जीवनमै पहिलो पटक गलत सल्लाह दिएरै पनि मै धन्यवादको पात्र भएँ। सायद ७.८ म्याग्निच्युडको भूकम्पको करामत थियो त्यो।
मैले दिएको सल्लाहमा विवाहित मेरो साथीलाई उसको एक्स्ट्रा मेरिटल अफेर्सलाई पनि कायमै राख्न सुझाएको थिएँ। एक्स्ट्रा मेरिटल अफेर्सले विवाहित सम्वन्धमा हुनसक्ने दुर्घटनाको बारेमा म अनभिज्ञ पक्कै थिइनँ। त्यो सम्वन्धलाई वार कि पार लाउने क्षमता म राख्दिनँ, त्यसैले सम्वन्धलाई निरन्तरता दिन मैले मेरो साथीलाई सुझाएँ र आफ्नो बाटो लागेँ।
तर, मैले गलत सल्लाह किन दिएँ? भन्ने बारम्बार मनमा लागिरह्यो। मैले कसैको घरबार भाँड्ने सुझाव किन दिएँ? यो कुरा मनमा लिएर हिडेँ। म चाहन्थे कि मेरो गल्ती कुनै माध्यमले सच्याउँ। तर मुखै खोलेर आफ्नो गल्ती सच्याउन सकिनँ। एक किसिमको पश्चाताप भइरह्यो।
परिस्थिति फेरि दोहोरियो।
अलिक अघि भूकम्प आउनेक्रम अलिक मथ्थर भए लगत्तै अमेरिकामा उच्च शिक्षा पाएका र नाम चलेका युवासँग भेटको पहल मैलेनै गरेँ। दुईचार दिनको सामान्य कुराकानीपछि भेटेर चिया खाने सहमति भयो।
चियाको भेट पछि छुट्टिनु अघि उनले एउटा सल्लाह दिए-‘जे गर मनदेखि गर, मनमा एउटा कुरा र व्यवहारमा अर्को कुरा चाहीँ नगर। त्यहि नै तिम्रो खुसीको राज हो।’
जाँदाजाँदै मैले पनि एउटा सल्लाह दिँए, ‘बिहे गरेको मान्छेसँग अफेयर्स चाहीँ नगर। मैले ति युवा साथीको थोरै संगतमै बुझेको थिएँ, अघि माथि उल्लेख गरेको मेरो अर्का साथी झै उ पनि ‘अफेयर्स’ मा छ कोही कसैको श्रीमतिसँग र कोही कसैको श्रीमानसँग।
जकडिएका यी सम्वन्धहरू केही प्रतिनिधि उदाहरण मात्रै हुन्। यस्ता धेरै सम्वन्धहरु छन् शहर र गाउँमा जो मेरो ‘सही’ सल्लाहले सुल्झने वाला छैनन्। शमाज शास्त्रीहरूक अनुसार आधुनिक युगमा ‘मिडिल एज क्राइसिस’ नै ‘एक्सट्रा मेरिटल अफेसर्य’ हुन सक्ने मुख्य कारण हो। मैले यति बेला उठान गर्न खाजेको विषय पनि हामी सबैलाई थाहा भएको र कहि न कहि हामी आफैं अल्झेको सत्य अर्थात ‘एक्स्ट्रा मेरिटल अफेर्सर्य’ कै बारेमा हो।
‘अफेयर्स’ कसको कोसँग छ? कसको कोसँग ‘प्याचअप’ र कसको कोसँग ‘ब्रेकअप’ चल्तीमा रहेको रोमान्टिक गसिप भएको छ, ‘अफेयर्स”हरू। सुन्न र सुनाउन रमाइलो लाग्ने फ्रेजहरु। सुन्दा रमाइलो लाग्ने तर, व्यवहारत अलि अप्ठेरो विषय आजको युवा पुस्ताको बहसको विषय हुन सक्छ।
नेपाली समाजमा विवाहको आफ्नै धार्मिक परम्परागत सामाजिक मूल्य र मान्यताहरु छन्। केही अर्थपूर्ण र केहि ढोँगी खालका। विवाह संस्कार महत्वपूर्ण सामाजिक र बैज्ञानिक संस्कार हो तर बद्लिदो युगले यसरी पखेटा हाल्यो कि सम्वन्धहरू विवाहमा मात्र सिमित हुन सकेनन् ‘प्याचअप’ र ‘ब्रेकअप’ शब्द विवाहपछि पनि सम्वन्धमा झुण्डिन थालेका छन्।
तनाब र प्रतिस्पर्धाको युगमा प्रेम र रोमान्सले पक्कै पनि जीवनमा नयाँ उर्जा दिन्छ। जुन उर्जा न पैसाले किन्न सक्छ र न कमाइएको नामले नै। तर आज जसैगरि विवाह लगायतका सम्वन्धहरुमा पनि ‘प्याचअप’ र ब्रेकअप भइरहने हो भने विवाह र असली प्रेम संकटमा पर्न सक्ने मेरो बुझाई हो। ‘अफेयर्स’ मा विवाहमा जस्तो इमान्दारिता र प्रेममा जस्तो सत्यता हुँदैन।
‘अफेयर्स’ मा श्रीमान र श्रीमतिले सँधै जसो अभिनय गर्नुपर्छ। त्यो अभिनय सच्चाईको नभएर झुठको हुन्छ। वैबाहिक सम्वन्धमा एक अर्का प्रति बाँचुन्जेल पूर्ण रूपमा समर्पित हुनेगरि गरिएको बाचालाई अफेयर्सले चक्नाचुर पारिदिन्छ। समाजमा कयौ अफेयर्सका उदाहरण छन् जुन ‘एक्स्ट्रा मरिटल अफे’यर्सले गर्दा सुन्दर परिवार विखण्डन भइरहेको छ। यसको मुल नकारात्मक असर ति व्यक्तिका परिवारमा पर्छ। विषेश गरि हुर्कदै गरेका साना केटाकेटीमा।
जानी नजानी हाम्रो समाज‘अफेयर्स’ को चक्करमा फस्दै छ। यो चक्करको घुमाइले क्षणभर रमाइलो र रोमाञ्चक बनाएपनि अन्त्यमा नराम्रै घाटाको सामना गर्नुपर्ने छ। मेरो निचोड, पति पत्नी, प्रेमी प्रेमीका वा आाफ्ना प्रिय मान्छेको भावना बुझ्ने प्रयास गर्नुहोस्। उसको शारीरिक र भावनात्मक दुवै चाहनालाई कदर गर्नुहोस्। ‘मिडिल एज’मा हुन सक्ने क्राइसिस हुन नदिन यथा सक्दो श्रीमान वा श्रीमती वा प्रेमी प्रेमीकाले एक अर्काको चाहनालाई बुझ्ने कोशिश गर्नुहोस्। एकले अर्काको क्षमतालाई कदर र आईपरेका समस्या मिलेर समाधान गर्न जोड दिनुहोस्।
विवाह भनेको हतारमा गरेर जिन्दगी भर पछुताउने होइन बरू आफूले बनाउन चाहेको जिवनसाथीको राम्रो नराम्रो सम्पूर्ण कुरालाई स्वीकार गर्नसक्ने भएमात्र विवाह गर्नु उचित हुन्छ। विवाह गर्नकै लागि मात्र विवाह गर्नु नै कालान्तरमा वैवाहिक जीवनमा देखिने दोष हुन जान्छ र एक्स्ट्रा मेरिटल अफेर्सको कारण। विहे नहुँदा वा अलिक ढिलो गरि विवाह हुँदा केहि फरक पर्दैन। फरक त तव पर्छ जब विहेपछि पनि मानिस मन मिल्ने साथीको खोजीमा भौँतारिन थाल्छ।
हाम्रो समाजले विवाहलाई उमेरको हकबन्दी लगाएको छ। ३० वर्ष कटेपछि त विहे नै हुँदैन जस्तो गरि सहानुभूति दिन थाल्छन्। हाम्रो समाजले विवाह र र सन्तानलाई खुसी नाप्ने कसी ठान्छ। तर यी दुई कुरामात्र खुसीका माध्यम होइनन्। स्वतन्त्रतापूर्वक चालिएका कदम पनि मानिसका खुसीका कारणहरु हुन्। समाजले के भन्ला वा परिवारको दवावमा आएर आफूलाई विशेष नलागेको मान्छेसँग विवाह गर्दै हुनहुन्छ भने पक्कै पनि एक पटक सोच्नै पर्छ। भोलि ‘एक्स्ट्रा मेरिटल अफेर्स’को जालमा तपाईँ वा म फस्न नपरोस्।