ललितको मृत्युलाई मैले अहिलेसम्म विश्वास गर्न सकिरहेको छैन। वास्तवमै अकल्पनीय र अविश्वसनिय दु:खद् घटना थियो त्यो। ललितबारे कहाँबाट सुरू गरौं, के भनौं, के लेखौं म आफैं अन्यौलमा छु। भन्नलाई सबैले भन्छन्, सुनेको छु, पढेको छु। गणेश थापालाई ललितले जीवनभर साथ दियो, तर म भन्छु-ललितले मलाई धोका दिएर गयो।
ललितको असामयीक निधन नेपाली फुटबल खेल क्षेत्रको निमित्त अपुरणीय क्षति हो। जुन शब्दमा बर्णन गर्न सकिन्न। ललित एउटा अत्यन्त सम्भावना बोकेको योग्य, सक्षम र क्षमतावान ब्यक्ति थियो। उसको सरलता, भद्रता र दृढता प्रसंशायोग्य थियो। फुटबल विकासका सम्भावना, चुनौती र अवसरका बारेमा ललित पूर्ण जानकार थियो।
बडो समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमता थियो उसमा। ‘गाँस छाड्ने साथ नछाड्ने’ चट्टानी स्वभाव थियो। अनुशासनको खानी थियो ऊ, अरूलाई पनि अनुशासनको दायरामा राख्न सक्ने ‘कमान्ड कन्ट्रोल’ भएको ब्यक्ति थियो।
फुटबललाई साह्रै माया गर्ने फुटबल राम्रोसँग बुझेको मान्छे थियो ललित। नेतृत्व क्षमताको पनि प्रचुर मात्रामा विकास गर्दै परिपक्वताको प्रदर्शन गर्दै अगाडि बढीरहेको थियो। जुन कुरालाई मैले नजिकैबाट निहालिरहेको थिएँ र महशुस पनि गरिरहेको थिएँ। म बढो स्पष्टताकासाथ भन्छु- मेरो कार्यकाल पछि म ललितलाई नै नेतृत्व सुम्पन चाहन्थे। ललितले अब नेतृत्व गर्न सक्छ भन्ने निष्कर्षमा म मनमनै पुगिसकेको थिएँ।
यसमा व्यक्तिगत होइन समग्र नेपाली फुटबलको विकासको स्वार्थ गासिएको थियो।
तर, मेरो यो सपना पूरा हुन पाएन, जीवनभर मलाई साथ दिएको ललितले यो मोडमा आएर धोका दियो र भगवानको प्रिय बन्न पुग्यो। जीवनको महत्त्वपूर्ण कालखण्डमा ललित मसँग थियो। ऊ मेरो एउटा सहयोगी, सहकर्मी मात्र थिएन पारिवारिक सदस्य जस्तो थियो। आफ्नै प्रिय भाई जस्तै थियो। भनिन्छ पनि- कुनै नाता रगतको नाताभन्दा भावनाको नाता बढी प्रगाढ हुन्छ, हो त्यही सम्बन्ध थियो ललितसँग मेरो।
ललितसँगको अविस्मरणीय क्षणहरु अनगिन्ती छन्। खेलाडीहरू बस्ने होस्टलमा बिजुलीको तार अलिकति बाहिर देख्दा बच्चालाई छोयो भने के हुन्छ भनेर स्टाफहरुलाई कराएको अहिले पनि म झलझली सम्झन्छु। दूर्भाग्य खेलाडी भाईहरुलाई करेन्ट लाग्ला भनी यति धेरै चिन्ता गर्ने उसैलाई भने नियतिले आफ्नो घरको बिजुलीको करेन्टले लग्यो।
‘खेलाडीलाई करेन्ट लाग्यो भने’ भनी ललित रिसाएको त्यो दृश्य अहिले पनि आँखामा फनफनी घुम्छ, अनि सोच्छु र निष्कर्षमा पुग्छु- ऊ आफूलाईभन्दा बढी खेलाडीलाई माया गर्थ्यो, फुटबललाई माया गर्थ्यो।
जब ललितको शब अन्तिम श्रद्धाञ्जलीको लागि एन्फा परिसरमा राखेर आर्यघाट तर्फ लगियो। सम्पूर्ण फुटबल क्षेत्र शोकमग्न रह्यो। खेलाडी, पत्रकार, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी गैरसरकारी ब्यक्तित्वहरू र खेलप्रेमीहरुको लावालस्कर देखेर मैले ललितलाई जुन रूपमा छनोट गरेको थिएँ त्यो सहि निर्णय रहेछ भन्ने प्रमाणित भयो। ललितले मान्छे कमाएको रहेछ, सम्बन्ध कमाएको रहेछ, विश्वास कमाएको रहेछ।
मैले यति धेरै बिश्वास गरेको ललित आज हामिसँग छैन। मैले अत्यन्त निश्चिन्तताका साथ नेतृत्व सुम्पन खोजेको ललितले मलाई धोका दिएर गएको छ। त्यो अवसरबाट मलाई बञ्चित गरेको छ। ललितको नश्वर शरीर हामीबीच नरहे पनि उसका सकारात्मक र प्रेरणादायी भावना, विचार र कार्यहरू हामीसँग छन्, चिरस्मरणीय रहिरहने छन्। एन्फामा रहेका सक्षम,योग्य र क्षमतावान साथीहरूले अब ललितको अनुपस्थितिलाई परिपूर्ति गर्नुको हामीसँग विकल्प छैन।
ललितको सपना पूरा गर्नको लागि सबै साथीहरू एकजुट भएर फुटबल क्षेत्रको विकाशमा लागे त्यो नै ललितप्रती सच्चा श्रद्धाञ्जली हुनेछ। ललितको साना बच्चाहरू र परिवारजनलाई संरक्षण गर्ने जिम्मेवारीलाई पनि हामीले उच्च प्राथमिकता दिनुपर्नेछ। बच्चाहरुको शिक्षादिक्षामा हाम्रो भूमिका आवश्यक छ र त्यो हाम्रो कर्तव्य पनि हो।
दु:खद् घटना भएको दिनदेखि नै केही लेख्ने प्रयास गरिरहेको थिएँ। तर, लेख्न सकिरहेको थिइन, आफूलाई नै सम्हाल्न गाह्रो भैरहेको थियो। भगवानसँग अहिले पनि प्रार्थना छ- यदि पुनर्जन्म हुन्छ भने हे भगवान ललितको फेरि पुनर्जन्म होस्। ललितको फुटबल क्षेत्रलाई खाँचो छ।
दीपक गौतमले बनाएको ललित कृष्ण श्रेष्ठको स्केच पत्रकार पवन अाचार्यको फेसबुकबाट लिइएको हो।
अन्त्यमा, अत्यन्त भारी मनका साथ भन्छु-‘तिमिलाई म सधै सम्झिरहनेछु, तिमी मेरो मनको कुनामा सधै रहिरहनेछौँ।
अल बिदा ललित!
लेखक सभासद एवम् अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष हुन्।