन्त्रको कथा र अझ भनौ सामाजबादको परिकल्पनाबाट मात्र चल्न सक्दैन। प्रवासमा रहेका आफ्ना संगठनहरूलाई पार्टीको पछिल्लो धारणा सुनाउनुको लागि जाने नेताहरूको देशलाई सिंगापुर जस्तो बनाउने कुरा नसुनीएको पनि होइन। कतिले स्वीजरल्याण्ड बनाईसके।
तर अहिले नेपाल केवल नेपाल जस्तै नरहने अबस्था आईसक्यो। कहाँको सिंगापुर? कहिलेको स्वीजरल्याण्ड? बरु गणतान्त्रिक देशका भिआईपी र भिभिआईपी नेताहरू मिलेर आफूहरू जिवित रहँदासम्मको लागि सरकारी सुविधा ग्रहण गर्ने महत्वकांक्षी निर्णय गरिसकेछन् अनि नयाँ नेपालमा प्रगतिको आँकडा पेश गरेछन्। त्यही हो सिंगापुर र स्वीजरल्याण्ड?
हाम्रो देश सन् २०२० सम्ममा कस्तो हुनेछ? नेताहरूसँग भिजन छ? छैन, कीनभने सन् २००१ मा नेपाल जस्तो थियो अहिले २०१५ सम्ममा पनि उस्तै छ। अरु धेरै खराब भएको हुनसक्छ। वैदेशीक ऋण तिर्न नसकेर थप बदनाम भएको हुनसक्छ। दाता सम्मेलन यसैको एउटा उपज थियो भनौ वा राज्यको मागी खाने चलन स्थापित मान्यता जस्तो भैसक्यो।
आखीर किन यस्तो भयो? एकबारको जुनीमा मुख देखाएर हिड्न नसक्ने किन भयौ? ‘मागी मीठो खाँदैन यो नेपाली ठीटो...’ भनेर गीत त गाँउने तर गणित बिषयमा मास्टर पढेको एउटा नेपाली कोरियामा घाँटीमा पासो लगाएर मर्नुपर्ने स्थिति कसरी हुनपुग्यो?
यी सबै प्रश्नहरूको जवाफ नेताहरूले दिन सक्नुपर्छ। उनीहरूले केका लागि राजनीति गरेका हुन् खुलस्त हुन आवश्यक छ।
किनभने देशलाई परिवर्तन र प्रगतिपथमा लैजान नेताहरूलाई जनताले के दिएनन? चुनावमा चन्दा दिए, भोट दिए। युद्वमा जीवन दिए। आन्दोलनमा रगत दिए। अब के पुगेन जनताको तर्फबाट? तर नेताहरूले हामीलाई केहिपनि दिन सकेनन्।
म जस्ता लाखौं देशप्रेमी नागरिकलाई लाजको घुम्टो त दिए। तर, राष्ट्रिय स्वाभीमान दिन सकेनन्। राहदानीमा सरकारी छाप र हस्ताक्षरमात्र दिए। किसानलाई जमिन दिन सकेनन्, सपनामात्र दिए। नाङ्गोलाई लुगा दिन सकेनन्। भोका पेटहरूलाई खानेकुरा दिन सकेनन्।
गणतान्त्रिक देशको नागरिक भएर पनि लाजकाज मुख छोपेर हिड्ने भयौ। नेताहरू हामिलाई के सहुलियत भयो?
यसरी हाम्रो स्वाभीमान हराउँदै जानु स्वभाविक हुँदै होइन। यो दुःखी नेपाली मनुवाको हैसीयतको उचाइ मागी खाने देशको निमुखा नागरिकबाहेक अरु कहिल्यै थपिन सकेन। लोकबासीको नजरमा मुख देखाउन नसकेपछि कोठामा बसेर कहिलेकाहीँ म एक्लै हाँस्ने गर्छु। नेता ज्युहरू पनि हाँस्नु हुन्छ कि हुन्न थाहा छैन।