चैत २६ गते बिहान ७:३० बजेको समय। मोबाईलको घण्टी टिनीनी बज्यो, मोबाईल तिर नजर लाएँ अनि थाहा लाग्यो साथी मनोज गौतमले नेपालगन्जबाट फोन गरेका रहेछन्। कुराकानीका क्रममा उनले कतै घुम्न जाने प्रस्ताव राखे, नजिकिएको नयाँ वर्षलाई मध्यनजर गर्दै।
सुरूमा रारा ताल जाने कि भन्ने विषयमा छलफल भएपनि त्यहाँसम्म पुग्न हाल हवाईजहाजको व्यवस्था नभएको र गाडीबाट जाँदा पनि अप्ठेरो सडकमार्ग भएर जानुपर्ने भएकोले मैले नैं अचानक खप्तड क्षेत्रको पदयात्रा गर्न प्रस्ताव राखेँ। उनले मेरो प्रस्तावलाई सकारात्मक रुपमा ग्रहण गर्दै खप्तड क्षेत्रको बारेमा अझ धेरै बुझेर खबर गर्ने बताएपछि हाम्रो फोन कुराकानी टुंगियो।
खप्तड पदयात्राको बारेमा यथेष्ट जानकारी नैं नभै आफैंले पदयात्राको प्रस्ताव राखेकोले यता आफूलाई भने भित्रभित्रै छटपटाहट शुरु भयो। निकुन्जको घना जंगल, उच्च हिमाली क्षेत्रमा पाईने भालु, बंदेल लगायतका जनावरहरुले निम्त्याउने चुनौती, र निरंतरको ठाडो उकालो लगायतका कारणहरुले मनमनै खप्तड पदयात्रा योजना रद्द गर्ने सोच नआएको पनि होईन, तैपनि आफैंले राखेको प्रस्तावबाट आफैं पछि सर्नु उपयुक्त नभएकोले साथी मनोज गौतम बाट अझ धेरै जानकारी आउने अपेक्षामा बसें। यसै बीचमा ईन्टरनेट मार्फत खप्तड क्षेत्रको भौगोलिक अवस्थिति, निकुन्ज क्षेत्रमा पाईने वनस्पति तथा जीवजन्तु, खप्तड बाबाको आश्रम लगायतका जानकारी हरु प्राप्त गर्ने काम पनि सम्पन्न गरियो।
करीब ३१०० मी उचाईमा रहेको, ४६ प्रजातिका जीवजन्तु, २८७ प्रजातिका चराहरु, ५६७ प्रजातिका वनस्पति, खप्तड बाबाको आश्रयस्थल, २२ वटा पाटन र त्यहां फुल्ने विभिन्न जातिका फुलहरुले सुसज्जित खप्तड क्षेत्र तस्वीरमा हेर्दा सांच्चिकै मनमोहक देखिन्थ्यो। ती तस्वीरहरु हेर्दा म मा मनमनैं खप्तड क्षेत्रको पदयात्रा गर्ने भूत सवार भैसकेको थियो।
नयाँ ठाउँ सकेसम्म धेरै जना समूह बनाएर हिंड्दा राम्रो हुने भएकोले दाजु शेखर नेपाललाई पनि संगै जान प्रस्ताव गरें र वहांले पनि उत्साहित हुंदै सहजै स्वीकार्नु भयो। त्यतिबेला सम्म नेपालगन्जमा रहेका साथी मनोज पनि पदयात्राका लागि तयार भैसकेका थिए। खप्तड पदयात्राको मिसन लिएर दाजु शेखर र म चैत्र ३० गते बेलुकी नेपालगंज तर्फ लाग्यौं। भोलीपल्ट अर्थात बैशाख १ गते नयाँ बर्षको नयां विहानी सगै साथी मनोजको गाडीमा हामी ३ भाई खप्तड पदयात्रा लाई केन्द्रमा राखेर कैलाली, डडेलधुरा हुंदै बेलुकीको बास बस्न सेती नदी किनार दिपायल पुग्यौं। भोलिपल्ट दिपायल बाट आधा घण्टाको बस यात्रा तय गरेपछि सिलगढी पुगियो जहां बाट हाम्रो पदयात्रा शुरु भयो।
पदयात्रा मार्गमा पर्ने विभिन्न मनोरमा प्राकृतिक दृष्य अवलोकन गर्दै करीव ३ घण्टामा हामी खप्तड निकुन्जको प्रवेश विन्दु झिंगा्रना पुग्यौं। झिंग्रानामा सामान्य खालका २, ४ वटा होटल रहेछन्, जहां हामीले विहानको खाना खायौं करीब १० बजे तिर। अब हामी तयार रहनुपर्ने थियो निरंतर ८ घण्टा घना जंगलबीचको यात्रा तय गर्न। यात्रा चुनौतीपूर्ण त निश्चयनैं थियो, संगै हामीमा खप्तड पुग्ने उत्साह पनि त्यत्तिकै जीवन्त थियो। झिंगा्रनाको सैनिक पोष्टमा व्यक्तिगत विवरण दर्ता गर्ने क्रममा थाहा भयो खप्तड क्षेत्रमा बारम्बार पानी पर्ने रहेछ, तर हामीले भने छाता, बर्षादी केही पनि साथमा लगेका थिएनौं। पछि सैनिक दाईलाई अनुरोध गरेपछि २ वटा छाताको बन्दोबस्त भयो, जसले हामीलाई धेरै राहत प्रदान गर्यो।
झिंग्रानाको सैनिक पोष्टमा व्यक्तिगत विवरण दर्ता गराएपछि हामी लाग्यौं उकालै उकालो आफ्नो गन्तव्य तर्फ। बाटैभरी विभिन्न प्रजातिका लालीगुरांस, निकुन्जको घना हरियाली जंगल र चराचुरुंगीको चिरबिर संगै हामी अघि बढ्दै रह्यौं। करीब ७ बजे (बेलुकी) तिर गन्तव्य पुग्ने अपेक्षामा हामी ३ जना सुस्ताउंदै, सुसेल्दै र गफिंदै निरंतर गन्तव्य तर्फ अघि बढ्दै रह्यौं। जिन्दगीमा सबै कुरा आफू अनुकुल नहुंदो रहेछ। करीब ३ घण्टा उकालो चढेपछि साथी मनोजको गति कम हुन थाल्यो।
जतिजति उचाईमा पुगिन्छ, लेक लाग्ने सम्भावना पनि त्यत्तिकै बढेर हिंड्न गारो हंुदै जान्छ। झिंग्रानाबाट हिंडेको करीब ४ घण्टामा बीचपानी पुगियो, जहां आधा घण्टा सुस्ताएर हामी अघि बढ्यौं। सानो गोरेटो बाटो, दायाँ बायाँ जंगल, चराहरुको चिरबिर संगै विस्तारै अंध्यारोले छोप्न थाल्यो, उता हाम्रो हिंडाईको गति भने पहिलेको भन्दा सुस्त। बीचपानी बाट करीब १ घण्टा हिंडेपछि भारी बर्षा र असिनाले हाम्रो यात्रालाई उल्लेखनीय रुपमा अवरोध गर्यो। बर्षामा रुझ्दै अघि बढ्ने क्रममा बीच जंगलमा एउटा सानो पाटी देखियो। २ वटै झ्याल खुल्ला रहेको, ढोकाको आग्लो नभएको, पानी तपतप चुहिने त्यो पाटी भित्र पसेर ओत लाग्न शुरुमा त कसैले हिम्मत गरिएन किनकि रातको समय भएकोले त्यहां भित्र विभिन्न जंगली जनावरले आश्रय लिएको हुनसक्ने सम्भावना पनि उत्तिकै थियो। तैपनि मर्नु भन्दा बौलाउनु निको भनेझैं हामी हिम्मत जुटाएर पाटी भित्र पस्यौं। भित्र एउटा काठको फल्याक मात्र थियो जसको सहारामा पुरा रात गुजार्नु थियो। बाहिर झमझम पानी पर्दै गर्दा मनमा एक किसिमको भयले राज गरिरहेको थियो।
हामीले आश्रय लिएको ठाउं मध्य जंगलमा रहेको हुनाले रातको कुनैपनि बेला विभिन्न जंगली जनावरले आक्रमण गर्ने त्रास मनमा लिएर हामी तिनै जना काठको फल्याक तेर्स्याएर भित्ताको आडमा रात बिताउन तयार भयौं। एकै दिनमा खप्तड पुग्ने योजनामा हिंडेका हामीसंग ओढ्ने, ओछ्याउने केहि थिएन, भएका लुगा पनि पानीले निथ्रुक्क भिजेका थिए। मनमनै आफैंलाई धिक्कार्न मन लाग्यो अरु धेरै घुम्ने ठाउंको विकल्प हुंदाहुंदै खप्तड पदयात्रा नैं रोजेकोमा। रात छिप्पिंदै गर्दा भोलिपल्ट उज्यालो देख्न पाईएला भन्ने विल्कुलै लागेको थिएन। मनमा एक किसिमको त्रासले जरा गाडिसकेको अवस्था थियो। रातका प्रत्येक घण्टा गन्दा गन्दै आंखा झिमिक्क नगरीकन अन्ततः अधैर्य प्रतीक्षा पछिको विहानी आयो र हामी फेरि उकालो लाग्यौं गन्तव्य तर्फ।
उकालो लाग्ने क्रममा बाटोमा धेरै ठाउंमा हिउं संग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर मिल्यो। विहानीको झुल्के घाममा खप्तड क्षेत्रका पाटनहरु अत्यन्तै मनमोहक देखिन्थे। करीब ३ घण्टाको यात्रा पछि हामी खप्तड पुग्यौं। बझाड, अछाम, बाजुरा र डोटी जिल्लामा अवस्थित खप्तड राष्टिय निकन्ज २२५ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। खप्तडमा बस्नको लागि ज्यादै सीमीत ठाउँ रहेछ।
नेपाल एसबीआई बैंकका क्षेत्रीय प्रबन्धक जीवनबाबु सुवेदी को सहयोगमा सहजतापूर्वक रात बिताउने अवसर मिल्यो। भोलिपल्ट विहान खप्तड बाबाको आश्रम भ्रमण गरी त्यहां रहेका् बाबाको सयन कक्ष, अध्ययन कक्ष लगायत अवलोकन गरियो। खप्तड बाबाले यस क्षेत्रमा करीब ५० बर्ष व्यतित गरी देहत्याग गर्नुभएको थियो। बाबा आश्रमको भ्रमण पश्चात हामी त्रिवेणी धामलाई बायां पार्दै उही बाटो तलतिर झर्यौं र त्यो रात दिपायलको सिलगढीमा बिताएर भोलिपल्ट काठमाण्डौ तर्फ प्रस्थान गर्यौं। हामी असाध्यै सीमीत समय लिएर खप्तड यात्रामा निस्केको हुनाले खप्तड क्षेत्र वरिपरिका घुम्नै पर्ने ठाउंहरु सहस्त्रलिंगेश्वर महादेव र खप्तड ताल सम्म पुग्न पनि यो पटक समय मिलेन।
खप्तड क्षेत्रको पर्यटकीय सम्भावना धेरै भएतापनि पदयात्रा मार्गमा मानव वस्ती तथा होटल केही नरहेकोले जो कोहिले झट्ट भ्रमण गरिहाल्न नचाहने अवस्था रहेको अनुभूति भयो। साथै यात्रा लामो वा छोटो जस्तो भएपनि पदयात्रामा जांदा आवश्यक बन्दोबस्तीका सामानहरु बोक्न कन्जुस्याईं गर्न नहुने शिक्षा पनि यस भ्रमणबाट मिल्यो। यात्राको क्रममा सहयोग गर्ने जीवन सर लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।