एसएलसीको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ तथा प्राविधिक तथा व्यवसायिकतर्फका थुप्रै विषयमा भर्ना खुलेको छ। एसएलसी उत्तीर्ण हुने विद्यार्थीहरु यती बेला कुन विषय? कुन कलेज पढ्नेलगायतका आधारभूत प्रश्नको उत्तर खोज्दै होलान। अनेकानेक विषय र कलेजहरुका बीचमा राम्रो कलेज र विषय छनोट गर्नु सबैभन्दा बुद्धिमानी हो।
हाम्रो समाजले भन्छ, राम्रो अंक ल्याए विज्ञान पढ। यदी कसैले पहिलो वा विशिष्ठ श्रेणी ल्याएको छ भने विज्ञान विषय पढ्छ भन्न गाह्रो पर्दैन। विद्यार्थीले पनि त्यही परम्परालाई निरन्तरत दिन्छ। अभिभावकले पनि त्यसैमा जोड दिन्छन्। शिक्षकले पनि तिमी इन्जिनियरिङ वा डाक्टर बन भनेर पढाउँछन। वास्तवमा हाम्रो सानैदेखि स्कुलिङ र काउन्सिलिङ पनि सोही किसिमले भयो।
'शिक्षासेवी डिकेन्द्र ढकाल भन्छन, “मैले एसएलसीमा ७१ प्रतिशत ल्याएको थिए, उस बेलाको यो अंक निकै ठूलो थियो, म मानविकीमा भर्ना गर्न जाँदा भर्ना लिनै मानेका थिएनन।” उनीहरु भन्थे, “यती रामो अंक ल्याउनेले पनि मानविकी पढ््ने हो? विज्ञान पढ विज्ञान।” मलाई यसैमा रुचि छ यही पढ्छु भन्दै मनाउनु परेको थियो। सर्सती हेर्दा विषय छनोटको विषयमा तीन दशक अगाडि र अहिले खासै अन्तर छैन।
यस्तोमा कस्तो विषय राम्रो त? कस्तो कलेज राम्रो? कसरी छनोट गर्ने विषय? कसरी छनोट गर्ने कलेज?
राजनीतिमा रुचि छ। म भोलिको देश बनाउँछु। राजनीति मार्फत देशको मुहार फेर्नुछ भन्नेले मानविकी पढे राम्रो। होइन म कृषिमा क्रान्ति देख्छु भन्नेले विज्ञानलाई रोजे राम्रो हुने भयो। साहित्यमा रुचि हुनेले मानविकीको साथ उचित होला। होइन मलाई त व्यवसाय गर्न मन छ, उद्यमी बन्न चाहन्छु भन्ने लाग्छ भने व्यवस्थापन सहयोगी बन्न सक्छ। यस्तोमा म को हुँ भनेर चिन्नु सक्नु पर्छ। शिक्षक र अभिभावकले विद्यार्थीलाई तिम्रो क्षमता यो हो भनेर चिनाइ दिन सक्नुपर्छ।
शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन, “पढुँ पढुँ लाग्ने विषय, जिज्ञासा पलाइ रहने विषय छान्नु पर्छ।” त्यसमा अग्रजको साथ लिन सकिन्छ। शिक्षकले पनि सोही अनुसारको काउन्सिलिङ गर्नुपर्छ । अभिभावकले पनि रुचिलाई चिन्न सक्नुपर्छ।
वास्तवमा कुनै पनि विषय नराम्रा हुँदैनन्। विषयको सम्भावना कति छ त्यसले अर्थ राख्ने हो। उक्त विषय पढेर के गनर्ेे? यदी विषय आफैमा राम्रो भैकन पनि त्यसको उपयोगीता छैन भने रुचिले पनि काम गर्दैन। जीवन जीउन चाहिने खुसी हो। रुचि नै नभएको विषय पढेर पछुताउनु भन्दा आफू खुसीका साथ बाच्न सक्ने विषय रोज्नुपर्छ। परिवारको दबाबमा विज्ञान विषय पढ्दा असफल हुनेहरुको संख्या ठूलो छ।
त्यसैले परिवारले पनि सन्तानलाई यो वा उ विषय पढ भनेर दबाब दिनु हुँदैन। तर सल्लाह भने जहिले पनि दिनुपर्छ।
एसएलसी तह उत्तीर्णपछि पढने विषयहरु पनि धेरै छन्। जसमा एकेडेमिक पढ्ने कि प्राविधिक तथा व्यवसायिक भन्ने हो। एकेडेमिकमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, ए–लेभललगायतका विषय पर्छन्। जसले उच्च शिक्षामा जोड दिन्छन्।
प्राविधिक र व्यवसायिक शिक्षा लिने हो भने सीटीईभीटीद्वारा सञ्चालित विभिन्न कोर्सहरु पढ््न सकिन्छ जस्तै, नर्सिङ, सिभिल इन्जिनियरिङ, कम्प्युटर हार्डवेयर/सफ्टवेयर, कुकिङ, भेटेरिनरी, ल्याब, इलेक्ट्रिकल, इलेक्टन्ाोनिक, मेकानिकल इन्जिनियरिङ, पलम्बिङ, वायरिङ, ट्रेकिङलगायतका विषय पर्छन्।
जुन विषय पढे पनि काम लाग्ने विषय छनोट गर्नसक्नु सबैभन्दा ठूलो बुद्धिमानी हो। फेरि राम्रो विषय मात्रै छनोेट गरेर मात्रै पुग्दैन्। उक्त विषय राम्रोसँग पढाइ हुने कलेज पनि सोही अनुसारको छनोट गर्नुपर्छ। कलेजको वातावरण, पढाउने शिक्षक, व्यवस्थापन समूह, विगतको नतिजालगायतका विभिन्न कुराले समेत प्रभाव पार्छ। त्यसैले आफूले रोजेको विषय र छनोट गरेको कलेजबीचको समानता खोज्ने।
उक्त विषयका लागि कलेज उपयोगी छ कि छैन भनेर खोज्ने। यसरी खोज्दा अग्रजको साथ लिने।
त्यहाँ पढ्ने विद्यार्थी र पढाउने अभिभावकको कुरा सुन्ने। शिक्षकको कुरा सुन्ने। यसो गर्दा निर्णय लिन सहज हुन्छ। निर्णय प्रभावकारी हुने सम्भावना बलियो हुन्छ। कलेज राम्रो हुँदैमा उक्त विषयका लागि राम्रो हो वा होइन भन्ने थाहा हुँदैन। जस्तो विज्ञान पढाइ राम्रो हुने कलेजमा ल्याव प्रभावकारी भएन भने पढाइ प्रभावकारी नहुन सक्छ। त्यस्तै प्लस टुमा पढाइसँगै अतिरिक्त क्रियाकलाप ध्यान दिने, व्यक्तित्व विकासमा ध्यान दिने कलेज छनोट गर्दा राम्रो हुन्छ।