चारैतिर एम्बुलेन्सको साइरन बजिरहेको थियो । घाइतेहरुको चित्कार र कोलाहल मात्र सुनिन्थ्यो। 'ल ल बाटो छोड्नुस, बाटो छोड्नुस, एम्बुलेन्सलाई बाटो दिनोस्, बाटोमा नबस्नुस!' भनेर केही युवा ठूलो आवाजले प्रवेश द्वारमा कराउँदै थिए। वैशाख १२ गते घडीमा १२ बजेर ३० मिनेट गएको थियो। आधा घण्टा अगाडिको भूकम्पले हाम्रो सामाजिक र भौतिक संरचना तथा मनमस्तिष्कलाइ जरैदेखि हल्लाइरहेको थियो।
यो कोलाहलको बीचमा काठमाडौंको शिक्षण अस्पतालमा घाइतेको उद्धारमा जुटिरहेको थिए । भूकम्पको केही समयपछि नै एम्बुलेन्स, ट्रक, प्राइभेट गाडीमा सयौं लास र घाइतेलाई बोकेर अस्पताल प्रांगणमा प्रवेश गर्दै अनि निस्कदै थिए। यो क्रम निरन्तर चलिरहेको थियो। हामी घाइते तथा लासलाई व्यवस्थित गर्न तल्लिन थियौं। २ महिनाको बच्चादेखि ६०-६५ वर्षका वृद्धको विभत्स लास तथा घाइतेको चित्कारले मलाई आफ्नो होस् वा बेहोसीको बारेमा केहि पत्तो थिएन। तर पनि मनमा एउटा अठोट थियो- मैले आफूलाई दरिलो बनाउनु पर्छ अनि यी निर्दोष घाइतेको सेवा तथा मृत आत्माको चीर शान्तिको लागि काम गर्नुपर्छ।
विवेकशील नेपालीका झन्डै १ दर्जन साथीहरू मन मुटुलाई दरिलो बनाउँदै घाइते र लासको व्यवस्थापनमा जुटिरहेका थियौं। केही साथी हेल्प डेस्कमा ब्यस्त थिए। कोही औषधी र बिरामीको खानाको व्यवस्थापनमा जुटिरहेका थिए। २ जना साथीहरु अस्पताल र मुख्य सडकको वरिपरि माइकिङ गर्दै, चर्को स्वरमा कराउँदै भनिरहेका थिए, 'अस्पतालमा औषधिको कमि छ। हामीले औषधि र अन्य इमर्जेन्सी उपकरण बाहिरबाट किनेर ल्याइरहेका छौं। हामीलाई सक्दो सहयोग गर्नुहोस्। सडकका बटुवा, डाक्टर, नर्स सबैले बोलाई बोलाई हामीलाई आफूसँग भएको पैसा दिएर दिइरहेका थिए। कति अभिभावकले आफ्ना अंगभंग भएका घाइते बच्चाहरुको हातबाट समेत पैसा दिन लगाउँदा हाम्रा आँखामा आँसु टिलपिल हुन्थे।
अस्पताल प्रशासनलाई चाहिने औषधि हामीले चन्दाबाट उठेको पैसाले नै पुर्याइरहेका थियौं। हेर्दाहेर्दै शिक्षण अस्पतालको प्रांगण घाइते र लासले भरिसकेको थियो। आफ्ना अगाडि अक्सिजन, सलायन दिइरहेका घाइते मरिसकेका हुन्थे।
मैले भुकम्प लगत्तैको ३ दिनसम्म 'कालो क्षेत्र' अर्थात् लास व्यवस्थापन गर्ने क्षेत्रमा काम गरें। न निद्रा नै लाग्थ्यो न त भोक नै। त्यसैले हरेक दिन २० घण्टासम्म विवेकशीलका साथीहरु अस्पतालको व्यवस्थापन मै खटिन्थ्यौं। पहिलो दिन अस्पताल गेट छेउमै भएका लास व्यवस्थित गर्यौं। दोस्रो दिनबाट परिवार तथा आफन्तले चिन्न सजिलो होस् भनेर लासको फोटो पनि खिच्यौं।
आफ्ना अगाडि हजारौं लास तथा घाइते देख्नुपर्दा मलाई बारम्बार एउटै प्रश्नले सताइरहन्थ्यो- यो विभत्स घटनाको लागि हाम्रो सरकार, राज्य व्यवस्था तथा सामाजिक संरचना कति जिम्मेवार छन् ?
नेपालमा हरेक ८०, ९० वर्षको अन्तरालमा ठूलो स्केलको भूकम्प गैरहेको पाइन्छ। पछिल्लो पटक, विक्रम संवत १९९० माघ २ अपरान्ह २ बजेतिर आएको भूकम्पले ८ हजार ५ सय १९ नेपालीले ज्यान गुमाउनु परेको थियो भने २ लाख १ हजारभन्दा बढी भौतिक संरचना भत्किएको तथ्यांक हेरेर थाहा पाएँ। हजुरआमाले ९० सालको भूकम्प बारे सुनाउँदा पनि निकै नै डर लाग्थ्यो। म सोच्थें- त्यो ९० सालको जस्तो भूकम्प अहिले आयो भने पनि केही हुँदैन होला। कहाँ त्यो जमाना। कहाँ यो जमाना। ८० वर्षको अन्तरालमा विज्ञान, प्रविधि र मानव सभ्यताले धेरै फड्को मारिसक्यो। यो बीचमा हामी धेरै सभ्य, सम्पन्न र सचेत बनि सक्यौं। तर वैशाख १२ को भुकम्पले मेरो भ्रमलाई जरैदेखि च्यातिदियो। ८१ वर्षपछि आएको भूकम्पमा त झन् धेरैको ज्यान गयो। झन् ठुलो क्षति भयो। यो कसरी, िकन भयो?
८१ वर्षअघिको भूकम्प अहिलेको भन्दा २ गुणा बढि शक्तिशाली रहेछ। २ गुणा कम भएर पनि किन यति ठूलो जन-धनको क्षति? ८१ वर्षमा नेपालमा धेरै ठुला राजनीतिक परिवर्तन भए। कति सत्ता /प्रणाली फेरिए। तर यो ८१ वर्षको परिवर्तन र विकासको लहरले आम सर्वसाधारणको जीवनमा खासै फरक पारेको रहेनछ। ८१ वर्षपछि आएको भूकम्पमा पनि झन्डै ९ हजार नेपालीको ज्यान गयो। ५ लाखभन्दा बढी घर भत्किए। हजारौं स्कुल धुले मैदान बने। २० हजारभन्दा बढी मानिस घाइते/अपांग बने। यसको हाम्रो मनोविज्ञानमा परेको क्षतिको कुनै लेखा जोखा नै छैन।
अस्पतालमा सुनेको चित्कार अनि कारुणीक दृश्यर मनमा आउँदा, निराश बनेर सोच्नेगर्छु- हाम्रो कथित राजनीतिक नेतृत्वले ९० सालको भूकम्पबाट पाठ सिकेको भए अहिले २०७२ सालमा यत्ति धेरै मान्छेले ज्यान गुमाउनु पर्ने थिएन। हामीले कस्तो गैर जिम्मेवार नेतृत्वलाई देश चलाउने जिम्मा दिएका रहेछौं। हामी परिवर्तनको नाममा उल्टो बाटोतिर हिँडिरहेका त छैनौ? हामी युवाको लागि प्रेरणा हुनु पर्ने नेतृत्व त आपतको समयमा हाम्रो ज्यानको रक्षा गर्न पनि नसक्ने पो परेछन्।
हाम्रा घर तथा भौतिक संरचना भूइँचालोले होइन, अक्षम र भ्रष्ट नेतृत्वको कारण भत्केका हुन्। मापदण्ड पुरा नगरेर आफ्नो सीमित स्वार्थका लागि नक्सा पास गरिदिने, आफ्नो सान देखाउन आफ्नो नातागोतालाई नियम विपरित घर, भवन बनाउँदा चलखेल गर्नदिने जसले गर्दा घर देख्दा राम्रो तर भित्र कच्ची बनाउने कारण बिना कुनै गल्ती झन्डै ९ हजार नेपालीको ज्यान गयो। नेपालीलाई मार्ने भुकम्प होइन, नेतृत्व तहमा बस्ने, सरकार संचालन गर्ने राजनीतिक दलका नेताहरु हुन् । नागरिकले ब्यहोर्नु परेको क्षतिको दोष भूकम्पलाई देखाएर देशको राजनीतिक नेतृत्व कहिल्यै निर्दोष बन्न सक्दैन।
मेरो एक जना साथीको आमा पनि भुकम्पले भत्केको संरचनामा परेर बित्नुभो। वहाँलाई भूकम्पले होइन, अक्षम र भ्रष्ट नेतृत्वले मारेको हो भन्ने उहाँका छोराछोरीको आरोप छ। मेरो विवेकले यो आरोपमा सत्यता देख्छ। के देशको नेतृत्वसग यो आरोपलाई गलत साबित गर्ने हिम्मत छ ? आउनुस, बहस गरौ ।
(लेखक विवेकशील नेपालीको काठमाडौँ जिल्ला कार्यपालिका प्रमुख हुन् ।)